एफए कपको १४ औँ उपाधि आर्सनललाई

काठमाडौँ : विश्व फुटबलको सबैभन्दा पुरानो प्रतियोगिता एफए कपको उपाधि आर्सनलले १४ औँ पटक जितेको छ ।

वेम्बलीमा शनिबार राति भएको फाइनल खेलमा पेरिक एम्रकी आबुमियाङको २ गोल मद्दतमा आर्सनलले चेल्सीलाई २–१ गोल अन्तरले पराजित गर्दै १४ औँ पटक उपाधि जितेको हो ।

१० खेलाडीमा सीमित चेल्सीका लागि क्रिस्टियन पुलिसिचले एक गोल फर्काएका थिए । निकै रोमाञ्चक र तनावपूर्णसमेत बनेको फाइनल खेलमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै आर्सनलले उपाधि चुमेको हो ।

खेलको पाँचौँ मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए तर २८ औँ मिनेटमा आबुमियाङले पेनाल्टीमा गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ६७ औँ मिनेटमा आबुमियाङले गरेको व्यक्तिगत दोस्रो गोल नै आर्सनलका लागि निर्णायक साबित भयो ।

७३ औँ मिनेटमा माटियो कोभासिचले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!