मिसन पत्रकारिता र क्रान्तिकारी आन्दोलन

सामान्यतया पत्रकारिता भनेको समाचारमा पहुँच, समाचारहरूको सङ्कलन, समाचारको निर्माण र सूचनाको प्रस्तुति गर्ने काम गर्ने हो । यी कामहरूको उपज नै वास्तवमा पत्रकारिता हो । पत्रकारिता सामाजिक जीवनको एउटा विशिष्ट गतिविधि हो । यसलाई समाजका अन्य गतिविधि र व्यवहारहरूबाट अलग गर्न सकिन्न ।
पत्रकारिता वास्तवमा समाजको एउटा प्रस्ट झल्को वा ऐना हो जसमा समाजको एथेष्ट चित्र देख्न सकिन्छ । त्यसकारण पत्रकारिता सबै समाजका लागि त्यसको अभिन्न अङ्गका रूपमा आवश्यक गतिविधि हो । समाज जति धेरै चलायमान हुन्छ, समाज जति धेरै अगाडि बढिरहेको हुन्छ, समाचाहरू पनि त्यति नै धेरै अगाडि बढिरहेका हुन्छन् । त्यस्तै क्रान्तिकारी पत्रकारिता बुर्जुवा पत्रकारिताभन्दा दोब्बर बढी चलायमान, गतिशील र तीक्ष्ण हुनुपर्छ र हुने गर्दछ किनकि क्रान्तिकारी पत्रकारिताले एकातिर विद्यमान ठोस समाजको ठोस प्रकारको विश्लेषण गर्नुपर्दछ । त्यसको गहिरो वर्गविश्लेषण गर्नुपर्दछ र अर्कोतर्फ यसले नयाँ समाजका लागि स्पष्ट मार्गनिर्देशन गर्नुपर्दछ ।
समाजको चरित्रअनुसार पत्रकारिताको पनि चरित्र निर्धारित भइरहेको हुन्छ । समाजमा रहेका वर्गहरूको प्रतिनिधित्व स्वाभाविक रूपमा पत्रकारितामा नपर्ने कुरा हुँदैन । हामीले इतिहासमा देखेका छौँ बुर्जुवा समाजमा पत्रकारिता बुर्जुवा चरित्रको हुने गरेको छ । समाजवादी समाजमा पत्रकारिताको चरित्र क्रान्तिकारी प्रकारको हुने गर्दछ ।
मानिसको स्वभाव सधैँ प्रगतिशील, क्रान्तिकारी र अग्रगामी हुने गर्दछ । कम्युनिस्ट पार्टीहरूको विविधताजस्तै पत्रकारितामा विविधता हुनु हँुदैन । कतिपय देशहरूमा धेरै कम्युनिस्ट पार्टीहरू रहने र ती पार्टीअनुसार पत्रकरिता चल्ने गरेका छन् र उनीहरूले आफूलाई कम्युनिस्ट पत्रकार वा क्रान्तिकारी पत्रकार भनेर दाबी गर्ने गरेका छन् तर वास्तविक पत्रकारिता सङ्ख्या र गुणको योगका हिसाबले सङ्ख्या जतिसुकै भए पनि गुणमा ऐक्यबद्धता र समाजवादी–साम्यवादी नीति र उद्देश्यमा एकनिष्ठता हुनुपर्छ ।
अहिले पनि कतिपय जडसूत्रवादीहरू, संशोधनवादीहरू र पुँजीवादीहरूका प्रचारकहरूले भन्ने गरेका छन्– पत्रकारिता स्वतन्त्र हुनुपर्दछ । पत्रकारिता स्वतन्त्र हुनुपर्छ भन्ने कुरा सही हो तर कसका लागि स्वतन्त्र ? केका लागि स्वतन्त्र ? माक्र्सकोे समयमा पादरीहरू, पुजारीहरू र पुँजीपतिहरूको गुणगान गाउनेभन्दा बाहिर पत्रकारितामाथि प्रतिबन्ध थियो जसको कारण त्यहाँ पत्रकारिता स्वतन्त्र अभिव्यक्तिका रूपमा माग गरिन्थ्यो । लेनिनको समयमा स्वतन्त्र पत्रकारिता केवल पुँजीपतिहरूका निम्ति र पँुजीवादीहरूका लागि मात्र काम गर्ने संस्थाका रूपमा थिए ।
लेनिनले पुँजीवादी अभिव्यक्तिको स्वतन्त्रताको औचित्य नभएको बताउनुभएको थियो । अहिले नेपालमा तिनै पत्रिकाहरू र प्रचारका साधनहरूले राज्यको संरचना, सहयोग र सुरक्षा प्राप्त गर्दै आएका छन् जसले सबैभन्दा बढी एकाधिकार पुँजीवादको वा नेपालको दलाल पुँजीवादी सत्ताको पक्षपोषण गर्ने गरेका छन् । तर क्रान्तिकारी पत्रिकाहरूमाथि, परिवर्तनका पक्षधरमाथि दलाल पुँजीवादी सत्ताले पक्षपातपूर्ण व्यवहार गर्दै आएको हुन्छ । वर्गसमाजको चरित्रअनुसार त्यसो हुनु कुनै अनौठो कुरा होइन । त्यही कारणले हो– क्रान्तिकारी पत्रकारिता, बुर्जुवा पत्रकारिताले लादेको वर्गसङ्घर्षमा भाग नलिईकन, त्यसको प्रतिवाद नगरीकन र त्यसलाई वैचारिक, राजनीतिक, बौद्धिक र गतिशीलताका क्षेत्रमा परास्त नगरीकन जीवित रहन पनि सक्दैन ।
क्रान्तिकारी पत्रकारिताले त्यही काम गर्नुपर्दछ र गर्न सक्छ, आत्मविश्वासको अभावका कारण भरपूर तागत भएको सेना जसरी एउटा खास परिवेशमा भाग्ने हुन्छ र त्यसलाई फकाउनका लागि केही सामान्य घटनाहरूको कलात्मक प्रस्तुति आवश्यक हुन्छ, यसको काम त्यस्तै हुन्छ । सच्चा क्रान्तिकारी पत्रकारिता भनेको केवल सतही समाचार बेचेर जीविका चलाउने वा आधुनिक जमानाको विकसित प्रविधिमा पुँजीवादले अत्यधिक मानिसमा थोपरेको यौनकुण्ठालाई केन्द्रित गरी जीविका निर्वाह गर्ने प्रक्रियाबाट पनि होइन, हरेक वस्तुको घनीभूत अध्ययन गर्ने आदि, मध्य, अन्त्यको वृत्तशृङ्खलाको खाका तयार गर्ने र आमूल परिवर्तनका लागि जनताको बीचमा प्रस्तुत गर्नु हो ।
क्रान्तिकारी पत्रकारिताले यस्तो महान् कलाद्वारा सामान्य परिस्थितिको सिर्जना गर्न सक्नुपर्दछ जसले उनीहरू पुनः आफ्नो भाग्यको फैसला आफँै गर्न र आफ्नो भविष्यको स्वरूप आफैँ निर्धारण गर्ने अधिकार प्राप्त गर्ने स्थानमा पुग्न सकून् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :