कालापानी–लिम्पियाधुरा–लिपुलेक आफ्नो भएको दाबी गर्दै भारतले नेपाललाई लेख्यो पत्र

काठमाडौँ : भारतले अतिक्रमण गरेका कालापानी, लिम्पियाधुरा, लिपुलेक क्षेत्रलाई समेटी नेपालले केही समयपहिले नयाँ नक्सा प्रकाशित गरेको भूगोल भारतीय अधिकारीहरूले आफ्नो भूमि भएको दाबी गर्दै नेपाली अधिकारीलाई पत्र लेखेका छन् ।

नेपालको दार्चुलासँग सीमा जोडिएको भारतको धार्चुला जिल्लाका अधिकारीले कालापानी, लिम्पियाधुरा र गुन्जीलाई भारतीय क्षेत्र भन्दै यस क्षेत्रमा नेपाली गुट र समूहले घुसपैठ गर्न लागेको सूचना पाएको भन्दै सूचना दिन नेपाली पक्षलाई पत्र पठाएका छन् ।

उत्तराखण्ड राज्यअन्तर्गत धार्चुला जिल्लाका उपजिल्लाधिकारीले जिल्ला प्रशासन कार्यालय दार्चुलाका नाममा पठाएको पत्रमा नेपाली गुट र समूहले लुकिछिपी सीमा पार गर्न लागेको सूचना प्राप्त भएको भन्दै यसबारे जानकारी भए सूचना दिन आग्रह गरेका छन् ।

नेपालको नक्सामा सामेल गरिएको भूमि भारतकै भएको दाबी गर्दै भारतीय अधिकारीले लेखेको पत्रमा विभिन्नखाले समूहले मिडियाको ध्यान आकृष्ट गरी दुवैतिरका अधिकारीका लागि समस्या निम्त्याउन चाहेको पनि उल्लेख गरिएको छ ।

नेपाली भूमिमा नेपालका नागरिकहरू आफ्नो खुसीले हिँड्न पाउने हुँदाहुँदै पनि भारतले निहुँ खोज्नलाई नेपाललाई पत्र लेखेको देखिएको छ । यता जिल्ला प्रशासन दार्चुलाले भने उक्त पत्र प्राप्त भएको जानकारी दिँदै उक्त भारतीय अधिकारीको पत्रका विषयमा जबाफ आवश्यक नभएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :