सहिद सप्ताह र सहिदी सपना

समय समीक्षा

युद्धभूमिमा एउटा सेना म
बन्दुकसँग रमाउँछु
क्रान्तिको मीठो सङ्गीत बज्ने प्यारो बन्दुक
नयाँ लय, सुर, ताल जन्माउँछ
जब यो बजाउन थाल्छु, भय सारा हटेर जान्छ
हूलका हूल क्रोध मेटिन्छ
‘शक्ति’ को मीठो विस्फोट
अहा ! पर्दाभित्रको प्रतिभा
थिचाइमा पिल्सिएका अनुहारहरू
उद्वेलित भएको, प्रफुल्लित भएको देख्छु
तब– अङ्गमा उमङ्ग
रक्तरञ्जित रङ हुँदै दङ्ग युद्धभूमिमा
त्यसैले म जीवनभर
बिछोड नहुने गरी प्रेममा फसेको छु
हरहमेसा काँधमा भिरेर हिँडेको छु
युद्धभूमिमा जति–जतिपटक थिचिन्छ
मार्सल आर्टको म्युजिक गुनगुनाउँछ
म नाच्ने गर्छु
म नाच्दा शरीर नाच्छ
शरीर नाच्दा स्फूर्ति पाउँछु र
कदम बढाउँछु लेफ्ट–राइटको
ड्रमसेटको तालजस्तै लाग्छ
‘ड्याङ–ड्याङ’ ‘ढ्याम–ढ्याम…’
– सहिद अन्जान विरही

महान् जनयुद्धका सांस्कृतिक योद्धा एवम् स्रष्टा सहिद अन्जान विरहीका यी काव्यिक हरफहरूले नै बताउँछन्– जनयुद्धमा लामबद्ध योद्धाहरू आफ्नो लक्ष्यप्रति कति दृढ, प्रतिबद्ध र समर्पित थिए । हो, यस्तै दृढता र प्रतिबद्धताकै बीच जनयुद्धमा करिब दस हजार योद्धाहरूले बलिदान गरे । यही त्याग, शौर्य, समर्पण र बलिदानको उच्च संस्कृतिलाई जीवनशैली बनाउने प्रतिबद्धता व्यक्त गर्दै जनयुद्ध सञ्चालन गरिरहेको नेकपा (माओवादी) ले फागुन १४ गतेदेखि २१ गतेसम्मलाई सहिद सप्ताह घोषणा गर्दै एउटा नयाँ दिवस र पर्वका रूपमा विकास गरेको थियो । नेपाल कम्युनिस्ट पार्टीले यो दिवस भव्यतापूर्वक मनाउँदै आएको छ ।

नेपालको क्रान्तिकारी राजनीतिक आन्दोलनमा झापा विद्रोह (सुखानी हत्याकाण्ड) र जनयुद्ध दुवै विद्रोहको महत्व कम छैन । दोस्रो विद्रोह अर्थात् जनयुद्धको जग पहिलो विद्रोह अर्थात् झापा विद्रोह नै थियो । पहिलो विद्रोहको प्रभाव भने चिनियाँ भूमिमा कमरेड माओ त्सेतुङले आरम्भ गर्नुभएको सांस्कृतिक क्रान्ति र भारतको नक्सलबाडीमा कमरेड चारु मजुमदारले आरम्भ गर्नुभएको सशस्त्र विद्रोह थिए । मूल नेतृत्वले झापा विद्रोह, त्यसको तरङ्ग र प्रभावलाई बेवारिसे बनाइदियो अर्थात् झापा विद्रोहको अवस्था एउटी कुमारी आमाले अवैध यौनसम्बन्धबाट रहेको गर्भलाई लोकलाजका डरले सिस्नोको झाङमा फालिदिएर अर्कोसँग अवैध सम्बन्ध कायम गरेझैँ फालिदियो वर्गदुस्मनसँग मिल्न पुग्यो । दोस्रो विद्रोहको मूल नेतृत्व साह्रा नेता, कार्यकर्ता, सहिद परिवार, बेपत्ता योद्धा, तिनका आफन्त, घाइते अपाङ्ग र जनता सबैको आशामा तुसारापात गर्दै वर्गयुद्धको बाटोबाट कथित शान्तिको बाटोमा कुलेलम ठोक्यो र वर्गदुस्मनको टाङमुनि छिर्न पुग्यो । सकारात्मक घटनाबाट विकसित नकारात्मक परिणतिको गर्भबाट फेरि अर्को जनविद्रोहको विकास र अभ्यास भइरहेको छ एकीकृत जनक्रान्ति । आज फेरि क्रान्तिकारी कम्युनिस्टहरू झापा विद्रोहका सहिदहरू र जनयुद्धका सहिदहरूको चिहान खोतलेर नयाँ विद्रोह अघि बढाइरहेका छन् ।

महान् विचारक कार्ल माक्र्सले भन्नुभएको छ– आफ्नो वर्गलाई फाइदा हुने हदसम्म क्रान्तिकारीहरूले चिहान पनि खोतल्नुपर्छ र हाडखोरहरू पनि जम्मा गर्नुपर्छ । नेपाल कम्युनिस्ट पार्टी अहिले यिनै भग्नावशेषहरूमा एकीकृत जनक्रान्तिको जग तयार पारिरहेको छ र क्रान्ति अघि बढाइरहेको छ । यही सिलसिलामा हामी यतिबेला चिहानबाट सुखानी हत्याकाण्डदेखि जनयुद्धसम्मका महान् सहिदहरूलाई सम्मन गर्दै सहिदहरूका हड्डी खोतलिरहेका छौँ । यतिबेला झापा विद्रोहका अगुवाहरू होइन, झापा विद्रोहका यिनै महान् सहिदहरूको गौरवशाली बलिदानले बोकिरहेको छ त्यस महान् विद्रोहको गौरवशाली इतिहास । त्यस्तै जनयुद्धका अगुवाहरू भागे पनि जनयुद्धका महान् सहिद र बेपत्ता योद्धचहरूको त्याग, शौर्य र समर्पणले धानिरहेको छ जनयुद्धको इतिहास र त्यही इतिहासलाई वर्तमान बनाइरहेको छ नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिको माध्यमबाट । एकीकृत जनक्रान्तिमा मात्र १२ जना योद्धाले रगत बगाएर आफ्नो इतिहास, वर्तमान र भविष्यप्रतिको ऐतिहासिक जिम्मेवारी पूरा गरिसकेका छन् ।

नेपालको प्रगतिशील राजनीतिक आन्दोलन मात्र नभएर कम्युनिस्ट आन्दोलनकै पहिलो सशस्त्र विद्रोहका क्रान्तिकारी योद्धाहरूको यही विद्रोह र बलिदानको गाथा हो झापा विद्रोह । इतिहासमा कयौँ यस्ता घटनाहरू हुन्छन् जुन अगुवाहरूको बेइमानीका कारण अलपत्र वा बेवारिस हुन्छन् र त्यसको ऐतिहासिक महत्वको कार्यभार अरू कसैले लिनुपर्ने हुन्छ । नेपालमा दुरुस्तै नभए पनि केही मिल्दाजुल्दा दुईवटा यस्ता घटना भएका छन् : पहिलो, २०२८ सालमा भएको ऐतिहासिक झापा विद्रोह र दोस्रो, २०५२ सालबाट आरम्भ भएर करिब ११ वर्षसम्म सञ्चालनमा रहेको महान् जनयुद्ध । यति बेला यी दुवै विद्रोह अभिभावकविहीन बनाइएका थिए । नेपालको कम्युनिस्ट आन्दोलनमा तेस्रो पुस्ता भन्न मिल्ने स्तरबाट यसको स्वामित्व ग्रहण गर्ने र निरन्तरता दिने काम भइरहेको छ । अवसरवादीहरूले धुलोमा फ्याँकेको रातो झन्डा उठाएर अर्को क्रान्ति उठान गर्ने काम भइरहेको छ । राजनीतिक तरङ्गका हिसाबले यी दुवै राजनीतिक सन्दर्भले पृथक महत्व राख्छन् । पहिलो घटना एउटा क्षेत्रीय स्तरको पार्टीको पनि जिल्ला समितिले सञ्चालन गरेको थियो भने दोस्रो घटना राष्ट्रिय स्तरको सिङ्गो पार्टीले । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा पहिलो घटना अर्थात् झापा विद्रोह वर्गसङ्घर्षको पहिलो र सङ्गठित विद्रोहको उठान थियो तर यसका सञ्चालकहरूको अपरिपक्वता, किंकर्तव्यविमूढता र आलोकाँचोपनका कारण उपलब्धि कम र क्षति बढी भएर टुङ्गियो तर त्यसको तरङ्ग भने आजसम्म जारी छ । अझ भनौँ यसका सञ्चालक वा अगुवाहरू नै आफैँले सञ्चालन गरेको विद्रोहबाट विमुख भए र कालान्तरमा आफैँले आरम्भ गरेको विद्रोहलाई ‘उग्र वामपन्थी भड्काव’ देख्ने स्थानसम्म पुगेर संशोधनवादमा चुर्लुम्म डुबे । त्यस विद्रोहको स्वामित्व ग्रहण गर्न पनि लज्जाबोध गरिरहेका छन् हिजोका नायकहरू । पछिल्लो ऐतिहासिक राजनीतिक घटनाक्रम अर्थात् जनयुद्ध विश्वमै कम्युनिस्ट आन्दोलनले धक्का खाइरहेको समयमा आरम्भ भएको वसन्ते गर्जन थियो । राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल बनाउँदै गरिएको यस राजनीतिक घटनाक्रममा हजारौँ योद्धा र जनसमुदायबाट बलिदान भयो । केही आंशिक राजनीतिक परिवर्तन पनि भयो तर त्याग, शौर्य, बलिदान, अपेक्षा र आवश्यकताअनुसारको रूपान्तरण नभईकनै मुख्य नेतृत्व पुच्छर लुकाएर दुस्मन क्याम्पतिर भाग्यो । प्रकारान्तरले दुवै राजनीतिक विद्रोहहरू असफलतामा टुङ्गिए । नेपाली समाजलाई मात्र नभएर विश्व– कम्युनिस्ट आन्दोलनलाई नै यी दुर्घटनाहरूले क्षति पुर्याए । यिनै घटनाहरूबाट पाट सिकेर यतिबेला नेकपाले एकीकृत जनक्रान्ति अघि बढाइरहेको छ ।

तत्कालीन पञ्चायती व्यवस्थाले झापा विद्रोहका योद्धाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई झापा जेलबाट इलाम जेल सरुवा गर्ने बहानामा सुखानी जङ्गलमा पुर्याएर २०२९ साल फागुन २१ गते राति गोली हानी हत्या गरेको थियो । यता महान् जनयुद्ध आरम्भ भएको १४ दिनमै गोरखाका विद्यार्थी दिलबहादुर रम्तेललाई पनि दलाल संसदीय व्यवस्थाले प्रतिरोधकै क्रममा हत्या गरेको थियो । दिलबहादुर रम्तेलको हत्या भएको फागुन १४ र झापाका विद्रोहीलाई राज्यद्वारा हत्या गरिएको दिन फागुन २१ गतेसम्मको एक सातालाई जनयुद्धकालदेखि नै नयाँ पर्वका रूपमा स्थापित गरी सहिद सप्ताह मनाउने गरिएको हो ।

नेपालमा राजनीतिक, सांस्कृतिक, आर्थिकलगायत क्षेत्रमा विद्यमान विभेद अन्त्य गरी आमूल परिवर्तनका लागि भएका हरेक आन्दोलन, सङ्घर्ष, विद्रोह, युद्ध र क्रान्तिमा जनताले रगत बगाएका छन् । निरङ्कुश राणाशासनका विरुद्ध बलिदान गर्ने लखन थापा, कृष्णलाल अधिकारी, गङ्गालाल, दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा होऊन् वा २००७ सालको सम्झौतापछि बलिदान गर्ने चिनियाँकाजी होऊन्, झापा विद्रोहमा बलिदान गर्ने योद्धाहरू होऊन् वा तीसको दशकमा सहादत प्राप्त गर्ने आजाद, चालीसको दशकमा मारिने मित्रमणिहरू होऊन्, २०४६ सालको आन्दोलन, २०५२–२०६२ सम्म सञ्चालित जनयुद्धमा सहादत प्राप्त गर्ने योद्धाहरू होउन् वा २०६२–२०६३ को जनआन्दोलन, २०६६–२०६७ को राजधानी घेराउ र २०७० को दशक आरम्भ भएपछि एकीकृत जनक्रान्तिमा रगत बगाउने महान् योद्धाहरू, सबैको सपना नेपालमा विद्यमान शोषणप्रधान व्यवस्थाको अन्त्य र त्यसको खरानीमा नयाँ जनवादी– समाजवादी– साम्यवादी सत्ता स्थापना गर्ने नै थियो । तर एकीकृत जनक्रान्तिबाहेक यसअघिका सबै आन्दोलनका अगुवाहरूले सहिदहरूलाई धोका दिएका छन् र उनीहरूको सपनामा घात गरेका छन् । त्यो धोका र घातका विरुद्ध प्रतिबद्धता र समर्पणको दिवस पनि हो सहिद सप्ताह ।

महान् जनयुद्धमा नेकपा (माओवादी) पोलिट्ब्युरो सदस्य सुरेश वाग्ले ‘वासु’ देखि लिएर पार्टी केन्द्रीय सदस्य विशाल, कुमार, प्रताप, दिलमायालगायत विभिन्न क्षेत्र र मोर्चाका करिब १० हजारको बलिदानी भएको छ भने एकीकृत जनक्रान्ति आरम्भ भएयता मात्रै कुमार, तीर्थसहित १२ जनाले दलाल पुँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवाद प्राप्तिका लागि रगत बगाइसकेका छन् । यो सहिद सप्ताह यी सबै महान् सहिदहरूलाई सलाम गर्दै उनीहरूका अधुरा सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्ने पर्व र दिवस हो । देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको सहिद सप्ताहमा जनयुद्धकालीन स्पिरिट अभिव्यक्त भएको छ । सहिद र बेपत्ता योद्धाका परिवारहरूले पार्टी महासचिव कमरेड विप्लवलाई शुभकामना सन्देश प्रेषित गर्दै आफूहरू पनि आवश्यकताअनुसार बलिदान गर्न तयार रहेको बताएका छन् भने महासचिव विप्लवले सहिदका सपना पूरा गर्न निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जनयुद्धलाई धोका दिने र सहिद रगत बेकाम बनाउने प्रचण्डहरूलाई सहिदका सन्तान र परिवारहरूले नै थप्पड र जुत्ताको प्रहार उपहार दिइरहेको समयमा क्रान्तिका लागि योभन्दा ठूलो ऊर्जा कहाँबाट प्राप्त हुन्छ ? यसै क्रममा सहिद स्रष्टाहरुका केही जोशिला र आशावादी सिर्जनांश प्रस्तुत गर्ने अनुमति माग्छु :

ढोडेनी !
मलाई तिम्रो सम्झना आइरहेछ
किनकि अब तिमीले शोकधुन हैन
बमगोला र बारुदको धुन बजाइरहेछौ
क्रान्तिको धुन फुकिरहेका छौ

आजभोलि हाम्रा गाउ“हरूमा
बिहानीपख पूर्वमा जस्तै
लाली चढ्न थालिसकेछ
सगरमाथाले झै“ मुस्कान दिन थालिसकेछ
– सहिद शिव श्रेष्ठ

फागुन २१ गते बुधबार २०७६ सालको सहिद सप्ताह समापन हुँदैछ । साताभर देशभरि विभिन्न कार्यक्रम गरी सहिद सप्ताह मनाइएको छ । सबैभन्दा गर्व गर्ने विषय भनेको महान् जनयुद्धका सहिदहरूका परिवार र बेपत्ता योद्धाका परिवारलाई नेकपाले देशभर सम्मान, अभिनन्दन गरेको छ र सहिदका सपना पूरा गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गरेको छ । सहिद सप्ताहको औपचारिक कार्यक्रम समापन हुन लागे पनि सहिदका सपना पूरा गर्ने प्रतिबद्धता भने झन्झन् बढेको छ । नेकपाका महासचिव कमरेड विप्लवले सहिद सप्ताहकै अवसरमा सन्देश व्यक्त गर्दै भन्नुभएको छ, ‘फागुन १४ गतेदेखि २१ गतेसम्म हाम्रो पार्टीले सहिद दिवस मनाउँदै आएको छ । यसमा एकीकृत जनक्रान्तिको रगतपसिना मिसिएको छ । यी सबै सहिदहरूप्रति पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र घाइते तथा सहिद परिवारप्रति उच्च सम्मान व्यक्त गर्दछ ।’

दुःखको आगो तापेर बस्नु आ“सुको सागरमा
युद्धको खेल सम्झनू आमा म ढल्ने बेलामा
आउनेछ हुरी, पर्नेछ हिमपात आमाको जीवनमा
बदला लिन बिधुवा बुहारी पठाउनु क्रान्तिमा

ज्वालामुखी फुट्ने बेला
हुरी आ“धी चल्ने बेला
नथाकौ“ कोही, नथाकौ“ साथी
आन्दोलनले बलिदान मागेको यो बेला
देशले मुक्ति खोजेको यो बेला
– सहिद हर्षबहादुर मल्ल ‘प्रभात’

सहिद बन्न सजिलो छैन तर शासकहरूले सहिदको बलिदानलाई अत्यन्त हलुका बनाइदिएका छन् । महान् जनयुद्धदेखि विभिन्न विद्रोह र क्रान्तिमा बलिदान गर्ने योद्धाहरू आजसम्म सहिदको सूचीमा समेत पारिएका छैनन् । जनयुद्धका महान् सहिदको अवमूल्यन र भ्रष्टीकरण गर्न शासकहरूले गोरुले हानेर मारेका र गाडीको ठक्करबाट मारिएका मानिसलाई समेत १० लाख रुपैयाँ दिएर ‘सहिद’ घोषणा गरिदिए । महान् जनयुद्धलाई ‘द्वन्द्व’ भनेर अपमान गरियो । यसले युद्ध र क्रान्तिमा बलिदान गर्ने योद्धाहरू, तिनका सपना र रगतको अवमूल्यन गरेको छ । सहिदको बलिदानको सन्दर्भ जोड्दै महासचिव कमरेड विप्लवले भन्नुभएको छ, ‘ मानव जातिको मुक्तिका लागि संसारभरि स्वाभिमान मान्छेहरू बढिराखेका छन् । त्यसमा सबैभन्दा महान् र स्वाभिमान सहिदहरू नै हुन् तर शान्तिप्रक्रियामा आएपछि उनीहरूप्रति विश्वासघात भयो परन्तु हामीले इतिहासलाई उच्च राखेका छौँ । जनयुद्धका सहिदहरूको रगतमाथि एकीकृत जनक्रान्तिका महान् सपुतहरूको रगत मिसिएको छ ।’

सहिद प्रतिष्ठान नेपालबाट प्राप्त जनयुद्धका सहिदहरूको सूचीमा समग्र विवरण सुरक्षित राखिएको छ । जसमा विकास क्षेत्र, अञ्चल, जिल्ला, राज्य घोषणा गरेको, राज्य घोषणा नगरेको गरी समेत गरी कुल जम्मा संख्या ८,५२५ रहेको उल्लेख छ ।

सहिद सप्ताहका अवसरमा यो साताको समय समीक्षा सहिद स्रष्टा रोहित कोइरालाको यो चर्चित जनवादी गीतको अंश प्रस्तुत गरी अन्त्य गर्ने अनुमति माग्छु :

हजार माइलको लामो बाटो
एक पाइलाबाट सुरु हुन्छ
जित उसैको हुन्छ यहा“ जो जनतालाई माया गर्छ
हार उसैको हुन्छ यहा“ जो जनतालाई लुट्ने गर्छ
हजार माइलको लामो बाटो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :