चिकित्सा शिक्षा सङ्घर्षको परिणाम

विभिन्न कालखण्डमा विभिन्न किसिमका आन्दोलन र सङ्घर्षबाट समाज अघि बढिरहेको हुन्छ । त्यस्ता सङ्घर्ष हामीले पनि नदेखेका होइनौँ । समय र जिम्मेवारीले हाम्रो पुस्तालाई समाज रूपान्तरणका लागि ठूलो कार्यभार सुम्पेको छ ।

यही सिलसिलामा हामी चिकित्सा शिक्षामा मौलाएको बेलगाम लूटलाई लगाम लगाउन खोजिरहेका छौँ । त्यसका निम्ति हामीले ५ महिना लामो जटिल सडक सङ्घर्ष गर्यौँ भने अहिले पनि परिवर्तित स्वरूपमा सङ्घर्ष जारी नै छ । समाजको एउटा संवेदनशील अङ्ग स्वास्थ्य क्षेत्र भएको हुँदा यस क्षेत्रमा हुने सानो किसिमको कमजोरीले पनि समाजमा निकै डरलाग्दो स्थिति पैदा गर्दछ । तर हाम्रो देशको सबैभन्दा डरलाग्दो विकृति लूट र भ्रष्टाचार सरकारी र निजी दुवै स्वास्थ्य क्षेत्रमा छ । चिकित्सा शिक्षा अध्ययनको विषय त झन् निकै कहालीलाग्दो छ । चिकित्सा शिक्षा अध्ययन गर्दा विद्यार्थीलाई पर्ने भारको प्रत्यक्ष मारमा देशका जनता नै पर्छन् तर अहिले यो विषयमा देशका केही विद्वान् र अगुवाबाहेक सबै तैँ चुप मैँ चुप भएका छन् भने सरकार लाचार र मूकदर्शक भएको छ ।

डा. गोविन्द केसीको १७ औँ पटकसम्मको सत्याग्रह, डा. केदारभक्त माथेमाको प्रतिवेदनले चिकित्सा शिक्षामा भएको बेलगाम लूट, दादागिरी र भ्रष्टाचार देशका अधिकांश सचेत मानिसले छलफल गर्ने विषय बन्यो र यो क्षेत्रबाट मानिस सचेत हुन थाल्यो तर यतिले मात्र यस क्षेत्रको विकृति र भ्रष्टाचार रोकिने स्थिति थिएन र छैन पनि त्यसैले देशैभरिका चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीले मेडिकल कलेजका विरुद्ध सङ्घर्षको आह्वान गरे । सडक सङ्घर्ष मात्र झन्डै पाँच महिना चल्यो र त्यस क्रममा थुप्रै वार्ता र छलफलहरू भए ।

मेडिकल कलेज सञ्चालकहरू प्रत्यक्ष रूपमा राजनीतिक संरक्षणको आडमा गुन्डागर्दी र भ्रष्टाचार गर्छन् भन्ने विषयलाई आम जनताले महसुस गर्ने गरी छताछुल्ल गर्ने काम सङ्घर्षले गरेको छ । कहिल्यै शिर ठाडो पारेर कुरा गर्न नसक्ने चिकित्सा शिक्षाका विद्यार्थी सेतो एप्रोन, कलम र कापी बोकेर मेडिकल कलेजका गुन्डा सञ्चालक र उनीहरूको चाकडी बजाउने अनि परीक्षामा फेल गरिदिने धम्की दिने शिक्षक र कर्मचारीका साथै यो विकृतिलाई संरक्षण दिने सरकार र सम्बन्धित निकायका विरुद्ध निकै कठोर ढङ्गले कक्षा कोठादेखि राजधानीका सडकसम्म गएर जाइलागे ।

मेडिकल कलेज पनि एउटा छुट्टै सत्ता हो र यसको संरक्षण सरकारले नै गरिरहेको छ भन्ने विषय आमजनताले बुझ्ने भाषामा यो सङ्घर्षले छरपस्ट पारिदियो र त्यसको चौतर्फी दबाबमा सरकार पर्यो । यत्रो सङ्घर्ष चल्दा विद्यार्थी आन्दोलनको ठेकेदार सोच्ने विद्यार्थी सङ्गठन र चिकित्सा शिक्षा र चिकित्सकका लागि भनेर करडौँ रुपैयाँ खर्चेर चुनाव लड्ने विभिन्न कम्पनीहरू सङ्घर्षमा भाग लिने, विद्यार्थीलाई सहयोग गर्ने त कुरै छाडौँ विद्यार्थी मरणासन्न हुने गरी मेडिकल कलेजका गुन्डाहरूबाट कुटिँदा चुइँक्कसम्म बोलेनन् र लेखेनन् । अझ लाजमर्दो त केही ठूला भनाउँदा विद्यार्थी सङ्गठनले आन्दोलनको सफलतापछि जस लिने ढङ्गले यो आन्दोलन हामीले गरेका हौँ भनेर प्रेस विज्ञप्ति निकाल्ने होडमा पनि लागे ।

केही मानिसलाई लागेको होला यत्रो आन्दोलनबाट सबैले पैसा पनि फिर्ता पाएनन्, विद्यार्थीले पढाइ मात्र बिगारे, विद्यार्थी अझ केही बदमास शिक्षकको नजरमा परे र उनीहरू परीक्षामा अप्ठ्यारोमा पर्ने भए तर हामी गर्वसाथ भन्छौँ हामीले यो सङ्घर्षबाट एउटा बलियो नैतिकता पाएका छौँ, जनताको विश्वास पाएका छौँ, विद्यार्थीको माया पाएका छौँ । अझ योभन्दा पनि महत्वपूर्ण उपलब्धि हो । हामीले मेडिकल कलेजका माफिया, यसलाई संरक्षण दिने सरकार, माफियासँग साँठगाँठ गरेर उनीहरूको जुठोपुरो खाने विद्यार्थी नेता, चिकित्सकका लागि भनेर चुनावको डङ्का पिट्ने बुज्रुकहरूलाई आमजनताले बुझ्ने गरी सडक र सङ्घर्षबाट पूरा नाङ्गेझार पारेका छौँ र अर्को सङ्घर्षका निम्ति बलियो आधार खडा गरेका छौँ । हामी शिर ठाडो पारेर प्रश्न गर्न चाहन्छौँ– माफियाको चाकडी बजाएर, गुलामी गरेर, उनीहरूको जुठोपुरो खाएर, आफ्ना सबै नैतिक मूल्यमान्यता गुमाएर उच्च नैतिक बल भएका विद्यार्थीलाई सङ्घर्षबाट के पायौ भनेर प्रश्न गर्ने हैसियत र अधिकार तिमीहरूजस्ता हुतिहारा, तुच्छ मनुवाहरूलाई कसले दियो ? हामी गान्धीका बाँदर होइनौँ । हामीसँग बल प्रयोगको माक्र्सवादी चेतना छ । राज्यको सबै अङ्गलाई प्रभाव पारेर २/४ थान बन्दुक र ५/६ वटा गोली देखाएर अनि निमुखा विद्यार्थी र आमाबुबालाई विभिन्न धम्की दिएर गुन्डाराज चलाइरहेका माफियाहरूको विकृति अब धेरै दिन चल्नेछैन । हामी माफियाका सबै संयन्त्रलाई ध्वंस पार्दै अझै थप सशक्त सङ्घर्षको आह्वान गर्नेछौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :