कोरोनाविरुद्धको युद्धमैदानमा बरु मृत्यु रोज्न तर जनताको सेवाबाट पछि नहट्न डाक्टर छोरालाई बाबुले दिए आदेश

‘तिमी मरेर पाउने २५ लाख मलाई चाहिएको छैन’

सरकारले स्वास्थ्यकर्मीको मनोबल उकास्न २५ लाखको बिमाको घोषणा गरी तिमीहरूलाई ललिपप पनि देखाएकोे छ । त्यो रकम यदि तिमी जीवित रहे तिमीले पाउनेछैनौ । तिमी मरेर पाउने रकम मलाई चाहिएको छैन । तिमीलाई जन्माउने मातृभूमि नेपाल हो । नेपाल नभएको भए तिमी नेपाली हुन पाउने थिएनौ । तिमीभित्र सल्बलाएको रगत नेपाल आमाको रगत हो । तिम्रो शरीरमा एक मुठ्ठी रगत र प्राण रहेसम्म नेपाल र नेपालीको सेवा गर्नु तिम्रो परम् कर्तव्य हुनेछ ।

संसारभर कोरोना महामारी फैलिइरहेको र नेपालमा पनि सङ्क्रमण बढिरहेको समयमा एकजना डाक्टरका बाबुले आफ्नो चिकित्सक छोरालाई बरु मृत्यु स्वीकार गर्न तर साहसी चिकित्सक बनेर जनताको सेवा गर्नबाट पछि नहट्न आग्रह गर्दै मार्मिक वैचारिक पत्र लेखेका छन् । दुई वर्षअघि विदेशबाट डाक्टर पढेर नेपालमा आई सरकारी अस्पताल सिभिल अस्पताल काठमाडौँमा सेवारत डाक्टर विप्लव लामिछानेलाई उनका बाबु स्थापित कानुन व्यवसायी, वामपन्थी बुद्धिजीवी एवम् चर्चित जर्बुट्टा कलाकार विश्वम्भर लामिछानेले यस्तो देशभक्तिपूर्ण भावनाले ओतप्रोत, भावुक र वैचारिक पत्र लेखेका हुन् । कोरोना सङ्क्रमणविरुद्ध मित्रराष्ट्रहरूले सहयोग र सुविधामा उपलब्ध गराएका चिकित्सकीय सामानहरूमा समेत सरकारी क्षेत्रबाटै भ्रष्टाचार भइरहेका समाचारहरू आएको समयमा एकजना बाबुले देशलाई विपत्ति परेको समयमा बरु मृत्यु रोज्न तर कोरोनाविरुद्धको युद्धमैदानबाट पछि नहट्न निर्देशन गरेको कुरालाई धेरैले अत्यन्त साहसी र देशभक्तिपूर्ण भावनाले ओतप्रोत सत्कार्य भनी चर्चा गरेका छन् । डाक्टर विप्लव र उनलाई देशको सेवा गर्न जस्तोसुकै कठिनाइ आइलागे पनि साहसपूर्वक अघि बढ्न निर्देशन दिने बाबु सिन्धुलीमाडी, ढकालगाउँ, आसुमतीटारका बासिन्दा हुन् ।

छोरालाई कोरोना युद्धविरुद्ध लड्न निर्देशन दिने बाबुलाई टिप्पणीकारहरूले महान् छाती भएको, सच्चा देशभक्त, क्रान्तिकारी र साहसी बाबुका रुपमा चित्रित गरेका छन् । ‘डाक्टर छोरालाई बाबुको चिठ्ठी’ शीर्षकमा सामाजिक सञ्जालमा सम्प्रेषित चिकित्सक विप्लवका बाबु विश्वम्भर लामिछानेको भावुक, देशभक्तिपूर्ण भावनाले ओतप्रोत र साहसी पत्र यस्तो छ :

मिति : २०७६/१२/१८
प्यारो छोरा विप्लव,
सिभिल सर्भिस हस्पिटल, काठमाडौँ ।

मलाई राम्रो थाहा छ, कोभिड–१९ का कारण विश्वमा मानव जातिमाथि ठूलो विपत् आइपरेको छ । यसको सामना गर्न विश्वका महाशक्ति राष्ट्रहरूलाई चुनौती बनेको छ । आणविक शस्त्र–अस्त्र निर्माणका लागि बनाइएका भट्टीहरू यस युद्घमा निष्काम भएका छन् । यो महामारीको त्रासबाट भयभीत भई सो भाइरसको सामना गर्न म स्वयम् तिमीबाहेकका परिवारका सदस्यहरूलाई लिएर होम क्वारेन्टाइनमा बसी महाभारतको युद्धमा धृतराष्टले दरबारभित्र बसेर सञ्जयको माध्यमबाट नरसंहार हेरेझैँ म पनि टुलुटुलु कोभिड–१९ का कारण विश्वमा भएको नरसंहार हेरी बस्न विवश छु ।

आजबाट सरकारले यसै महामारीको सामना गर्न होम क्वारेन्टाइनमा नबस्नेलाई जेल र नगद जरिबानाको समेत घोषणा गरी लक डाउन जारी गरेको छ । सेवामा खटिएका स्वास्थ्यकर्मीहरूको सुरक्षाका लागि नेपाल सरकारले विवादकै घेरामा भए पनि व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) खरिद गरी ल्याइसकेको छ । स्वास्थ्यकर्मीको मनोबल उकास्न २५ लाखको बिमाको घोषणा गरी तिमीहरूलाई ललिपप पनि देखाएकोे छ । त्यो रकम यदि तिमी जीवित रहे तिमीले पाउनेछैनौ । तिमी मरेर पाउने रकम मलाई चाहिएको छैन । तिमीलाई जन्माउने मातृभूमि नेपाल हो । नेपाल नभएको भए तिमी नेपाली हुन पाउने थिएनौ । तिमीभित्र सल्बलाएको रगत नेपाल आमाको रगत हो । तिम्रो शरीरमा एक मुठ्ठी रगत र प्राण रहेसम्म नेपाल र नेपालीको सेवा गर्नु तिम्रो परम् कर्तव्य हुनेछ ।

नेपालमा हरेक १० हजार जनसङ्ख्याबराबर एक स्वास्थ्यकर्मी पर्ने रेकर्ड स्वास्थ्य मन्त्रालयले नै निकालेको कुरा तिमीलाई विदित नै छ । तिमी डाक्टर भएको कारणले १० हजार नेपालीको स्वास्थ्यको रेखदेख गर्नु तिम्रो पनि जिम्मेवारी हो । तिमी बाँचेर १० हजार नेपाली मरेको मेरा लागि सैह्य हुनेछैन । मैले चीनलगायत विश्वमा कोरोना भाइरसबाट पीडित रोगीहरूको सेवामा संलग्न रहँदा स्वयम् आफेँलाई रोग सङ्क्रमण भई डाक्टरहरू मरिरहेका घटना र दृश्यहरू सञ्चार माध्यमहरूबाट देखिरहेको छु । एक डाक्टर मर्नु भनेको १० हजार नेपाली मर्नु हो भन्ने नेपालको स्वास्थ्य क्षेत्रको आँकडालाई हेर्दा पुष्टि हुन्छ । यो तिमीजस्ता स्वास्थ्यकर्मीहरूलाई चुनौती र अवसरको मौका पनि हो । सङ्कटको बेला देश र जनताको सेवा गरी मातृभूमिप्रतिको ऋण चुक्ता गर्ने शुभ अवसर पनि हो जसले तिमीलाई फ्लोरेन्स नाइटिङ्गेलजस्ती महान् स्वास्थ्यकर्मी बन्ने अवसर पनि प्रदान गर्न सक्नेछ । चुनौती त तिम्रासामु तिमी रहने वा नरहने पनि हुनसक्छ । स्वस्थ्यकर्मीहरूको प्रथम कार्य आफू सुरक्षित रही सेवारत स्थानमा पीडितहरूलाई सेवा गर्नु हो । आफू बाँचे मात्र सेवा वा उद्धार गर्न सकिन्छ, यसतर्फ तिमीहरूको रक्षाका लागि सुरक्षाकवचका रूपमा नेपाल सरकारले पीपीईलगायत उपकरणको व्यवस्था गर्ने नै छ ।

यस्ता विनाशकारी महामारीहरूले विश्वमा सन् १३४७–१३५१ मा ब्ल्याक डेथको नामबाट २० करोड मानिसको मृत्यु भएको थियो । सन् १५२० देखि बिफरका कारण ५ करोड ६० लाख मानिसको मृत्यु भएको थियो । सन् १८१७–१८२३ मा हैजाले १० लाखभन्दा बढी मानिसको मृत्यु भएको थियो । सन् १९१८–१९१९ मा इस्पेनिस फ्लुबाट ४० करोड र हाल सन् २०२० मा कोभिड १९ को कारण आजसम्ममा ३३,२५७ जनाको मृत्यु भइसकेको छ । (भिउजल क्यापिटलिस्ट २ २०२०) विश्वमा यस्ता महामारीहरूको सामना तिमीजस्ता स्वास्थ्यकर्मीहरूले पटकपटक गरी विजय प्राप्त गरिसकेको इतिहास छ । यस्ता महामारीहरूमाथि विजय प्राप्त गर्नु तिमीजस्ता स्वास्थ्यकर्मीहरूका लागि गौरवगाथा हो ।

म यसबेला त्यो इतिहास सम्झिरहेको छु जुनबेला कोरियाका महान् नेता किम इल सुङ कोरियाली स्वतन्त्रताको युद्धमा लडिरहँदा चिनियाँ क्रान्तिका महान् नेता माओ त्सेतुङले उक्त स्वतन्त्रताका लागि सहयोगी भूमिका निर्वाह गर्न आफ्ना छोरा माओ इनको नेतृत्वमा सैनिक सहयोग पठाएका थिए । माओलाई राम्रोसँग थाहा थियो युद्धमा कि मारिन्छ, कि त मरिन्छ । उनका छोरा माओ इनले त्यही युद्धमा वीरगति प्राप्त गरे । के माओलाई छोराको माया थिएन र ? हो यसबेला म त्यही पाठ पढिरहेको छु । देशमाथि आइपरेको यो विकराल महामारीमा तिमी र तिमीजस्ता स्वास्थ्यकर्मीहरू चाहे सेवारत रहेका हुन् वा घर बसिरहेका हुन् उनीहरूको पहिलो पेसागत धर्म रोगीहरूको उपचार र सेवा गर्नु नै हो । राजधानीजस्तो सुविधायुक्त स्थानमा बसेर मात्र हैन, देशका दुर्गम स्थानहरूमा सरकारले तिमीहरूलाई पुग्नसक्ने वातावरण बनाएर कोरोनाविरुद्धको युद्धमा लडी विजय प्राप्त गर्नु पर्नेछ । बाँचे फ्लोरेन्स नाइटिङ्गेल, जाँ हेनरी डुना, मदर टेरेसाजस्ता स्वास्थ्य क्षेत्रमा विश्वप्रसिद्ध नक्षेत्र बन्ने अवसर पनि प्राप्त गर्न सक्नेछौ । विश्वस्त छु, यो युद्धमा तिम्रो विजय सुनिश्चित छ ।

हाम्रो चिन्ता नलिनू । कोरोनाबाट सङ्क्रमितहरूको सेवाको अग्रदस्तामा तिम्रो नाम सुन्न र देख्न पाऊँ । तब मात्र तिम्रो जन्मसार्थकता र मेरो आत्माले शान्ति पाउनेछ । युद्धपछिको विजय उत्सवमा भेटौँला ।

तिम्रो माया गर्ने पिता
विश्वम्भर लामिछाने
जर्बुट्टा कला सङ्ग्रहालय, सिन्धुली ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :