गरिबलाई बाँच्न देऊ !

कविता

गरिबलाई पनि बाँच्न देऊ यहाँ
उसलाई सुखदुःख एक छाक खान देऊ
फटाहा मान्छे पैसाले जितेर आउँछ
निर्दोष व्यक्ति हारेर सजाय पाउँछ ।

पैसा चाहिन्छ अनि मात्र न्याय पाइन्छ
पैसाबिना हार कहलाइन्छ यहाँ
बिचरा ! सोझालाई बाच्न देऊ ।

बलेन गरिबको झुपडीमा आगो
कसले खोजी गर्ने सुत्केरीको भोको पेट किन चलेन ?
शोषक, भ्रष्ट, दलालहरू मोजमस्ती गर्ने
वाह ! कस्तो अचम्म, गरिब भोकले तड्पिएर मर्ने
ए ! बुद्धि नभएका विद्वान्हरू हो
मानिसलाई घृणा गर्छौ, कस्तो फल पाउँछौ पूजा गरेर
बिचरा ! गरिबलाई बाच्न देऊ ।

ती बूढी आमा आँसु पुछ्दै भारी बोक्छिन्
खाने बेला ढिँडो खाँदै परदेशी छोरालाई सम्झिन्छिन्
गरिब भएकै कारण उपचारबिना तड्पिएर मर्नुपर्ने
कोरोनाको नाम जप्दै शासकहरू मोजमस्ती गर्ने
कठै ! तिम्रो कलाकारिता, कानुन बनाउने अनि कराउने
बिचरा ! सोझालाई बाँच्न देऊ !

संरचना नक्कली छ, शासक पनि नक्कली
नक्कलीका नक्कलदेखि गरिब अत्तालिएका छन्
गरिबलाई मार्ने, अपराधीलाई पाल्ने
आदरणीय जनता भनी भाषण गर्दै हिँड्नेहरू
सुकुमबासीका घरमा आगो लगाई जलाउनेहरू
गोठमा आगो लगायौँ भनिरहेका छन्
बिचरा ! गरिबलाई बाँच्न देऊ ।

ती सोझा गरिबहरू युगौँदेखिको पीडा सम्झिएर
विवश भई गाउँछन्, नाच्छन्
के गर्छौ यहाँ, यो संसार पुँजीपति वर्गको हो
कठैबर बाँच्ने आधार नै छैन अरूको
लुट्ने र कुट्नेहरू बलिया छन्
भोको र नाङ्गो त्यही सोझा छन्
बिचरा ! गरिबलाई बाँच्न देऊ !

गरिबीको भजन गाएर कुर्सी प्राप्त गर्ने
घरका छानामा आगो लगाई गोठ भन्ने
गरिबलाई थिच्ने, गरिबलाई मिच्ने, गरिबलाई चुस्ने
त्यतिले नपुगी तिनलाई जेलमा ठुस्ने
होसियार ! हौऊ तिमी, दुःखी निर्धन जनता जुर्मुराइसकेका छन्
कति सहने भनेर देशका जनता सब उठ्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :