पुरानो वर्ष भर्सेज नयाँ वर्ष

कविता

केवल एउटा पात्रो फेरिएको छ जीवनमा
थोत्रो भित्तेपात्रो !
भित्ताले एउटा नयाँ पात्रो पाएको छ
केवल एउटा पात्रो !

दुखियाहरूको जीवनमा घटेको छ एक वर्ष र
त्यसै खुसीमा मनाइरहेछन् उत्सव–
कोरोनाजस्तै सत्ताको यो कहर काट्दै
अब बाँच्नु पर्नेछैन
थप एक वर्ष अझ कष्टपूर्ण जीवन
देख्नु पर्नेछैन शासकहरूले रगत–मासी र
कात्रोको पनि कमिसन खाएको बीभत्स दृश्य !
र सलाम गर्नु पर्नेछैन
समाजवादी कम्युनिस्ट सरकार, मन्त्री र नेताहरू हुँ भन्ने
नयाँ नटबरलालहरूलाई ।

उफ् !
पुरानु भित्तेपात्रोको च्यातिएको पानाबाट सारिरहेको छु
नयाँ पात्रोमा अर्को दुःखको सागर
वैशाख १५ मा साहूले भैँसी फुकाएको
र नेताहरूले राहतको जस्तापाता र त्रिपालसमेत चोरेर बेचेको !
जेठ १० मा सानो छोरालाई
शुल्क नतिरेको आरोपमा क्याम्पसले निकालिदिएको
असार २९ मा ठूलो छोरो ऋण काढेर मुग्लान भासिएको
साउन २२ मा छोरी बालात्कृत भएर मारिएकी
यस्तैयस्तै
नयाँ के फेरिएछ त जीवनमा आखिर ?
खराबभन्दा के भएछ त जीवनमा राम्रो ?
दुःख, अभाव, सास्ती र कहरबाहेक !
किन मनाऊँ म यो उत्सव
कसको खुसीमा मनाऊँ ?

गतसाल पनि आयो नयाँ वर्ष
मारिएकी छोरीका हत्यारा लागेनन् पत्ता
उल्टै बलात्कारीहरूको भयो पदोन्नति
भदौमा भयो जग्गा लिलाम
असोजमा साहूले निकालिदियो
आफ्नै घरबाट पुलिस लगाएर
कात्तिकमा छोराको लास आयो बाकसमा प्याक भएर
मङ्सिरमा छिमेकीले पा¥यो देशको भूमि आफ्नो नक्सामा
र त्यसको विरोधमा निस्किएका योद्धाहरू मारिए
प्रतिबन्धै लगायो सरकारले
लेख्न, बोल्न र सभासम्मेलन गर्न
पुसमा साम्राज्यवादी सेना
देशमा हुल्ने नियतले ग¥यो सरकारले अत्यन्त राष्ट्रघाती सम्झौता
र माघमा मन्त्रीहरूले आफ्नो तलब बढाउने निर्णयसँगै
नयाँ घरको नयाँ तला थपे
फागुनमा भ्रष्ट ठेकेदारहरूले बनाएका पुल भत्किए
चैतमा फेरि पन्ध्रमा चौधौँ मन्त्रीले पनि
भ्रष्टाचार गरेको सार्वजनिक भयो
फेरि उस्तैउस्तै भइरहेछ
वैशाखमा, जेठमा, असारमा, चैतमा…
थोत्रिएको छ जीवन, बढेको छ उमेर
के पुराना वर्ष, के नयाँ वर्ष ?

हो, एउटै त छ खुसी–
एक साल
हिजोको नायकले वैचारिक फोहोर खाएपछि
अर्को साल गाडिएथ्यो रातो झन्डा
झन् अर्को साल फर्फराएथ्यो शिवगढीमा र
झन् अर्को सालमा चम्किएथ्यो लालबस्तीमा ।
त्यही चमचमाउँदो प्रकाश हेरेर त
धानेको छु यो सकसपूर्ण जीवन !

गए सालमै त पठाएथ्यो
कलेजबाट निकालिएको छोराले पत्र–
जनताको सैनिकमा भर्ती भएको छु बाबा
र शक्तिशाली हतियार भिरेर
खेलिरहेछु मार्चपास्ट सजाउँदै सुन्दर सपना…
गएको सालमै त उसकी आमा पनि भर्ती भइथी लाल–सङ्गठनमा
यो साल मैले पनि समालेँ क्रान्तिकारी किसान मोर्चा
र हामी दुवैले लियौँ सँगसँगै प्रतिरोध युद्ध–तालिम
आउने साल भने गाड्ने विचार गरिरहेको छु
दुस्मनको मुख्यालयमै यो रातो झन्डा !

यसरी बितिरहेछन् पुराना वर्ष
यसरी आइरहेछन् नयाँ वर्ष !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :