खालिस्तान विद्रोहको कथा

‘पन्जाबी सुबे मेरा लास पर बनेगा’ –राजीव गान्धी

इन्दिरा गान्धीको हत्या भएपछि उनका छोरा राजीव गान्धी भारतको प्रधानमन्त्री भएका थिए । इन्दिरा गान्धीले ‘र’ को योजनामा सवुर्ण मन्दिरमा छापामार्दा रगतको खोलो बगेको थियो । आफ्नी आमाको हत्यालगत्तै राजीवले ‘खालिस्तान मेरो लासमाथि बन्छ’ भनेका थिए । के हो त खालिस्तान विद्रोह ? यहाँ यसबारे सामान्य चर्चा गरिनेछ ।

आजको राजनीतिक नक्सामा भारत र पाकिस्तानमा बाँडिएको पन्जाब प्राचीन शक्तिशाली राज्य हो । पन्जाबको राजधानी लाहौर हाल पाकिस्तानमा पर्दछ । लाहौर गएर फर्किनेलाई लाहुरे भन्दाभन्दै विदेश जाने सबैलाई लाहुरे भन्ने चलन बसेको भनाइ प्रचलित छ । भीमसेन थापाले पन्जाब, मेरठ र अफगानिस्तानसँग अङ्ग्रेजविरुद्ध संयुक्त मोर्चा कायम गर्न चाहेका थिए । बलभद्र सेन पन्जाबी सेनामा भर्ती भएर अङ्ग्रेजविरुद्ध लडेको बताइन्छ । यसले पन्जाबको विरासत सम्पन्न र शक्तिशाली देखिन्छ । सन् १९४७ मा भारत–पाकिस्तान टुक्रिँदा पन्जाब पनि टुक्रियो ।

पन्जाब औद्यौगिक, शैक्षिक र कृषि उत्पादनमा भारतमै अब्बल मानिन्छ । पन्जाब र हरियाणाले दिल्ली पालेको ठानिन्छ । तर पन्जाब उत्पीडन र शोषणमा परेको जनताको बुझाइ थियो । दिल्ली, बेलायत, क्यानाडा र अमेरिकामा सिख समुदायको ठूलै सङ्ख्या रहेको छ । नेपालमा पहिलो यातायात सञ्चालनपछि सिखहरूप्रति ज्यादती हुन गयो । बेलायत, क्यानाडा र अमेरिकामा फेटा नबाँध्न र दाह्री नपाल्न रोजगारदाताले दबाव दिन थाले । आजभोलि युरोपमा बुर्का लगाउँदा आईएसआईको आशङ्का गरेझैँ गरिन्थ्यो । त्यसैगरी विश्वभरिका सिख समुदायले ननकान साहिब गुरुद्वारा भ्रमण गर्न दिन पाकिस्तानसमक्ष भारत सरकारले दबाब देओस् भन्ने माग गरिरहन्थे तर भारत सरकारले कुनै सुनुवाइ गरेन । त्यसकारण प्रवासी सिख समुदायले सिख समुदायको आर्थिक, धार्मिक, सांस्कृतिक रक्षाका लागि अलग्गै स्वतन्त्र देशको आवश्यकताबोध गर्न थालेका थिए । त्यही अवधिमा बेलायतका सिखहरूले ‘सिख होमरुल आन्दोलन’ गठन गरे । बेलायतमा चरणसिंह नेतृत्व लोकप्रिय थियो ।

सिख आन्दोलन सन् १९७० मा नयाँ चरणमा प्रवेश गर्यो । पन्जाब प्रान्तको अर्थमन्त्रीसमेत भइसकेका र पन्जाब एसेम्बलीको १९६७–१९६९ मा प्रवक्तासमेत भएका डा. जगतसिंंह चौहान सन् १९७१ भन्दा अघि नै बेलायत गएर आन्दोलनमा सरिक भए । उनी लगत्तै नेतृत्वमा पुगे । चौहानले ‘खालिस्तानी आन्दोलन’ नामकरण गरे । स्वतन्त्र देशको नाम ‘खालिस्तान’ प्रस्ताव गरियो । सिख समुदायको स्वतन्त्र देश भए मात्र आफ्नो समुदायको रक्षा हुने आमधारणा बन्दै गयो ।

भारतको गुप्तचर निकाय इन्टेलिजेन्स ब्युरो (आईबी) ले भारत–चीन युद्धको सही सूचना दिन नसकेको जवाहरलाल नेहरूको बुझाइ थियो । गुप्तचर निकायको असफलताका कारण खालिस्तान विद्रोह बढ्दै गएको इन्दिरा गान्धीको बुझाइ थियो । त्यसैबीच सन् २१ सेप्टेम्बर १९६८ मा गान्धीले ‘आई बी’ विघटन गरेर ‘रिसर्च एन्ड एनालाइसिस विङ (र)’ गठन गरिन् । त्यसको इन्चार्ज गान्धी आफैँ बनिन् ।

सन् १९७१ मा पूर्वीपाकिस्तानलई स्वतन्त्र देश निर्माण गर्ने ‘र’ को योजनासँगै खालिस्तानविरुद्ध ‘र’ ले ‘साइबर वार’ सुरु गर्यो । त्यसलगत्तै पाकिस्तान, बेलायत, क्यानाडा र अमेरिकाले पनि खालिस्तानका पक्षमा नरम नीति अख्तियार गर्न थाले । त्यसलगत्तै ‘अन्तर्राष्ट्रिय सिख युथ फेडरेसन, दिढाल रगल्सा, दि बब्बार रगल्सा’ आदि सङ्गठनहरू निर्माण भए । खालिस्तानीहरूले चीनको समर्थन लिन चौहान १९८० मा हङकङ हुँदै चीन प्रवेश गर्न चाहेका थिए । चीनले खालिस्तान विद्रोहमा पश्चिमाहरूको प्रवेश ठानेर चौहानलाई चीन प्रवेश गर्न दिएन । खालिस्तानीहरूका बीचमा हिंसात्मक कि शान्तिपूर्ण भन्ने बहस उत्कर्षमा थियो । विद्रोहका दुवै रूप चलिरहेका थिए । चौहान शान्तिपूर्ण सङ्घर्षको पक्षपाती थिए । पन्जाब प्रहरीका कनिष्ठ अधिकारीसमेत रहिसकेका गङ्गासिंह ढिलोनले ‘ननकान साहित फाउन्डेसन’ गठन गरेर अमेरिकामा खालिस्तान आन्दोलन चलाइरहेका थिए । त्यसैबीच ‘र’ प्रमुख सन्दुकले सन् १९८० को अन्त्यमा खालिस्तान विद्रोह दमन गर्न अलग विभाग गठन गरे । सन् १९८१ सेप्टेम्बर २९ मा खालिस्तान विद्रोहीमध्येको एउटा घटक गजेन्द्र सिंह नेतृत्वको ‘दाल खाल्सा’ ले इन्डियन एअरलाइन्सको जहाज अपहरण गर्यो । पाकिस्तानको मध्यस्थतामा यात्रुलाई भारत फिर्ता गरेर विद्रोहीलाई पाकिस्तानमै शरण दिइयो ।

खालिस्तान विद्रोहले स्वतन्त्र पहलकदमी, जननिर्भरता गुमाउँदै गएको थियो । सन् १९८२ नोभेम्बर १९ देखि डिसेम्बर ४ सम्म भारतमा एसियन कप चल्दै थियो । खालिस्तानीहरूले त्यो खेल भाँड्न चाहे । त्यसका लागि जगतसिंह चौहान लन्डनबाट काठमाडौँ आए । त्यसको सूचना ‘र’ ले प्राप्त गर्यो र नेपाल सरकारलाई चौहानको सुपुर्दगी माग गर्यो । पञ्चायती सरकारले चौहानलाई लन्डन नै फिर्ता गर्यो । चौहानको काठमाडौँ आगमन र एक वर्षअघि जहाज अपरहण काण्डले त्रसित प्रहरी र अर्धसैन्य बलले दिल्लीमा सुरक्षा बेरियर बनाएर सवारीसाधनबाट फेटा लगाएका, दाह्री पालेका सबैलाई ओरालेर केरकार गर्न थाल्यो । सिख समुदायले अपमानित ठान्यो । दमनहरू भए । त्यसले गर्दा खालिस्तान विद्रोहप्रति जनसमर्थन व्यापक भएर गयो । सन् १९८३–०८४ सम्म पुग्दा पन्जाबको अवस्था नाजुक भयो ।

सन् १९८३ अप्रिल २६ मा स्वर्ण मन्दिर जाँदै गर्दा पन्जाब प्रहरीका डेपुटी इन्सपेक्टर बाटैमा मारिए । खालिस्तानी विद्रोहीहरूले स्वर्ण मन्दिर कब्जा गरेर बसेका थिए । त्यसका विरुद्ध सेना परिचालन गर्ने निर्णय सरकारले गर्यो । तर ‘र’ ले प्रहरी र अर्धसैन्य बल प्रयोग गर्नुपर्ने सुझाएको भए पनि सरकारले नमानेको एकजना ‘र’ अधिकारीको भनाइ छ । अकाली दल र भिन्ट्रनवालेलाई आत्मसमर्पण गर्न भनियो । सेनाले छापामा¥यो र रगतको खोलो बगायो । पूर्वानुमानभन्दा धेरै समय र ठूलो भिडन्त भयो । सयौँ निर्दोष श्रद्धालु मारिए । सेनाले अनपेक्षित घटनापछि ‘र’को सूचना गलत भएकाले अनपेक्षित घटना भएको बतायो । सुरक्षा निकायबीच नै मत बाझियो । त्यो घटनापछि फौजमा नकारात्मक प्रभाव नपर्ने सरकारी बुझाइ थियो । भारतीय फौजमा पन्जाबीहरूको ठूलो भूमिका थियो । फौजमा नकारात्मक प्रभाव पर्यो । सन् १९८४ जून ३–६ को ‘अपरेसन ब्लु स्टार’ नामको उक्त अपरेसनले भारतीय समाजमा दीर्घकालीन नकारात्मक प्रभाव पार्यो ।

सन् १९८४ अक्टोबर ३ तारिखमा दिल्ली प्रहरीमा रहेका २ जना इन्दिरा गान्धीका अङ्गरक्षकले इन्दिरा गान्धीको हत्या गरे । सिख फौजमा नकारात्मक प्रभाव परेकाले सिखहरूलाई गान्धीको भित्री सुरक्षाबाट सावधानीपूर्वक अन्यत्र सारिएको थियो । तर फेरि के–कति कारणले पुनः तैनाथ गरियो भन्ने प्रश्न अनुत्तरित नै रहेको थियो । गान्धीको मृत्युले देशभरि सन्नाटा उत्पन्न भइरहेको बेला सिख समुदायमा एकसाथ त्रास र खुसी थियो । बेलायतका केही खालिस्तानीले लन्डनको भारतीय उच्च आयोगअगाडि जम्मा भएर मदिरापान गर्दै नाचगान गरेका थिए । उनीहरूले त्यही बाटो भएर आउजाउ गर्नेहरूलाई फ्रेन्च मदिरा बाँडेका थिए । यता भारतभरि काङ्ग्रेस र प्रहरीहरूले देशव्यापी सिखहरूको हत्या र लुटपाट गरे ।

अपरेशन ब्लु स्टारको समयमा भारतीय सेनाका प्रमुख जनरल एएस वैद्य अवकाशपछि महाराष्ट्रको पुने सहरमा अवकाश जीवन बिताइरहेका थिए । सन् १९८६ मा पुनेमा वैद्यको पनि हत्या भयो । यसरी हिंसा र प्रतिहिंसा चल्दै गर्यो । तर क्रान्तिकारी विचार, सही राजनीति, जननिर्भरताभन्दा गुप्तचर, स्वार्थ समूहप्रतिको भरोसा, जनपरिचालनको अभाव र भारतका अन्य राष्ट्रिय मुक्ति आन्दोलनसँग संयुक्त मोर्चा कायम गर्न नसक्दा खालिस्तान विद्रोह ओरालो लाग्यो । तर राष्ट्रिय मुक्ति आन्दोलनको औचित्य यथावत् भए पनि त्यसले आवश्यक विकास गर्न सकेन । पाकिस्तानको संलग्नताले आन्दोलनलाई बदनाम गराउँदै लग्यो भने पश्चिमाहरू भारतीय काङ्ग्रेस र सोभियत सङ्घप्रति नरम भएकाले खालिस्तान आन्दोलनलाई दिल्लीसँग ‘बार्गेनिङ चिप्स’ मात्र बनाउन चाहन्थे ।

खालिस्तान विद्रोहप्रतिको ज्यादती, सनकको भरमा लगाइएको सङ्कटकाल र तमिल समस्याप्रति ‘आफैँ धामी, आफैँ बोक्सी’ भनेजस्तो नीतिका कारण भारतका दुई प्रधानमन्त्री तथा आमा–छोराको ज्यान गयो भने काङ्ग्रेस नेतृत्वविहीन भएर आज विघटनको सङ्घारमा पुग्यो । खालिस्तान विद्रोहको अस्थायी समाधान त भयो तर गर्भमा प्रतिरोधको बिउ रोपेर छोडियो । यसको अन्तर्राष्ट्रिय आयाम पनि छ जसमा सहयोगी सोभियत सङ्घको विघटन, चीनको बढ्दो शक्ति आर्जन, श्रीलङ्कामा चीनको प्रभाव विस्तार र अमेरिकाको बढ्दो प्रभाव थिए । तर आन्तरिक कारण नै मुख्य थियो ।

भरतपुर अस्पताल, मेडिकल वार्ड, क्याबिन नं. ३०१ ‘ए’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :