चिसोचिसो समीरका नानीहरूसँगै
पहाड फोरी मैदान बनाएका
राता, उत्सावद्र्धक कोसेली बोकेर
मेरी जलजला बहिनी
माइती घरको दैलो टेक्न आइपुगिन्
एक बिहान मसँग ।
खोरियाहरू फोरी खेत बनाइरहेका
काँडाघारीहरू फोडी पथ बनाइरहेका
निहत्था प्राणीहरूको हत्यासँग भोक मेटाइरहेका
भुसतिघ्रे चितुवा र भालुहरू
झुसिलो डकारसँगै
भोको बिरालोले मुसा खेलाएझैँ खेलाएर
सुतेरै अवसानका घण्टी बजाएका
जोशवद्र्धक खुसीका राता कोसेली बोकेर
मेरी सिस्ने दिदीसँग
जोडी बन्दै
माइतीघरको दैलो टेक्न आइपुगिन् ।
एक बिहान मसँग
सपना–विपनाको दोसाँधमा
काँडाहरूलाई झुक्याएर
इतिहासलाई बाटो देखाउन आएका फूलहरू
काँडाहरूलाई झुक्याएर
इतिहासलाई बाटो देखाउन आएका फूलहरू
काँडाहरूलाई प्रलयको धमाका दिएर
कालिमाको साम्राज्यभित्र ज्योतिपुञ्ज लिएर
निस्किइन्
र बन्धनका सिक्रीहरू चुँडालेर आजाद भै बाँच्न
संसार बनाउन निस्किइन्
र आस्थाका अनुपम फूलहरू
हतारहतार उमङ्गका गाथाहरू सुनाउँदै
त्यो गोरखाली कान्छा
एक बिहान मसँग
तीन तारा तीफदि आदर्श क्रान्तिसँगै
सगरमाथाको आदर्शसँगै
मातृभूमिको आँसु बोकेर
स्वाभिमानका तपस्वी फूलहरू
जोडाथाङका सारणीहरू भेट्ने
अभिलाशामा
खोकु–छिन्ताङसँगै बेथानलाई साथ लिएर
पहाड भत्काउने र खेत बनाउने
चट्टान फोरेर बाटो बनाउने
जोसिला प्रयत्नका कदम चालिरहेका खबर
इतिहास निर्माणको नवीन चालसँगै
सगरमाथा चढ्ने अठोट
सङ्कल्पहरू मौलाएका खबर
पारिवारिक हाल सोध्नै नपाई
जोशका ओजिला भाकासँगै
सुनाइहालिन् मेरी ललिमा बहिनीले
एक बिहान मसँग ।
(स्रष्टा रक्तिमको दोरम्बा हत्याकाण्डमा बलिदान भएको हो ।)
२०७६ भदौ ६ गते शुक्रबार प्रकाशित