राहत वितरणमा पक्षपात नगर्न नेकपा चितवनको आग्रह


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्ला समितिले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको महामारीबाट बच्न सरकारले वितरण गरेको राहतमा पक्षपात गरिएको भन्दै त्यसो नगर्न आग्रह गरेको छ । जिल्ला सेक्रेटरी विजय शर्माले जारी गरेको विज्ञप्तिमा उक्त आग्रह गरिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘विश्व मानवजातिलाई वर्तमान समयमा नोबेल कोरोना भाइरस (COVID-19) ले संत्रास उत्पन्न भइरहेको सन्दर्भमा नेपालमा पनि सङ्क्रमित भई उच्च जोखिममा रही केही व्यक्तिहरूलाई सङ्क्रमण भइसकेपछि विश्व स्वास्थ्य सङ्गठन (WHO) ले हाम्रो देशलाई विश्वका अतिग्रसित देशसरह उच्च जोखिमयुक्त देश घोषणा गरिरहेको बेला यो समय भनेको हामी नेपालीहरूका लागि सङ्कटपूर्ण घडी हो । यसबेला नेपाली जनता नेपालका राजनीतिक दल, बौद्धिक व्यक्तित्व, राष्ट्रसेवाका कर्मचारी, वर्तमान नेपाल सरकार, सुरक्षा निकाय कोरोना भाइरसका विरुद्ध एक भएर लड्नुको विकल्प नरहेको समय हाम्रासामु अगाडि आएको छ । यो प्राकृतिक विपत्को घडीसँग लड्नु र विजय हासिल गर्नुृ हाम्रो साझा दायित्व हो ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘तसर्थ नेपालको राज्य र राजनीतिक शक्तिहरूले यसको छिटोभन्दा छिटो पहल लिनुपर्छ । पूर्ण रूपमा वर्तमान सरकार अघि बढ्न सकिरहेको छैन । सरकारी संयन्त्रहरू दु्रत गतिमा अघि बढेका छैनन् । जनतालाई राहत वितरण र स्वास्थ्य उपचारका नाममा मनोगत र एकाग्रह तरिकाद्वारा स्थानीय सरकारहरू अघि बढेका छन् भने कुनै सहमति र सुझाव पारदर्शी ढङ्गले सङ्कलन गरेका छैनन् । राहत वितरणमा वर्तमान सरकार राष्ट्रिय सहमतिका आधारमा अघि बढ्नुभन्दा एकलकाटे तरिकाबाट अघि बढ्नाले यस सङ्कटको बेलामा वास्तविक गरिब, मजदुर, निम्न स्तरका किसानको घरमा चुलो नबल्नुका साथै बिचौलियाहरूद्वारा फेरि पनि कमिसन र भ्रष्टाचारको खेती बढेको छ । यसको पूर्ण सङ्केत छिमेकी राष्ट्र चीनबाट स्वास्थ्य सामग्री र उपकरण खरिदमा भएको भ्रष्टाचारले प्रस्ट्याइसकेको छ । २०७२ साल वैशाख १२ गतेको महाविनासकारी भूकम्पपछिका बाढीपीडित र घरबासविहीनका नाममा राष्ट्रिय ढुकुटी तथा अन्तर्राष्ट्रिय सहयोगको दुरुपयोगको इतिहासले हामी सबै नेपाली जनतालाई चनाखो बनाएको छ र यसको पुनरावृत्ति हुनबाट रोक्नु हामी सबैको साझा जिम्मेवारी हो ।’

सेक्रेटरीले विज्ञप्तिमा भनेका छन्, ‘यसै सन्दर्भमा चितवन जिल्लामा यहाँको स्थानीय सरकारद्वारा गरिएको राहत वितरणका नाममा राजनीतिक पूर्वाग्रह राखी आफ्ना आसेपासे राजनीतिक पहुँच राख्नेलाई वितरण गरिएको, वास्तविक पीडित, गरिब, भूमिहीन, मजदुरलगायत आयआर्जन नभएका व्यक्तिहरूमा नपुगेकाले हाम्रो चितवन जिल्ला पार्टीअन्तर्गत तत्तत् स्थानीय समितिहरूमा जनताहरूको सुझाव र राज्यप्रतिको आक्रोशपूर्ण अभिव्यक्तिहरू आएकाले हाम्रो चितवन जिल्ला पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । अबआइन्दा यस्ता क्रियाकलाप नदोहो¥याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछौँ । चितवनस्थित सम्पूर्ण राजनीतिक पार्टी, नागरिक समाज, बुद्धिजीवी, पत्रकार, उद्योगी, व्यापारीलगायत चितवनबासी सम्पूर्ण जनसमुदायमा सम्बन्धित पक्षलाई खबरदारी गर्न–गराउन हार्दिक आग्रह गर्दछौँ । अबआइदा यस्तो गैरजिम्मेवार र घृणित कार्य गरेमा हाम्रो पार्टी सोच्न बाध्य हुनेछ ।’

अगाडि भनिएको छ, ‘यसका साथै नागरिकहरूको स्वास्थ्यउपचार र सेवामा लागिपरेका स्वास्थ्यकर्मीलाई जनताको सेवामा उच्च मनोबलका साथ अहोरात्र अघि बढ्न, राज्य पक्षबाट स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध मिलाएर जनताको स्वास्थ्य उपचारका लागि कछुवा गतिमा होइन, तीव्र गतिमा अघि बढ्नुपर्छ । यो जोखिम समयमा हामीले अन्तर्राष्ट्रिय सम्बन्ध प्रगाढ राख्नु पनि आवश्यक छ । यस कठिन समयमा हाम्रो जिल्लामा पनि कोरोना भाइरसका विरुद्ध चितवनमा रहेका राजनीतिक दल, स्थानीय प्रशासनका साथै सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनी, चितवनबासी जनताको सेवामा रहेका स्वास्थ्यकर्मी, समाजसेवामा खटिएका कर्मचारी, बौद्धिक व्यक्तित्व, नागरिक समाजको साझा एकताबाट चितवन जिल्लालाई बचाउन एक भई अघि बढ्न र आमजनसमुदायलाई उच्च सुरक्षित र सतर्कता अपनाई स्वास्थ्यकर्मीले दिएको सुझाव र सल्लाहलाई आत्मसात गरी अन्तर्राष्ट्रिय जगत्ले खेपेको सङ्कट र सतर्कताबाट सिक्दै सचेत हुन अनुरोध गर्दछौँ । जनताप्रति जिम्मेवार हुन सुझावसहित राज्यको सानो लापरबाहीले जनताको ठूलो क्षति मोल्नुपर्ने खतराबाट सजग बन्न सम्बन्धित पक्षलाई अनुरोधका साथ नोबेल कोरोना भाइरस (COVID-19) का विरुद्ध लड्न नयाँ वर्ष २०७७ साल सङ्घर्षको वर्ष भएको हुँदा हाम्रो महान् तथा जनप्रिय नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति चितवन यस वर्षलाई न्याय, समानता र वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका लागि आमचितवनवासी आमबुवा, दाजु भाई तथा दिदी बहिनीहरूमा हार्दिक शुभकामनाका साथ नयाँ वर्ष २०७७ लाई प्रतिरोध सङ्घर्षको वर्षका रूपमा मनाउन अपिल गर्दै यो प्रेस विज्ञप्ति जारी गर्दछौँ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :