वलीको धर्म–राजनीतिको प्रत्युत्तरमा भारतीय विश्व हिन्दु सेनाले मुढ्यो नेपालीको कपाल

केपी वलीको विवादित अयोध्याकाण्डबारे भारतको क्रूर प्रतिक्रिया

काठमाडौँ : केपी वलीको बेमौसमको बाजाले नेपाली जनमत मात्र होइन, भारतीय प्रतिक्रिया पनि तीव्र बनाइरहेको छ । पार्टी र सरकारभित्र तानाशाही सञ्चालन गरिरहेका वलीले पार्टी र सरकारबाट हात धुनुपर्ने अवस्था आएपछि एकएकवटा बेतुकका भाषण गरेर मानिसको ध्यान अन्यत्र मोड्ने असफल प्रयास गरिरहेका छन् । रामायण कथामा वर्णित पात्र रामको जन्मभूमिको विषयले भारतीय जनमत हिजोदेखि नै विभाजित थियो । यही विषयले त्यहाँको भूमि लामो समयदेखि रक्तरञ्जित बनिरहेको छ । बाबरी मस्जिदकाण्डले भारतीय जनतालाई सताइरहेको छ भने धर्मभीरुहरू यही विषयलाई लिएर त्यहाँ धर्म–राजनीति रत्यसको आडमा सत्ता–राजनीति गरिरहेका छन् ।

भारतीय हिन्दु अतिवादी प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीका अनुयायी भएर पनि होलीवाइनका कारण विवादित बनेका केपी वली धर्म र धार्मिक मुद्दा बल्झाएर र उछालेर नेपालमा केही समय शासनसत्ता टिकाउने दाउमा देखिन्छन् । माक्र्सवाद परित्यग गरिसकेर पनि माक्र्सवादी नै भनिइनुपर्ने बाध्यता उनको संसद्वादी दललाई छ । अझ चरम दलाल पुँजीवादको उपभोग गरेर समाजवादको नक्कली नारा थेग्न पनि उनलाई हम्मेहम्मे नै परेको छ त्यसैले उनी दुनियाँको दृष्टिभ्रम पार्न एकएकवटा बितन्डा मच्चाइरहन्छन् र नकारात्मक पात्रका रूपमा सस्तो चर्चामा आइरहन्छन् । अयोध्याबारे उनको सस्तो टिप्पणी भने उनलाई नै धेरै महँगो साबित हुने देखिएको छ ।

यसैको परिणतिस्वरूप उनले यो साता कथाहरूमा वर्णित र हिन्दु धर्मावलम्बीहरूका आदर्श पात्र रामको जन्मभूमि भारतमा नभएर नेपालमै भएको र भारतले नक्कली अयोध्या निर्माण गरेको विवादास्पद अभिव्यक्ति दिएपछि त्यसको क्रूर प्रतिक्रियास्वरूप भारतीय श्रम बजारमा सस्तो ज्यालामा काम गरिरहेका नेपाली समुदायमाथि भारतीय सत्तासीनहरूद्वारा संरक्षित हिन्दु अतिवादीहरूले आक्रमण सुरु गरेका छन् । नरेन्द्र मोदीको निर्वाचन क्षेत्रमा नेपाली युवकको कपाल मुण्डन गरेर भारतीय पक्षले वलीको भनाइको क्रूर जबाफ दिएको छ ।

भारतीय पक्षले नेपालका प्रधानमन्त्री केपी वलीले अयोध्या नेपालमै रहेको र राम नेपालमै जन्मिएको भनी दिएको भाषण फिर्ता नलिएमा भारतमा रहेका नेपालीले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको केही समयमै भारतमा नेपाली युवकको कपाल मुण्डन गरी मुडुलो टाउकोमा ‘जय श्रीराम’ नारा लेखिएको छ भने ती युवकलाई नेपालका विरुद्ध नारासमेत लगाउन लगाइएको छ । भारतीय पक्षको यो गतिविधिले नेपालमा रहेका भारतीयहरूका विरुद्ध जनमत भड्किनसक्ने खतरा बढेको आँकलन पनि गरिएको छ ।

प्रायः भारतीय सञ्चारमाध्यमले नेपालका प्रधानमन्त्री केपी वलीले रामको जन्मस्थानबारे दिएको अभिव्यक्तिको सजाय भारतमा रहेका नेपालीले भोग्नुपरेको जनाएका छन् । प्रधानमन्त्री वलीले रामको जन्मस्थल र उनी भारतवंशी भएकोमा प्रश्न उठाउँदै रामको जन्म नेपालमा भएको दाबी गरेका थिए ।

प्रधानमन्त्री वलीको भाषणको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा विश्व हिन्दु सेना नामको सएक धर्मभीरु सङ्गठनले नेपाली युवकको कपाल मुण्डन गरेर टाउकोमा जय श्रीराम लेखेको धेरै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ती युवकलाई आफ्नो सङ्गठन र भारतको समर्थन तथा नेपालका विरुद्ध नारा लगाउन लगाएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

हिन्दु अतिवादी सङ्गठन विश्व हिन्दु सेनाले नेपाली युवकको शिर मुण्डन गरेको भिडियो बनाएर सामाजिक सञ्जालमा व्यापक प्रचार गरेका छन् । भिडियोमा देखिएअनुसार गङ्गाको घाटनजिक यो घटना भएको हो । भिडियोमा नेपाली युवकलाई उक्त धार्मिक संस्था र हिन्दुस्तान जिन्दावादको नारा लगाउन दबाब दिइरहेको देख्न सकिने समाचारहरूमा उल्लेख गरिएको छ । समाचारहरूमा लेखिएको छ, ‘उनीहरूले ती युवकलाई जय श्रीरामको नारा र केपी वली मुर्दावादको नारा पनि लगाउन लगाउँछन् । त्यसपछि ती नेपाली युवकले भारतमा उनलाई रोजगारी प्राप्त भएको र भारतले सहारा दिएको कुरा उल्लेख गर्छन् । उनले राम नेपालको नभएर भारतको भएको पनि बताउँछन् र अन्त्यमा जय श्रीराम र भारत माताको जयको नारा लगाउँछन् ।’

उक्त हिन्दुवादी सङ्गठनले बिहीबार नै वाराणसी चोक क्षेत्रस्थित नेपाली मन्दिरबाहिर चेतावनीसहितको पोस्टर टाँसेका थिए । त्यसमा प्रधानमन्त्री वलीले रामको जन्मस्थल नेपालमा भएको भनेर गरेको अभिव्यक्ति फिर्ता लिन माग गरिएको छ । उनीहरूले त्यसो नगरे भारतमा रहेका नेपालीले यसको परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएका छन् ।

भारतीय सञ्चारमाध्यम आज तक, अमर उजालालगायतमा वलीले आफ्नो अभिव्यक्ति नफेरेसम्म यसप्रकारका घटना बढ्ने उल्लेख छ । वलीको भनाइबारे भारतीय पक्षबाट कडा प्रतिक्रिया आउनासाथ नेपालको परराष्ट्र मन्त्रालयले खण्डनसहितको पत्र पठाए पनि भारतले त्यसलाई स्वीकार गरेको छ्रैन ।

भारतले नेपालका कालापानी, लिपुलेक, लिम्पियाधुरासहित क्षेत्र समेटेर आफ्नो मुलुकको नक्सा प्रकाशित गरेपछि भारतीय साम्राज्यवादका अतिक्रमणकारी कार्यका विरुद्ध नेपालमा जनआक्रोश बढेको बढ्यै छ । अझ भारतले नेपालको लिपुलेक हुँदै सडक निर्माण गरेर उद्घाटनसम्म गरिसक्दा पनि कानमा तेल हालेर बस्ने वली सरकार लिम्पियाधुरा क्षेत्र समेटेर निर्माण गरेका नक्सा सदनबाट पारित गरेपछि भूमि नै आफ्नो नबनाई केके न गरेजस्तो गरी सस्तो लोकप्रियता बटुल्न लागेकै समयमा वलीले अयोध्या र राम जन्मभूमिबारे हचुवा टिप्पणी गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

भारतीय साम्राज्यवादले नेपाली भूमिमा जन्मिएका गौतम बुद्धलाई आफ्नो भूमिमा जन्मिएका भनी विवाद ननिकालेको होइन तर कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालकै रहेको अकाट््य तथ्यजस्तै गौतम बुद्ध नेपालमा जन्मिएको तथ्य अकाट्य छ तर कथाहरूमा वर्णित मिथकीय पात्र रामको जन्मभूमिका बारेमा विवादास्पद र तथ्यहीन भाषण गरेर सस्तो लोकप्रियता बटुल्ने वलीको यो षड्यन्त्र भने नेपालीले भन्दा भारतीय पक्षले नै तुहाइदिने भएको छ । हुँदै नभएको कुरालाई भिडियो र टीभीमार्फत अनर्गल प्रचार गर्ने भारतीय टीभी च्यानलहरूको प्रसारण रोकिएको केही समयमै वलीको बर्बराहटपूर्ण अभिव्यक्तिको बदला कति नेपालीले अपमान सहेर र रगत बगाएर चुक्ता गर्नुपर्ने हो, त्यो भने भविष्यले बताउला तर संसारमा आजसम्म भएका युद्धहरूमध्ये धार्मिक युद्धमा जति मानिसको हताहती र नोक्सान अन्य युद्धमा नभएको तथ्यलाई भने शासकहरूले भुल्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :