नाजी अझै मरेको छैन

कसले पढायो तिमीलाई
मुसोलिनी शूलीमा चढेको इतिहास
ए, सोतीगाउँको यहुदी !
गेस्टापोका बाहिनीहरू
परेड खेलिरहेको साँझ
तिमी यहुदी/कम्युनिस्ट/क्याथोलिक
बिस्र्यौ आफ्नो नश्ल ?
किन हेरेको नवराज !
चौरजहारीको जर्मन बस्तीतिर ?
तिमीलाई थाहा छैन–
नाजी अझै मरेको छैन ।

नाजी म्युनिखमा
यहुदीहरू/कम्युनिस्टहरू/क्याथोलिकहरू
जङ्गली हात्तीले झैँ
बर्बरतापूर्वक टाङ फारेर
फालिन्थे अग्निकुण्डमा
मान्छेको चित्कार सुनेर
हर्षबढाइँ गर्थे काला वस्त्रधारीहरू
यता गेरुवस्त्रधारी
गरिबीलाई बोक्सी देख्छ
र चिर्पटले पिटीपिटी मारिन्छे हठनीदेवी
कसले सुनायो तिमीलाई
गेस्टापो बाहिनी विघटन भएको खबर ?
धर्मभिरु गेस्टापोहरू
परेड खेलिरहेका छन् देवस्थलतिर
कसले भन्छ नाजी शासन ढल्यो ?
कसले गर्यो झूटको खेती ??
गरिब नर–नारीविरुद्ध
छेडिएको छ तेस्रो विश्वयुद्ध
नाजी अझै मरेको छैन ।

नाजी शिविरमा
भोकभोकै मारिन्थे
यहुदीहरू/कम्युनिस्टहरू/क्याथोलिकहरू
कोरोना शिविरतिर
उसैगरी मारिन्छन् राजु सदाहरू
कति दूरी छ, महोदय !
नाजी बर्लिन
र आजको जनकपुरबीचमा ?
भित्ताको कालइन्द्र फेरिएको छ
किन फेरिएन मान्छेको दशा ?
किन पुनर्जीवित भइरहन्छ नाजीवाद ?
किन मारिन्छन् जर्ज फ्लोइडहरू ?
नाजी अझै मरेको छैन ।

प्युटारमा दिनदहाडै
मलमूत्र खुवाइन्छन् कल्लीकुमारीहरू
गरिबकी जहान नै बोक्सी हुनुपर्ने
दलित सधैँ यहुदी हुनुपर्ने
एक्काईसौँ शताब्दीको यहुदीविरुद्ध
कसले छेड्यो तेस्रो विश्वयुद्ध ?
नाजी अझै मरेको छैन ।

बरहथवाको गोडैत दादा !
कति हाँक पार्छौ कचहरीको ?
तिमी अर्काका लागि चिच्याइरहन्छौ
तर कसैले पढेन तिम्रो कथा
सपहीका अपन दर्जी !
पुस्तैनी टाल्यौ अर्कैको इज्जत
तर कहिल्यै टालिएन तिम्री जहानको चोली
मुसहर भैया !
कति बोक्छौ जिम्दारको डोला ?
कति लगाउँछौ ल्याप्चे
अँध्यारोमा गरेका कपाली तमसुकमा ?
कमियाँ बाबा !
कति पिट्छौ फलाम ?
मुसोलिनी शूलीमा चढे पनि
नाजीका बख्तरबन्द ट्याङ्क
दौडिरहेका छन् चौरजहारीतिर
देखेनौ सोती गाउँमा
गेस्टापो बाहिनीले
‘सी’ आकारमा घेरा हालेर
कसरी मारे यहुदीहरूलाई
इभाको प्रेमी मरे पनि
हिटलर मरेको छैन
एक्काईसौँ शताब्दीको यहुदीविरुद्ध
छेडिएको छ तेस्रो विश्वयुद्ध
नाजी अझै मरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :