महान् जनयुद्ध र झापा विद्रोहको सङ्गम सहिद सप्ताह

महान् जनयुद्ध र झापा विद्रोह सर्वहारा वर्गको मुक्तिका लागि इतिहासको पानामा दर्ता भैसकेका सचेतन पहलकदमी हुन् । झापा विद्रोहले महान् जनयुद्ध जन्मायो वा महान् जनयुद्धले झापा विद्रोहको उत्थान गर्यो ? यसरी पनि बहस अगाडि आउन सक्छ तर जनयुद्धको महायात्राले महाउत्थानलाई जन्म दियो र महापतनलाई पनि उजागर भने अवश्य गर्न पुग्यो । यसैको परिणामस्वरूप झापामा अलपत्र पारिएको बलिदानलाई महान् जनयुद्धमा जन्मिएको बलिदानले टुटेको कडी जोडेर अघि बढ्न सफल भयो । त्यसैको नाम हो सहिद सप्ताह अर्थात् फागुन चौधदेखि एक्काईस ।

इतिहासले पनि विरलै भेटिने दिनहरूको रचना गर्ने सामथ्र्य राख्छ । यो नै सङ्घर्षमय र बलिदानीपूर्ण इतिहासको सुन्दरता हो । सर्वहारा वर्गका जितहरू फगत कहाँ पो हात लाग्दारहेछन् र ! २०२९ सालमा जेल सार्ने निहुँमा झापाको सुखानी खोलामा फागुन २१ गते बिरेन राजवंशी, कृष्ण कुइँकेल, नेत्र घिमिरे, रामनाथ दाहाल र नारायण श्रेष्ठलाई तत्कालीन जल्लादहरूले गोलीको सिकार बनाई दपेट्दै गर्दा एउटी घाँसे महिलाले देखेर चिहानमाथि बिरुवा नरोपिदिएको भए गुमनामको सूची मात्र हात लाग्थ्यो होला किनभने नेपाली शासक–प्रशासकहरूलाई उज्यालो यात्रा मन पर्दैनथ्यो, पर्दैन र पर्नेछैन पनि । तर नेपाल आमाका सच्चा सन्तानलाई भने अँध्यारो यात्रा मन पर्दैनथ्यो, पर्दैन र पर्नेछैन पनि । सुखानीकाण्डका राता पाँच ताराले जनक्रान्तिको यात्रा फराकिलो र चम्किलो पारे भने झापा विद्रोहका नायक–खलनायकहरू संशोधनवादी, संसद्वादी आहालमा भासिन पुगे । आज ती नामधारी कम्युनिस्टहरूको एक हूलले सामाजिक दलाल पुँजीवादको फेर समातेर सामाजिक फासिवादको अभ्यास गरिरहेको छ ।

२०५२ साल फागुन एक गतेको पहलकदमी नेपाली कम्युनिस्ट आन्दोलनको दूरगामी महत्वको एक ऐतिहासिक कोसेढुङ्गा थियो । महान् जनयुद्धको थालनी आफैँमा महान् कदम हो । यस कदमले देशी–विदेशी प्रतिक्रियावादीहरूको चैनको स्वर्गमा धावा बोलेकै हो । राजतन्त्रात्मक संसद्वादी राज्यसत्तालाई ध्वंश गरी नयाँ जनवादी राज्यसत्ता स्थापनार्थ महान् जनयुद्धको दिशामा अघि बढौँ ! भन्ने मूल उद्घोषका साथ चौतर्फी आक्रमण सामान्य कदम थिएन । यसैबाट विक्षिप्त भएर जनयुद्ध दबाउने नाममा तत्कालीन काङ्ग्रेसी कित्ताको दमनचक्रको निशानीमा पर्न पुगे गोर्खाका १४ वर्षीय दिलबहादुर रम्तेल । समाज विज्ञानको इतिहासमा संयोग पनि कस्तो जन्मँदोरहेछ, उत्पीडित समुदायकै तर्फबाट फेरि पनि बलिदान हुनुपर्ने ?! स्मरण रहोस्, झापा विद्रोहमा पनि उत्पीडित वर्ग, राष्ट्रकै तर्फबाट बलिदान हुन पुगेको थियो । पीडक वर्गसत्ताको निशानी फेरि पनि उत्पीडित वर्ग, राष्ट्र र समुदाय । वास्तविक अर्थमा माक्र्सवाद कति यथार्थमा आधारित समाज विज्ञान रहेछ भन्ने कुराको यो एउटा उदाहरण हो । आखिर राज्यसत्ता भनेको बन्दुकको नालमै टिकेको हुँदोरहेछ । महान् माओको संश्लेषण पनि फगत कहाँ रहेछ र ! दिलबहादुर रम्तेलको रगत पिएर जङ्गली राज फागुन १५ गते रुकुम मेलगैरीका ६ जना खत्री बन्धुको हत्या गर्न पुग्यो । नरभक्षी राज्यसत्ता बातले मान्दैनथ्यो । दमनको जबाफस्वरूप प्रतिरोधका शृङ्खला झन्झन् आकासिँदै गए । दमनपछिको प्रतिरोधको झापडले रन्थनिएको राज्यसत्ताले सकेन बचाउन राजतन्त्रलाई समेत । अन्ततः २०५८ सालमा राजा वीरेन्द्रको वंश नै विनाश भयो । यस काण्डको सत्य निरूपणसहितको नालीबेली उचित समयमा सार्वजनिक होला नै । राजतन्त्रको दुर्दान्त अवशानपछि ज्ञानेन्द्र शाहीले स्वघोषित राजा हुनलाई श्रीपेच पहिरिए । नेपाली जनताको मनले भने उनलाई राजा मान्न सकेन किनभने त्यो त इतिहासको एक प्रकारको मजाक मात्र थियो । बरु लोकतान्त्रिक गणतन्त्रको पुँजीवादी नारामा लपेटियो नेपाल । संविधानसभाको पहिलो बैठकले राजतन्त्रलाई विधिवत् बिदा गर्यो । नेपाली जनताले प्रत्यक्ष मतद्वारा राष्ट्रपति चुन्न नपाए पनि दलहरूको करामतमा राष्ट्रपति चुनिने परम्पराको थालनी भयो । परन्तु राष्ट्रपतिका नाममा धेरै छोटे राजाहरूको पो जन्म हुन पुग्यो । यस्तो किन भयो त ? सर्वसाधारण नेपाली जनलाई शकुनी खेल थाहा भएन । राजतन्त्रको अवशानपछि जनतन्त्र उदाउनु पथ्र्याे । विडम्बना ! दलालतन्त्र र सामाजिक दलालतन्त्र पो देखापर्यो जसको नाम सङ्घीय लोकतान्त्रिक गणतन्त्र (संसदीय लुटतान्त्रिक बन्दुकतन्त्र) राखियो । प्रचण्डको ‘फ्युजन’ को सिद्धान्तकै परिणति हो यो । माक्र्सवादको आत्मा वर्गसङ्घर्ष, क्रान्ति मारेर संसद्वादी सुधारवादमा सामन्तवादी पुँजीवाद, नोकरशाही पुँजीवाद, साम्राज्यवाद र उत्तरसाम्राज्यवादको ‘फ्युजन’ गर्दा सामाजिक दलाल पुँजीवादको घोल बन्न पुग्दोरहेछ । यस्तो घोल पिएर बर्बराउने रोग लागेकाहरूको लाक्षणिकता यस्तो हुँदोरहेछ । सनकमा गाली ज्ञानेन्द्र शाहीलाई गर्ने ताली भने आईएनजीओको खाने । कहिले गाली दलालको नाइके काङ्ग्रेसलाई गर्ने ‘बाली’ भने मोदीजीको बन्ने । कहिले गाली ट्रम्पलाई गर्ने ‘लाली’ भने हान्जामुनको लगाउने । व्यर्थै गाली केपीलाई गर्ने ‘माली’ भने एमसीसीको बन्नलाई ताहुरमाहुर गर्ने । सबभन्दा तनाव नेपालमा आफूबाहेकबाट जनक्रान्ति भैहाल्छ कि भन्नेमा हुने, तलुवा भने विश्व–एकाधिकार पुँजीवादको चाट्ने ! कुरा भने समाजवादी क्रान्ति, शान्ति र समृद्धिको गर्ने । मालिकहरूले हकारिदिँदा कम्युनिस्ट क्रान्तिका विरुद्ध सामाजिक फासिवाद ओकल्ने । बडो उदेकलाग्दो चटके गिरोह देखा पर्यो नेपाली राजनीतिमा ।

थकानवादी रुझानमा चटके गिरोहको जादुले खुबै काम गरेको देखिन्छ । अहोरात्र जागै क्रान्तिकारीलाई भने त्यसले खासै असर पार्दैन । बरु हुटिट्याउँको कथाजस्तै लाग्छ बिचरा प्रचण्डको प्रहसन । यदाकदा १८ औँ ब्रुमेरजस्तै लाग्छ । यो कोणबाट हेर्दा सहिद सप्ताहलगायतका बलिदान धरापमा परेको देखिन्छ । धरापमा मात्र होइन, सहिदहरूको सौदाबाजी नै गरिएको छ ।

परन्तु जनयुद्धको विकसित र वैज्ञानिक अभिव्यक्ति एकीकृत जनक्रान्तिले आफ्नो मार्गप्रसस्त गरिरहेकाले सहिद सप्ताहलगायत देश र जनताका लागि भएको बलिदान अब खेर जानेछैन, बरु बलिदानको मूल्य झन्झन् चम्किँदै गएको छ र जानेछ । सहिद सप्ताह सच्चा कम्युनिस्ट संस्कृतिमा विकास हुने कुरामा दुईमत छैन । यो हाम्रो गौरव हो । महान् सहिदहरूको सपनामा जतिसुकै तुँवालो लगाउन खोजे पनि बलिदानीपूर्ण क्रान्तिशिखाले सोहोरेर उज्यालो पस्कन सक्ने सामथ्र्य राख्छ किनभने हरेक सच्चा बलिदान, वैज्ञानिक विचारका उत्कृष्ट तत्व बन्न पुग्छन । माओका अनुसार बलिदान क्रान्तिको ऊर्जा हो ।

आज एकीकृत जनक्रान्तिको निशानी जनघाती, राष्ट्रघाती, हत्यारा, लुटेरा, तस्कर, भ्रष्टाचारी, फासिवादी कुतत्वहरू नै पर्नुले पुष्टि गर्दछ महान् सहिदको लगानीको यात्रा झन्पछि झन् फराकिलो र सानदार भैराखेको छ । उहाँहरूको सपना भनेकै नेपालमा वैज्ञानिक समाजवाद स्थापना गरी विश्वक्रान्तिको मार्गप्रशस्त गर्नु हो । कम्युनिस्ट घोषणापत्रमा एङ्गेल्सले उल्लेख गरेअनुसार सर्वहारा वर्गको मुक्तिका सर्तहरूको सिद्धान्त नै साम्यवाद हो । ठीक त्यही स्वर्णिम बिहानी चुम्ने सपनाको जीवनज्योति नै महान् सहिद हो र सहिद सप्ताहको गरिमा यसैसँग अन्तरनिहित छ ।
२०५२ फागुन १४ ले २०२९ फागुन २१ को सुखानीका पाँच तारालाई सर्कायो । यसरी भयो बलिदानको सङ्गम । यस बलिदानी यात्राको कडी एकीकृत जनक्रान्तिमा जोडिएको छ । एकीकृत जनक्रान्तिका महान् सहिद क. धनरूप बटाला, क. सनराइज, क. कुमार पौडेल, क. सुप्रिम, क. महान्, क. तीर्थ घिमिरे, क। निरन्तर, क. प्रज्ज्वल, क. दीपेन्द्र, क. रामसिंह, क. रामकुमार श्रेष्ठको सचेत र साहसिक बलिदानले वैज्ञानिक समाजवादको सम्झौताहीन जनक्रान्तिको रातो ध्वजालाई अझ उचाइमा पुर्याइदिएको छ । बलिदानको यही निरन्तरतामा हामी बाँचेकाहरूले सहिद सप्ताहको सङ्गममा उभिएर यो प्रतिबद्धता व्यक्त गर्दछौँ– जीवन ढलोस् तर मृत्यु कहिल्यै नबाँचोस् । वैज्ञानिक समाजवाद– साम्यवाद प्राप्तिको अभीष्ट बोकेको एकीकृत जनक्रान्तिको विजय सुनिश्चित छ भन्ने कुरा नै सहिद सप्ताहको यक्ष ठम्याइ हो । आँसु, रगत र पसिनाको अनमोल परिणाम कति महान् हुन्छ भन्ने कुरा सुन्दर भविष्यको लालिमाले देखाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :