सहिद कमरेड निरकुमार राई ‘प्रशान्त’ : एक शब्दचित्र


२५ असार २०७६ को दिन सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमहरूमा भोजपुर जिल्लाको सदरमुकाममा प्रहरी र विप्लवका कार्यकर्ताबीच भिडन्तका क्रममा प्रहरीतर्फ प्रहरी जवान सञ्जीव राईको मृत्यु, प्रहरी जवान सोमनाथ भटराई घाइते भएको र विप्लव कार्यकर्तातर्फ ओखलढुङ्गा इन्चार्ज निरकुमार राईको मृत्यु एवम् एक कार्यकर्ता प्रहरीको नियन्त्रणमा रहेको कुरा व्यापक हल्ला चलाइयो । एकजना कमरेडले फेसबुकमा पोस्ट गरेको एउटा फोटो देखाउँदै भन्नुभयो– कमरेड निरकुमार राई उहाँ नै हो सर । एकछिन हेरेँ । दुवै हात पछिल्तिर फर्काएर बाँधिएको अवस्था, कञ्चटमा हानिएको गोलीका कारण रगतको आहालमा घोप्टो परेर ढलेको शरीर । कस्तो भयावह र दर्दनाक हत्याकाण्ड ! एकछिन आफूलाई समाल्न गाह्रो भयो । फेरि एकचोटि गहिरो गरी फोटो हेरेँ । अब भने विश्वास गर्नैपर्ने भयो । आँखाभरि बलिन्द्रधारा आँसुसँगै एक्लै मौणधारण गरेँ । पार्टी केन्द्रीय समितिद्वारा सञ्चालन गरिएको ३ महिने सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ अन्तर्गत उदयपुर जिल्लामा उहाँसँग बिताएका दिनहरूको गहिरो स्मरण भयो । अति मिलनसार, हँसिलो, होनहार, भर्भराउँदो क्रान्तिकारी युवा, जनयुद्धमा बटालियन कमान्डरसम्मको भूमिकामा दुई दर्जनभन्दा बढी युद्धमोर्चाका अनुभवहरू सँगालेको, कुशल कमान्डर, जनतासँग एकाकार हुनसक्ने बहु प्रतिभाशाली कमरेड निरकुमार राई ‘ प्रशान्त’ एकीकृत जनक्रान्तिको एउटा कहिल्यै ननिभ्ने तारा बन्नुभएको छ । उहाँ नेपाल कम्युनिस्ट पार्टीका सगरमाथा ब्युरो सदस्य तथा ओखलढुङ्गा जिल्ला समितिको सचिव हुनुहुन्थ्यो । त्यस समयमा पारिवारिक भेटघाटका क्रममा भोजपुर सदरमुकाममा जानुभएको थियो (जहाँ उहाँका श्रीमती र छोरा कोठा भाडामा लिएर बस्नुभएको थियो । एउटा होटेलमा चिया खाइरहेको अवस्थामा कथित दोहोरो मुठभेडका नाममा उहाँमाथि सामाजिक दलाल सत्ताका केही पहरेदार प्रहरीहरूद्वारा गरिएको दुव्र्यवहार र प्रतिरोधका दौरानमा जुन घटनाक्रम सतहमा देखाप¥यो त्यसले वर्तमान सरकारको सामाजिक फासिवादी हर्कतलाई स्पष्ट गर्दछ । देशव्यापी नक्कली मुठभेडको बहानामा भइरहेका हत्याकाण्डका शृङ्खलाको निरन्तरतामा गराइएको यो पछिल्लो भोजपुर घटना निकै क्रूर, अमानवीय, घोर भत्र्सनापूर्ण र निन्दनीय छ ।

वास्तवमा जीवन र मृत्यु प्रकृति विज्ञानको एउटा अनिवार्य नियम हो । जुन वस्तुको जन्म हुन्छ, त्यसको मृत्यु अनिवार्य छ । यसलाई हेर्ने र बुझ्ने मानवीय स्वभाव विश्वदृष्टिकोणमा निर्भर रहन्छ । सर्वहारावर्गीय विश्वदृष्टिकोणका अनुसार कुनै पनि वस्तुको जन्मपछि मृत्यु अनिवार्य हुन्छ भने पँुजीवादी दृष्टिकोणअनुसार पूर्वजन्मको फलका आधारमा जन्म र मृत्यु हुने कुरा अथ्र्याइन्छ । सर्वहारावर्गीय विश्वदृष्टिकोणले पुँजीवादी राज्यसत्ताको दासताको बन्धनबाट मुक्ति पाउन क्रान्तिमा सहभागी हुनुपर्छ जहाँ मृत्यु, जेल, देश निकाला एउटा अनिवार्य परिणति हुने कुरालाई स्वीकार गर्दछ भने पुँजीवादी विश्वदृष्टिकोणले जिन्दगी भगवान्ले बनाएको एउटा फूल भएकाले जसरी हुन्छ कमाउनुपर्छ र मोजमस्ती गर्नुपर्छ भन्ने मान्यता अगाडि सार्छ । यसप्रकारको परस्पर विरोधी विश्वदृष्टिकोणका बीचमा मानव समाजमा आदिकालदेखि सङ्घर्ष चल्दै आइरहेको छ । हो, कमरेड ंप्रशान्त सर्वहारावर्गीय विश्वदृष्टिकोणका पक्षपाती एवम् प्रतिबद्ध र समर्पित एउटा क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो जसले राष्ट्र र जनताका लागि सञ्चालित एकीकृत जनक्रान्तिमा आफूलाई होम्नुभयो र पार्टी एवम् क्रान्तिमा आबद्ध नेता–कार्यकर्तालाई मार्गदर्शन गर्ने एउटा महान् सपूतका रूपमा आफूलाई उभ्याउन सफल हुनुभयो ।

२०३८ साल फागुनमा बुबा रेखबहादुर राई र आमा गङ्गामाया राईको सन्तानका रूपमा भोजपुर जिल्लाको साबिक गोया गाविस वडा नं. ८ र हाल षडानन्द नगरपालिका वार्ड नं. १३ गोयामा जन्मनुभएका कमरेड प्रशान्त २०५८ देखि पूर्णकालीन रूपमा तत्कालीन नेकपा (माओवादी) मा आबद्ध हुनुभएको थियो । सोही वर्षदेखि जनमुक्ति सेनाको नियमित शक्तिमा सहभागी हुनुभएका कमरेड प्रशान्तले दुई दर्जनभन्दा बढी ठूल्ठूला ऐतिहासिक युद्धमोर्चामा सफलतापूर्वक भूमिका निर्वाह गर्नुभएको थियो । जनयुद्धका तत्कालीन मुख्य नेतृत्वहरूमा देखापरेको विचलन र धोकाको पृष्ठभूमिमा सञ्चालन गरिएको राजनीतिक तथा विचारधारात्मक सङ्घर्षमा उहाँले क्रान्तिकारी नेतृत्व र विचारका पक्षमा आफूलाई उभ्याउनुभयो । निरन्तर क्रान्तिका पक्षधर सहिद प्रशान्त बहुप्रतिभाशाली नेता तथा कुशल कमान्डर हुनुहुन्थ्यो । उहाँबाट एकीकृत जनक्रान्तिमा लामबद्ध नेता–कार्यकर्ताहरूले सिक्नु आवश्यक छ–

१) कुशल सङ्गठक र असल नेता

वास्तवमा कमरेड प्रशान्तसँग मेरो त्यति लामो सहकार्य नभए पनि गएको सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान २ का क्रममा उहाँसँग करिब ३ महिना सँगै रहेर काम गर्ने अवसर प्राप्त भयो । अभियानका क्रममा प्रचारप्रसार, राजनीतिक, वैचारिक, जनश्रम, ध्रुवीकरणका अतिरिक्त करिब ३५० वटा पार्टी तथा जनसङ्गठनहरू निर्माण गरिए जुन काममा उहाँको निर्णायक भूमिका रहेको थियो । जनश्रमद्वारा जनतासँग एकाकार हुने, पार्टीको विचार, योजना र कार्यदिशाको स्पष्ट व्याख्या गर्ने, जनताका समस्याहरूलाई सूत्रबद्ध गर्ने र जनतालाई प्रभावमा राख्न सक्ने क्षमताका कारण अभियानका लक्ष्यहरू हासिल गर्न सम्भव भएको थियो । कुशल सङ्गठक र असल नेताको मुख्य विशेषता समाजका अन्तरविरोधहरूको सही पहिचान र परिचालनसहित त्यसको वस्तुनिष्ठ ढङ्गले समाधान गर्न सक्नु हो । उपरोक्त मामिलालाई प्रयोग गर्न सकिएन भने राजनीतिक पार्टीहरू आफ्नो उद्देश्यमा पुग्न सक्दैनन् । सहिद कमरेड प्रशान्तले समाजका अन्तरविरोधहरूको सही पहिचान र परिचालनसहित त्यसको वस्तुनिष्ठ ढङ्गले समाधान गर्नसक्ने क्षमता राख्नुहुन्थ्यो । उहाँबाट सिक्नुपर्ने पहिलो गुण कुशल सङ्गठक र असल नेतामा हुनुपर्ने गुण हो ।

२) हरेक प्रतिकूलतालाई अनुकूलतामा बदल्नु

एउटा क्रान्तिकारी पार्टीका हरेक नेता–कार्यकर्ताहरूले प्रतिकूलताभित्र अनुकूलता, चुनौतीभित्र अवसर, हारभित्र जित तथा नकारात्मकभित्र सकारात्मक पक्ष विद्यमान रहेको हुन्छ भन्ने द्वन्द्वात्मक भौतिकवादी नियमलाई गहिरो गरी आत्मसात गर्नुपर्छ । यो मामिलालाई सहिद कमरेड प्रशान्तले गहिरो गरी बुझ्ने र व्यवहारतः प्रयोग गर्नुहुन्थ्यो । अभियानका क्रममा थुप्रै प्रतिकूलताहरू, बाधाअड्चनहरू तथा समस्याहरू आइपुगे । सामाजिक दलाल सत्ताका स्थानीय पहरेदारहरूद्वारा हाम्रो अभियानका विरुद्ध विभिन्न षड्यन्त्र र अवरोधहरू उत्पन्न गरिए । त्यसप्रकारको वस्तुगत परिस्थितिको पृष्ठभूमिमा पनि कमरेड प्रशान्तमा प्रतिकूल परिस्थितिको दृढतापूर्वक सामना गर्ने र अगाडि बढ्ने क्षमताका कारण अंशगत क्षति हुँदाहुँदै हाम्रो अभियान सफलतापूर्वक सम्पन्न भएको थियो । वस्तुगत परिस्थिति अर्थात् वर्गसङ्घर्षको समस्या होस् वा आन्तरिक सङ्गठनात्मक जीवनको मामिला वा त्यहाँ उपस्थित प्रतिकूलता होस् । हरेक समस्या र प्रतिकूलताहरूलाई अनुकूलतामा बदल्ने कमरेड प्रशान्तको चारित्रिक विशेषता थियो जो क्रान्तिकारी पार्टीका लागि अनिवार्य सर्त हुने गर्दछ । कमरेड प्रशान्तबाट सिक्नुपर्ने यो दोस्रो गुण हो ।

३) अनेक कठिनाइहरूमा खेल्ने आँट र हिम्मत गर्नु

कम्युनिस्ट पार्टीका सम्पूर्ण नेता–कार्यकर्ताहरूले वर्गसङ्घर्षले पैदा गरेका सबैखाले आन्तरिक र बाह्य चुनौतीहरूसँग खेल्ने हिम्मत गर्नै पर्दछ । अन्यथा क्रान्तिकारीहरूले वर्गसङ्घर्षमा आफ्ना विरोधी शक्तिमाथि श्रेष्ठता हासिल गर्न सम्भव हुँदैन । कमरेड प्रशान्त त्यस्तै एउटा हिम्मत र आँट भएको नेता तथा कमान्डर हो जसले हरेक कठिनाइहरूमा साहसपूर्वक अगाडि बढ्ने हिम्मत गर्नुहुन्थ्यो । सिद्धान्तमा क्रान्तिकारी व्यवहारमा अवसरवादी चरित्रको पर्दाफास गर्दै सिद्धान्त र व्यवहारको उचित तालमेलद्वारा क्रान्तिको समुचित विकासका लागि आफूलाई समर्पित गर्ने, अप्ठ्यारो कामका लागि आफूलाई अग्रस्थानमा राख्ने तथा सिङ्गो पार्टी, नेतृत्व र क्रान्तिको रक्षाका लागि जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने कमरेड प्रशान्तबाट सिक्नैपर्ने गुण हो ।

४) नेतृत्व र कार्यकर्ताबीचको सम्बन्धलाई सजीव बनाउनु

सहिद प्रशान्तको चौथो गुण भनेको नेतृत्व र कार्यकर्ताबीचको सम्बन्धलाई सजीव र जीवन्त बनाइराख्नु हो । एउटा कम्युनिस्ट कार्यकर्ता त्यतिखेरसम्म जीवित रहन्छ जतिखेरसम्म त्यसको वैज्ञानिक विचार, राजनीति र कार्यदिशाका अतिरिक्त सङ्गठनात्मक रूपले आफ्नो नेतृत्व र कार्यकर्तासँगको सम्बन्ध जीवन्त र सजीव रहन्छ । अर्को भाषामा नेता–कार्यकर्ता र जनताबीचको सजीव सम्बन्धद्वारा नै एउटा शक्तिशाली, सुदृढ र एकताबद्ध पार्टी निर्माण सम्भव हुन्छ । क्रान्तिको विजय र पराजयमा मुख्यतः पार्टीको विचार, राजनीति र कार्यदिशाले निर्धारण गर्दछ तर त्यसलाई प्रयोगको तहमा पु¥याउन लाल र निपुर्णताको गुणले भरिपूर्ण हजारौँ नेता– कार्यकर्ताको आवश्यकता पर्दछ जो इतिहासको अनुभव र पार्टीको विचार, राजनीति र कार्यदिशाले प्रशिक्षित भएका होऊन् । त्यसका लागि सबै तहका पार्टी समितिहरूमा नियमित बैठक, प्रशिक्षण, अन्तरक्रिया, गोष्ठी तथा भेला–सम्मेलन गरिनु पर्दछ जसबाट सबै स्तरका नेता–कार्यकर्ताहरूका बीचमा सजीव सम्बन्ध कायम गर्न सकियोस् । कमरेड प्रशान्त उल्लिखित विधिहरूको प्रयोगको अतिरिक्त नेतृत्वलाई आदर गर्ने र कार्यकर्तालाई माया गर्नुहुन्थ्यो । उहाँको यो विशेषताले पार्टी आन्दोलनमा यदाकदा देखापर्ने गैरमाक्र्सवादी प्रवृत्तिमाथि फर्कंदा अराजक र तल फर्कंदा नोकरशाही बन्ने प्रवृत्तिलाई रोक्ने र नेता–कार्यकर्ताबीचको सम्बन्धलाई सजीव बनाउन हरेक क्रान्तिकारीहरूका लागि निरन्तर प्रेरणा बनिरहनेछ । कमरेड प्रशान्तका यी केही मूलभूत गुणहरू हुन् । यसका अलावा युद्धकौशल, साहित्यिक तथा सांस्कृतिक चेतना, कम्युनिस्ट नैतिकता तथा राजनीतिक, आर्थिक एवम् सङ्गठनात्मक अनुशासनका धनी कमरेड निरकुमार राई ‘प्रशान्त’ सँग रहेका केही महत्वपूर्ण विशेषता र गुणहरू हुन् ।

राजनीतिक विज्ञान समाज विज्ञान पनि हो । यसले समाज रूपान्तरणका लागि निर्णायक भूमिका निर्वाह गर्छ । मानवसमाजको उत्पत्तिदेखि हालसम्म विश्वव्यापी रूपमा जेजति खोज, अनुसन्धान र विकास भएका छन् त्यसका पछाडि राजनीतिक विज्ञानकै भूमिका मुख्य रहेको छ । राजनीतिक विज्ञानको सही प्रयोग र सफलताका लागि समाजको उत्पादन सम्बन्ध र वर्गचरित्रका आधारमा त्यहाँ उपस्थित अन्तरविरोधको समाधानका लागि वैज्ञानिक विचार, राजनीति र कार्यदिशाको मार्गनिर्देशनमा निर्मित जनउत्तरदायी साधन र विधिको निर्माण अनिवार्य सर्त हो जसको नेतृत्वमा हजारौँ र लाखौँ कार्यकर्ता र जनसमुदाय पुरानो राज्यसत्ताका विरुद्ध सङ्गठित रूपमा विद्रोहमा संलग्न हुन्छन् र पुरानो राज्यसत्ताको तख्ता पल्टाउन सफल हुन्छन् । पुरानो राज्यसत्ताका विरुद्ध सङ्गठित गरिने विद्रोह वा सङ्घर्षको प्रक्रियामा ठूल्ठूला बलिदान र क्षतिहरू पनि अनिवार्य रूपमा बेहोर्नु पर्दछ । आज हाम्रो पार्टीले एकीकृत जनक्रान्तिमार्फत नेपालको दलाल संसदीय राजनीतिक व्यवस्था फालेर वैज्ञानिक समाजवादी राजनीतिक व्यवस्थाको स्थापना गर्ने अभियानको नेतृत्व गरिरहेको छ । क्रान्तिको यो प्रक्रियामा हाम्रो पार्टीले थुप्रै बलिदान र क्षतिहरू बेहोर्दै अघि बढिरहेको छ । यसै सिलसिलामा हामीले पछिल्लोपटक कुशल कमान्डर तथा जननेता कमरेड प्रशान्तलाई गुमाएका छाैँ । योद्धाहरूको बलिदानलेले क्रान्तिलाई कमजोर होइन, अझ शक्तिशाली बनाउँदै विजयको सुनिश्चितता गर्दछ । कमरेड प्रशान्तलगायत सहिदहरूको रगतले संसदीय व्यवस्थाको अन्त्य गर्दै वैज्ञानिक समाजवादको दिग्विजयलाई सुनिश्चित गर्नेछ । सहिद कमरेड निरकुमार राई अमर रहून् । एकीकृत जनक्रान्ति जिन्दावाद ! वैज्ञानिक समाजवाद जिन्दावाद !!

२०७६ भदौ ६ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :