वली सरकारले सहिदका तस्बिर र सहिदबोर्ड फ्यालेको भन्दै नेकपाले दियो चेतावनी


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाले पुतलीबजार नगरपालिकासहित भालु पहाड, सहिद स्मारक पार्कमा सहिद स्मारक चोक, भालु पाहाड लेखिएको होर्डिङ बोर्ड र सहिद तथा बेपत्ता योद्धाहरूको फोटोसहितको होर्डिङ बोर्ड सरकारले फ्यालेको भन्दै आक्रोश व्यक्त गरेको छ । जिल्ला सेक्रेटरी सागर थापाले विज्ञप्ति जारी गर्दै सरकारलाई चेतावनी पनि दिएका छन् ।

थापाले विज्ञप्तिमा भनेका छन्, ‘उत्पीडित तथा श्रमजीवी नेपालीहरूको पार्टी नेपाल कम्युनिस्ट पार्टीले लामो समयदेखि भ्रष्टाचार, राष्ट्रघातलगायत विषयमा सङ्घर्ष गर्दै आएको छ । कथित वाम सरकारका नाममा केपी–प्रचण्डको झुण्डले इतिहासका सबै काण्डहरूलाई बिर्साइदिने गरी ब्रह्मलुट मच्चाइरहेको सबैमा छर्लङ्ग छ । उनीहरु जनताको मतलाई व्यापक दुरुपयोग गर्दै आफ्नो लूटको स्वर्ग बनाउने कुचेष्टा गरिरहेका छन् । यी यावत् बेथितिविरुद्ध हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले चरणबद्ध आन्दोलन गर्दै आइरहेको छ । सम्पूर्ण जनतालाई थाहा छ– यिनको ब्रह्मलूट र बेइमानीका कर्तुतहरू बाहिर आउने डरले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइएको छ ।’

घटनाका विषयमा जानकारी गराउँदै विज्ञप्तिमा भनिएको छ, ‘यसै सिलसिलामा स्याङ्जा जिल्ला पार्टीले सहिदहरूको सम्झनामा पुतलीबजार नगरपालिकासहित भालु पहाड, सहिद स्मारक पार्कमा सहिद स्मारक चोक भालु पाहाड लेखिएको होर्डिङ बोर्ड र सहिद तथा बेपत्ता योद्धाहरूको फोटोसहितको होर्डिङ बोर्ड राखेको थियो । उक्त बोर्ड कथित सरकारका भरौटेहरूले उखेली फालेका छन् ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘देश र जनताको परिवर्तनका लागि लड्ने सहिदहरूको सम्झनाका लागि बनाइएको होर्डिङ बोर्ड फालेर सारा सहिदको अपमान गरिएकोमा नेपाल कम्युनिस्ट पार्टी स्याङ्जा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ । केपी–पीकेमण्डली दलालका विरुद्धमा देशमा आन्दोलनको ठूलो र भयावह स्थिति सिर्जना हुने देखिन्छ । यो अवस्थाको सम्पूर्ण जिम्मा केपी–पीके मण्डलीले नै लिनुपर्नेछ । सम्पूर्ण देशभक्त, राष्ट्रवादी शक्ति, बुद्धिजीवी, मानवअधिकारवादी, वामपन्थी शक्ति, व्यापारी, वकिल, पत्रकारलगायत आम नेपाली जनता सचेत रहन र अन्यायका विरुद्ध बोल्न र लेख्न अपिल गर्दछौँ ।’ विज्ञप्तिको पूर्णपाठ…..

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :