प्रदूषित हावाका विरुद्ध

कविता

उस्तै मर्म, पीडा र बलिदानका कथाहरू छन् तिम्रा र हाम्रा
कमरेड हेलिन बोलेक !
तिमी उता रगत बगाइरहेकी छ्यौ
हामी यता रगत बगाइरहेका छौँ ।
जसले जहाँबाट विद्रोहको झन्डा बोके पनि
जसले जहाँबाट रक्तरञ्जित ध्वजा फहराए पनि
लक्ष्य एउटै हो, उद्देश्य एउटै हो ।
भौतिक दूरी टाढा भए पनि
हृदयको भाका छैन टाढा
एसियाको भूमिबाट, जनक्रान्तिको मैदानबाट ।
हृदयैदेखि लालसलामको सलामी छ तिमीलाई !
तिम्रो गौरवशाली बलिदानलाई !!

हो, यो समय नै यस्तै–यस्तै छ
रक्तपिपासुहरू सलबलाइरहेछन् अझै
गोराको कालो शासनभित्रका जर्ज फ्लोइड होऊन् वा
नक्कली समाजवादभित्र थिचिएका नवराज विकहरू होऊन्
कुमार वा रामकुमार श्रेष्ठहरू नै किन नहोऊन्
कोही जाति, कोही रङ र कोही वर्गविभेदका कारण
बगाउन विवश छन् तिम्रोजस्तै पवित्र रातो रगत
र आह्वान गरिरहेछन् विश्वक्रान्तिलाई ।

जो राष्ट्रियताका लागि लडेको छ
ऊ राजद्रोही घोषित भएको छ र मारिएको छ
जनतन्त्र र जनजीविकाका लागि सङ्घर्षमा उत्रिएकाहरू
जनविरोधीमा डामिएर दण्डित भएका छन्
र देश बेच्नेहरूले थापेका छन् राष्ट्रवादीको पगरी
जनता मार्नेहरूले पाइरहेछन् जनसेवकको पदवी
आफ्नो देशलाई हाम्रो हो भन्नेहरूका हातगोडामा
लागिरहेका छन् हतकडी, नेल र कोचिएका छन् कारागारमा !

कमरेड हेलिन !
उल्टो बहेको छ हावा बेस्सरी
र त्यो पनि प्रदूषित हावा
तिम्रो बलिदानीले पनि भनिरहेछ–
उठ ए जोदाहाहरू हो !
इतिहासको यो उल्टो गतिलाई सुल्ट्याउन
हतकडी र नेल लागे पनि हातगोडामा
मृत्यु नै परे पनि आफ्नो भागमा
देश र वर्गका लागि ठानेर गौरवशाली उपहार
बुझेर इतिहासले सुम्पेको आवश्यकता
अन्तिमपटक झोक्किनुपर्ने समय हो यो
देश र श्रमिक वर्गका लागि ।

दिनु हुँदैन आँधी बन्न यो दूषित हावालाई
हुँदै–हुँदैन दिनु वेगको स्वरूप धारण गर्न
नष्ट गरिदिनुपर्छ बीचमै, विस्फोट भएर
सरिरहेको छ यो महाकोरोनाजस्तै
दृश्य/अदृश्य महामारी भएर
मारिरहेछ यसले फेरि
हेलिन, मुस्तफा, जर्ज फ्लोइड र नवराजहरूलाई
र लगाइरहेछ हतकडी–नेल देशभक्त, क्रान्तिकारी
एचपी हिमाली, विरही र माइलाहरूलाई !

छैन यसको टेक्ने र समाउने स्थिर र भरपर्दाे ठाउँ
यो कलुषित र प्रदूषित ऐँजेरु पुँजीवाद हो
यो फासिवादी दलाल पुँजीवाद हो
यो मरणोन्मुख उत्तरसाम्राज्यवाद
मैमत्त भएर बौलाइरहेको समय हो
घाँटी दबाएर, सास थुनेर र रगत निचोरेर मार्छ यसले
प्रतिस्थापन गरिदिनुपर्छ यसलाई
शक्तिशाली वैज्ञानिक समाजवादले
नष्ट गरिदिनुपर्छ यसलाई एकीकृत जनक्रान्तिले ।

(टर्कीकी क्रान्तिकारी सांस्कृतिक सहिद हेलिन बोलेकको सम्झना र सम्मानमा)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :