प्रतिबन्धित कलम

कलम…!
तिमी प्रतिबन्धित छौ, किन हो थाहा छैन
सायद
मैले विद्रोह लेखेर होला …!,
सरकारका विरुद्ध
सत्ताका विरुद्ध
व्यवस्थाका विरुद्ध
त्यसैले तिमी आज प्रतिबन्धित छौ !

मैले न्याय, शान्ति, समानता लेखेँ
कार्ल माक्र्स, लेनिन, माओ लेखेँ
आफ्नो देशको नक्सा कोरेँ
कर्णालीको पीडा लेखेँ
मधेसको उत्पीडन लेखेँ
दलितमाथिको विभेद लेखेँ
महिलामाथिको अन्याय लेखेँ
किसानको रोदन लेखेँ
मजदुरको भोक लेखेँ
राष्ट्रघाती सन्धिसम्झौताका विरुद्ध लेखेँ
परिवर्तनका नारा लेखेँ
ब्यानरमा लेखेँ, भित्तामा लेखेँ
कागजका पानामा लेखेँ, सामाजिक सञ्जालमा लेखेँ
मैले बेपरबाह लेखिरहेँ
सिंहदरबार, बालुवातार र शीतल निवासका काला कर्तुतहरू !
त्यसैले तिमी प्रतिबन्धित छौ ।

मैले भोक, शोक र रोगका कुरा लेखेँ
बुर्जुवा समाजभित्रको कुरूप छुवाछूत प्रथा
दाइजो प्रथा
कम्लरी प्रथा
छाउपडी प्रथा का नाममा गरिने
अन्याय, अत्याचार र दमनका विरुद्ध लेखेँ
महिला अधिकारका नाममा ,
सामन्तवादी व्यवस्थाले घरभित्रको दासी अनि
पुँजीवादी व्यवस्थाले बजारको बेश्या बनाउन खोज्नेविरुद्ध लेखे
त्यसैले तिमी प्रतिबन्धित छौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :