एकीकृत जनक्रान्तिमा जेल सङ्घर्ष

जेल भनेको सत्ताधारी वर्गले विद्रोही शक्ति (सर्वहारावर्ग) लाई ठीक पार्न बनाएको सत्ता संरचनाको एउटा अङ्ग हो । तर मानव समाजमा विकासको आदिम साम्यवादी चरणसम्म आउँदा राज्य संरचना, सरकार, संविधान, ऐन, कानुन, नियम, सेना, पुलिस, अड्डा, अदालत र शासन, प्रशासन भन्ने नै थिएन । जबदेखि समाजमा निजी सम्पत्ति सञ्चित गर्ने प्रक्रियाको थालनी भयो तबदेखि सत्ता संरचनाको प्रारूप विकास भएको पाइन्छ । सत्ता संरचनाको विकाससँगसँगै समाजमा वर्गविभेद र वर्ग राजनीतिको पनि उत्पत्ति भएको पाइन्छ । सत्तायन्त्र भनेको एउटा वर्गले अर्को वर्गमाथि अर्थात् धनी वर्गले गरिब वर्गमाथि शासन गर्ने साधन भएकाले शासकवर्गले आफ्नो शासन टिकाइराख्न आफ्नो वर्गको हितअनुकूल संविधान, कानुन, सरकार, सेना, पुलिस, अड्डा, अदालत, प्रशासन, जेल आदिको स्थापना र विकास गरेको देखिन्छ । सत्ता संरचनाको सुरुआती चरणमा मानव समाजमा जघन्य अपराध गर्ने मानिसहरूलाई निश्चित नियमको घेरामा राखी सुधार्ने उद्देश्यले जेलको अवधारणा विकास गरेको हो ।

तर मानव समाज विकासका पछिल्लो कालमा यो अवधारणा निर्धारित उद्देश्यमा मात्र सीमित राखिएन, बरु यसको दायरा बढाएर समाजमा अन्याय–अत्याचारका विरुद्ध बोल्ने प्रगतिशील, प्रजातान्त्रिक र क्रान्तिकारी सोच–विचार र आस्था राख्नेहरूलाई निषेध गर्ने गरी शासकहरूले थप नियम, कानुन र ऐन बनाएर जेललाई दमन गर्ने एउटा हतियारका रूपमा स्थापित गरेका छन् । आधुनिक लोकतान्त्रिक विचार–पद्धति नै समाजको निर्विकल्प जीवनपद्धति हो भनेर मान्ने वर्तमानकालका पुँजीवादी शासकहरूले जेललाई झनै कठोर दमन र यातनागृहका रूपमा रूपान्तरण गर्दै लगेका छन् । यो कुरा पुँजवादीहरूले भन्ने गरेको कथित लोकतान्त्रिक राजनीतिक विचार–पद्धतिको मूल मर्मको सारविपरीत छ । यो राजनीतिक स्वतन्त्रता र मानवअधिकारविरोधी छ । फरक राजनीतिक विचार र आस्थालाई सम्मान गर्न नसकी त्यसप्रति असहिष्णु बन्नु र दमनद्वारा तह लगाउनु यसको मूल उद्देश्य बनेको छ । अहिलेसम्मको इतिहासले के पुष्टि गरेको छ भने रूप पक्षले सारलाई छोप्नु पुँजवादी फासिवादको मूल विशेषता हो । जहाँ निरङ्कुश र फासिवादी चिन्तनबाट शासकहरूले शासन सञ्चालन गरेका हुन्छन् त्यहाँ जेल–हिरासतलाई दमन र यातनाको मुख्य हतियार बनाएका हुन्छन् । वर्तमान पुँजीवादी विश्वमा जेल समाजको क्रान्तिकारी रूपान्तरणमा अवरोधका रूपमा प्रयोग भइरहेको छ । पेरूमा क. गोन्जालोको गिरफ्तारी र जेल–चलान यसैको गतिलो दृष्टान्त हो ।

यो स्थितिलाई नेपालमा व्यवहारतः स्पष्ट देख्न सकिन्छ– हाम्रो पार्टी क्रान्ति–प्रतिक्रान्ति हुँदै पुनः क्रान्तिको प्रक्रियामा आइसकेपछि वर्तमान दलाल पुँजीवादी केपी वली सरकारले हाम्रो पार्टीमाथि दमनका सबै उपाय अवलम्बन गरेको छ । उसले झूट्टा मुद्दा र जेल–हिरासतलाई हतियारका रूपमा प्रयोग गरेर एकीकृत जनक्रान्तिलाई सिध्याउने सपना देखिरहेको छ । वली सरकारले हामो पार्टीविरुद्ध दमनको यो रणनीतिअनुरूप हाम्रा नेता–कार्यकर्ता, शुभचिन्तक र समर्थकहरूलाई बिनाकारण खोजीखोजी गिरफ्तार गर्ने, झूट्टा मुद्दा लगाउने र गैरकानुनी थुनामा राख्ने, जेल चलान गर्नेजस्ता फासिवादी दमनकारी व्यवहार गरिरहेको छ ।

यो पङ्क्तिकार पनि दलाल सरकारको यस्तै प्रकारको व्यवहारबाट अछुतो रहेन । पार्टी कामको सिलसिलामा बाटोमा हिँड्दै गरेको बेला २०७६ असोज ६ गते बिहान ११ः४५ बजे काठमाडौँको पुरानोबानेश्वरबाट कथित अनुसन्धान ब्युरोले अपहरणको शैलीमा एक्कासि मलाई गिरफ्तार गर्यो ।

मलाई हतकडी र आँखामा कालोपट्टी बाँधेर कुनै एउटा घर (यातनागृह) मा लगियो । भुइँमा बस्न लगाइयो । तथानाम अश्लील गालीबेइज्जतीका साथै शारीरिक यातना दिने काम गरियो । यातनाको अर्थ र उद्देश्य थियो– मैले अवलम्बन गरेको राजनीतिक विचार र आस्थाबाट मलाई अलग वा विचलित पार्नु । तर सच्चा मालेमावादी क्रान्तिकारी विचारबाट निर्देशित आक्रोशपूर्ण वैचारिक प्रतिरोधले गलत उद्देश्य र विचारमा आधारित यातनालाई पचाइदियो । त्यसपछि कुनै एउटा कोठामा लगेर लडाइदियो र ढ्याम्म फलामे गेट लगाइयो । रातको १० बजेको हुँदो हो, एकजनाले खाना खान भन्यो तर तीव्र घृणा र आक्रोशको बाढीले भित्रैबाट उनीहरूको सबै व्यवहारलाई इन्कार गरेकाले ‘भोक छैन, खाना नखाने’ भनेँ । उसले ‘हैन, खानामा विष हालेर दिन्छन् भन्ठानेको हो ? हामीले खाने खाना हो खानू’ भनेर जोड गर्यो । मैले ‘खान मन छैन’ भनेर आफ्नो अडान दोहोर्याएपछि उसले ‘त्यसो भए के खाने त ?’ भनेर पुनः सोध्यो । मैले ‘खाना नखाने, बरु पानी छ भने ल्याएदिनू’ भनेँ। त्यसपछि उसले ‘चिया खानुहुन्छ ?’ भनेर सोध्यो । मैले ‘हुन्छ, कालो चिया खान्छु’ भनेँ। केही समयपछि कालो चिया र एक बोतल पानी ल्याएर हातमा थमाइदियो । एक घुट्की पानी र कालो चिया खाएँ ।

रातको त्यस्तै ११ बजेको थियो होला, फलामे गेटको ताला खुल्यो र उठ्न भनियो । यो कुराको अनुमान लगाउन गाह्रो थिएन । ममथि हुने सबै प्रकारका हर्कतको सामना गर्न मैले आफूलाई तयार पारिसकेको थिएँ । बाहिर निकालेर दायाँबायाँ गर्दै पहिलेकै यातना दिने कोठामा लगेर भुइँमा बस्न भनियो । त्यसपछि पहिले मानसिक यातनाको वर्षा सुरु भयो । ‘पार्टीका सबै कुरा भन्, नत्र तेरो यहीँ अन्त्य हुन्छ’ भन्दै शारीरिक यातना दिन सुरु गर्यो । मैले आफूलाई जसरी तयार पारेको थिएँ, त्यही अनुपातमा प्रतिवाद गरेँ । ‘मबाट कुनै चीज झर्नेवाला छैन । मेरो नैतिकताले पार्टीका कुनै पनि कुरा भन्न मिल्दैन । गोली हान्न सक्छौ हान, गोली खान तयार छु’ भनेपछि यातना दिनेहरूलाई हैरानी भयो । अन्त्यमा उनीहरूको हैरानीपूर्ण अभिव्यक्ति ‘साला ज्याद्रो रहेछ, छोड् लैजा’ भन्दै यातना दिनेमध्येकै कसैले भन्यो । त्यसपछि यातना दिन बन्द भयो । यातनाले मेरो बायाँपट्टिको गालाको माथि आँखाको छेउमा निलडाम र सुन्निएकाले यातना दिनेहरूले खासखुस कोडभाषामा सल्लाह गरी बरफ ल्याएर मेरो निलडाममा १० मिनेट जति बरफले सेकाए अनि मैले ‘यातना पनि आफैँ दिने अनि डाक्टर पनि आफैँ बन्ने, यो कहाँको चलन हो ?’ भनेँ । उसले ‘यहाँ यस्तै हुन्छ’ भनेर ठाडो ओठेजबाफ फर्कायो ।

अनुहारका निलडाम सेक्ने काम सकिएपछि पहिले राखिएको कोठामा लगेर लडाइयो । हतकडी र आँखा पट्टी दायाँबायाँ नगर्न भनियो । आक्रोश र घृणाभावले अन्तरमन छचल्किन थालेपछि रातभरि निद्रा लागेन । पानीको घुट्कासँगै रात बिताएँ । पछिल्लो बिहान अर्थात् २०७६ असोज सात गते बिहान ९ बजेतिर जाउलाखेल प्रहरी परिसर पुर्याइयो । त्यसपछि मात्र हतकडी र आँखाको कालोपट्टी खोलेर हिरासतमा राखियो । असोज आठ गते जिल्ला अदालत ललितपुरमा पेस गरी नितान्तै झूट्टा मुद्दामा बयान गर्न भनियो । प्रतिवादीका तर्फबाट पूरै इन्कारी बयान भयो । असोज ९ गते थुनछेक बहस भई अदालतले पुर्पक्षको आदेश गर्यो । सोही आदेशबमोजिम नख्खु कारागार चलान गरियो । २०७६ असोज ९ गते सुरु भएको जेलजीवन उच्च अदालत पाटनको आदेशबमोजिम २०७६ माघ १९ गते नख्खु कारागारबाट बाहिर निस्किनेबित्तिकै पुनः प्रहरीले गिरफ्तार गरेर २०७६ माघ २० गते पूर्व सुनसरी जिल्लाको धरान पुर्याइयो । फागुन चार गते हात–हतियार र खरखजाना मुद्दामा सुनसरी जिल्ला अदालतमा थुनछेक बहस भई साधारण तारेखमा थुनामुक्त गर्ने आदेश जारी भयो ।

तर अदालत परिसरबाटै पुनः गिरफ्तार गरी त्यही राती अड्डासार गर्दै फागुन आठ गते कालीकोट जिल्लामा पुर्याएर फागुन बाह्र गते बयान सकेर थुनछेक बहस भई जिल्ला अदालत कालीकोटले पनि साधारण तारेखमा थुनामुक्त गर्ने आदेश जारी गर्यो । त्यहाँ पनि पुनः गिरफ्तार गर्ने काम भयो । फागुन तेह्र गते कालीकोट जिल्लाबाट दैलेख जिल्लामा ल्याएर सार्वजनिक मुद्दा लगाई हिरासतमा राखियो । त्यसपछि सर्वोच्च अदालतमा बन्दी–प्रत्यक्षीकरणको रिट दायर भएपछि फागुन पच्चीस गते दैलेखबाट काठमाडौँ ल्याइयो । चैत दुई गते बन्दी–प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले थुनामुक्त गर्ने आदेश जारी गर्यो तर अदालत परिसरबाटै पुनः गिरफ्तार गरी यो दोस्रोपटक रिट दायर भएपछि चैत बाह्र गते सर्वोच्च अदालतले दोस्रोपटक पनि रिटमाथि सुनुवाइ गर्दै थुनामुक्त गर्ने आदेश जारी गर्यो । त्यसपछि भने सुराकीहरूले पिछा गरे पनि गिरफ्तार गरिएन ।

उल्लिखित सम्पूर्ण घटनाक्रमले के स्पष्ट पार्छ भने दलाल पुँजीपतिहरूले भन्दै आएको उनीहरूको लोकतन्त्रको सार कति कुरूप र फासिवादी रहेछ ! यो कुरा आमनेपाली जनताले व्यवहारतः स्पष्ट हुने मौका प्राप्त गरे । सङ्घीय लोकतान्त्रिक गणतन्त्र भनिएको शासन व्यावस्था आखिर कसको हो र यसले कुन वर्गको हित र पक्षपोषण गरिरहेको छ भन्ने कुरा व्यावहारिक रूपमा पुष्टि भइसकेको छ । यति मात्र होइन, कम्युनिस्टका नाममा नेपाली जनतालाई भ्रमित बनाई सरकार र संसद्मा पुगेका साम्राज्यवादी एजेन्टहरूको पर्दाफास भएको छ किनकि एउटा मालेमावादी सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीले अर्को क्रान्तिकारी सच्चा कम्युनिस्ट पार्टीमाथि हत्या र दमनको कुनै पनि बहाना चलाउन सक्दैन, बरु उसले यसको विपरीत साम्राज्यवादका विरुद्ध एकताबद्ध भएर लड्न तयार हुन्छ ।

यसकारण हाम्रो पार्टीले भन्दै आएको छ– लोकतान्त्रिक गणतन्त्र नामको शासन व्यवस्था नेपाली श्रमजीवी जनताको नभई साम्राज्यवादीहरूद्वारा निर्देशित र परिचालित दलाल पुँजीवादीवर्गको शासन व्यवस्था हो । यसले मजदुर, किसान, जाति, जनजाति, मधेसी, महिला, दलित, विद्यार्थी र उत्पीडित क्षेत्र कसैको पनि हित गर्न सक्दैन । यसर्थ यसको विकल्पमा जनताको आफ्नो व्यवस्था वैज्ञानिक समाजवाद प्राप्त गर्नका लागि एकीकृत जनक्रान्तिमा गोलबद्ध होऔँ । दलाल पुँजीपतिहरूको दमनकारी, शोषणकारी व्यवस्थाको अन्त्य गरौँ । यसका निम्ति एकपटक अदम्य साहस प्रकट गर्न आवश्यक छ । सबै प्रकारका भ्रम र व्यक्तिगत स्वार्थबाट आफूलाई माथि उठाउँदै नयाँ प्रकारको त्याग र समर्पणको वातावरण सिर्जना गर्न जरुरी छ । नयाँ राष्ट्र निर्माण त्यो बेला मात्र सम्भव छ जुन बेला सबै उत्पीडित वर्ग, समुदायले क्रान्तिका लागि आफूलाई तयार गर्दछ । हामी क्रान्तिकारीहरूले क्रान्तिका सबै मोर्चा खोल्ने गरेर नै क्रान्तिको सुरुआत गरेका छाैँ । यसमा उत्पीडित वर्ग, समुदाय, लिङ्ग, सच्चा राष्ट्रवादी, लोकतन्त्रवादी र प्रगतिशील शक्तिको ऐक्यबद्धतासहितको क्रान्तिकारी जागरणको अभाव हामी सबैलाई महसुस भएको छ ।

जेल र झूट्टा मुद्दाले क्रान्तिलाई कमजोर पार्न सक्दैन, बरु क्रान्तिले दमनकारी र अन्यायपूर्ण जेल र हिरासतलाई विस्थापित गर्नेछ । हामीले कल्पना गरेको वैज्ञानिक समाजवादको स्थापनाले सामाजिक न्यायलाई नयाँ उचाइमा स्थापित र विकास गर्नेछ जहाँ सभ्य, वैज्ञानिक र न्यायपूर्ण राज्यव्यवस्था छ त्यहाँ जेल र हिरासतको आवश्यकता नै पर्नेछैन । यसर्थ न्यायपूर्ण वैज्ञानिक शासन व्यवस्था स्थापनाका निम्ति एकीकृत जनक्रान्ति आजको ज्वलन्त आवश्यकता बन्न गएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :