मार्क्सवादका अनुयायीहरूले बन्द पर्खालभित्रै मनाए मार्क्सजयन्ती

काठमाडौँ : महामानव कार्ल मार्क्सको २०३ औँ जन्मजयन्ती विश्वभर मनाइएको छ । कार्ल मार्क्सको सिद्धान्त मार्क्सवाद मान्नेहरूले संसारभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाएका छन् । मार्क्सवादका अनुयायीहरूले खुला आकाशदेखि बन्द पर्खालसम्म यो दिवस मनाएका छन् ।

यसै सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई बन्दी बनाइएको नख्खु कारागारमा पनि यो दिवस मनाइएको छ । यो दिवसका अवसरमा त्यहाँ कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा नेकपाका नेता सुदर्शनले मार्क्सवाद विज्ञान भएको, मार्क्सवाद नै पुँजीवादका विरुद्ध लड्ने हतियार भएको र यसले नै सबैखालका अन्तरविरोधहरूको समाधान गर्नसक्ने बताएका छन् । साथै उनले नेपाल र विश्वभरि नै कतिपय नक्कली मार्क्सवादीहरूले मार्क्सको नाम बेचेर खाइरहेको पनि बताए ।

प्राप्त समाचारअनुसार सूर्यबहादुर तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घोषण उमेश खत्रीले गरेका थिए । कार्यक्रममा प्रेम विकले स्वागत भाषण गरेको र रामशरण शर्मा र अङ्गतकुमार जोशीले मार्क्सवादको महत्वका बारेमा मन्तव्य राखेको पनि समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :