द्वन्द्वात्मक भौतिकवादविरुद्ध ‘द्वन्द्वात्मक भौतिकवादी’

आधार

सन् १९०८ मा लेनिनको दर्शनसम्बन्धी एउटा पुस्तक प्रकाशित भयो ‘भौतिकवाद र अनुभवसिद्ध—आलोचना ।’ उक्त पुस्तकमा उहाँले मुख्य रूपमा बीसौँ शताब्दीको पूर्वाद्र्धमा भौतिकवादीका नाममा भौतिकवादमाथिको आक्रमणको पर्दाफास गर्नुका साथै उनीहरूको असली अनुहार उदाङ्गो पार्नुभएको छ । माक्र्स—एङ्गेल्सद्वारा प्रतिपादित द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादमाथि आफूलाई खाँटी भौतिकवादी मात्र नभएर माक्र्सवादी भनेर भ्रम फैलाउनेहरूबाटै आक्रमण भएको थियो । त्यसैले लेनिनले आफ्ना समकालीन ती स्वघोषित भौतिकवादीहरूका विरुद्ध लगभग २ वर्ष लगाएर पुस्तक नै तयार पार्नुभएको थियो । यसको मुख्य कारण १९०५ मा भएको असफल क्रान्ति भन्ने गरिन्छ । त्यस समयमा रुसभित्रका प्लेखानोभ जसलाई लेनिनको भाषामा रसियन माखपन्थीहरू मुसाका लागि बिरालो सम्झिन्थे उनले दर्शनको क्षेत्रबाट लेनिनमाथि आक्रमण गरेका थिए । यसका साथै रसियन माखपन्थीहरू जाकोभ बर्मन, ओसिप हेल्फोन्ड र सर्गेइ सुवोरोव थिए । उनीहरूका भौतिकवादका विरुद्ध गरेका आक्रमणमा प्रयोग गरिएका रिचार्ड अभिनारिएस, इन्स्र्ट माख र रिचार्ड वोन स्चुर्ब—सोल्डेर्नका भनाइहरूलाई लेनिनले कसरी अभौतिकवादी छन् भनी उद्धृत गर्नुभएको थियो ।

अस्ट्रियाको भियनामा भौतिक शास्त्र पढाउँदै आएका र भौतिक विज्ञानमा धेरै खोज गरेका डाक्टर माख वास्तवमा अन्तर्वर्तीवादी (Immanentist) थिए, प्रत्यक्षवादी, अनुभवसिद्ध आलोचनाका संस्थापक अभिनारिएस प्रोफेसर थिए भने अर्का प्रोफेसर रिचार्ड वोन अन्तर्वर्तीवादी थिए । भौतिकवादीका रूपमा प्रख्याती पाएका यी विद्वान्हरूको भौतिकवादी मुकुन्डो च्यात्न जरुरी भएर लेनिनले ‘प्रतिक्रियावादी दर्शनमाथि आलोचनात्मक टिप्पणी भौतिकवाद र अनुभवसिद्ध आलोचना’ तयार पार्नुभएको थियो ।

उक्त पुस्तकमा अनुभवसिद्ध आलोचना तथा द्वन्द्वात्मक भौतिकवादको ज्ञान—सिद्धान्त—१, अनुभवसिद्ध आलोचना तथा द्वन्द्वात्मक भौतिकवादको ज्ञान—सिद्धान्त—२, अनुभवसिद्ध आलोचना तथा द्वन्द्वात्मक भौतिकवादको ज्ञान—सिद्धान्त—३, अनुभवसिद्ध—आलोचनाका सहयात्रीहरू र उत्तराधिकारीहरूका रूपमा दार्शनिक—आदर्शवादीहरू, प्रकृति विज्ञानमा नवीन क्रान्ति तथा दार्शनिक भाववाद र अनुभवसिद्ध—आलोचना र ऐतिहासिक भौतिकवाद गरी ६ वटा भागमा लेखिएको तत्कालमा उठेको पदार्थ र चेतनाको सम्बन्ध, ज्ञान—सिद्धान्त र प्रकृति विज्ञानका खोज, अनुसन्धान र आविष्कारसँग ऐतिकासिक भौतिकवादको सम्बन्धलाई स्पष्ट पारेकाले दर्शनमा माक्र्सवादको विकास मान्न सकिन्छ ।

सन्दर्भ

यहाँ लेनिनको भौतिकवाद र अनुभवसिद्ध—आलोचनाको समीक्षा वा समालोचना गर्न लागिएको हैन । लेनिनपछि विश्वमा कस्ताकस्ता भौतिकवादीहरूले फेरि कसरी भ्रम दिइरहेका छन् र यसबीचको १ सय १२ वर्षमा ज्ञान—सिद्धान्त, पदार्थलाई हेर्ने दृष्टिकोण र यान्त्रिक विज्ञान मूल रूपमा प्रकृति विज्ञानमा भएको अनुसन्धान, खोज र आविष्कारको प्रभावले भौतिकवादलाई कहाँ पुर्याएको छ, पछिल्ला वैज्ञानिक खोज, अनुसन्धान कसरी भौतिकवादी छन्, यी विषयमा सामान्य छलफल गरिनेछ ।

छलफल किन आवश्यक पर्यो भने द्वन्द्वात्मक भौतिकवादलाई दर्शन मानेर विगतमा प्रतिक्रियावादी सत्ताका विरुद्ध हतियार उठाएका दुई पार्टीका मुख्य नेताहरूले नेतृत्व गरेका पार्टीहरूको एकीकरण भएको पार्टीको अहिले सरकार छ । के उक्त सरकार र पार्टीका क्रियाकलाप भौतिकवादी छन् ? छैनन् भने किन छैनन् ? आफ्नो जीवनको तीन चौथाइ समय भौतिकवादी भएका माक्र्सवादका नेपाली भाष्यकारहरूले किन माक्र्सवाद नै परित्याग गर्न पुगेका छन् ? सरकारका क्रियाकलाप र माक्र्सवादमा नै विद्यावारिधिधारी, प्राध्यापक र भाष्यकारहरू किन अन्तर्वर्तीवादी हुन पुगेका छन् ? यी सोचनीय विषयहरू भएकाले नयाँ विश्लेषणको आवश्यकता परेको छ ।

अहिलेसम्म प्राप्त लिखित प्रमाणका आधारमा एरिस्टोटल आदर्शवाद र भौतिकवादका बीचमा डोलित हुन पुगेका थिए । ग्रिक दार्शनिक ल्युकिपस र डेमोक्रिट्सले पदार्थ परमाणुबाट बनेको हुन्छ भन्दै आफूहरू भौतिकवादी भएको घोषणा गरेका थिए । १८३० मा नै जर्मनीमा भौतिकवादको वकालत गर्न लुडविक फायरबाख पुगेका थिए । माक्र्स—एङ्गेल्सपूर्व फायरबाख नै सच्चा भौतिकवादी थिए तर उनले द्वन्द्ववादलाई स्वीकारेनन् साथै मानिसलाई अमूर्त व्यक्ति, विशुद्ध जैविक सत्तामा मात्र सीमित राखे । ज्ञानको सिद्धान्तमा फायरबाखले अनुभववाद तथा सवेदनवादको दृष्टिकोणको पक्षपोषण गर्न पुगेका थिए । सुरुमा आदर्शवादविरोधी भए पनि अन्त्यमा उनी धर्मविरुद्ध सङ्घर्ष गर्न नसकेर अर्को धर्मको खोजीमा लागेका थिए ।

नेपाल सन्दर्भ

सरकारसीन नेपाल कम्युनिस्ट पार्टी र त्यसका नेताहरूको दार्शनिक पक्षधरता कस्तो भन्ने कुरा बुझ्नका लागि खासै मेहनत गर्नु पर्दैन । २०७७ साल भदौ २२ गतेको कान्तिपुरमा प्रकाशित ‘महामारीका बेलामा मन्दिरमा लगानी’ शीर्षकको मुख्य समाचार पढे पुग्छ । उक्त समाचारमा भनिएको छ, ‘प्रधानमत्री केपी शर्मा वलीले भानुजयन्तीका अवसरमा असार २९ गते पौराणिक ग्रन्थ रामायणका पात्र रामको जन्मभूमि अयोध्या नेपालमा नै रहेको अभिव्यक्ति दिए । वीरगन्जको छेउको ठोरीमा रामको जन्म भएको ठोकुवा नै गरेका उनले साउन २४ गते चितवनको माडीका जनप्रतिनिधिलाई काठमाडौँ बोलाए । त्यतिखेर उनले माडीमा राम मन्दिर निर्माणबारे अध्ययन गर्न आग्रह मात्र गरेनन्, मन्दिर बनाउन सबै खर्च जोहो गर्ने वचन दिए । ….मन्दिर निर्माणका लागि ५० बिघा जग्गा तीन ठाउँमा हेरेका छन् । ….माडी त्यही ठाउँ हो जहाँ निकुञ्ज छेउछाउमा बसोबास गरेका सुुकुमबासी चेपाङको घरमा सैनिकले साउन २ गते आगो झोसिदिएका थिए भने घोंगी खोज्न गएका बेला साउन १ मा सैनिकको पिटाइबाट घाइते भएका राजकुमार चेपाङको मृत्युु भएको थियो ।

…पत्थरी त्यही ठाउँ हो जहाँ गत जेठ ६ गते भोकलाई जित्न नसकेर ५० वर्षीय मलर सदाको निधन भएको थियो ।

केन्द्र र सातवटै प्रदेश सरकारले मठमनिदर निर्माण, पुुनर्निर्माण र स्तरोन्नतिमा चालू आर्थिक वर्षका लागि मात्रै १ हजार ३ सय ३९ ठाउँका….लागि २ अर्ब ६४ करोड ५२ लाख ४१ हजार रुपैयाँ छुट्ट्याएका छन् ।’

माथिको समाचार यहाँ राख्नुको मुख्य कारण अहिले जनतालाई कोरोनाको त्रासले दिएको भोक, रोगको बेवास्ता गर्दै कम्युनिस्ट नामधारी सरकार मन्दिर बनाउन उद्यत रहेको छ । सङ्क्रमणले देश लपेटिरहेको भनिएको समयमा मिथक रामायणमा आधारित पात्रको दरबार बनाउन लागिपरेको छ । यसले सरकारी नेकपाका नेताहरूमा द्वन्द्वात्मक भौतिकवादी चेतको त कुरै नगरौँ, कुनै पनि फुर्को लगाइएको भौतिकवादीसम्म पनि रहन सकेको छैन । तर पनि तत्कालीन एमालेले माक्र्सवाद—लेनिनवाद र तत्कालीन नेकपा (माओवादी केन्द्र) ले माक्र्सवाद—लेनिनवाद—माओवादलाई मार्गनिर्देशक सिद्धान्त स्वीकारेका कारण उनीहरूले द्वन्द्वात्मक भौतिकवादलाई नीतिगत रूपमा स्वीकार गरेको भन्नुपर्ने हुन्छ । तर सरकारी नेकपाका कुुनै पनि नेताहरूले द्वन्द्वात्मक भौतिकवादसँग सम्बन्धित लेख लेखेका छैनन् । जनयुद्धकालमा संशोधनवाद, प्रतिक्रियावाद र तत्कालीन अवस्थाको राजनीतिका बारेमा पुष्पकमल दाहालले दर्जनौँ लेखहरू लेखेका छन् । उनका लेखसङ्ग्रहहरू पनि प्रकाशित छन् । तर उनको कुुनै पनि लेख दर्शनसँग सम्बन्धित छैनन् । केपी वलीको त कुरै नगरौँ ।

झापा विद्रोहका नायकहरूमध्येका एकजना र नेपालका नेल्सन मन्डेला भनेर चिनिएका मोहनचन्द्र अधिकारी २०५२ सालमा भागवत् गीतालाई च्यापेर बृन्दावनतिर लागेका थिए । २०५१ सालमा एमालेका तर्फबाट प्रधानमन्त्री बन्न पुगेका मनमोहन अधिकारीले बालुुवाटार प्रवेश गर्दा कालो बोको काटेको सबैलाई थाहा छ । त्यही समयका शिक्षामन्त्री मोदनाथ प्रश्रित जो आफूलाई धुरन्धर भौतिकवादी भन्दथे (उनका किताबहरू देवासुर सङ्ग्राम, अतीतका पाइलाहरू आदर्शवादका विरुद्ध लेखिएका छन्) उनले देवघाटमा गएर कोटीहोममा जनै लगाएर चरु होमेका थिए । यी तथ्यहरूलाई उजागर गरेपछि तत्कालीन एमाले भौतिकवादी रहेन भन्न कुनै अप्ठ्यारो पर्दैन । उनीहरू घोषित रूपमा नै धर्मवादी, आस्थावादी, आदर्शवादी भए । बरु उनीहरूलाई फायरबाख जो पहिला भौतिकवादी थिए, जीवनको अन्त्यतिर आदर्शवादको शरणमा पुगेका थिए, उनीसँगको पङ्क्तिमा खडा गर्दा कुनै अन्याय हुँदैन ।

जहाँसम्म जनयुद्धको नेतृत्व गरेका प्रचण्डको कुरा छ, उनले शान्तिप्रक्रियामा आएर जुन दिन भैँसीपूजा गरे, त्यसै दिनदेखि विधिवत् भौतिकवादको परित्याग गरे भनेर भन्न कुनै हिच्किचाउनु पर्दैन । यसरी विगतमा माक्र्सवादका आधारमा बल प्रयोग गरी पुरानो सत्ताको ध्वंस गरेर साम्यवाद स्थापना गर्ने हेतुले हतियारबद्ध आन्दोलन गरेका झापा विद्रोह र त्योभन्दा सयौँ गुना ठूलो मात्रा र गुणमा भएको जनयुद्धका नायकहरूले सजिलै भौतिकवाद परित्याग गरेका छन् । उनीहरूका बारेमा अब उनीहरू कुन वादी हुन भनेर दिमागमा अनावश्यक बल लगाएर सोच्नुपर्ने जरुरी अब रहेन ।

यिनीहरूबाहेक पनि नेपालमा आफूलाई द्वन्द्वातमक भौतिकवादी भन्न रुचाउने समूह र व्यक्तिहरूको सङ्ख्या औँलामा गर्न पुग्ने छन् । माक्र्सवादी नभएका तर भौतिकवादी भन्न पछि नपर्ने वर्तमानमा प्रदिप गिरी, चैतन्य मिश्र, पूर्वमाओवादी नेता बाबुराम भट्टराई, हिसिला यमिहरू छन् । उनीहरूका बारेमा धेरै कुरा नगरौँ । उनीहरू फायर बाखको पदचापमा छन् । यस्ता पात्रहरू विश्वभरि निकै ठूलो सङ्ख्यामा छन् । विश्वजगत्मा चर्चामा आएका ५० जना समकालीन भनिएका दार्शनिकहरूमध्येका कलर कन्सिएस : पोलिटिकल मोरालिती चेसका लेखक बेलायतका क्वाम इन्थोनी, बिइङ एन्ड इभेन्टका लेखक फ्रान्सका अलैन बाडिउ, प्राफिट ओभर पिपल, म्यानुफ्याक्चरिङ कन्सर्नका लेखक नोम चोम्स्कीहरू हुन् । उनीहरू वर्तमान पुँजीवादी व्यवस्थामा आएका समस्याहरूको किटान आर्थिक रूपमा त गर्दछन् तर दार्शनिक, वैचारिक रूपमा आदर्शवादसँगको सञ्जालबाट बाहिर आउन सकेका छैनन् । उनीहरूका बारेमा पुस्तकमा विस्तृत व्याख्या गरौँला ।

वर्तमानमा भौतिकवाद

माक्र्स—एङ्गेल्सपछि लेनिनले ज्ञान—सिद्धान्त, पदार्थ र यन्त्रवाद, भौतिक विज्ञानमा उठेका प्रश्नहरूको उत्तर दिनुभएको थियो । प्रकृति विज्ञानमा भएको प्रचुर खोज, अनुसन्धान र आविष्कारका बाबजुद पनि अहिले आदर्शवाद जब्बर भएको छ । सही भौतिकवादीहरूले यसको तथ्यपरक खण्डनमण्डन गरिराखेका छैनन् । बरु आदर्शवादीहरूले नै भौतिक विज्ञानमा भएका विकासहरूको दुरुपयोग गरिराखेका छन् धर्म बचाउन र प्रचारका लागि । यसका लागि मसिनो गरी तथ्यहरूलाई सङ्कलन गरी द्वन्द्वात्मक भौतिकवादमा विकास गर्न जरुरी भएको छ ।

लेनिनको पालामा पनि ‘पदार्थ लुप्त भएको छ’ भन्न थालिएको थियो । त्यो पनि विज्ञानले विकास गरेका प्रविधि र उपकरणको प्रयोग गरेर । यसको उत्तर दिँदै लेनिनले पिण्डको बनावटको उदाहरण दिनुभएको थियो । ४ सय ५० इसापूर्व डिमोक्रिटसले पत्ता लाएको र १८६९ मा रुसका डिमिट्रिमेन्डलिफले पिरियोडिक टेबलका अनुसार पृथ्वीमा रहेका ९२ वटा तत्वहरूलाई लेनिनले तत्वमा रहेको परमाणुको एउटै चरित्र भएको इलेक्ट्रोनका बारेमा दार्शनिक रूपमा व्याख्या गर्नुभएको थियो । उहाँले भन्नुभएको थियो, ‘पदार्थ लुप्त भएको छ भने उनीहरूको भनाइको तात्पर्य यो हो कि अहिलेसम्म विज्ञान भौतिक जगत्को आफ्नो जाँचका तीन अन्तिम सङ्कल्पनाहरूसम्म सीमित गरिन्थ्यो— पदार्थ, विद्युत् तथा इथर, जब कि अहिले केवल बाँकी दुई मात्र बचेका छन् । त्यसकारण अहिले पदार्थलाई विद्युत्सम्म सीमित गर्न सम्भव हुन गएको छ ।’ (प्रकृति विज्ञानमा नवीनतम् क्रान्ति तथा दार्शनिक भाववाद—पदार्थ लुप्त भएको छ, भौतिकवाद र अनुभवसिद्ध—आलोचना)

यसरी लेनिनले प्रकृति विज्ञानका आधारमा नै वस्तुको अस्तित्वको पुष्टि गर्नुभएको थियो । लेनिनले भनेको जस्ता तीनवटा सङ्कल्पनाहरूमध्ये इथर भन्ने कुनै तत्व नभएर यौगिक थियो । ग्रिक भाषामा इथरको अर्थ भगवान् हुन्छ । सूर्यबाट पृथ्वीसम्म प्रकाश इथरको माध्यमबाट आइपुग्छ भन्ने कुरा १८८१ देखि १८८७ सम्म भएको मकिल्सन—मोर्लेको प्रकाशको गतिसम्बन्धी प्रयोग असफल भएको थियो । त्यसबेलासम्म इथर चम्किलो हुन्छ । त्यसैले प्रकाश तीव्रगतिमा बिनाकुनै रोकावट सूर्यबाट पृथ्वीमा आउँछ भन्ने थियो । त्यो असफल प्रयोगले सूर्य र पृथ्वीवरिपरि चम्किलो इथरको हावा चल्छ भन्ने भनाइ (कल्पना) लाई असत्य प्रमाणित गरिदिएको थियो । सम्भवतः निर्वासित जीवन बिताउनुपर्दा पछिल्ला आविष्कार, अनुसन्धान र खोजका बारेमा लेनिन अद्यावधिक हुन पाउनुभएन । जे होस् उहाँले वस्तुको अस्तित्व र भौतिकवादको जमेर प्रमाणित गर्दै द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादमा थप विकास गर्नुभएको थियो ।

१९०५ मा अल्बर्ट आइन्स्टाइनले सापेक्षताको सिद्धान्तलाई सूत्रबद्ध गर्नुभयो । आइन्स्टाइन चम्किलो इथरको असफल खोज र म्याक्सवेलको विद्युत् चुम्बकीयवादको सिद्धान्तबाट प्रेरित हुनुभएको थियो । यसैका आधारमा आइन्स्टाइनले प्रकाश विद्युतीय प्रभावका बारेमा खोज गर्नुभयो जसले प्रकाशको सबैभन्दा सानो अवस्था फोनोटको अवधारणा ल्यायो । यो एक किसिमको कण हो । फोटोन भनेको प्रकाशको क्वान्टम परिमाण हो जुन विद्युत् चुम्बकीय विकिरणमा रहेको ऊर्जाको प्याकेट हो । यसले प्रकाशलाई पनि पदार्थ हो भन्ने पुस्टि गर्दछ । जसरी लेनिनले पदार्थलाई विद्युत्सम्म सीमित हुने बताउनुभएको थियो । आइन्स्टाइनले पनि आफ्नो प्रकाश विद्युतीय असरमा वस्तुको इलेक्ट्रोनबाट चम्किलो पदार्थ निकाल्न सकिने अवधारणा ल्याउनुभयो । आइन्स्टाइनको यो तथ्यले भौतिक पदार्थको पुनर्पुष्टि गरेको छ ।

अब आयो क्वाटम सिद्धान्तका बारेमा । पारमाणविक र उपपारमाणविक तहमा रहेको पदार्थको ऊर्जाको आचरण र प्रकृतिलाई व्याख्या गर्ने आधुनिक सैद्धान्तिक आधारलाई क्वान्टम सिद्धान्त भनिन्छ । यसैगरी क्वाटम यान्त्रिकी भनेको सानो मात्रामा रहेको, पारमाणविक र उपपारमाणविक कणहरूको भौतिक रूपमा विशेषताहरूको व्याख्या गर्ने भौतिकशास्त्रको आधारभूत सिद्धान्त हो । यसमा क्वान्टम रसायनशास्त्र, क्वान्टम फिल्ड सिद्धान्त, क्वान्टम प्रविधि र क्वान्टम सूचना, क्वान्टम भौतिकशास्त्र सबै पर्दछन् । एक्काईसौँ शताब्दीमा विज्ञानले गरेको चमत्कार यसैका आधारमा हो जसको दुरुपयोग कथित द्वन्द्वात्मक भौतिकवादी, भौतिकवादी र आदर्शवादीहरूले गरिराखेका छन् ।

आइन्स्टाइन र प्लङ्कपछि

भौतिक विज्ञानमा सापेक्षता र क्वान्टम सिद्धान्तको खोजपछि पनि निरन्तरता पाइरहेको छ मूलतः वस्तुका बारेमा । उदाहरणका लागि क्वार्कलाई लिन सकिन्छ । क्वार्कको नमुनालाई १९६४ मा मुरेय गेल—म्यान र जर्ज ज्वेइगले पहिलोपटक प्रस्तुत गरेका थिए । दुई वा तीनवटा क्वार्कहरू मिलेर हाड्रोन बनेको हुन्छ । त्यसैगरी प्राटोन पनि दुईवटा अप, एउटा डाउन र ग्लुओनस मिलेर ‘बाइन्डिङ’ बलहरूद्वारा एकआपसमा बनाइएको हुन्छ । यसका बारेमा थप कुरा पछि गरौँला । यहाँ यो प्रसङ्ग उठाउनुको तात्पर्य के हो भने माओले आफ्नो दर्शनको प्रवचनमा १८ अगस्ट, १९६४ मा चुवाङ्जुले भनेको ‘एक फुट लामो वस्तुलाई हरेकपटक आधा—आधा पारेर टुक्र्याउँदै जाने हो भने त्यसलाई कहिल्यै शून्य बनाउन सकिँदैन, यो सत्य हो’ भन्नुभएको छ । उहाँ अगाडि भन्नुहुन्छ, ‘तपाईंलाई विश्वास लाग्दैन भने मनमा गुनिरहनुस् । त्यसरी कुनै वस्तुलाई शून्यमा बदल्न सकिने भएको भए त विज्ञान भन्ने कुनै कुरा नै हँुदैनथ्यो’ भनेर द्वन्द्वात्मक भौतिकवाद माक्र्सवादसंगत मात्र भन्ने प्रमाण पेस गर्नुभएको छ भने पदार्थको अस्तित्वलाई पुनर्पुष्टि गर्नुभएको छ ।

१९६० को दशकमा तार सिद्धान्त (स्ट्रिङ थ्यौरी) को आविष्कार भयो । तार सिद्धान्त सबै सिद्धान्त उत्पादन गर्न प्रस्तावित विधिहरूमध्येको एक हो । यो एउटा यस्तो मोडेल हो जसले सबै ज्ञात कणहरू र शक्तिहरूको वर्णन गर्दछ र यसले भौतिक विज्ञानको मानक मोडललाई छोडिदिन्छ जसले गुरुत्वाकर्षणबाहेक सबै कुरा वर्णन गर्न सक्छ । धेरै वैज्ञानिकहरू यसको गणितीय सुन्दरताका कारण तार सिद्धान्तमा विश्वास गर्दछन् । तार सिद्धान्तले ब्रह्माण्डको आधारभूत अवयव एक—आयामिक ‘तार’ ‘बुँदाजस्ता कणहरू’ भन्दा पनि छ वा अतिरिक्त सात आयामको स्थान आवश्यक पर्दछ र यसले सानालाई थप ठूला आयामहरूलाई समावेश गर्ने तरिका प्रस्ताव गर्दछ । तार सिद्धान्तको प्राथमिक लक्ष्य भनेको क्वान्टम यान्त्रिकी (सानो वस्तुको नियम) र सामान्य सापेक्षताको सिद्धान्त (ठूलो वस्तुको नियम) लाई एकल गणितीय रूपले लगातार फ्रेकवर्कमा सामेल हुनु हो । ..ब्रह्माण्ड पक्कै पनि सुसङ्गत छ, हामीसँग गणितीय विवरण जुन सङ्गत छ, पनि आवश्यक छ । विश्वलाई थाहा छ, यहाँ तीनवटा आयामहरू छन् लम्बाइ, चौडा र उचाइ वा गहिराइ र अहिले आएर समय पनि थपिएको छ । तर आयामहरू धेरै छन् भन्ने छ । तार सिद्धान्तअनुसार पछिल्लो आधा शताब्दीको प्रमुख भौतिक विज्ञानको नमुनाले ब्रह्माण्ड १० वटा आयामहरूको साथमा सञ्चालित छ ।

यी तथ्यहरूबाट माओले वस्तुमाथिको एकको दुईमा विभाजन र द्वन्द्वात्मकताको जीवन भन्नु नै विपरीत तत्वहरूबीचको निरन्तर सङ्घर्ष भन्ने अवधारणालाई पुष्टि गर्दछ । अझ एङ्गेल्सले भौतिक विज्ञानका नियमहरू जति पत्ता लाग्दै जान्छन् उति नै भौतिक जगत्का रहस्य खुल्दै जान्छन् र जब सबै नियमहरू सतहमा आउँछन् अनि मान्छेले प्रकृतिमाथि नियन्त्रण गर्न सक्दछ भन्नुभएको छ ।

निष्कर्ष

पछिल्लो क्रममा प्रत्यक्षवादीहरूले सच्चा भौतिकवादलाई छोपिदिने गरेका छन् । यसको वर्तमान द्वन्द्वात्मक भौतिकवादीले खण्डनमण्डन गरिराखेका छैनन् । प्रत्यक्षवाद भनेको हिजोलाई बिर्सने, भोलिलाई नदेख्ने, वर्तमानलाई मात्र सही ठहर्याउने हो । त्यसैले प्रत्यक्षवादीहरूले नयाँ सिर्जना, कल्पना, अनुमान गर्न सक्दैनन् । उनीहरू नयाँ यथार्थको खोज गर्न सक्दैनन् । त्यसैले उनीहरू भौतिकवादलाई परित्याग गर्न पुग्छन् । अझ नेपालमा त लेनिनको शब्दमा भौतिकवादी आदर्शवादबाट ग्रसितहरूको झुण्ड नै तयार भएको छ । उनीहरू भौतिकवादको माला जप्दै आदर्शवादमा विलीन हुन पुगेका छन् । त्यसैले उनीहरू प्रकृति विज्ञानमा थपिएका नयाँ नियमहरूमाथि दृष्टि लगाउने कुनै धृष्टता नै गर्दैनन् । त्यसैको परिणाम माक्र्स—एङ्गेल्स, लेनिन र माओपछि पदार्थको सही विश्लेषण हुनसकेको छैन । अन्ततः उनीहरू द्वन्द्वात्मक भौतिकवादकै आवरणमा त्यसैका विरुद्ध जेहाद छेडिरहेका छन् । भ्रम फैलाइरहेका छन् । कोहीकोही त दर्शन म¥योसम्म पुगेका छन् । उनीहरू भौतिक आविष्कार पनि भौतिकवादी दर्शनभित्रकै काम भन्ने सत्यतालाई मनन गर्दैनन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :