सम्झनामा कमरेड वन्दना

माफ गर्नु प्रिय जीवनसाथी वन्दना ! मैले तिमीलाई बचाउन सकिनँ !

हुनत मृत्यु प्राकृतिक नियम हो । मान्छे जन्मेपछि एकपटक मर्नैपर्छ । अघि र पछिको मात्रै फरक हो । मृत्युको रूप र समय मात्रै फरक हो । यसरी हेर्दा मृत्यु अनिवार्य र स्वाभाविक प्रक्रिया हो । तर जब कुनै मानिसको जीवनका असङ्ख्य सपना पूरा हुन बाँकी छँदै नाबालकलाई छाडेर अल्पायुमै मृत्यु हुन्छ, त्यो मृत्यु अलि अस्वाभाविक हुँदो रहेछ । अलि अपत्यारिलो र असह्य हुँदोरहेछ । अझ झन् त्यो सपना व्यक्तिगतभन्दा पनि धेरैका सपनासँग जोडिएको हुन्छ, त्यसले झन् ठूलो पीडा दिँदोरहेछ । वन्दना ! तिम्रो मृत्युमा आज हामी घरपरिवार मात्र होइन, सिङ्गो पार्टीपङ्क्ति, साथीसङ्गी तथा न्याय र परिवर्तनका पक्षधर नेपाली जनता शोकमा छन् । हामीलाई कहिल्यै निको नहुने चोट लागेको छ अनि भएको छ अपूरणीय क्षति ।

२०७७ साल जेठ १२ गतेसोमबार साँझ ४ः२० बजे दिल्लीबाट फोनमा अकस्मात् वन्दना अचेत भएको खबर आयो । यसभन्दा अघि पनि उनी २ पटक लामो समयसम्म अचेत भएकी थिइन् । एकपटक काठमाडौँ र अर्कोपटक जाजरकोटमा । हल्का चक्कर आउने त भैरहन्थ्यो । नयाँदिल्लीको अपोलो हस्पिटलमा परीक्षण गराउँदा मुटुको चालमा अनियमितताको समस्या देखिएको थियो । यो समस्या समाधानका लागि मुटुमा तत्काल पेसमेकर राख्नुपर्ने डाक्टरको सुझाव थियो । तर यसका लागि केही तयारी गर्नुपर्ने र शारीरिक कमजोरी भएकाले अलि तन्दुरुस्त भएपछि सामान्य अपरेसन गरेर पेसमेकर राख्ने सल्लाह गरिएको थियो । त्यो दिन पनि सामान्य अचेत भएको होला भन्ने नै सोचियो । केही समयको होसमा ल्याउने घरेलु उपाय काम नलागेपछि दिल्लीको सफदरजङ्ग हस्पिटल लगियो जहाँ चेकअपपछि डाक्टरहरूले उनलाई मृत घोषणा गरिदिए । यो खबरसँगै हामीबीच कायम २०५९सालदेखिको दाम्पत्य सम्बन्ध भौतिक रूपमा समाप्त भयो यद्यपि वैचारिक र भावनात्मक सम्बन्धको सम्झना भने जीवनभर मेरो मानसपटलमा रहिरहनेछ । त्यो रात म सुत्नै सकिनँ । सिङ्गो पार्टीपङ्क्ति, मित्रहरू र घरपरिवार सबैलाई खबर गर्दै र कुरा गर्दै बित्यो पूरै रात । हामीले सँगै बिताएका पलहरू र भविष्यमा पूरा गर्न बाँकी कामहरू आँधीसरह मनमा खेलिरहे, आइरहे । सितिमित्ति नरुने मेरो मन चित्कार छोडेर रोयो । आँखा रसाए अनि मैले आफू एक्लो भएको महसुस गरेँ । जति कोसिस गरे पनि आफूलाई समाल्नै गाह्रो भयो । पीडा र भावनाका छालहरू ज्वारभाटासरि आइरहे ।

वन्दना बाथ रोगबाट थलिएको करिब ३ वर्ष भएको थियो । नेपालका राम्रा भनिएका थुप्रै सरकारी र निजी बाथविशेष हस्पिटलहरूमा उपचार गराइसकिएको थियो । आयुर्वेद र प्राकृतिक उपचार पनि बाँकी राखिएन । औषधीको बलमा सामान्य नियन्त्रणबाहेक निको हुने कुनै छाँट थिएन । अन्त्यमा २०७६ पुस २० गते थप उपचारका लागि नयाँदिल्ली लगियो । नयाँदिल्लीको अपोलो हस्पिटलमा भर्ती गरी चेक गराउँदा उनलाई रिमोटाइड अर्थराइटिस (बाथ), मुटुको चालमा अनियमितता र सुकाउने थाइराइडको समस्या देखियो । बाथको समस्या नेपालमा पनि देखिएको थियो । बाथको समस्या पहिलेदेखि नै रहेछ । तीन वर्षअघि थलापरेपछि मात्र हामीलाई यसका बारेमा जानकारी भयो । सयभन्दा बढी प्रकारका बाथमध्ये यो बढी खतरनाक हुँदो रहेछ । हाम्रो शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमताले रोगसँग लड्नुपर्नेमा यो रोग लागेमा रोग प्रतिरोधात्मक क्षमताले आफ्नै शरीरको सकारात्मक सेलर अङ्गलाई आक्रमण गर्दोरहेछ । यसको उपचार भनेको शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई औषधीको माध्यमबाट बढ्न नदिई त्यसलाई दबाएर राख्नुपर्ने रहेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेबित्तिकै आफ्नै शरीरका अङ्गलाई आक्रमण गर्ने आत्मघाती रोग रहेछ यो । रोग लागेको सुरुमै पत्ता लागेमा शरीर अङ्गभङ्ग हुनबाट बचाउन सकिने र रोग नियन्त्रण गर्न सकिने रहेछ तर पूरै निको पार्न नसकिने रहेछ । मुटुको समस्यामा पेसमेकर राख्नुपर्ने भनिएको थियो भने बाथ र थाइराइडमा नियमित औषधी खानुपर्ने भनिएको थियो । केही समय प्रत्येक महिना चेक गराएर औषधीको मात्रा मिलाउनुपर्ने भएकाले दिल्लीमा डेरा लिएर मेरो साहिँला दाइका छोराहरू भतिजा मङ्गल र पूर्णको रेखदेखमा राखिएको थियो । यही बीचमा कोभिड १९ महामारीका कारण विश्वव्यापी लकडाउन भयो र नियमित चेकअपमा समस्या भयो । छिट्टै पास मिलाएर उनलाई नेपाल ल्याउने सल्लाह हुँदै थियो । त्यही दिन १२ बजे पनि हाम्रो बीचमा फोनमा कुरा भएको थियो । उनले भनेकी थिइन्, ‘नेपालको सीमामा निकास खुला गरेको सुनिन्छ । अब यहाँ बस्दिनँ, धेरै गर्मी छ । चेक पनि नहुने भयो । सिफारिस मिलाएर छिटो फर्किने मिलाउनू ।’ मैले हुन्छ, मिलाइरहेको छु भनेँ । तर त्यही साँझ उनी कहिल्यै नफर्किने गरी बिदा भइन् । बाँकी रहे त मात्र उनका अधुरा सपना र सम्झनाहरू ।

म नेपालमा जन्मिएर भारतको नयाँदिल्लीमा हुर्केबढेको । उनी महान् जनयुद्धको तत्कालीन आधार जिल्ला जाजरकोटमा जन्मी हुर्केबढेकी । जनयुद्धको महायात्रामा हाम्रो भेट भयो । विद्यालय पढ्दै गर्दा विद्यार्थी फाँटबाट देश र दुनियाँ बदल्ने लक्ष्यसहित महान् जनयुद्धमा हामफालेकी वन्दना र मेरो विवाह आफैँमा एउटा सांस्कृतिक क्रान्ति थियो । पुरातन समाजका अनुसार हामी दुई कथित ठूलो र सानो जातिका थियौँ । जनयुद्धपूर्व राजीखुसी घरपरिवारको सहमतिमा अन्तरजातीय विवाह हुने र गर्नेकुरा विरलै थियो । जनयुद्धकै कारण यो व्यापक रूपमा सम्भव भएको हो । पार्टीको सहयोग र हाम्रो रोजाइमा हाम्रो विवाह भएको थियो । वन्दनाका माइती पक्षका सबै आफन्तले यो सम्बन्धलाई सहर्ष स्वीकार गर्नुभयो । त्यसबेला हामीजस्ता सयौँ अन्तरजातीय विवाह भएका थिए जसमध्ये थुप्रैमा शान्तिप्रक्रियामा आएपछि समस्या देखापरेको र कतिपयको सम्बन्धविच्छेदसमेत भएको सुनियो । तर हाम्राबीचमा त्यस्तो कुनै अन्तरविरोध देखिएन । दुवै पक्षका घरपरिवारको पूर्ण सहयोग र हामीबीचको असीम समझदारीले नै यो सब सम्भव भएको हो । संयोग नै मान्नुपर्छ जतिबेला अन्तरजातीय विवाहका एक अनुपम उदाहरणकी पात्रको मृत्यु भयो त्यही नै सेरोफेरोमा जाजरकोट र रुकुममा अन्तरजातीय प्रेम र विवाहकै सन्दर्भमा ६ जनाको नरसंहारकारी हत्याकाण्ड भयो । यस घटनाले समाज परिवर्तनको महान् यात्रा अझ पूरा नभएको मात्र होइन, यसमा ठूलो प्रतिक्रान्ति नै भएको सङ्केत गरेको छ ।

हामीले आफ्नो जीवनलाई क्रान्तिमा पूरै होमिदिएका थियौँ । सामान्य जीवनयापनबाहेक हाम्रो कुनै अर्को व्यक्तिगत इच्छा–आकाङ्क्षा थिएन । शान्तिप्रक्रियासँगै पार्टी र क्रान्तिमा देखापरेको खराबी र दुई लाइन सङ्घर्षका क्रममा पनि हामीले सुझबुझपूर्ण छलफल गरेर नै गलत विचारका विरुद्ध क्रान्तिकारी विचारको पक्ष लिने निर्णय गरेका थियौँ । हाम्रो समाजमा व्याप्त सबैखाले रूढिवाद, सङ्कीर्णता र आग्रह–पूर्वाग्रहबाट मुक्त वन्दना क्रान्तिकारी विचार र दृष्टिकोणप्रति स्पष्ट थिइन् । बदलिएको परिस्थितिमा पारिवारिक व्यवस्थापन हाम्राअगाडि चुनौतीका रूपमा खडा भयो । यसलाई तहामीले सामना गरिरहेकै थियौँ । त्यही बीचमा थपियो स्वास्थ्य समस्या । आधा समय रोग पत्ता नलागेर खेर गयो । जब रोग पत्ता लाग्यो तब धेरै ढिला भैसकेको थियो । जसले युद्धमा नढलेको क्रान्तिकारी शरीरलाई ढालिदियो । सम्भवतः आजको समयमा यो स्वास्थ्य चुनौती अधिकांश नेपाली जनताको साझा र आमचुनौती हो ।

२०३६ साल पुस १७ गते जाजरकोट नलगाड नगरपालिका ५ (तत्कालीन लहं गाविस) को ऐरारी गाउँमा जन्मेकी वन्दनाको क्रान्तिकारी राजनीतिक जीवनयात्रा महान् जनयुद्धको सुरुआती चरणदेखि नै भएको थियो । विस २०५२ मा विद्यार्थी जीवनदेखि नै अखिल (क्रान्तिकारी) को सदस्यका हैसियतले सुरु भएको उनको राजनीतिक सङ्गठनात्मक जीवन व्यापक रहेको छ । विद्यार्थीको जिल्ला नेतृत्वपछि महिला सङ्घ (क्रान्तिकारी) को केन्द्रीय सचिवालय सदस्य, महिला प्लाटुन कमिसार, २०७१ तिर जाजरकोट जिल्ला पार्टी सचिव हुँदै २०७३ तिरअखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) को केन्द्रीय अध्यक्ष हुँदै २०७३ को ८ औँ महाधिवेशनबाट नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य निर्वाचित भइन् । गीत–सङ्गीत, नृत्य र कविता लेखनमा उनको अत्यन्तै रुचि थियो । गृहसज्जा, पाककला र कपडा सिलाउनमा पनि वन्दनाको औधी रुचि थियो । २०५४ साल कात्तिक १७ गतेदेखि करिब ६ महिना हिरासतमा चरम यातना भोगेकी उनी हाल स्वास्थ्य समस्याका कारण उपचार बिदामा थिइन् । खरो र विद्रोही स्वभावकी उनी जहिले पनि सही विचार र क्रान्तिका पक्षमा उभिइन् । सहिद बुबा जयबहादुर सिंह र आमा मनकुमारी सिंहका पाँच छोरीहरूमध्ये काइँली, परिवारमा सबैकी प्यारी र अभिभावक नै थिइन् उनी । ससुरालीतर्फ पनि उनी सबैको आँखाकी नानी भैसकेकी थिइन् । उनमा रहेको परिवारप्रतिको स्नेह र जिम्मेवारीबोधले नै उनलाई यो स्थान प्रदान गरेको हो । क्रान्ति र वर्गसङ्घर्षका साथै घरपरिवारलाई पनि मिलाएर अघि बढ्नुपर्छ भन्नेमा सधैँ जोड रहन्थ्यो उनको । हामी दुईमा कहिलेकहीँ आफ्नो विचारमा अधुरो हुँदा छलफलको माध्यमबाट एकअर्कालाई पूर्णता दिने गर्थ्याै। सधैँ भविष्यका बारेमा सिर्जनशील भएर सोच्ने र क्रियाशील भैरहने अत्यन्तै अग्रगामी सोचाइ थियो उनको । ८ कक्षा पढ्दै गर्दा जनयुद्धमा होमिएकी उनले शान्तिप्रक्रियामा एसएलसी पास गरिन् र१२ कक्षाको परीक्षा दिँदै थिइन् । परिवारका बारेमा पनि हाम्रा बीचमा स्पष्ट समझदारी थियो । एउटा मात्र बच्चा जन्माउने हामीबीच आपसी सल्लाहअनुसार नै एउटा छोरा आजादको जन्म भयो र त्यस बच्चालाई व्यवस्थापन गरेर हामी दुवैजना पार्टी र क्रान्तिमा निरन्तर पूर्णकालीन भएर लाग्नुपर्छ भन्ने नै हाम्रो समझदारी थियो । हाम्राबीचमा कुनै मतभेद वा असमझदारी भएमा आआफ्नो डायरीमा नोट गरेर राख्ने अनी उपयुक्त समय मिलाएर छलफल गरी त्यसको टुङ्गो लगाउने हामीले एउटा नियम बनाएका थियौँ । समयसमयमा एकअर्काको कमीकमजोरी नोट गरेर एकअर्कालाई भनिदिने पनि हाम्रो बीचमा सहमति थियो । समग्रमा भन्नुपर्दा हामीले पतिपत्नीबीचको सम्बन्धलाई एउटा सङ्गठनको एकाइका रूपमा नै अगाडि बढाउने कोसिस गरेका थियौँ । आँखा चिम्लेर कुनै पनि विषय स्वीकार गरिहाल्ने बानी थिएन उनको । खरो बहसपछि चित्त बुझेपछि मात्रै कुनै पनि विषय स्वीकार गर्ने बानी थियो । तर सहमत भैसकेपछि जिम्मेवारीमा ज्यान फालेर होमिने उनको अत्यन्तै राम्रो बानी थियो । बाहिरी रूपमा खरो र कडा मिजासको देखिए पनि भित्री रूपमा अत्यन्तै नरम तथा मिलनसार थिइन् उनी ।

उत्पादनका निम्ति सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोगले नै मानवजातिलाई आजको विकसित अवस्थामा ल्याइपुर्याएको हो । संसार आज अकल्पनीय प्रगति र विकासको बाटोमा लम्किरहेको छ । यही नै वास्तवमा समग्र ज्ञानको स्रोत पनि हो । तर विश्वमा अझै पनि यस्ता विषयहरू छन् जहाँ मानिसका असङ्ख्य उपायहरू असफल सिद्ध भैरहेका छन् । कोरोना भाइरसको महामारीले मानवजातिको वास्तविक हैसियत उदाङ्गो पारिदिएको छ । विश्वशक्तिका रूपमा परिचित साम्राज्यवादी अमेरिकाले समेत कोभिड १९ रोगका अगाडि हार खानुपरेको छ । यद्यपि अहिलेसम्मको स्वास्थ्य विज्ञानको इतिहासले के प्रमाणित गरेको छ भने मान्छेले सरुवा रोगलाई नियन्त्रण गर्न सफल भएको छ यद्यपि यसका लागि केही समय लाग्ला । बरु मान्छेका लागि अहिले चुनौतीका रूपमा झन् सर्ने रोग अर्थात् दीर्घरोग देखापरेको छ । दीर्घरोग बाहिरी कारणले लाग्नेभन्दा पनि प्राकृतिक अवस्था, आहारबिहार र वंशाणुगत आदि) शरीरभित्रैबाट उत्पन्न हुने भएकाले यसको पूरै निराकरण चिकित्सा विज्ञानका लागि ठूलो चुनौती बनेको छ । एलोपेथिक उपचार पद्धतिले मात्रै यसको समाधान दिन सक्दैन । वैकल्पिक उपचारपद्धतितिर पनि ध्यान दिनुपर्छ भन्ने अहिले स्वास्थ्य वैज्ञानिकहरूको सुझाव रहेको छ । स्वास्थ्य क्षेत्रमा रहेको निजीकरण, व्यापारीकरण र उपचारात्मक पद्धतिले गर्दा पनि वन्दनाले जस्तै विश्वमा लाखौँ मानिसले अल्पायुमै ज्यान गुमाउनु परिरहेको छ । यसको समाधानका लागि स्वास्थ्य क्षेत्रमा रहेको निजीकरण र व्यापारीकरणको अन्त्य गरी स्वास्थ्य क्षेत्रको जिम्मा राज्यले लिनुपर्छ । साथै अहिले कायम उपचारात्मक पद्धतिको स्थानमा रोकथामको विधिलाई पनि अपनाउनु पर्दछ । तर यसका लागि दलाल पुँजीवादी तथा साम्राज्यवादी नीति घोर बाधक रहेको छ । विद्यमान नवउदारवादी आर्थिक व्यवस्थामा यो सम्भव छैन । साम्राज्यवादको यही गलत नीतिका कारण अमेरिकामा कोरोनाका कारण हजारौँ जनताले ज्यान गुमाउनु परेको छ । नेपाल पनि यो समस्याबाट अछुतो छैन । स्वास्थ्य क्षेत्रमा रहेका यावत् समस्याको दीर्घकालीन समाधान विद्यमान दलाल पुँजीवादी संसदीय व्यवस्थाबाट सम्भव छैन । यसका लागि यो व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना अपरिहार्य छ । नेपाली समाजमा व्याप्त यही विकृति र विसङ्गतिको अन्त्य गर्ने महान् यात्रामा लामबद्ध एक वीराङ्गना क. वन्दना आफैँ यसको सिकार बन्नुप¥यो । एलोपेथिक उपचारका साथसाथै उपचारका अन्य वैकल्पिक उपायबारे तयारी भैरहेकै बेला उनीमाथि कोरोनाको लकडाउनले नकारात्मक भूमिका खेल्यो । लकडाउन खुकुलो हुने पर्खाइमा ढिला भै उपचार अभावमा उनको ज्यान गयो । सम्भवतः मनोवैज्ञानिक तनावले पनि प्रभाव पारेको हुनुपर्छ । हामीले तिमीलाई बचाउन त सकेनौँ वन्दना तर तिमीजस्तै दीर्घरोघबाट पीडित लाखौँको ज्यान बचाउन योग्य स्वास्थ्यप्रणाली र राज्यव्यवस्था निर्माण गर्न भने हामी पछि पर्नेछैनौँ ।

दर्घरोगसँगको यो लडाइँमा हामीलाई सिङ्गो पार्टीपङ्क्ति, साथीसँगी, शुभचिन्तक र विशेषगरी दुवैतर्फका घरपरिवारको ठूलो हौसला र सहयोग रह्यो । भविष्यमा थप उपचारका निम्ति पनि त्यही किसिमको साथ र सहयोगको वातावरण मिलिरहेको थियो । तर हामीलाई समयले साथ दिएन । परिस्थितिको यही जटिलताले हामीलाई यो परिणति बेहोर्न विवश बनायो । प्रकृतिको नियम नै हो हामीले जस्तोसुकै बज्रपात पनि सहनुपर्दोरहेछ । प्रत्येक दिन यो संसारमा लाखौँ मानिस मर्छन् अनि अन्य लाखौँ नयाँ शिशुले जन्म लिन्छन् । सबैका जीवन उत्तिकै प्रिय हुने गर्छन् । आफ्नो प्रियजनको मृत्यु पनि त्यत्तिकै असह्य र पीडादायी हुने गर्छ । जतिसुकै दुःखद् र असह्य भए पनि यसलाई सहनु र पचाउनुबाहेक हामीसँग अर्को विकल्प हुँदो रहेनछ । भविष्यको आशा र बाँचेकाहरूको आपसी सम्बन्ध र जिम्मेवारीबोधले नै हामीलाई पीडा सहेर बाँच्न प्रेरणा र साहस दिँदोरहेछ । सायद द्वन्द्वात्मक भौतिकवादको नकारको सकारसम्बन्धी नियमको वास्तविक अर्थ पनि यही हो । यसो नहुँदो हो त यो संसार उहिल्यै समाप्त भैसक्थ्यो । संसारभरि लकडाउन रहेको सङ्कटको यस घडीमा पनि हामी सबै विशेषगरी आमाको चाहनामा पार्थिव शरीरलाई नेपालमा ल्याएर घरपरिवारको उपस्थितिमा पार्टीको झन्डा ओढाई श्रद्धाञ्जली दिएर दाहसंस्कार गर्न सफल भयौँ । पुरानो मृत्युपरम्परा र संस्कारलाई तोडेर प्रगतिशील तरिकाले उनको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरियो । जाजरकोट गाउँ र दैलेख गाउँका विद्यालयमा गरिब तथा अशक्त बालबालिकाका लागि ५०–५० हजारको छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने र दुवै जिल्लाका गाउँमा वर र पीपल रोपी स्मृति चौतारी निर्माण गर्ने निधो भएको छ ।

दुःखको यस घडीमा हामीलाई सम्झिनुहुने र सहयो गगर्नुहुने सम्पूर्ण पार्टी नेतृत्वपङ्क्ति, मित्रहरू, शुभचिन्तक एवम् नातागोतामा हार्दिक धन्यवादसहित आभार व्यक्त नगरिरहन सक्दिनँ । पीडाको यस क्षणमा मलाई दुईवटा जिम्मेवारीबोधले घचेटिरहेको छ । परिवार र समाजप्रतिको दुईवटा उत्तरदायित्व अब म आफैँले निर्वाह गर्नुपर्नेछ । हामी दुवैको सपना पूरा गर्नुपर्नेछ । सुन्दर, समतामूलक र न्यायपूर्ण समाज निर्माणको हाम्रो यात्राकत्ति पनि रोकिनेछैन । तिमी हाम्रो सम्झनामा सदासर्वदा रहिरहने छ्यौ र युगौयुगसम्म चम्किरहनेछौ जनताको नयाँ संसार निर्माणको अविराम मार्गमा । असीम माया र सम्झनासहित अल बिदा प्रिय जीवनसङ्गिनी सविता सिंह ‘वन्दना’ ! लालसलाम !!

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :