दोरम्बा हत्याकाण्डका हत्यारालाई कारबाहीको मागसहित राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन

(राष्ट्रिय मानवअधिकार आयोगलाई प्रतिवेदन बुझाएको मिति २०६०।५।१९)

१. समितिको गठन

राष्ट्रिय मानवअधिकार आयोगले रामेछाप दोरम्बामा भएको भनिएको सुरक्षा फौज र नेकपा (माओवादी) बीचको भिडन्तको स्थलगत यथार्थ छानबिन गर्ने प्रयोजनका लागि मिति २०६० भाद्र ९ गते एक समिति गठन गरेको सम्बन्धमा यस समितिका समितिहरूलाई मिति २०६०।५।९ मा दिइएको पत्रबाट जानकारी प्राप्त भयो । प्राप्त पत्रानुसार समितिको नामावली यसप्रकारको छ :
१ कृष्णजङ्ग रायमाझी संयोजक भूपू न्यायाधीश, सर्वोच्च अदालत
२. प्रेमबहादुर विष्ट सदस्य भूपू महान्यायाधिवक्ता
३. कनकमणि दीक्षित सदस्य पत्रकार
४.डा. हरिहर वस्ती सदस्य चिकित्सक, फरेन्सिक विज्ञ
५.हरि फुयाल प्रतिनिधि राष्ट्रिय मानवअधिकार आयोग

समितिको गठनको तात्पर्य र क्षेत्राधिकार तथा मानवअधिकार र मानवीय कानुनको अनुगमनका सम्बन्धमा आयोगका सम्माननीय अध्यक्ष र माननीय सदस्यज्यूहरूले मिति २०६० भाद्र ९ मा जानकारी गराउनुभयो । आयोगले समितिलाई २०६० भाद्र १० मा रामेछापको दोरम्बा प्रस्थान गर्नुभन्दा पहिले शाही नेपाली सेनाको कार्यरथी विभाग (प्राड विभाग) को पत्रसङ्ख्या २१२८ (प्राड) ०६०/६१/२१९ द्वारा राष्ट्रिय मानवअधिकार आयोगलाई पठाएको ‘दोरम्बा घटनाबारेको जानकारी विषयक’ पत्र प्राप्त भएको जानकारी गरायो । समितिले दोरम्बा घटनाको सम्बन्धमा पत्रपत्रिकामा प्रकाशित समाचारहरूको अध्ययन र दोरम्बा क्षेत्रका बारेमा जानकारी राख्ने काठमाडौँमा उपलब्ध व्यक्तिहरूबाट जानकारी लियो । मिति २०६० भाद्र १० मा दिनको करिब १ः१० बजे समिति एयरपोर्टबाट हेलिकप्टरद्वारा रामेछाप जिल्लाको दोरम्बा प्रस्थान गर्यो ।

यस समितिलाई स्थलगत निरीक्षणका लागि आयोगले अनुगमन कार्यादेश उपलब्ध गराएको थियो । कार्यादेशमा मूलतः घटनाको तथ्यबारे जानकारी लिने क्रममा समितिका सदस्यहरूले विवादमा संलग्न भएका पक्षहरू, स्थानीय प्रत्यक्षदर्शीहरू र घटनाका बारेमा सुनेर जान्ने व्यक्तिहरूको बयानका आधारमा सूचनाहरू ग्रहण गर्नुपर्ने, घटनाका बारेमा बयान लिँदा पीडित व्यक्तिको मानसिक तनाव, सुरक्षा र अनुसन्धानका आधारभूत सिद्धान्तहरूलाई सम्मान गरिनुपर्ने, सम्भव भएसम्म घटना घटेको ठाउँको स्थलगत भ्रमण गर्नुपर्ने, घटनास्थल प्रकृति झल्कने कागजात तयार गर्नुपर्ने, मानिसहरू मरेको भए सम्भव भएसम्म जिउमा गोली लागेको ठाउँ र दोहोरो भिडन्त भएनभएको सम्बन्धमा तथ्यहरूले प्रमाणित गर्ने गरी प्रतिवेदन तयार पार्नुपर्ने र घटनाको अनुगमन गर्दा भिडन्त भएको अवस्थामा महासन्धिको साझा घारा ३ को पालना भएनभएको निरीक्षण गर्नुपर्नेजस्ता कुराहरू समावेश गरिएका थिए ।

२. समितिको कार्यपद्धति

घटनाको छानबिन सम्बन्धमा समितिले तथ्यहरू सङ्कलन गर्ने प्रयोजनका निमित्त वारदात भएका स्थानहरूको स्थलगत अवलोकन गर्ने, वारदातलाई प्रत्यक्ष रूपले देख्ने व्यक्तिहरूको बयान लिने, गाडिएको भनिएका खाडलबाट लासहरू निकाली अवलोकन गर्ने, मारिएको ठाउँको घटनाको प्रत्यक्षदर्शीको बयान लिने, फिल्म र भिडियो क्यामेराबाट तस्बिर लिने, घटनास्थलमा भेटिएका गोलीका खोका, चप्पल, हात बाँधिएको भनिएको डोरी, जलाइएका झोला र अन्य सामग्रीहरूको सङ्कलन गर्ने र तिनीहरूको तस्बिर खिच्ने कार्यहरू गर्ने, त्यस्तै घटनाबाट उम्कन सफल भएका भनिएका नेकपा (माओवादी) का कार्यकर्ताहरूको भनाइ र घटनाका सम्बन्धमा सरोकारवाला व्यक्तिहरूका भनाइहरूलाई छुट्टाछुट्टै सुनुवाइ गर्ने, वारदात भएका घटनास्थलहरूको प्रकृति मुचुल्का, लासहरू गाडिएको ठाउँको प्रकृति मुचुल्का, लासहरू निकाल्न आफन्तहरूको मन्जुरी र घटनास्थलमा समितिको रोहवरमा फेलापरेका सामग्रीहरू स्थानीय व्यक्तिहरूसमक्ष बुझाएको मुचुल्का तयार गर्ने कार्यहरू गर्यो ।

३. रामेछापको दोरम्बामा समितिको उपस्थिति

मिति २०६०/५/१० गते करिब १ः३० बजे काठमाडौँबाट हेलिकोप्टरद्वारा रामेछापको दोरम्बा बजारभन्दा पश्चिमपट्टि करिब २ कि.मि पर र कम उचाइको एउटा कान्लामा हेलिकोप्टर अवतरण गर्न सफल भयो । बाक्लो कुहिरोका कारण दोरम्बा बजारमा हेलिकोप्टर बस्न सकेन । स्थानीय व्यक्तिहरूको सहयोगसमेतबाट समितिका सदस्यहरू दोरम्बा बजार पुगी काकलिङ्ग मावि दोरम्बामा… समेतको सहायताबाट स्थानीय स्वास्थ्यचौकीको आवासगृहमा समितिका सदस्यहरूको बसोबासको व्यवस्था गरियो । सम्पूर्ण स्थानीय व्यक्तिहरूलाई समितिको कार्यमा कुनै पनि तवरले हस्तक्षेप र असर नपार्न तथा तथ्यहरूलाई प्रभाव नपार्न समितिले अनुरोध गर्यो । समितिलाई अनुसन्धानमा आवश्यक पर्ने श्रम, चिजवस्तु र सेवा स्थानीय व्यक्तिहरूबाट उपलब्ध गराइयो । श्रम, वस्तु र सेवाको मूल्य भुक्तानी गरियो । निरीक्षण र अनुगमनका क्रममा कुनै पनि पक्षबाट अवरोध सिर्जना गरिएन । स्थानीय व्यक्तिहरूले आफ्नो सुरक्षाको चासो राख्दै समितिलाई भरपूर सहयोग गरे ।

४.दोरम्बा घटनाको तथ्यगत विवरण

दोरम्बा घटना छानबिन गर्न गठित अनुसन्धान समिति (जसलाई कतिपय संलग्न कागजातहरूमा ‘छानबिन टोली’ समेत भनिएको छ) ले सङ्कलन गरेका घटनाको तथ्यगत विवरण निम्नअनुसार छ :

४.१ दोरम्बा परिचय

रामेछाप जिल्लाको दोरम्बा गाविस सदरमुकाम मन्थलीदेखि हवाइमार्गबाट १९ कि.मि. उत्तरपश्चिममा र मन्थलीबाट एक दिनको कठिन हिँडाइमा अवस्थित छ । करिब ६५०० देखि ७००० फिटको उचाइमा रहेको दोरम्बा गाविसका बासिन्दाहरूमध्ये करिब ८५ प्रतिशत तामाङ, १० प्रतिशत मगर, ३ प्रतिशत दलित र २ प्रतिशत क्षेत्रीबाहुनहरू रहेको स्थानीय व्यक्तिहरूले बताए ।

शैलुङ लेकको जङ्गलको दक्षिणमा रहेको दोरम्बा गाउँ दक्षिणतर्फ सिन्धुली, उत्तरतर्फ दोलखाको क्षेत्रहरूको बीचमा पर्दछ । मोटरबाटोको सुविधा नभए पनि राजनीतिक चेतना भएको यस क्षेत्रमा माओवादीको प्रभाव रहेको बुझियो ।

दोरम्बा बजारस्थित गाविस भवन, प्रहरी चौकी ‘मार्स’ टेलिफोन लाइन, इलाका बन कार्यालय र हुलाक कार्यालय माओवादीद्वारा पूर्ण रूपमा भत्काइएका छन् भने दोरम्बा स्वयम् तनावग्रस्त अवस्थामा भएको पाइयो । स्वास्थ्यचौकी र विद्यालयका कर्मचारी र शिक्षकहरू प्रायः दोरम्बा वा रामेछापबाहिरका भएको बुझियो । गाउँका स्रोतसाधन भएका युवाहरू र राजनीतिक दलका कार्यकर्ताहरू काठमाडौँ र अन्यत्र विस्थापित भएको बुझियो भने कतिपय युवायुवतीहरू माओवादीमा संलग्न भई गाउँबाट बाहिर गएका भन्ने बुझियो । त्यस्तै कतिपय युवाहरू शाहीसेना र प्रहरीमा भर्ना भएको भन्ने बुझियो । उत्पादनका रूपमा धान कम, मकै र कोदो ज्यादा र आलुको बिउ उत्पादन हुने यस क्षेत्रमा नेकपा माओवादीबाहेक अन्य राजनीतिक दलका कार्यक्रम र बैठकहरू हुने नगरेको बुझियो ।

४.२ दोरम्बामा ने.क.पा. (माओवादी) का गतिविधिहरू

दोरम्बा गाविसको विगतको स्थानीय निर्वाचनमा प्रायःजसो पदहरू नेपाली काङ्ग्रेसले जितेको बुझियो । नेकपा (एमाले) को पनि नेपाली काङ्ग्रेसकै हाराहारीमा समर्थन रहेको बुझियो । रामेछाप निर्वाचन क्षेत्र नं. २ मा पर्ने यो गाविसमा पहिलेदेखि नै संयुक्त जनमोर्चाका कार्यकर्ताहरू सक्रिय थिए भन्ने बुझियो । २०४८ सालको आमनिर्वाचनमा यस निर्वाचन क्षेत्रबाट संयुक्त जनमोर्चाका कमल चौलागाईंले निर्वाचन जितेका रहेछन् । पछिल्ला निर्वाचनहरूमा क्रमशः पद्मशङ्कर अधिकारी (नेपाली काङ्ग्रेस) र रामहरि ढुङ्गेल (नेपाली काङ्ग्रेस) ले निर्वाचन जितेका रहेछन् । २०५५ सालदेखि आफ्ना गतिविधि तीव्र पारेको ने.क.पा (माओवादी) ले २०५९ सालदेखि दोरम्बा गाउँलाई आफ्नो ‘नियन्त्रण क्षेत्र’ घोषणा गरी ‘जिल्ला जनसरकार’ अन्तर्गत ‘गाउँ जनसरकार’ को ‘नियन्त्रण’ मा राखेको भन्ने पाइयो । दोरम्बा गाउँमा ने.क.पा. (माओवादी) का दुईवटा ठूलाठूला आमसभा आयोजना गरिएको थियो भन्ने बुझियो । हालसम्म पनि ने.क.पा. (माओवादी) का राजनीतिक कार्यकर्ताको प्रायः उपस्थिति रहने र कहिलेकहीँ सानो वा ठूलो समूहमा सशस्त्र माओवादीहरू हिँड्ने गरेको यस ठाउँका जनसमुदाय पनि मनोवैज्ञानिक रूपमा ने.क.पा. (माओवादी) को प्रभावमा रहेको भन्ने बुझियो । ने.क.पा. (माओवादी) ले आफ्ना राजनीतिक विरोधीलाई गाउँबाट बाहिर विस्थापित गर्ने प्रवृत्ति रहेको बुझियो । सेना ५/६ महिनामा एकचोटि गाउँमा आउने र ‘सर्च’ एवम् गिरफ्तारी गर्ने गरेको बुझियो ।

४.३ दोरम्बा घटनाको विवरण

दोरम्बा घटना अनुसन्धान समितिद्वारा सङ्कलित सूचना, बयान र अनुसन्धानका आधारमा यस घटनाको विवरण निम्नानुसार रहेको छ । घटनासम्बन्धि विस्तृत जानकारी संलग्न अनुसूचीहरूमा उपलब्ध छ ।

माओवादीहरूले बैठक बस्ने घर आफैँले चयन गर्दा रहेछन् र घरधनीहरूले त्यसमा सहमति जनाउनुपर्ने बाध्यता रहेको बुझियो । मिति २०६० श्रावण ३१ गते बेलुका ४ बजेतिर ने.क.पा. (माओवादी) का गाउँ आसपास र अन्ततिरका कार्यकर्ताहरू दोरम्बा बजारबाट १ कि.मि. पूर्वमा रहेको युवराज मोक्तानको घरमा जम्मा हुन थालेछन् । युवराज मोक्तान डडुवा गाविसमा पर्ने निजको घरभन्दा पारिपट्टिको डाँडाको एक प्राथमिक विद्यालयका शिक्षक रहेछन् । उनी विद्यालयको पुस्तक लिन काठमाडौँ गएका रहेछन् । घटनापूर्वको वस्तुस्थितिको सम्बन्धमा युवराज मोक्तानकी श्रीमतीको भनाइ सारांशमा यस्तो रहेको छ : ‘म र मेरो २० वर्षीय जेठा छोरा लीला मोक्तान खेतमा काम गर्न गएका थियौँ । घर फर्किंदा माओवादीहरू घरभित्र पसिसकेका रहेछन् । अन्तबाट आएका माओवादीहरू राती त्यहीँ बसे । उनीहरूले खाने सामल आफैँ ल्याएका रहेछन् र पकाएर खाए । राती अबेरसम्म वार्तालाप गरिरहेका थिए । मिति २०६० श्रावण ३२ को बिहानैदेखि गाउँ र अन्यत्रका अरू माओवादी कार्यकर्ताहरू आउने क्रम जारी थियो । बिहान करिब ९ः३० बजे झाडापखालाले ग्रसित भएका मेरा श्रीमान् युवराज मोक्तान काठमाडौँबाट दोलखाको मुडेमा बास बसी पैदल बाटोबाट सोही दिन घर आइपुगे । घरमा आएपछि उनले माओवादीको बैठक हुँदै गरेको थाहा पाए र उनी केही नबोली आराम गर्न माथिल्लो तलाको कोठाको ओछ्यानमा ढल्किए । मैले श्रीमान्लाई पानी खान र आराम गरिराख भनी खेतको काममा बाहिर निस्किएँ । म घरबाट बाहिर निस्कँदा करिब १८/२० जना माओवादीहरू घरभित्र थिए र करिब १०÷१२ जना माओवादीहरू घरबाहिर आँगन र डिलमा कुरा गरिरहेका थिए । घरभित्र भएकाहरूमध्ये कतिपय भान्सामा खाना पकाइरहेका थिए । उनीहरूले आफैँले ल्याएका खसी काटी मासु बनाउने र पकाउने क्रममा लागेका थिए ।’

त्यस दिन बिहानैदेखि गाउँमा बाक्लो कुहिरो लागेको र सिमसिम पानी परिरहेको भन्ने स्थानीय व्यक्तिहरूले बताए । मन्थलीबाट गाल्बा आई सेना बास बसेको भन्ने बुझियो । दोरम्बाबाट करिब २ घण्टा दक्षिणतिरको हिँडाइमा रहेको गाल्वा गाउँबाट सेनाहरू सिभिल ड्रेसमा कसैले गन्जी र हाफपेन्ट, हाप ज्याकेट र रेनकोट लगाई हतियार लुकाई दोरम्बा बजारतिर आएको भन्ने बुझियो । दोरम्बा क्षेत्रमा करिब ८० जना सेनाहरू प्रवेश गरेपछि कोही स्वास्थ्य चौकीभन्दा माथिको डाँडामा, कोही विद्यालयछेउको डाँडामा, कोही बजार क्षेत्रमा, कोही बजारभन्दा पूर्वतिरको गाउँमा र दुई टोली सेना स्वास्थ्य चौकीभन्दा पूर्वतिर रहेको युवराज मोक्तानको घरतिर विभाजित भएको बुझियो । सेनाहरू विभिन्न टोलीमा भएकाले गाउँमा निजहरूका विभिन्न क्रियाकलाप एकै समयमा भइरहेको बुझियो । गाउँमा एक माओवादी कार्यकर्ता ‘रामकुमार’ को ‘सङ्गीता’ सँग विवाह हुँदैछ भन्ने प्रायः सबैलाई थाहा रहेछ । सेनाले गाउँलेलाई ‘रामकुमारको विवाह कहाँ हुँदैछ भन’ भनेर सोधेको बुझियो । बजारमा भएका सेनाले पसलमा दालमोठ चिउरा मागी खाएका रहेछन् भने बजारभन्दा पूर्वतिरको गाउँमा रहेको सेनाको एक टोलीले जाँडरक्सी पनि खाएको भन्ने बुझियो । पानी परेको चिसोमा बर्सादी लगाएका सेनाले बजारमा पहरा दिइरहेको बुझियो । विद्यालयछेउमा भएको सेनाको टोलीले विद्यालयमा गई ‘…र… सर कहाँ छन्’ भनी सोधेछन् । शिक्षक… विद्यालयमा नभएकाले शिक्षक…लाई ‘क्याप्टेन साब’ भएको ठाउँमा ल्याई आफू माओवादी भएनभएको, चन्दा दिएनदिएको सम्बन्धमा सोधीखोजी गरेछन् र केहीबेरपछि धम्क्याएर छाडिदिएछन् । निज…लाई छाडिदिँदा युवराज मोक्तानको घरबाट पक्राउ गरेका व्यक्तिहरूलाई ल्याइसकिएको भन्ने बुझियो ।

(अनसूची २,…को बयान)

यसैबीचमा सेनाले बजार क्षेत्रमा कतिपय व्यक्तिहरूलाई माओवादीलाई रासन खुवाएको र विभिन्न सरसहयोग गरेको भनी केरकार गरेको बुझियो भने गाल्बातिरबाट दोरम्बा बजार आउने बाटोमा भएको माओवादीको स्वागतद्वार सेनाले भत्काइदिएका रहेछन् । गाउँलेहरूको आवागमन र चहलपहललाई ठाउँठाउँमा बसेका सेनाहरूले निषेध गरेको बुझियो । स्थानीय व्यक्तिहरूको भनाइअनुसार उक्त सुरक्षा फौजको टोलीको नेतृत्व एक मेजर र एक क्याप्टेनले गरेको भन्ने बुझियो ।

करिब १०ः३० बजेतिर बन्दुक पड्किएको आवाज सुनिएछ । सेनाले युवराज मोक्तानको घर ‘सी’ आकारमा घेरेको भन्ने बुझियो । पल्लो पाखाको डडुवा गाउँबाट बैठकमा भाग लिन पूर्वतिरबाट आउँदै गरेका ‘विवेक’ भनिने टेकबहादुर थापामगर युवराजको घरनजिकैको डिलबाट सेनाको गोली लागेर ढलेछन् । निजसँग आउँदै गरेका ‘राजन’ भन्ने एक व्यक्ति र अर्को एकजना नाम खुल्न नसकेको व्यक्ति भाग्न सफल भएछन् । यसैबीचमा घरबाहिर भएका माओवादी कार्यकर्ताहरू सेना आएको देखी कान्लाबाट हामफाल्दै भाग्न सफल भएछन् । घरभित्र भएकाहरूमध्ये ‘…’ भनिने एक व्यक्ति माथिल्लो तलाको ग्रिल नभएको झ्यालबाट हमफाली भागेछन् । तलामुनि भएका २० जनामध्ये ‘ललित’ भनिने एक व्यक्ति ढोकामा भएका सेनालाई धक्का लगाउँदै चर्पीतिरबाट कान्लामुनि हामफाली उम्कन सफल भएछन् । यी सबै घटनाहरू भइरहँदा सेनाका तर्फबाट धेरै राउन्ड गोली चलिसकेको भनिन्छ । घरका बाहिरी भित्तामा, छानामा र घरभित्र भएको स्वर्गीय राजारानीको तस्बिरमा गोली लागेको देखियो ।

(अनुसूची १, घटनास्थल प्रकृति मुचुल्का)

युवराज मोक्तान र निजका छोरा लीला मोक्तानसहित १९ जनालाई सेनाले घरभित्र प्रवेश गरी हात माथि उठाउन लगाई क्रमशः बाहिर निकालेको बुझियो । बाहिर निकालिएका प्रत्येक व्यक्तिहरूको हात पछिल्तिर बाँधी घरभन्दा माथिको डिलमा लडाइएको बुझियो । सेनाले घर खानतलासी गरेछन् । माओवादीहरूले पकाएको खाना सेनाले पोखिदिएको, दहीको ठेकी फुटाई दही छरपस्ट पारिदिएको, घरभित्रको ऐना फुटाइदिएको भन्ने बुझियो । घरभित्र भएका माओवादीहरूका झोला, एउटा थ्री–नट–थ्री बन्दुक, दुईवटा पेस्तोल, १४ वटा सकेट बम सेनाले कब्जामा लिएछन् । घरधनी, निजकी छोरी र छोराहरूका लत्ताकपडा र कागजात घरबाहिर आँगनमा निकाली सेनाले जलाइदिएको र भाँडाकुडा फुटाइदिएका रहेछन् । विभिन्न सामग्रीहरू जलाइएको ठाउँ समितिले अवलोकन गर्यो । जलाइएका कागजहरूमध्ये दुईवटा नागरिकताका प्रमाणपत्रहरू …बाट प्राप्त भयो । युवराज मोक्तानको घरमा भइरहेका घटनाहरू निजको घरभन्दा केही तल जम्मा भएका गाउँलेहरूले हेरिरहेका रहेछन् । तर उनीहरू घटना भएको ठाउँमा आउन सकेनछन् र सेनाहरू पनि गाउँले भएको ठाउँतिर गएछन् ।

(अनुसूची १, घटनास्थल प्रकृति मुचुल्का)

उल्लिखित घटनाको करिब १ घण्टापछि अन्दाजी ११ः३० बजेतिर सेनाहरूले पक्राउ परेका व्यक्तिहरूलाई हात पछिल्तिर बाँधी कसैलाई अघि र पछि एउटा–एउटा झोला र कसैलाई एउटा मात्र झोला बोकाई ५/७, ५/७ जनाको समूह बनाई स्वास्थ्य चौकी भएतिर अघि बढाएछन् । केही गाउँलेहरूले तीनजना सेनाले एक महिलालाई युवराज मोक्तानको घरबाट जबर्जस्ती उकालो लाँदै गरेको देखेछन् । सेनाहरू युवराज मोक्तानको घरबाट गएको केहीबेरपछि गाउँलेहरू सो घरमा जम्मा भएछन् । घरनजिकै “विवेक” भनिने टेकबहादुर थापामगरको लास छाती र पेटमा गोली लागी ढलेको अवस्थामा भेटिएको र निजको लासकै छेउमा मट्टीतेलको जरकिन पनि भेटिएको गाउँलेहरूले बताए । युवराज मोक्तानको घरमाथि डिलमा “कोही महिला” को फ्रक र सल गाउँलेले फेला पारेको बताए । निज “उषा” नाम गरेकी १८ वर्षकी महिला भएकी र निजको स्थिति हालसम्म अज्ञात रहेको बुझियो । निज “विवेक” भनिने टेकबहादुर थापामगरको लास २०६० भाद्र १ गते निजको आफन्त र गाउँलेहरूले युवराज मोक्तानको घरभन्दा करिब १५० मिटर दक्षिण–पश्चिम तिरको चिहानडाँडा भन्ने ठाउँमा ल्याई गाडिदिएको बताई ठाउँसमेत समितिलाई देखाइदिए ।

पक्राउ परेका व्यक्तिहरूलाई स्वास्थ्यचौकी र विद्यालयको बाटो हुँदै दोरम्बाबजारबाट उकालो लगाइएछन् । बजारबासीहरूलाई सेनाले सबै “घर, पसल बन्द गरी घरभित्र पसी बस” भनेपछि झ्यालबाट चिहाएर हेर्दा गालीगलौज गर्दै पछिल्तिर हरियो कपडाले हात बाँधी झोला बोकाएर लाइनमा मानिसहरू लगेको देखिछन् । उनीहरूले युवराज मोक्तान, निजको छोरा लीला, ठूलोराम, सानोराम, लक्ष्मण, “ललिका”, विष्णुमाया थापामगर, चतुरमान थामी आदिलाई चिन्न सके तर सबैलाई ठम्याउन सकेनछन् । शैलुङ हुँदै दोलखाको मुडे जाने बाटो दोरम्बा बजारको उत्तरपट्टि छेवैको उकालो हुँदै सेनाको लस्कर र समातिएका व्यक्तिहरू हिँडेछन् । उकालोको आधी जतिमा रहेको बाँसबाट बनाएको माओवादीको स्वागत द्वारलाई भत्काउँदै सैनिकसहितको सो जमात शैलुङतिर बढेछ । कुहिरोले बाटो परसम्म नदेखिने भए पनि बजारको छेवैबाट बाटो छुट्टिने भएकाले त्यतातिरबाट लगेको देख्न सकिने र सेनाले बजार छोडेपछि गाउँले बजारको सिरानमा जम्मा भएका कताबाट लग्दो रहेछ भनेर हेरिरहेको बुझियो ।

तेर्सो बाटोबाट देउरालीसम्म पुर्याएपछि मुडे जाने शैलुङको बाटो नलगी केही कारणवश एक्कासि लक्ष्य फेरबदल गर्ने निर्णय गरेजस्तो गरी सेनाले “बाहुनचुरा” जाने बाटो सोधे भनी स्थानीय…ले समितिलाई बताइन् । त्यहाँबाट डाँडाकटेरीतिर जाँदै गरेको र हात बाँधेका व्यक्तिहरू देखेको भनी स्थानीय गोठाला वर्ष…का…ले समितिलाई बताए । निजले करिब एक घण्टापछि एकोहोरो रूपमा बन्दुक पड्केको आवाज सुनेको भनी बताए । केही सेनाले बाटोेमा काँक्रा मागेर खाई २ः१५ तिर पूरै डफ्फा डाँडाकटेरी पुगेका भन्ने बुझियो । डाँडाकटेरीमा समातिएका मानिसहरूलाई उभ्याएर धेरैजसो सेनाहरू अघि बढे भनी स्थानीय…ले समितिलाई बताए । स्थानीय वर्ष…का…ले दिएको बयानअनुसार : “थोरै सेना मात्र (लाम लगाइएको) को ठाउँमा बसे । सेनाले पक्राउ परेका व्यक्तिहरूलाई लाम लगाउँदै थियो । आफूहरू आएको दिशातिर फर्केर एउटा सेनाले बन्दुक ताकिरहेको थियो । म…कोमा बोका लिन जाँदै थिए । लाम लगाएको ठाउँमा खलबल थियो । ठूलाराम चिच्याउँदै थियो । एउटी महिला ‘मार्यो नि ! मार्यो’ भन्दै निकै बेरसम्म कराइरहिन् । मैले लाम लगाएको देखेँ । लाम लगाउने ४/५ जना सिभिल ड्रेसका सिपाही थिए र मलाई बन्दुक बोकेको सेनाले ‘तिमी गइहाल बुढा, गइहाल’ भन्यो । म करिब २० कदम मात्र हिँडेको थिएँ, मेरो कानै उछिट्टिने गरी बन्दुक पड्क्यो र कराउँदै गरेकी महिलाको आवाज पनि रोकियो । त्यस ठाउँमा भिडन्त भएको होइन लाइन लगाई बिजोगले मारेको हो ।”

(अनुसूची ४, …को बयान)

निज व्यक्तिहरूको हत्या भएपछि सेना निलागपानी हुँदै सुर्केतिरबाट मन्थली लागेको सुर्केमा पढ्ने विद्यालयका विद्यार्थीहरूले देखेको बुझियो । त्यही दिन विद्यालय छुट्टी भएपछि सुर्के देउरालीमा पढाउने दोरम्बाका शिक्षकहरू …घर फर्कंदा निजहरूले सिभिल ड्रेसमा हतियार बोक्ने मानिसहरू सुर्केमा देखेको र निगालपानी आइपुग्दा स्थानीय व्यक्तिहरूले डाँडाकटेरीमा धेरै गोली चलेको सुन्यौँ भनेपछि डराउँदै आएको र करिब ५ बजे त्यहाँ आइपुग्दा बाटोभरि रगत, गिदी, खोपडीका टुक्राहरू देखेको र तल भीरमा ९/१० वटा जति लासहरू देखेपछि हामीलाई पनि खतरा हुन सक्छ भनी छिटोछिटो घर (दोरम्बा) तिर आउँदा बजारका मानिसहरूलाई घटना बताएपछि बजार रुवाबासी र कोलाहलमा परिणत भएको भन्ने जानकारी समितिसमक्ष प्राप्त भयो ।

(अनुसूची ५,…को बयान)

४.४ समितिका सदस्यहरूद्वारा घटनास्थलको जाँच

२०६०।५।११ मा अनुसन्धान समितिका सदस्यहरू घटना भएको स्थानमा पुग्दा स्थानीय डाँडाकटेरी, डडुवा, निगालपानी र दोरम्बाका गरी करिब ६०÷७० जनाजति व्यक्तिहरू जम्मा भएका थिए । समितिका सदस्यहरूद्वारा घटना भएको ठाउँको अवलोकन गरियो । घटना घटेको ठाउँमा अघिल्लो रातको भीषण वर्षाको कारण सानो पहिरो गएकाले एक समूह लासहरू खसाइएको भनिएको ठाउँको केही अंश पुरिएको पाइयो । पहिरो नगएको भागमा १७ वटा गोलीका खोकाहरू भेटिए, त्यस्तै पुरुष र महिलाको गरी ७ थान चप्पल, हात बाँधेको भनिएका हरियो र अन्य रङका डोरीका रूपमा प्रयोग गरिएको कपडाका टुक्रा, दुईवटा पकेट काइँयो, एउटा दाँत माझ्ने ब्रस, एउटा ढाकाको टोपी, बाटाको दायाँबायाँ तरिएको टाउकोका हड्डीका टुक्राहरू भेटिए (अनुसूची १०, सामान बुझाएको मुचुल्का) घटना भएको ठाउँको बाटोका भित्तामा बन्दुकका गोली लागेर ठाउँठाउँमा खोस्रिएको देखियो । घटना करिब ४ फिट चौडाको गोरेटो बाटोमा भएको बुझियो । गोरेटोको उत्तरतिर पाखो र दक्षिणतिर ४०० मिटर पाखा भएको देखियो । निगालपानी हुँदै सुर्के देउराली जाने त्यो बाटोको करिब १५० मिटर पर गएपछि झोला, कागज, कपडा, स्ट्याम्प प्याड र दैनिक प्रयोगमा आउने सामानहरू जलाइएको थुप्रो पाइयो । गाउँलेहरूले दिएको विवरणअनुसार १९ वटा लास त्यहीँ पाखामा खसालिएको अवस्थामा पाइयो । ११ वटा लासहरू खप्टिएको अवस्थामा एकै ठाउँमा र अन्य लासहरू तलतलसम्म छरिएका थिए भन्ने बुझियो । घटनास्थलबाट करिब ३० मिटर तेर्सो माथि पाखामा माथिल्लो लाइनमा ७ वटा, बीचको लाइनमा ८ वटा र तल्लो लाइनमा ३ वटा लासहरू स्थानीय व्यक्तिहरूले गाडेको ठाउँ देखियो । स्थानीय व्यक्तिहरूको भनाइअनुसार घटना भएको तेस्रो दिन नेकपा (माओवादी) का कार्यकर्ताहरूसहितको उपस्थितिमा गाउँलेहरूले लास गाडेका रहेछन् ।

घटना डाँडाकटेरीमा पुगेपछि समितिले अनुसन्धानका लागि गाडिएका लासहरू जाँच गर्न उपयुक्त सम्झ्यो । डाँडाकटेरीमा त्यस दिन उपस्थित भएकाहरूमध्ये ७ जना मृतकका आफन्तहरू पनि थिए । मृतक व्यक्तिहरूको केकस्तो ठाउँमा लागेको रहेछ जाँच गर्ने मन्जुरी दिनुहोस् भनी सोधनी गर्दा मृतकका परिवार र उपस्थित सदस्य तथा उपस्थित स्थानीय व्यक्तिहरूले मन्जुरीनामा लेखिदिए । (अनुसूची ६, मन्जुरीनामा लेखी दिए । (अनुसूची ६, मन्जुरीनामा) लासहरू ककसका हुन्, चिनाइदिनुस् भनी सोधनी गरियो । स्थानीय व्यक्तिहरूको सहयोगमा सम्पूर्ण १८ वटा लासहरू शवोत्खनन गरी जाँच गरियो । एकजना चतुरमान थामीको लास निजका परिवारजनहरूले लगी आफ्नो रीतअनुसार जलाएको थाहा पाइयो ।

४.५ डाँडाकटेरीमा गाडिएका १८ वटा मृतकहरूको नामावली यसप्रकार छ : (अनुसूची ७, मृतकहरूको नामावली)

५. लास अवलोकन प्रतिवेदन

मिति २०६०।५।११ गते बिहीबार दिनको १ बजे रामेछापको दोरम्बा गाविस–९ डाँडाकटेरीमा मूलबाटोको नजिकै चउरमा भर्खरै खनेको जस्तो देखिने डोबहरू भएको ठाउँमा १८ वटा लासहरू गाडेको भनी मृतकका नातेदार तथा अन्य गाउँलेहरूको भनाइअनुसार शवोत्खनन (exhumation) गरी लासहरूमा केकस्ता चोटहरू छन् सोको अवलोकन गर्न उपयुक्त सम्झी समितिले करिब ६०–७० जना स्थानीय बासिन्दाहरूको सहमति तथा सहभागितामा सबै लासको अवलोकन, फोटो लिने, भिडियो खिच्ने र अभिलेख गर्ने काम गर्यो । उक्त स्थानमा आलो डोबहरू भएका १८ वटा लाइन थिए जसमा माथिबाट पहिलोमा ७ वटा, दोस्रोमा ८ वटा र तेस्रोमा ३ वटा लास गाडिएको ठाउँ देखिन्थे । माथिबाट दायाँतर्फ सुरु गरी डोबहरूलाई १ देखि ७, ८–१५ र १६–१८ सम्म नम्बरहरू दिइयो र एक–एक गर्दै माटो निकाली लासमा भएका चोटहरूको अवलोकन, फोटो खिच्ने तथा टिपोट गर्ने काम गरियो जसमा प्राप्त भएका विवरण अनुसूचीमा दिएको छ । (अनुसूची ८, लास जाँच प्रतिवेदनहरू)

१८ वटामध्ये ५ वटा (नं ८, ९, ११, १३ र १४ महिलाहरूको लास थिए भने बाँकी १३ वटा पुरुषहरूका थिए । सबै मृतकहरूले विभिन्न प्रकारका सामान्य लुगा लगाएका देखिन्थे र बाहिरबाट सेतो कपडा र सो माथि हँसियाहथौडा अङ्कित झण्डाको कपडाले ढाकिएको थियो । सबै लासहरू डिकम्पोजिसनले गर्दा दुर्गन्धित थिए । लासमा भएका चोटपटकहरू राइफल फायरआर्म (rifle firearm) हतियारबाट भएकासँग मिल्दाजुल्दा थिए । १८ मध्ये १५ वटा लासहरूका टाउकोमा चोटहरू थिए । (सबै महिलाहरूको शवका टाउकाका माथिल्लो भाग उडेका चोटहरू पाइयो ।) टाउकोका चोटहरू भएका प्रायः सबै लासहरूमा गिदी नभएको र अधिकांश हड्डीका टुक्राहरूसमेत हराएका थिए । टाउकोमा चोट लागेका १५ वटा लासहरूमध्ये ४ वटा लासका टाउकोमा पूर्ण रूपले खप्पर नभएको हुँदा गोली पसेको ठाउँ (entry) तथा निस्केको (exti) छुट्टै ठाउँ भेटिएनन् । केही लासमा entry मा पनि exit मा जस्तै ठूलो चोट पाइयो ।

१८ वटा लासहरूमध्ये १० वटा लासहरूमा अगाडिबाट गोली लागेको देखियो भने २ वटामा पछाडिबाट र अन्यमा साइडबाट लागेको भेटियो । २ वटा लासमा मात्र एकभन्दा बढी गोली लागेका छन् जसमा एउटामा टाउको तथा छाती र अर्कोमा घाँटी तथा छातीमा चोट लागेको छ । एउटा लासमा एउटा मात्र गोली दायाँ पाखुराबाट पसेर निस्केको देखिन्छ । एउटा लासमा भने बाहिरबाट कुनै पनि चोट देखिएन । डिकम्पोजिसनको कारण र बर्सात्को पानीबाट पखालिएका जस्तो देखिने हुँदा कति टाढाबाट गोली लागेको हो सबैमा एकिन गर्न कठिन भए तापनि केही लासहरूमा entry/exit छुट्टै नभएको तथा अन्य केहीमा ठूलो entry समत पाइएका आधारमा नजिकबाट गोली लागेको देखिन्छ । घाउभित्र कहीँ पनि गोली अड्किएको पाइएन । लासको डिकम्पोजिसन भएको अवस्था, गहिरो गरी माटोमा गाडिएको कारण तथा भौतिक तथा मानवीय स्रोतको अभावनले गर्दा लासलाई बाहिर निकाली पूर्ण जाँच (complete autopsy) गर्न नसकिए तापनि घाउचोट भएका ठाउँहरूको राम्रोसँग अवलोक न(observation) गरी टिपोट गर्न सकियो ।

सबै लासहरू अनुसन्धानपश्चात् स्थानीय बासिन्दाहरूकै सहमति तथा सहयोगमा सोही स्थानमा माटोले पुरी यथाअवस्थामा छोडियो ।

६. घटनास्थलहरूको अनुसन्धानबाट प्राप्त तथ्यहरू

१. गाउँमा माओवादीहरू आएका छन् र युवराज मोक्तानको घरमा बैठक र माओावादी कार्यकर्ता रामकुमार र सङ्गीताको विवाह हुँदैछ भन्ने हल्ला गाउँमा पहिलादेखि नै चलेको पाइयो ।

२.मन्थलीबाट गाल्बाको बाटो हुँदै बिहान सबेरै सेना दोरम्बातिर लागेको र सिभिल ड्रेसमा हतियार लुकाई दोरम्बासम्म आइपुगेको पाइयो ।

३. नेकपा (माओवादी) को बैठक युवराज मोक्तानको घरमा वसेको र त्यहाँ आफूभित्रका मनमुटाव मिलाउने र सम्भवतः ‘विवाह’ को कार्यक्रम पनि रहेको बुझिन आएको र यो एक माओवादी राजनीतिक कार्यकर्ताहरूको बैठक भएको पाइयो ।

४.घरभित्र भएका १९ जना सबै गिरफ्तारीमा परी पछिल्तिर हात बाँधी करिब ३ घन्टाको उकालोओरालो बाटो हिँडाइएपछि गोरेटोमै लाइनमा लगाएर सबैलाई नजिकैबाट प्रायः टाउकोमा गोली हानी हत्या गरिएको पाइयो ।

५.मृतकहरूको झोला, घडी र अन्य सामग्री झिकी लासहरू भिरालो पाखोबाट खसाई एकमाथि अर्को गरी धेरैजसो लासहरू थुप्रोमा भएको विश्वसनीय सूचना पाइयो । निजहरूका झोला, डायरी, कागजातहरू र अन्य वस्तु करिब १५० मिटरजति पर लगी जलाइदिएको देखियो ।

६. सेनाको नेतृत्वमा भएको संयुक्त सुरक्षा फौजको टोलीको नेतृत्व एक मेजरसहित एक वा एकभन्दा बढी क्याप्टेनले गरेको हुनसक्ने बुझियो ।

७. समितिको निष्कर्ष

दोरम्बा घटनाको अनुसन्धानका क्रममा स्थानीय वासिन्दाको बयान र अनुसन्धान समितिले सङ्कलन गरेको भौतिक प्रमाणका आधारमा १८ माओवादी कार्यकर्ता र दुई गैरमाओवादीको हत्या गरिएको र एकको स्थिति अज्ञात रहेको पाइयो (अनुसूची १४) । मर्नेहरू राजनीतिक भेलामा बसेको बेला समातिएको पाइयो । आफ्नो कब्जामा रहेका निजहरूलाई हात बाँधेकै अवस्थामा नजिकबाट गोली चलाइएको र सोही कारण मृत्यु भएको निष्कर्षमा समिति पुगेको छ । स्थानीय प्रत्यक्षदर्शीहरूको बयान र लासहरूको शवोत्खननमा देखिएका लक्षणहरू मेल खाएको पाइयो । साथै उक्त बयानहरूलाई मृतकहरूको लास गाडिनुअघिको शारीरिक अवस्थाको तस्बिर तथा शवोत्खननका क्रममा खिचिएको तस्बिर र भिडियोले पनि पुष्टि गरेको पाइयो ।

छानबिन समितिको स्थलगत अनुसन्धानअनुसार एकजना ‘विवेक’ भनिने टेकबहादुर थापामगर युवराज मोक्तानको घरछेउमा २०६०।४।३२ मा करिब १०ः३० बजे सेनाको गोली लागी मृत्यु भएको र डाँडाकटेरी भन्ने ठाउँमा सोही दिनको २ः३० बजेतिर १९ जनाको मृत्यु भएको पाइयो । मारिएका जम्मा २० व्यक्तिबाहेकका एकजना ‘उषा’ भन्ने महिलाको स्थिति अज्ञात रहेको पाइयो । डाँडाकटेरीमा मारिएका मृतकहरू राजनीतिक बैठकको सन्दर्भमा पक्राउ परेको र दुई हात पछाडि बाँधी हिँडाएर लाँदै गर्दा गोरेटोमा लाइन लगाई मारिएको पाइयो । माथि वर्णन गरिएका बाहेक अन्य तरिकाबाट गोली चलेको बारे समितिको जानकारीमा आएन । त्यस वारदातमा सुरक्षा फौजको तर्फ कसैको मृत्यु नभएको बुझियो ।

उपरोक्त निष्कर्षबाट हात पछाडि बाँधिएका १९ जना कब्जामा लिइएका व्यक्तिहरूलाई नजिकबाट बन्दुकले गोली प्रहार गरी मारिएको कुरा अन्तर्राष्ट्रिय मानवीय कानुन र खासगरी आन्तरिक प्रकृतिको सशस्त्र विवादको समयमा गिरफ्तार गरी पूर्ण रूपमा कब्जामा लिइएका बन्दीहरूलाई संरक्षण गर्नुपर्दछ भन्ने सिद्धान्त रहेको जेनेभा कन्भेनसनको साझा धारा ३ को विपरीत भएको पाइयो । राष्ट्रिय सन्दर्भमा उक्त कार्य नेपाल अधिराज्यको संविधान, सैनिक ऐन, प्रहरी ऐन र सशस्त्र प्रहरी ऐनको प्रतिकूल हुन गएको अनुसन्धान समिति ठहर रहेको छ ।

नोट : –प्रतिवेदनमा उल्लेख गरिएका कतिपय नामहरू निजहरूको अनुरोधमा गोप्य राखिएको छ ।

– प्रतिवेदनमा उल्लिखित अनुसूचीहरू आयोगमा सुरक्षित रहेको छ ।

अनुसन्धान समिति

१.कृष्णजङ्ग रायमाझी      – संयोजक  – भूपू न्यायाधीश, सर्वोच्च अदालत
२. प्रेमबहादुर बिष्ट          – सदस्य      – भूपू महान्यायाधिवक्ता
३. कनकमणि दीक्षित      – सदस्य     – पत्रकार
४. डा. हरिहर वस्ती         – सदस्य     – चिकित्सक, फरेन्सिक विज्ञ
५. हरि फुयाल                 – प्रतिनिधि  – राष्ट्रिय मानवअधिकार आयोग

(स्रोत : दोरम्बा हत्याकाण्ड : मुक्तिका लागि बलिदान । प्रतिवेदनको मूल भाषा आयोगकै हो– सम्पादक ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :