कोरोना नियन्त्रणमा सरकार पूरै असफल, भयङ्कर रूप लिँदै फैलियो सङ्क्रमण


काठमाडाैँ : नेपालमा कोरोना सङ्क्रमित शून्य रहेको बेला ४ महिनासम्म लकडाउन गरियो तर जब देशमा कोरोना सङ्क्रमितको सङ्ख्या बिस्तारै उकालो लाग्यो र लकडाउनको आवश्यकता पर्यो त्यसपछि साउन ७ गते लकडाउन खुला गरियो । लकडाउन खुलाइएसँगै कोरोना सङ्मितको २६ हजार नाघिसकेको छ भने मृतकको सङ्ख्या पनि तीन अङ्कमा पुगेको छ । ठाउँठाउँमा कोरोना सङ्क्रमण समुदायमा फैलिसकेको छ जसको कारण अस्पतालहरूले अब बिस्तारै बिरामी धान्न नसक्ने अवस्थामा पुग्दैछ ।

सर्लाहीमा कोरोना सङ्क्रमित सख्या नरोकिएपछि निषेधाज्ञा जारी गरिएको छ । त्यसो गर्दा पनि कमी नआएपछि निषेधाज्ञाको म्याद थप गरिएको छ । सर्लाहीमा आगामी भदौ ७ गतेसम्मका लागि निषेधाज्ञाको समय थप गरिएको छ । साउन २१ गतेदेखि लगाइएको निषेधाज्ञा भदौ ७ गतेसम्म थप्ने निर्णय भएको हो ।

यस्तै कपिलवस्तुमा पनि समुदायमा कोरोना फैलिन थालेपछि लगाइएको निषेधाज्ञा पनि भदौ ७ गतेसम्मका लागि लम्ब्याइएको छ । उक्त स्थानमा पर्ने सडकमा गाडीहरूले यात्रु ओराल्न र चढाउनसमेत पाउने छैनन् ।

उता कास्कीको पोखरामा पनि लक्षण नदेखिएका कोरोना सङ्क्रमित १४ जना भेटिएपछि समुदायमा कोरोना फैलिएको शङ्का गरिएको छ । वडा कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि वडा सिल गरिएको छ ।

यसैबीच यता काठमाडाैँमा पनि दिनप्रतिदिन कोरोना सङ्क्रमित बढिरहेका छन् । आइतबार मात्र काठमाडौँमा १ सय ७२ जना सङ्क्रमित थपिएका छन् । शनिबार १ सयजना थपिएकोमा आइतबार ७२ जना बढी देखिएका हुन् । देशैभरि, वैदेशिक रोजगार र भारतबाट समेत आउनेहरूको सङ्ख्या बढेका कारण काठमाडौँमा हरेक टोलटोलमा कोरोना पुगेको आशङ्का गरिएको छ ।

सरकारले कोरोना रोकथाम र नियन्त्रणमा प्रभावकारी संयन्त्र बनाएर परिचालन गर्न नसक्दा र पर्याप्त तयारी गर्ने समयमा पनि आवश्यक तयारी गर्न नसक्दा काठमाडौँलगायत देशका विभिन्न ठाउँमा कोरोनाको जोखिम उच्च हुँदै गएको छ । सरकारले वैदेशिक रोजगार र भारतबाट आउनेहरूलाई व्यवस्थित क्वारेन्टाइन र आइसोलेनमा राखी आवश्यक परीक्षणलाई व्यवस्थित गर्न असफल भएका कारण कोरोना महामारीले भयावह रूप लिने चिन्ता बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :