१ देखि ९ सम्मको अनलाइन कक्षा बन्द गर्न अखिल (क्रान्तिकारी)को माग


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले कक्षा १ देखि ९ सम्मको अनलाइन कक्षा बन्द गर्नुपर्ने बताएको छ । लकडाउनमा विद्यार्थी भर्ना गर्ने बाहना बनाइएको र आधारतभूत तहमा अनलाइन कक्षा प्रभावकारी नहुने भन्दै अखिल (क्रान्तिकारी)ले अनलाइन कक्षा सञ्चालन नगर्न आग्रह गरेको छ ।

अखिल (क्रान्तिकारी)को उपत्यका विशेष क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर विकले बिहीबार विज्ञप्ति जारी गरेर काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लाहरुमा लकडाउनको बेला विद्यार्थी भर्ना गर्ने उद्देश्यले अनलाइन कक्षा सञ्चालन गरिएको बताउँदै बन्द गर्न माग गरेका छन् । तर, कक्षा १० देखि १२ सम्म अनलाइन कक्षा प्रभावकारी हुने भन्दै अखिल (क्रान्तिकारी)ले त्यसलाई व्यवस्थित गर्न इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराउन सरकारसँग मागसमेत गरेको छ ।

विज्ञप्तिमा विकले पाँचवटा कारणले आधारभूत तहमा अनलाइन कक्षा प्रभावकारी नहुने बताएका छन्, ‘अनलाइन कक्षा आधारभूत तहका विद्यार्थीहरुकालागि प्रभाबकारी हुने देखिँदैन । पहिलो कुरा शहरमा पढिरहेका अधिकांश विद्यार्थीहरु हाल गाउँघरमा छन् । दोस्रो, ती सम्पूर्ण बिद्यार्थीहरु इन्टरनेटको पहुँचमा छैनन् । तेस्रो, इन्टरनेट भएता पनि त्यसको प्रयोग गर्ने स्रोत साधनको उपलब्धता सबै विद्यार्थीहरुसँग हुँदैन र छैन पनि । चौथो, सबै विद्यालयहरु अनलाइन कक्षा सञ्चालन गर्न प्राविधिक तथा ब्यबस्थापकीय दृष्टिलेसमेत सक्षम छैनन् । र पाचौं, हाल केही शैक्षिक संस्थाहरुद्वारा सञ्चालित अनलाइन कक्षाको प्रभावकारीताको बारेमा पनि अभिभाबकहरुका ब्यापक गुनासाहरु प्राप्त भएका छन् । तसर्थ कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुकालागि अनलाइन कक्षा तत्काल बन्द गर्न संगठन जोडदार माग गर्दछ’

संयोजक विकले लकडाउनको बेला विद्यार्थी भर्ना नलिन शिक्षा मन्त्रालयले जारी गरेको निर्देशनलाई केही शैक्षिक संस्थाहरुले अटेर गरेको बताउँदै अनलाइन कक्षा पढाउँने नाममा विद्यार्थी भर्ना गर्ने शैक्षिक संस्थालाई कारवाही गर्ने चेतावनीसमेत दिएका छन्, ‘हाल काठमाडौँ उपत्यकालगायत शहरी क्षेत्रका केही शैक्षिक संस्थाहरुद्वारा आधारभूत तहका विद्यार्थीहरुलाई अनलाइनमार्फत पढाउने बाहनामा भर्ना गर्ने गराउने कार्य भइरहेको बताउँदै लकडाउनका कारण विद्यार्थी भर्ना नलिन शिक्षा मनत्रालयबाट जारी गरिएको निर्देशन समेत भित्रि रुपमा अटेर गरिएको छ । साथै, कोरोना महामारीको यस संकटको समयमा केही विद्यार्थीहरुलाई अनलाइन कक्षा पढाउने नाममा विद्यार्थी भर्ना गर्ने शैक्षिक संस्थाहरुलाई संगठन कारवाही गर्न बाध्य हुने ब्यहोरा अबगत गराउन चाहन्छौं ।’

कक्षा १० देखि १२ सम्म र विश्वविद्यालय तहमा अनलाइन कक्षाको साथै पठनपाठनका अन्य विकल्पसमेत अबलम्बन गर्न त्रिभुवन विश्ववविद्यालयसहित सम्बन्धित पक्षको अखिल (क्रान्तिकारी)ले ध्यानाकर्षण समेत गराएको छ । त्यसैगरी अखिल (क्रान्तिकारी)ले अनलाइन कक्षा लिनकालागि विद्यार्थीहरुलाई नेपाल सरकारद्वारा टेलिकम कम्पनीहरुमार्फत इन्टरनेट तथा डाटा निःशुल्क गर्न माग गर्नुको साथै विश्व स्वास्थ्य संगठनको कोरोना नियन्त्रण सम्बन्धी मादण्डभित्र रही लकडाउनको बिकल्प खोज्न सरकारसँग मागसमेत गरको छ । विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :