दलाल पुँजीवादमा नेपाली जनताको अवस्था

सामन्तवादको अन्त्यसँगै नेपालमा दलाल पुँजीवादको जन्म भएको छ । दलाल पुँजीवादले साम्राज्यवाद र उत्तरसाम्राज्यवादको प्रत्यक्ष निर्देशनमा राज्य सञ्चालन गरेको छ । दलाल पुँजीवादको चरित्र उत्पीडनकारी रहेको छ । दलालहरू नाफाका लागि जस्तासुकै जनविरोधी क्रियाकलापहरू गर्न तयार हुन्छन् । नेपालमा दलाल पुँजीवाद दलालीकरण, निरङ्कुशता र फासिवादीकरणको बाटोमा अघि बढेको छ । दलाल राज्य व्यवस्थामा भ्रष्टाचार, राष्ट्रघात, जनघातले सीमा नाघेको छ । जनताको जीवन दलाल पुँजीवादका कारण दिन–प्रतिदिन कष्टकर बन्दै गएको छ ।

नेपाली राजनीतिमा यतिबेला दलाल पुँजीवादले सामाजिक दलाल पुँजीवादको रूप धारण गरेको छ । सामाजिक दलाल पुँजीवादको राजनीतिक नेतृत्व केपी–पीकेको कथित सरकारी नेकपाले गरेको छ । सामाजिक दलाल पुँजीवादले जनताको बीचमा शान्ति, समृद्धि र समाजवादको नारा दिएको छ । विडम्बना ! शान्तिको नारामा हत्या, हिंसा गरेको छ । समृद्धिको नारामा देश र जनतालाई कङ्गाल बनाएको छ । समाजवादको नारामा दलाल पुँजीवादलाई संरक्षण गरिरहेको छ ।

दलाल पुँजीवादी उत्पादन सम्बन्ध र उत्पादक शक्तिका बीचमा, नेपाली जनता र दलाल पुँजीवादी राज्यबीचजमा अन्तरविरोध बढ्दै गएको छ । दलाल पुँजीवादी व्यवस्थाभित्र सङ्कट पैदा भएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षताको नारामा समाजवाद उन्मुख भनिएको संविधानले दलालहरूको हितको संरक्षण गरिरहेको छ । यो संविधान जनविरोधी छ । जनविरोधी संविधानको हतियार प्रयोग गरेर दलाल राज्यले जनतामाथि दमन गरिरहेको छ । जनताले आधारभूत मौलिक अधिकार पाएका छैनन् । श्रमिक वर्गलाई गाँस, बास र कपासको व्यवस्था गर्नुको साटो चर्को कर असुली गरेर लुटिरहेको छ । जनताले राम्रोसँग एक छाक खान र एकसरो लगाउन पाएको छैन तर दलाल पुँजीवादी शासकहरू महलमा बसेर सुखी नेपाली र समृद्ध नेपालको नारा दिइरहेका छन् ।

सुखी नेपाली र समृद्ध नेपाल, सिंहदरबारको अधिकार गाउँघर भन्ने नारा दिएर अगाडि बढेका तीन तहका सरकारहरू आज गाउँदेखि केन्द्रसम्म भ्रष्टाचार, दलाली र कमिसनमा चुर्लुम्म डुबेका छन् । केन्द्र, प्रदेश र स्थानीय तहका सरकारहरूले सिंहदरबारको अधिकार गाउँघरमा आएको प्रचार गरिरहेका छन् । सिंहदरबारको अधिकार गाउँघरमा आएको छ भन्ने मीठो नारा दिएर जनतालाई झुक्याएका छन् । सिंहदरबारको अधिकार गाउँघरमा पुगेको छैन, बरु सिंहदरबारभित्र हुने दलाली, कमिसनको खेल गाउँगाउँमा पुगेको छ । कोरोना माहामारीजस्तो सङ्कटको बेलामा पनि दलाल राज्यका जनप्रतिनिधिहरूले जनतालाई वितरण गरेको खाद्यान्न, साबुन र मास्कमा पनि बिल मिलाएर भ्रस्टाचार गरेका छन् । जनताले सिंहदरबारको अधिकार गाउँमा आएको रहेनछ, बरु सिंहदरबारको कमिसन र लुट आएको रहेछ भन्ने राम्रोसँग बुझेका छन् ।

नेपालमा दलाल पुँजीवाद र समाजवादका बीजमा सङ्घर्ष चलिरहेको छ । दलाल पुँजीवादको नेतृत्व केपीको सरकारी नेकपाले गरेको छ भने वैज्ञानिक समाजवादको नेतृत्व महासचिव विप्लवले नेतृत्व गरेको जनप्रिय पार्टी नेकपाले गरेको छ । केपीको नेतृत्वको कथित नेकपाले क्रान्तिकारी पार्टीमाथि प्रतिबन्ध लगाएको छ । निर्दोष नेता–कार्यकर्ताहरूको हत्या गरेको छ । सयाँै नेता र कार्यकर्ताहरूलाई गिरफ्तार गरी झूटा मुद्दामा फसाएको छ । पछिल्लो लकडाउनपछि पनि नेपाली जनता कोरोना महामारीसँग लडिरहँदा केपी सरकारले नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गरिरहेको छ । सुर्खेतबाट पार्टीका पूर्वकेन्द्रीय सदस्य कमरेड हिमाललाई गिरफ्तार गरेको छ । पार्टीका केन्द्रीय सदस्य तथा प्रकाशन विभाग प्रमुख अनिल शर्मालाई उपचारका क्रममा चितवनबाट गिरफ्तार गरेको छ । चितवन जिल्ला सेक्रेटरी बीचयलाई राहत वितरणका क्रममा गिरफ्तार गरेको छ । इलाम जिल्ला इन्चार्ज कमरेड पुष्प कोइराला र दुईजना कार्यकर्ताहरूलाई पनि गिरफ्तार गरेको छ ।

नेपाली राजनीति क्रान्ति र प्रतिक्रान्ति, दमन र विद्रोह, प्रतिवन्ध र प्रतिरोधका बीजबाट अगाडि बढिरहेको छ । संशोधनवादी र क्रान्तिकारी, पुँजीवादी र समाजवादी राजनीतिक शक्तिका बीचमा टक्कर भइरहेको छ । विगतको इतिहासले प्रतिक्रान्तिलाई क्रान्तिले, दमनलाई विद्रोहले, प्रतिबन्धलाई प्रतिरोधले, दलाल पुँजीवादलाई समाजवादले जितेको कुरा पुष्टि गरेको छ ।

नेपाली जनताले मुक्ति र स्वाधीनताका लागि विगतदेखि सङ्घर्ष गर्दै आएका छन् । राणा शासन, पञ्यायती शासन, बहुदलीय संसदीय व्यवस्थाविरुद्धको सङ्घर्षमा नेपाली जनताले ठूलो त्याग, तपस्या र बलिदान गरेको इतिहास छ । महान जनयुद्ध र ०६२–६३ को जनआन्दोलनमा नेपाली जनताले सामन्तवाद र साम्राज्यवादका विरुद्ध सङ्घर्ष गरे । जनताको सङ्घर्षपछि पनि जनताले सोचेको जस्तो जनवादी व्यवस्था आउन सकेन । मुलुक स्वाधीन हुन सकेन । जनतालाई धोका भयो । जनताका नाममा दलाल पुँजीपति वर्ग सत्तामा पुग्यो ।

सर्वहारा वर्गका नेता तथा दार्शनिक कमरेड कार्ल माक्सले भन्नुभएको थियो– एउटा अघाएको व्यक्तिले भोको मानिसको आवश्यकतालाई बुझ्न सक्दैन । नेपालमा दलाल पुँजीपति वर्ग र जनताको जीवनमा आकाश–पातलको भिन्नता छ । दलाल पुँजीपति वर्गको हातमा उत्पादनका साधनहरू रहेका छन् । राज्यका सम्पूर्ण स्रोतहरू दलालहरूले नै चलाइरहेका छन् । दलालहरू गगनचुम्बी महलमा बस्छन् । चौरासी व्यञ्जन खाना खान्छन् । महँगा कपडा लगाउँछन् । चिल्ला गाडीमा सवार हुन्छन् । उनीहरूको जीवन सुखपूर्ण छ । नेपाली जनता वर्षा हुँदा चुहिने र हावाहुरीले उडाउने झुपडीमा बस्छन् । जनताले शरीर ढाक्ने एकसरो कपडा पाएको छैन । नाङ्गो शरीर र भोको पेटमा बाँच्नुपरेको छ । बिरामी हुँदा उपचार नपाएर छट्पटिँदै मर्नुपर्ने अवस्था छ । दलाल राज्यका कारण लाखौँ युवकयुवतीहरू आफ्नो प्यारो घरपरिवार छोडेर विदेशमा श्रम बेच्न बाध्य छन् । दलाल राज्यले जनतालाई सेवा–सुविधा दिने भन्दा पनि उल्टो चर्को कर, महँगी र भ्रष्टाचार जनतामाथि थोपरिरहेको छ । दलाल पुँजीपति वर्ग अघाएको छ, जनता भोकै छ । जनताले यो दलाल राज्यबाट परिवर्तनको अनुभूति गरेका छैनन् । जनताको सपना पूरा भएको छैन । दलाल राज्यले सुखी नेपाली र समृद्ध नेपालको मीठो नारामा झुक्याइरहेको कुरामा जनता स्पष्ट हँुदै गएका छन् ।

कोरोना महामारीको सङ्कट हल गर्न पनि यो व्यवस्था पूर्ण रूपमा असफल भएको छ । लकडाउनका कारण बेरोजगार भएका मजदुरहरू भोक र रोग दुईवटा समस्यामा परेका छन् । मजदुरहरूलाई रोगले भन्दा भोगले मरिने हो कि भन्ने चिन्ता भएको छ । देशका विभिन्न भागबाट मजदुरहरू नाङ्गो खुट्टा कयौँ दिन लगाएर सयौँ किलोमिटर पैदल हिँड्न बाध्य छन् । विदेशमा रोजगारीका क्रममा गएका युवकयुवतीहरू अलपत्र छन् । भारतीय सिमानामा आइपुगेका नेपालीहरूलाई देशभित्र ल्याउने वातावरण बनाइएको छैन । कोरोनाका नाममा वितरण भएको राहतमा पनि भ्रष्टाचार भएको छ । राहत विपन्न मानिसहरूभन्दा पनि आफ्नो पार्टी र आसेपासे व्यक्तिहरूलाई वितरण गरिएको छ । वास्तविक विपन्न मानिसहरूले राहत पाएका छैनन् । सिङ्गो विश्व र हाम्रो देश कोरोना महामारीबाट शोकमा डुबेको बेला दलाहरू कुर्सी र पदको लडाइँमा केन्द्रित भएका छन् ।

यो दलाल पुँजीवादी राज्यवाट नेपाली जनताको समस्या समाधान हुँदैन । दलाल पुँजीवाद निजी सम्पत्ति थुपार्ने र नाफा कमाउने व्यवस्था हो । जनताको मुक्ति र देशलाई स्वाधीन बनाउन वैज्ञानिक समाजवादी व्यवस्था चाहिन्छ । त्यसैले आउनुहोस्, दलाल पुँजीवादी व्यवस्थालाई मसानघाटमा पुर्याऔँ । सुन्दर वैज्ञानिक समाजवादी व्यवस्थाका लागि एकीकृत जनक्रान्तिमा अगाडि बढौँ । नेपाली जनताले जित्नेछन्, दलाहरू हार्नेछन् ।

(लेखक नेपाल कम्युनिस्ट पार्टी दैलेखका इन्चार्ज हुन् ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :