सप्तकोसी बाँधले उत्पन्न गरेको त्रास

काठमाडौँ : नेपालका शासकहरूले विभिन्न समयमा भारतसँग गरेका असमान सन्धि–सम्झौताको दुष्परिणामस्वरूप नेपाली जनताले अनेकौँ कठिनाइहरू बेहोर्नु परिरहेको छ ।

नेपाल–भारतबीच विभिन्न समयमा कोसी, गण्डक, टनकपुर, शारदा बाँध, महाकालीलगायत द्विपक्षीय सन्धि–सम्झौता भएका छन् । यी सबै सन्धि–सम्झौता द्विपक्षीय भनिए पनि ती सबै आयोजना पूर्णतया भारतको नियन्त्रणमा हुँदा नेपाली जनताले ठूलो पीडा भोग्नुपरेको छ ।

यी सम्झौताहरूका कारण नेपालले पानीमाथिकोे अधिकार गुमाएको छ । यस्ता सम्झौताहरूबाट नेपालले फाइदा लिने कुरा त टाढै छ, उल्टो नेपाली भूभाग डुबानमा पर्दा बर्सेनि ठूलो धनजनको क्षति हुने गरेको छ जसको कारण हजारौँ नेपाली विस्थापित हुने गरेका छन् ।

यो वर्ष पनि सप्तकोसी उच्च बाँधका कारण तटीय क्षेत्रका हजारौँ बासिन्दा निकै त्रासमा बाँचिरहेका छन् । प्रत्येक वर्षको वर्षायाममा सप्तकोसी ब्यारेज आसपासका बासिन्दा चैनले निदाउन पाउँदैनन् । बिहीबारदेखिको अविरल वर्षाका कारण सप्तकोसीमा पानीको बहावले खतराको स्तर पार गरेको छ । सप्तकोसी ब्यारेजमा ५६मध्ये शनिबार ४० वटा ढोका खोलिएका छन् । पानीको बहाव बढेसँगै सप्तकोसीले पश्चिमतिरको तटबन्ध भत्काउने खतरा भएकाले पनि त्यस क्षेत्रका बस्तीहरू जोखिममा परेका छन् । कोसी बाँधको मर्मतसम्भारको जिम्मा लिएको भारतीय पक्षले लामो समयसम्म ध्यान नदिएकाले तटबन्ध कमजोर भएको र उक्त तटबन्ध भत्काएर कोसीको भेल बस्तीमा पस्ने खतरा बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :