संसदीय व्यवस्थाको असफलता र क्षितिजमा उदाइरहेको सुन्दर नेपाल

नेकपाले फेरि प्रतिरक्षा र प्रतिरोध सङ्घर्षलाई साथसाथै अघि बढाउने भएपछि दलाल सत्ताका कथित प्रतिनिधिको मुटुले ठाउँ छोड्दै गएको देखिन्छ किनकि यिनका तहगत सत्ताहरू बलिया छैनन्, कमजोर छन् । हाम्रो पार्टीसँग लड्ने खालको मनोविज्ञान पनि छैन यिनीहरूसँग । सरकारका केही मान्छेहरू हाम्रो पार्टीका विरुद्ध सेना, सशस्त्र, नेपाल प्रहरी प्रयोग गरी दमन गर्न सकिन्छ कि भनेर कुचेष्टा गरिरहेका छन् । हाम्रो पार्टीले उठाएका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाले सबै श्रमजीवीको हित गर्ने कुरामा सेना, सशस्त्र र प्रहरी पनि ढुक्क हुँदै गउका छन् । त्यसकारण एकीकृत जनक्रान्तिमा अहिले नेपाली सेना, सशस्त्र र प्रहरीसँग लड्ने नीति छैन । पार्टीको यो विषय थाहा पाएपछि दलाल सरकारले जबर्जस्ती हतियार र सेनाको बलबाट क्रान्तिलाई नष्ट गर्ने गलत चेष्टा गरिरहेको विषयमा सबै सचेत हुन जरुरी छ ।

किसान, मजदुर, सुकुमबासी, युवा, माहिला, शिक्षक, विद्यार्थी, डाक्टर, इन्जिनियर, पाइलट यो दलाल सत्ता र सरकारका पक्षमा छैनन् । त्यसकारण सबै परिवर्तनकारी नेपाली जनता मिलेर यिनले लगाएको प्रतिबन्ध तोड्न तयार हुनुपर्दछ । जनसङ्घर्ष र फौजी सङ्घर्षमार्फत दलाल संसदीय सत्ता ध्वस्त गरी वैज्ञानिक समाजवादी सत्ता स्थापनाको आन्दोलनमा नेपाली जनताको साथ अनिवार्य छ । नेता, कार्यकर्ता, शुभचिन्तकहरू क्रान्तिको विजयको सन्निकटमा दौडिरहेका छौँ । हतास नभईकन जिते संसार, हारे मृत्युको सङ्कल्प गरी क्रान्तिको यात्रामा सरिक भई अघि बढ्नेबाहेक अरू विकल्प हाम्रो अगाडि छैन ।

यो संसदीय व्यवस्था २००७ सालदेखि २०७७ सालसम्म आउँदा पूर्ण रुपमा असफल भइसकेको छ । असफल व्यवस्था जनतालाई जरुरी छैन । जनतालाई सफल व्यवस्था आवश्यक छ । जनता र राष्ट्रको हित हुने खालको व्यवस्था अनिवार्य छ । त्यसकारण हामी एकताबद्ध भएर अघि बढ्न जरुरी छ । दलाल सत्ताको प्रतिबन्धलाई तोड्नका लागि हामीले अथाह मेहनत गर्नुपर्छ । एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादका बारेमा बुझ्न बाँकी जनतालाई बुझाउन जरुरी छ । सम्पूर्ण शोषित–पीडित श्रमजीवी वर्गहरूलाई सङ्गठित गर्न जरुरी छ र त्यस सङ्ठनलाई सङ्घर्षमा बदल्नु अनिवार्य छ ।

पहिलो कुरा त वैचारिक हतियार तिखो बनाउन जरुरी छ । हाम्रो पार्टीले अघि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत दलाल संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद स्थापना गर्ने राजनीतिक कार्यक्रमबारे बुझ्न बाँकी जनतालाई प्रशिक्षित गर्नुपर्छ । संसदीय व्यवस्थामा शिक्षा र स्वास्थ्य निःशुल्क छैन । रोजगारीको ग्यारेन्टी छैन । सुकुमबासीलाई लालपुर्जाको व्यवस्था छैन । बलात्कारको अन्त्य छैन । हत्या र हिंसाको अन्त्य छैन । भ्रष्टाचारमा सरकार आफैँ डुबिरहेको छ । कालोबजारीको अन्त्य छैन । किसान, मजदुरको हितमा यो व्यवस्था छैन । दलालहरूको आर्थिक, सामाजिक, राजनीतिक पहुँच रहेको छ । सुखी नेपाली समृद्ध नेपालको नारा नारामा मात्र सीमित छ । महँगीले आकाश छोएको छ । राज्यको ढुकुटी रित्याउने र लुट्ने तथाकथित जनप्रतिनिधिहरू मात्र धनी बन्ने, सुखी हुने, समृद्ध हुने, सम्पूर्ण स्रोत, साधन आफैँले मात्र परिचालन र फाइदा उठाउने दाउमा यो दलाल सरकारका नाइकेहरू छन् । यी विषय नेपाली जनताले बुझ्नुपर्दछ । यो संसदीय व्यवस्थामा राष्ट्र स्वाधीन हुने र जनता सुखी र धनी हुने कुरा मिथ्या कुरा मात्र हो । त्यसकारण यो संसदीय व्यवस्थाको विकल्पमा स्थापना हुने वैज्ञानिक समाजवादी सत्तामा जनताको राजनीतिक अधिकार, सामाजिक अधिकार, जातीय अधिकार, लैङ्गिक अधिकार, क्षेत्रीय अधिकार, आर्थिक अधिकार, सामाजिक समानता सुनिश्चित हुन्छ । साथै शिक्षा, स्वास्थ्य निःशुल्क, रोजगारीको ग्यारेन्टी हुन्छ, कालोबजारी र भ्रष्टाचारको अन्त्य हुन्छ, हत्या–हिंसा बन्द हुन्छ । सुखी नेपाली, समृद्ध नेपाल, विकसित राष्ट्र, स्वाधीन राष्ट्र बन्छ । महँगो करको खारेजी, बलात्कारीलाई कडा कारबाही हुन्छ । यो अवस्था नेपाली जनतालाई वैज्ञानिक समाजवादमा मात्र प्राप्त हुन्छ । त्यसकारण संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद प्राप्तिका लागि एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत नेपाली क्रान्तिको रथ अघि बढिरहेको छ । यसलाई पूरा गर्नका लागि आम नेपाली जनताको साथ आवश्यक छ । नेपाली जनताका सामु दलालहरूले आफ्नो चिहानतिर बाटो तताउने बेला भएको छ । तर यसलाई सङ्घर्षको माध्यमबाट पराजित गर्न सकिन्छ । यी दलालहरूले लगाएको प्रतिबन्ध निर्मूल गर्दै नेपाली क्रान्ति पूरा गर्ने अभियानमा हाम्रो पार्टी छ । उज्ज्वल भविष्यको बाटोमा नेपाली जनता अघि बढिरहेको छ । सरकारी प्रतिबन्ध चिर्दै एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत नेपाली क्रान्तिलाई नयाँ उचाइमा विकास गर्न सफल हुँदै क्रान्तिलाई पूरा गर्न हामी अघि बढिरहेका छौँ । क्रान्तिको सफलतापछि सुन्दर नेपालको निर्माण सुनिश्चित छ ।

(लेखक नेकपा मकवानपुरका इन्चार्ज हुन् ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :