बिर्सन नसकिने दोरम्बा सामूहिक हत्याकाण्डको त्यो कालो दिन

२०६० साल साउन ३२ गतेको त्यो कालो दिन इतिहासकै कालो दिन हो । मध्य–वर्षायामको समय भएको कारणले रामेछापको दोरम्बा बजारलगायत आसपासका ठाउँहरू बादलुको घुम्टोले पूरै ढाकेको थियो । त्यसै त लेक, त्यहीँमाथि बर्सात्को समयसँगै झमझम वर्षा भैरहेको थियो । गाउँका किसानहरू आआफ्ना मेलापातमा गैसकेका थिए । गाउँ पूरै सन्नाटामा थियो । त्यो सन्नाटा क्षणिकका लागि मात्र सीमित भयो । त्यो शान्तिपुर्ण वातावरण एकाएक युद्धभूमिमा परिणत भयो । दोरम्बा गाउँ कोलाहलमय बन्यो । चराचुरुङ्गीको चिरबिर धुन खलबलिन थाल्यो । एक त बादलले ढाकेर अन्धकार भएको दोरम्बा बजार झन् पुरै अन्धकार भयो ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा सञ्चालित महान् जनयुद्ध भीषण र निर्मम ढङ्गले अगाडि बढ्दै नेपाली जनताको विश्वास जित्दै सगरमाथाको चुचुरोतिर विजयको झन्डा फर्फराउन आतुर थियो । तत्कालीन विद्रोही पक्ष शान्तिपूर्ण ढङ्गले समस्याको हल खोज्न चाहिरहेको थियो भने तत्कालीन राज्यसत्ता बन्दुकको भरमा आफ्नो सत्ता टिकाउन चाहन्थ्यो । नेपाली श्रमजीवी जनताको आन्दोलनले उचाइ हासिल गर्दै गएपछि तत्कालीन विद्रोही पक्ष र सत्ता पक्षबीच शान्तिवार्ता गर्ने सहमति भएको थियो । तत्कालीन माओवादीका तर्फबाट डा. बाबुराम भट्टराईको नेतृत्वमा वार्ताटोली गठन गरी दोस्रो चरणको वार्ता दाङको हापुरेमा चलिरहेको थियोे । वार्ताको नाटक मञ्चन गरेर क्रान्तिकारीहरूलाई सखाप पार्ने रणनीति पुरानो सत्ताले भित्रभित्रै बनाइरहेको रहेछ भन्ने कुरा दोरम्बाको नरसंहारबाट स्पष्ट हुन्छ ।

वार्ताको आचारसंहिता दुवैतर्फबाट बनाइएको थियो । दुवैतर्फबाट कुनै पनि फौजी आक्रमण नगर्ने, तत्कालीन शाही सेना ब्यारेकभन्दा पाँच किलोमिटर बाहिर नजाने, माओवादीका तर्फबाट पनि सोही नियम लागू गरिएको थियो । शान्तिवार्ता चलिरहेको अवस्थामा रामेछापको दोरम्बामा पार्टीको आन्तरिक छलफलका लागि जिल्ला इन्चार्ज कमरेड ललितलगायत जिल्लास्तरीय नेता–कार्यकर्ताहरू छलफलमा अघिल्लो दिनदेखि जुट्दै थिए । छलफलमा भाग लिने क्रममा तत्कालीन विद्रोही पक्षका रामेछाप जिल्ला जनसरकार प्रमुख तथा रामेछापका जनप्रिय नेता क. बाबुराम तामाङ ‘पुष्प’ पनि सहभागी हुनुहुन्थ्यो । शान्तिवार्ता चलिरहेको अवस्थामा तत्कालीन राज्यका तर्फबाट यस्तो षड्यन्त्र होला भन्ने कसैले एकरत्ति पनि सोचेका थिएनन् । युद्धरत पार्टी र सत्तामा बस्नेहरूबीच शान्तिवार्ता हुन्छ भने जेनेभा महासन्धिको नियम पालना गर्नुपर्ने हुन्छ । तर तत्कालीन हत्यारा शाही सरकार र त्यसको भरौटे शाही सेनाले जेनेभा सन्धिको घोर उल्लङ्घन गर्दै दोरम्बामा माओवादी नेता तथा कार्यकर्ताको जमघट भएको खबर पाएर तत्कालीन शाही सेनाका हत्यारा जल्लाद मेजर राममणि पोख्रेलको नेतृत्वमा रामेछापको मन्थलीबाट झन्डै १९ किलोमिटर टाढा पैदल यात्रा गरेर कार्यक्रम भएको स्थल स्थानीय शिक्षक युवराज मोक्तानको घर पूरै घेरा हाली अन्धाधुन्ध गोली फायर गरेको थियो । सामान्य सेन्ट्रीमा बसेका माओवादी योद्धालाई घटना स्थलमा नै गोलीद्वारा ढालिएको थियो ।

केही कमरेडहरू आततायी जल्लादहरूको घेरा तोडेर भाग्न सफल भएका थिए भने बाबुराम तामाङलगायत बाँकी १९ जना होनहार योद्धाहरूलाई आँखामा कालोपट्टी र हातपछाडि डोरीले बाँधेर झन्डै एक घन्टाको बाटो हुँदै डाँडाकटेरीमा पुर्यायो । डाँडाकटेरीमा पुर्याएपछि आत्मसमर्पण गर्न कासन दिइयो तर आत्मसमर्पण गरेर कायरतापूर्ण जीवन जिउनुभन्दा क्रान्तिका निम्ति हाँसीहाँसी बलिदान गर्नु महान् ठानेर ती महान् मान्छेहरूले दुस्मनलाई घृणा गर्दै महान् जनयुद्ध जिन्दावाद ! हत्यारा शाही सरकार मुर्दावाद ! जनयुद्ध जारी छ ! वीर सहिद लालसलाम ! भन्दै डाँडाकटेरी गगनभेदी नाराले गुन्जियो । भाडाका जल्लादहरूलाई त्यो नारा बम र बारुद साबित भयो र लाममा राखेर सबैलाई एउटै चिहान बनाइयो । १९ जना डाँडाकटेरीमा र २ जना कार्यक्रम स्थलमा गरी २१ जना महान् सपूतहरूको रगतले दोरम्बा पुरै रक्ताम्मे भयो । नेपालको जनयुद्धमा अर्को आयाम थपियो ।

जनयुद्धका तत्कालीन नेतृत्वहरू पटकपटक सरकारको नेतृत्व गर्ने ठाउँमा पुगे पनि दोरम्बा हत्याकाण्डका अपराधीहरूलाई कारबाही गर्ने कुनै छनक देखाएनन् । बरु उल्टै मानसम्मान गरे । उल्टै नेताहरूले नै आत्मसमर्पण गरे । आफैँले कार्यान्वयनमा ल्याएको विचारलाई हत्या गर्दै सुखसयल र विलासी जीवन जिउन थाले । आज दोरम्बालगायत देशैभरिका दसौँ हजार महान् सहिदहरूको रगत बालुवामा पानी हालेजस्तै भएको छ । ती महान् सहिदहरूको सपना पजेरो र महलमा साटिएको छ । घाइते एवम् बेपत्ता योद्धाहरूको कुनै खोजबिन छैन ।

तत्कालीन जनयुद्धको मूल नेतृत्व विचारमा स्खलित हुँदै तिनै पुरानो संसदीय व्यवस्थालाई मलजल गरिरहेका छन् भने तिनै जनयुद्धबाट आएका सचेत क्रान्तिकारीहरूले आफ्नै पहलमा पार्टी निर्माण गर्दै बाँकी रहेको क्रान्तिलाई पूरा गर्ने, सहिदको रगतबाट उपलब्ध भएको चीजलाई रक्षा गर्ने, दोरम्बालगायत देशैभरिका महान् सहिदहरूको सपना पूरा गर्ने दृढ सङ्कल्पसहित एकीकृत जनक्रान्तिको तयारीमा जुटिरहेका छन् । एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवाद स्थापना भएपछि मात्र जनयुद्धका क्रममा सहिद हुनुभएका महान् सहिदहरूको सपना पूरा हुनेछ । ती महान् सहिदहरूको सपना पूरा गर्ने क्रममा सहिदको कोटा चुक्ता गर्नुपरे पनि पछि नहट्ने प्रतिबद्धतासहित प्रतिक्रान्तिका विरुद्ध क्रान्तिको ज्वाला दन्काई पुरानो राज्यसत्तालाई खरानी बनाएर त्यही खरानीमाथि क्रान्तिको विजयको झन्डा अवस्य गाडिनेछ । यो महान् कार्यमा सम्पूर्ण देशभक्त, राष्ट्रवादी शक्तिहरू, उत्पीडित जनताहरू, परिवर्तनकारी शक्तिहरू एकजुट हुनुको विकल्प छैन ।

आज दोरम्बा नरसंहार सामूहिक हत्याकाण्ड भएको १७ वर्ष पूरा भई १८ वर्षमा प्रवेश गर्दै गर्दा क्रान्तिकारीहरूको काँधमा अर्को गहन जिम्मेवारी थपिएको छ । असरल्ल छोडिएको क्रान्ति पुरा गर्नुछ । दोरम्बालगायत जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने दसौँ हजार सहिदको सपना पूरा गर्नुछ । यसै क्रममा हाम्रो गौरवशाली तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीले देशैभर १८ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस विभिन्न कार्यक्रम गर्दै मनाइरहेको छ भने नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रामेछापले पनि १८ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस भव्यतापूर्वक मनाएको छ । १८ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवसका अवसरमा नेपालको कम्युनिस्ट आन्दोलनलाई अझ उचाइमा पुर्याउन आफ्नो भौतिक शरीर गुमाई क्रान्तिको मार्गमा डोर्याउने ती महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त सम्पूर्ण सहिद परिवारजनमा हार्दिक समवेदना र शोकलाई शक्तिमा बदल्ने प्रण मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :