नेकपाका नेता वीरजङ्गलाई हिरासतमा घुमाउँदाघुमाउँदै कोरोना सङ्क्रमण, परिवारले गर्यो जीवनरक्षाको माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालीन पश्चिम केन्द्रीय कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ लाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखिएका नेता वीरजङ्गलाई कोरोना भाइरस पुष्टि भएपछि उनलाई सुनसरीकै कोभिड हस्पिटलमा भर्ना गरिएको नेकपाले जनाएको छ ।

यसअघि सङ्खुवासभामा राखिएका नेता वीरजङ्गलाई अदालतले रिहाको आदेश गरेलगत्तै पुनः गिरफ्तार गरी सरकारले सुनसरी लगेको थियो । गत असोज ३० गते दाङबाट गिरफ्तार गरिएका नेता वीरजङ्गलाई जिल्ला अदालत दाङ देउखुरीले रिहा गरेलगत्तै पुनः गिरफ्तार गरी काभ्रे पुर्याएको थियो । त्यस्तै काभ्रेबाट रिहा हुनेबित्तिकै उनलाई पुनः तेस्रोपटक गिरफ्तार गरी भोजपुर लगिएको थियो ।

नेता वीजङ्गलाई त्यसपछि भोजपुरबाट रिहा हुनेबित्तिकै चौथोपटक गिरफ्तार गरी सङ्खुवासभा लगिएको थियो । सङ्खुवासभाबाट पनि पाँचौँपटक गिरफ्तार गरेर उनलाई सुनसरी लगिएको छ । सुनसरीमा प्रहरी हिरासतमा रहेकै बेला नेता वीरजङ्गलाई कोरोना सङ्क्रमण भएको भन्दै उनको परिवारले जीवनरक्षाको माग गरेको छ ।

यस्तै प्रहरी नियन्त्रणमै रहेका नेकपाका अर्का नेता चितवन जिलला इन्चार्ज लालबहादुर बीसीलाई पनि कोरोना सङ्क्रमण भएको छ । उनलाई धनुषा प्रहरी हिरासतमा रहेको बेला कोरोना सङ्क्रमण भएको भन्दै परिवारजनले जीवनरक्षाको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :