मनपरी शुल्क नलिन र लिएको शुल्क फिर्ता गर्न अखिल क्रान्तिकारीको चेतावनी

काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बैतडीले जिल्लामा रहेका सम्पूर्ण विद्यालयहरूलाई विद्यार्थीहरूसँग मनपरी शुल्न नलिन आग्रह गर्दै विद्यार्थीहरूबाट लिइएको भर्ना शुल्क फिर्ता गर्न र छात्रवृत्ति सम्बन्धित छात्रछात्राहरूलाई वितरण गर्न आग्रह गरेको छ । अनावश्यक शुल्कको बहाना गरी विद्यार्थी र अभिभावकहरूबाट लुटी खाने क्रम जारी राखे जनकारबाही गर्न बाध्य हुने अखिल क्रान्तिकारीले जनाएको छ ।

जिल्ला अध्यक्ष सुरेन्द्र धानुकले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘रोग, भोक र शोकले आक्रान्त अभिभावकहरूका छोराछोरीबाट लिइएको अनावश्यक भर्ना शुल्क तत्काल फिर्ता गर्न र जेहेन्दार विद्यार्थीहरू र छात्राहरूको छात्रवृत्ति सम्बन्धित विद्यार्थीहरूलाई बुझाउन निर्देशन गर्दछौँ । बैतडी जिल्लाभर रहेका सम्पूर्ण सामुदायिक विद्यालयलाई भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्क र छात्रवृत्तिहरूमा अनियमितता र मनपरी शुल्क नअसुल्न जोडदार रूपले विशेष अनुरोध गर्दछौँ । विद्यार्थीहरूबाट लिइएको भर्ना शुल्क फिर्ता नगरे, छात्रवृत्ति सम्बन्धित छात्रछात्राहरूलाई वितरण नगरे र अनावश्यक शुल्कको नाटक गरी विद्यार्थी र अभिभावकहरूबाट लुटी खाने चलन जारी राखे जनकारबाही गर्न बाध्य हुने चेतावनीसमेत यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’

विज्ञप्तिमा जिल्लाको पुर्चौडी नगरपालिका वडा नं ६ को श्री भूमिराज मावि काफलढुङ्गामा भएको अनियमितताका विषयमा पनि सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । विज्ञप्तिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सम्बन्धित वडाका अध्यक्ष एउटै व्यक्ति रहेको उक्त विद्यालयमा प्रधानाध्यापक विजयराज अवस्थी र व्यवस्थापन समिति अध्यक्ष जोगी साउदले एकलौटी तरिकाले निर्णय गर्ने गरेको उल्लेख गरेका छन् ।

‘विद्यालयका प्राधानाध्यापक विजयराज अवस्थी र व्यवस्थापन समितिका अध्यक्ष जोगी साउदले एकलौटी तरिकाले निर्णय गरी कक्षा ६ देखिमाथि क्रमशः रु ४००, ४५० र ५०० भर्नाशुल्क लिने गरेको र विद्यार्थीहरूको छात्रवृत्तिमा अनियमितता गरेको विषयप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जोगी साउद स्वयम् सम्बन्धित भूमिराज वडा नं ६ का अध्यक्षसमेत हुन् । वडा अध्यक्ष तथा व्यवस्थापन समितिका अध्यक्ष जोगी साउद र प्रअ विजयराज अवस्थीको यस्तो घिनलाग्दो एकल निर्णयको घोर निन्दा र भत्र्सना गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :