भ्रष्टहरूलाई कारबाही नगरिए र जनदमन बन्द नगरिए जनकारबाही र जनप्रतिरोध : नेकपा


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले भ्रष्टहरुलाई कारबाही नगरिए पार्टीले जनकारबाही गर्ने र सरकारले दमन जारी राखे जनप्रतिरोध गर्ने चेतावनी दिएको छ । जिल्ला इन्चार्ज सहदेव र सचिव रविले जारी गरेको विज्ञप्तिमा महासङ्कटको बेलामा केपी–बादल कम्पनीको सरकार आमजनताको दुःख–पीडामा ध्यान नदिई नेकपामाथि दमन, भ्रष्टाचार र कमिसनको मोलमोलाइ गर्न उद्यत रहेको भन्दै चार बुँदामा चेतावनी पनि दिइएको छ ।

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘देश यतिबेला कोरोना भाइरसको महामारी खेपिरहेको छ । यस्तो महासङ्कटको बेलामा पनि दलाल केपी–बादल कम्पनीको सरकार आमजनताको दुःख–पीडामा ध्यान नदिई हाम्रो पार्टीमाथि दमन, भ्रष्टाचार र कमिसनको मोलमोलाइ गर्नमा उद्यत छ । यस्तो परिस्थितिमा यस कञ्चनपुर जिल्लाका आमजनताको सरोकार र जनजीविकासँग जोडिएका तपसिलबमोजिमका गम्भीर विषयहरूमा सम्बन्धित निकायको ध्यानाकर्षण, सचेतना र आवश्यक पहलकदमी लिन यो प्रेस विज्ञप्ति सम्प्रेषण गर्दछौँ ।’

चेतावनीका चार बुँदा प्रस्तुत गर्दै विज्ञप्तिमा अगाडि भनिएको छ, ‘१) महाकाली प्रादेशिक अस्पतालमा स्वास्थ्य सामग्री खरिदप्रकरण र भवन निर्माणमा भएको अनियमितताबारे अहिलेसम्म पनि सत्यतथ्य छानबिन गरी दोषीहरूमाथी कारबाही नभएको हुँदा तत्काल भ्रष्टाचारी–कमिसनखोरहरूमाथि कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गर्दछौँ । २) जिल्लामा रहेका वित्तीय संस्थाहरूले यस्तो सङ्कटको बेलामा पनि गाउँगाउँमा गएर ऋण उठाउने र जनतालाई दुःख दिने गरेको पाइएको छ । यो हर्कत तत्काल रोक्न सम्बन्धित निकायलाई आग्रह गर्दछौँ । अन्यथा पार्टी जनकारबाही गर्न बाध्य हुनेछ । ३) स्थानीय निकायले केही समयसम्म राहत वितरणको नौटङ्की गरे पनि विभिन्न दाताहरूले दिएको राहतसमेत वितरण नगरी अहिले राहत वितरण बन्द गरेका छन् । बन्दाबन्दी खुल्ने कुरा अनिश्चित हुँदा यथाशक्य मजदुर, सकुमबासी, डेरामा बस्ने विद्यार्थीहरू र वास्तविक पीडितलाई राहत वितरण गर्न आग्रह गर्दछौँ अन्यथा पार्टीले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नेछ । ४) कञ्चनपुरको सिमाना जोडिएको भारतीय क्षेत्र वनबासामा रहेका अलपत्र नेपाली दाजुभाइहरूलाई यथाशक्य छिटो क्वारेन्टाइनमा राख्ने गरी नेपाल भित्र्याउन अनुरोध गर्दछौँ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘उपर्युक्त विषयमा सम्बन्धित निकायले तत्काल पहलकदमी अगाडि बढाओस् । अन्यथा जनताका सवालहरू जोडिएका विषयमा पार्टी जस्तोसुकै चुनौती मोल्न तयार रहेको कुरा अवगत गराउँछौँ । साथै हाम्रो जिल्ला पार्टीका सम्पूर्ण कमरेड सुरक्षित, सतर्क रहन र केपी–बादलका मतियारहरूले दमन गर्न खोजे प्रतिरोधको मानसिकतामा बस्न निर्देशन जारी गर्दछौँ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :