रक्तपिपासु सत्ताविरुद्ध विस्फोटक काव्य–सिर्जना

समय–समीक्षा


सत्ता अब खुलेरै जनताको, सचेत नागरिकको र विद्रोहीको रगत मनपराउने बन्दै गएको छ । रगत पिएर मैमत्त हुँदै रमाउने प्रवृत्ति रक्तपिपासु प्रवृत्ति हो । यो दलाल पुँजीवादी सत्ताका रक्षक सरकारका मुखौटाहरू दैनिक जनता र विद्रोहीहरूको रगत नपिई र तिनको रगतमा पौडी नखेली शान्त नहुने गतिविधि गरिरहेका छन् । यस्तै रक्तपिपासु शासकहरूका कारण समाज जबर्जस्ती मुठभेडमा गएको छ । गत जेठ ७ गते भोजपुरमा तीर्थ घिमिरे ‘राजु’ को हत्या गरेपछि रक्तउन्मादले रक्तपिपासु बन्दै गएको सत्ता झन्झन् क्रूर बन्दै गएको छ । असार ५ गते अर्थात् कमरेड राजुको हत्याको झन्डै एक महिनापछि सर्लाहीका नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेललाई गिरफ्तार गरी दुवै हात भाँचेर टाउकामा गोली हानी हत्या गर्यो । यस्तो गैरन्यायिक हत्या शाहीकालमा समेत विरलै हुने गरेको थियो । यसले देखाउँछ केपी वली सरकार एकीकृत जनक्रान्तिको उदाउँदो सूर्यको राप र प्रतापबाट अत्तालिएको छ र वली सरकारका बुख्याँचा गृहमन्त्री रामबहादुर थापा भटाभट विद्रोहीहरूलाई मारेर आफ्नो रामराज्य टिकाउन सकिन्छ भन्ने ठूलो भ्रममा देखिन्छन् । कालीकोटमा बलिदान गर्ने धनरूप बटालादेखि कैलालीमा बेलिदान गर्ने सनराइज हुँदै काठमाडौँ विस्फोटमा बलिदन गर्ने महान, दीपेन्द्र, प्रज्वल शाही, निरन्तर, रामकुमार र कुमार पौडेलसम्म आइपुग्दा एकीकृत जनक्रान्तिमा बलिदान हुने योद्धाहरूको सङ्ख्या नौ पुगेको छ ।

वली सरकार सहिदको खेती गरेर मुलुकमा मुठभेड बढाउने र युद्ध लादेर सङ्कटकाल घोषणा गरी आफ्नो सकिनै लागेको आयु बढाउने योजनामा देखिन्छ । यसै साता प्रकाशित भएको छ सुकेधारा विस्फोटमा बलिदान गर्ने रामकुमार श्रेष्ठले आफू हारेर होइन, जितेरै आउने, बरु सहिद बनेर फर्किने भन्दै गरेको घोषणा । आफ्नो शवमा कम्युनिस्ट पार्टीको रक्तरञ्जित झन्डा ओढाइदिनू भन्ने भावको मार्मिक सन्देशसहित उनले दिदी सुनिता श्रेष्ठलाई दिएको जबाफ पनि त्यहीँ प्रकाशित भएको छ । यसै साता एउटा अन्तर्वार्ताको अंशका रूपमा प्रकाशित भएको छ नेकपाका महासचिवसमेत रहेका स्रष्टा विप्लवको कविताको एउटा मार्मिक अंश :

मेरो रगत बग्यो भने
यही पवित्र माटोमा मिलोस्
शरीर ढल्यो भने
प्रिय सहिद—सपूतहरूसँगै सुतोस् !
नलागोस् खोट, आदर्श बाँचिरहोस्
खपेर सारा चोट सपना चम्किरहोस् !

एकातिर सत्ताधारीहरू कसरी दलाल संसदीय सत्ता जोगाउने भन्ने ध्याउन्नमा छन् र धमाधम निहत्था विद्रोहीहरू खोजीखोजी नियन्त्रणमा लिएर गोली हान्दै सिध्याउने र आफ्नो रक्तपिपासु सत्ता जोगाउने मृगमरिचिका र दुःस्वप्न देखिरहेका छन्, अर्कातिर यो सत्ताको अन्त्य र वैज्ञानिक समाजवाद स्थापनाका लागि वर्गयुद्धमा लामबद्ध भएर रगत बगाउन तम्सिएका युवाहरूको ताँती थेगिनसक्नु गरी जुर्मुराएको छ । यसै मेसोमा स्रष्टा एवम् नेता विप्लवले आफ्नोबलिदान यही माटोमा होओस् भन्ने इच्छासहितको क्रान्तिकारी आवेगयुक्त वैचारिक सिर्जना पस्किएर सहिद बन्न लामबद्ध योद्धाहरूको मनमनमा स्थान बनाएका छन् । क्रान्ति हाँक्ने नेतृत्व र क्रान्तिमा आबद्ध योद्धाको बुझाइ र हिँडाइको एउटै गति, उचाइ, गहिराइ र व्यापकता देख्दा लाग्छ, अब यो दलाल पुँजीवादी सत्ताको दिनगन्ती सुरु भइसकेको छ र क्रान्तिकारीहरूलाई मुठभेडका नाममा नियन्त्रणमा लिइसकेपछि हत्या गर्न आदेश दिने बादल, कुहिरो र हुस्सुहरू क्रान्तिको बलिवेदीमा बत्तीका पुतली हुने दिन नजिकिँदै गएको छ ।

क्रियाशील प्रगतिशील स्रष्टा सरिता तिवारीले शनिबार एउटा शक्तिशाली कविता पोस्ट गरेकी छिन् :

…त्योभन्दा अझै ज्यादा छ
स्वतन्त्र मान्छे हुनुको अमोघ अहंकार
यो कुरूप सत्ताका
सारा शक्तिहरूसँग लड्ने इच्छाशक्ति !
आऊ शासकहरू
दाग मेरो निधारमा पनि गोली !
मलाई यो समयसँगको प्रेमका नाममा
मन्जुर छ सहादत !

न्यायका निम्ति, अन्यायका विरुद्ध निधारमा गोली थाप्ने र बलिदान गर्ने कुरा कायरहरूले सोच्नसक्ने विषय होइन, वीरवीराङ्गनाका शब्दकोष र जीवनमा मात्र हुन्छन् यी शब्दहरू । पलभरका लागि हातमा हतियार बोकेका शासकहरू सम्झिन्छन्– यो हतियार सधैँ मेरो हातमा मात्र हुन्छ र मेरो सत्ता, मेरो शासन, मेरो अहंकार अस्वीकार गर्नेहरूले सधैँ मेरो गोलीको निशानामा पर्नुपर्ने हुन्छ तर स्रष्टा यस्तो स्वाभिमानी जीव हो जो कृष्ण सेन ‘इच्छुक’ बन्न तयार हुन्छ तर दासता अस्वीकार गर्छ । अत्याचार, विभेद अस्वीकार्य हुन्छ उसलाई । वाक्वाकी लाग्छ सत्ताको मनपरी दोहन । क्रूरताको पराकाष्ठा देखेपछि स्रष्टाहरू स्वाभाविक रुपमा अग्रपङ्क्तिमा उभिन्छन् लाम लागेर, अन्जान विरही र रोहित कोइराला बन्न तयार हुन्छन् । डी कौडिन्य र चुनु गुरुङ बन्नुमा गर्व गर्छन्, दिलमाया बम्जनको इतिहासले लोभ्याउँछ तर सत्ताको भाट बन्नुसँग अत्यन्त घृणा हुन्छ उनीहरूलाई ।

नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा स्थापित एवम् लोकप्रिय सुकुमबासी नेता कुमार पौडेलको प्रहरीले गोली हानी हत्यागरेपछि सामाजिक सञ्जालमा पोस्ट भएका केही सिर्जनाहरूले क्रान्तिका लागि झन् धेरै राम्रो वातावरण निर्माण गरेका छन् । सामाजिकसञ्जालमा खोमा तरामु मगरले नाजिम हिक्मतको यो काव्यात्मक सन्देश पोस्ट गरेका थिए :

म जलिनँ भने
तिमी पनि जल्नेछैनौ
यदि हामी कोही जलेनौँ भने
अँध्यारो रात कसरी हट्ला ?
अँध्यारो हटाउन उज्यालो बल्नैपर्छ । उज्यालो बल्न केही त सल्किनैपर्छ । केही पनि र कोही पनि नबल्ने, नसल्किने हो भने उज्यालोको मात्र अपेक्षा गर्नु न्यायोचित हुँदैन । भूपी शेरचनले कुनै समयमा लेखेका थिए :
हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन देश दुईचार सपूत मरेर नगए

नाजिम हिक्मतको होस् वा भूपी शेरचनको अथवा विप्लवकै काव्यात्मक सन्देशहरूले भन्छन्– मुक्तिका लागि, अँध्यारोको अन्त्यका लागि, उज्यालोको स्थापनाका लागि बल्नैपर्छ, बलिदान हुनैपर्छ र त्यसका लागि सबैभन्दा अघिल्लो पङ्क्तिमा सबैभन्दा बढी बुझेकाहरूलामबद्ध हुनुपर्छ । रामकुमार श्रेष्ठ, कुमार पौडेललगायत एकीकृत जनक्रान्तिका नौजना सहिदको सुन्दर ताँती÷पङ्क्ति हेर्दा लाग्छ, अब फेरि त्याग, शौर्य, साहस र बलिदानका लागि सुन्दर युवाहरूको लामो लाम तयार भइसकेको छ । आर्थिक स्वार्थ, लम्पट र गुटहरू निर्माण गर्ने प्रचण्ड स्कुलिङ अब क्रमशः समाप्तिको दिशातिर अग्रसर भइरहेको छ । यही बुझेरै हुनुपर्छ हिजो जनयुद्धबाट आएका तर आज विरासतलाई धुलोमा फ्यालेर दलाल संसद्वाद जोगाउन क्रान्तिकारीहरूमाथि गोली दाग्न आदेश दिइरहेको रामबहादुर थापाहरूका जिब्रा र मस्तिष्कहरू प्नि लकपकाइरहेको अनुभूति भइरहेको छ ।

यसै सन्दर्भमा स्रष्टा ओमप्रकाश पुनले ‘ए नेपाली फुजिमोरी’ शीर्षकमा असार ५ गते अर्थात् कुमार पौडेलको बलिदानी भएको दिन एउटा आवेगपूर्ण कविता पोस्ट गरेका छन् :

केपी, पीके र रामेहरू हो
अमेरिकाको कलो खाएर
कुकुर अल्बर्ट फुजिमोरीले
पेरूका क्रान्तिकारी जनतामाथि
हत्या, हिंसा र आतङ्क मच्चायो
साम्राज्यवादीको इसारामा

जनताका क्रान्तिकारी प्रिय नेता
कमरेड गोन्जालोलाई
आजीवन काराबास हाल्यो
र सपना देख्यो–
अब म पेरूको
आजीवन शासक बन्छु
तर अपसोच !
जब मालिकहरूले
आफ्नो उद्देश्य पूरा गरे
तब कुकुर फुजिमोरीलाई
दूधमा परेको झिँगा टिपेझैँ
टपक्क टिपेर फाले
जनताको ‘नजर’ मा
फासिवादी फुजिमोरी
महान् मानवताविरोधी
नाङ्गो भ्रष्टाचारी
र जनविरोधी साबित भयो
हो, आज त्यसरी नै
साम्राज्यवादीका दलाल
केपी, पीके र रामेहरू
नेपालमा पनि
आजीवन शासक बन्ने
भूतको घोडामा सवार गरेर
साम्राज्यवादीहरूको इसारामा
तीर्थ घिमिरे र कुमार पौडेलमाथि
गोली बर्साउछन् र भन्छन्–
विप्लव नेकपाका कार्यकर्तासँग
दोहारो भिडन्त भयो ।

धिक्कार छ ती तिम्रा झूट्टा फरमानहरूको
आफ्नो कायरतालाई ढाकछोप गर्न
नक्कली भिडन्तको नाटक गरी
क्रान्तिकारीको रगतमा होली खेल्ने
सहिदको खेती गरी गुजारा चलाउने
नेपाली क्रान्तिका नायक
कमरेड विप्लवलाई
गोन्जालो बनाउने सपना देख्ने
ए नेपाली फुजिमोरी
केपी, पीके र रामेहरू हो
खबरदार !
ती तिम्रा कथित सपनाहरू
छिट्टै चकनाचुर हुनेछन्
आजीवन शासक बन्ने अभिलाशाहरू
छिट्टै धुलोमा विलीन हुनेछन्
र तिम्राती काला कर्तुतहरू
अनि नक्कली मुखुण्डो
छिट्टै च्यातचुत हुनेछन्
एकीकृत जनक्रान्तिको
महाअभियानले
तिमीलाई एक दिन
लालगद्दार घोषित गर्दै
नेपाली फुजिमोरीदलाल साबित गर्नेछ ।

विशेषगरी क्रान्तिकालीन कवितामा रूपभन्दा सार पक्ष शक्तिशाली हुन्छ र बिम्बभन्दा विषयवस्तु र विचार प्रभावकारी हुन्छन् । पुनको कविताले पनि वर्तमानका शासकहरूलाई पैरूका शासक अल्बर्टो फुजिमोरीसँग तुलना गर्दै साम्राज्यवादको दलाल घोषणा गरेको छ र यहाँका शासकहरूको अवस्था पनि फुजिमोरीकै जस्तै पतीत बन्ने दाबी गरेको छ ।

जर्मन कवि मार्टिन निमोरको कवितांशले पनि यो समयमा निकै सान्दर्भिकता ग्रहण गरिरहेको छ । शासकहरूयतिबेला नेकपाका नेतादेखि कार्यकर्तासम्मलाई गोली हानेर समाप्त पार्ने, त्यसो गर्न मेसो नमिले घाइते बनाउने, थुन्ने, हिरासतमा राखेर झूट्टा मुद्दामा लामो समयसम्म घुमाउने र राज्यद्रोहको मुद्दामा जेलसम्म पठाउने कार्य गरिरहेका छन् । झट्ट हेर्दा यतबेला यो कार्य विप्लव नेकपामाथि मात्र लक्षित देखिए पनि यो नेपालका सबै क्रान्तिकारी, कम्युनिस्टहरू, विद्रोहीहरू, देशभक्तहरूका विरुद्धको दमन हो । हुँदाहुँदायो दलाल संसद्वादी सत्ता नभएर सरकारका विरोधीहरू र सत्तासीनहरूभित्रै पनि पद नपाएर विरोधमा उत्रिएकाहरूसम्म लक्षित छ । यो सन्दर्भमा विवादास्पद छवि बनाएका काङ्ग्रेसका युवानेता गगन थापाले संसद्को बैठकमै कवि मार्टिन निमोरको कवितां सम्झिनुपर्ने अवस्था आयो । निमोरले लेखेका थिए :

पहिले उनीहरू समाजवादीलाई लिन आए
म बोलिनँ
किनकि
म समाजवादी थिइनँ
उनीहरू ट्रेड युनियनकर्मीलाई लिन आए
म बोलिनँ
किनकि
म ट्रेड युनियनकर्मी थिइनँ
उनीहरूजुजलाई लिन आए
म बोलिनँ
किनकि
म जुज थिइनँ
जब उनीहरू मलाई लिन आए
मेरा लागि बोल्न बाँकी कोही थिएन ।

वर्तमानका लागि पनि यो ध्रुवसत्यहो । आज विप्लव नेकपाका कार्यकर्ता र नेतालाई गोली हान्दै र मार्दै निरङ्कुशता प्रदर्शन गरिरहेको वली सरकार र दलाल संसद्वादी सत्ता भोलि वैद्य माओवादी, पर्सि कट्टेल नेकपा, निपर्सि खम्बु माओवादी केन्द्र, अर्को दिन अर्को गर्दै काङ्ग्रेससम्म पनि पुग्नेछ किनकि देश र जनताप्रति जबाफदेही नभएर साम्राज्यवाद र उत्तरसाम्राज्यवादप्रति इमानदार यो सत्ता र सरकारले आफ्ना अघिल्तिर देखापरेका सबै बाधकहरूलाई तह लगाउने कानुन र्निमाण गरिरहेको छ र देशभर त्यसको विरोध पनि भइरहेको छ । सरकार प्रेस र मिडियालाई अङ्कुश लगाउने विधेयक पारित गर्न लागिरहेको छ र यसका विरुद्ध पत्रकारहरू आन्दोलित छन् । गुठी विधेयकका विरुद्ध त लखौँको जनसागर नै काठमाडौँमा उत्रियो । मानवअधिकार कुण्ठित हुने विधेयक पेस भएपछि अधिकारकर्मीहरू आन्दोलित छन् । महिला, मजदुर, किसान, युवा, विद्यार्थी कोही सन्तुष्ट छैनन् । सन्तुष्ट छन् त सत्ताका आसेपासेहरू र सरकारमा बसेर तर मारिरहेकाहरूको एउटा झुण्ड । मात्र यस्तो अवस्थामा यो कविता अत्यन्त मार्मिक बन्न पुगेको छ ।

माइतीघर मण्डलामा सरकारविरुद्ध पोखिएको जनआक्रोशलाई सम्बोधन गर्दै वर्तमानका सशक्त विद्रोही युवाकवि रसुवाली कविले ‘माइतीघर मण्डलाबाट’ शीर्षकमा पोस्ट गरेको कविता यस्तो छ :

निषेधित आगो बोकेर
रगतको बेगलाई झन् उमाल्दै
हामी नारा लगाइरहेकाछाँै
हामी अधिकार मागिरहेका छौँ
हामी न्याय खोजिरहेका छौँ
हामी आन्दोलन गरिरहेका छौँ
सरकार, तपाईंलाई यस्तो मन पर्दैन
त्योपनि थाहा छ ।

तपाईं बन्दुक बोकेर उभिनुभएको छ
अश्रुग्याँसको नमिठो गन्ध आइरहेकोछ
पानीकाफोहोराहरूले भिजाउन सकिरहेका छैनन्
हाम्रा आवाजहरू ।

सरकार, हामीसँग नडराउनुस्
हामी बन्दुक बोक्ने कायरहरू होइनौँ
गोयबल्सहोइनौँ
हामी ‘माकाफुइँ’ पनिहोइनौँ

हामी पत्रकार हौँ
हामीसँग एउटा क्यामेरा छ
समाचार पढ्ने ओठ र समाचार लेख्ने कलम छ
हामी गायकहरू हौँ
जनतालेमन पराएका
एकदुई थान गीतहरू छन् हामीसँग
हामी कविहरू हौँ
अत्याचारविरुद्धआकोशित छन् कविताहरू
हामीकिसान हौँ
सडकमा दूध पोखिरहेछौँ
गोलभेडा घोप्ट्याइरहेका छौँ
र मागिरहेका छौँ पसिनाको असली मूल्य ।

सरकार, हामी महिलाहरू हौँ
हामी मधेसीहरू हौँ
हामी आदिवासी, जनजातिहौँ
हामी विद्यार्थी हौँ
हामी किनारीकृतहरू हौँ।

हामी सबैसबै तपाईंलाई मन पराउँदैनौँ
जस्तो तपाईं हामीलाई मन पराउनुहुन्न ।

त्यो राष्ट्रिय झन्डामुनि उभिनुभएको
तपाईंका आदरणीय ससुराबा हुन्
जो मागिरहेछन् गुठीको अधिकार
उनलाई गुठीलाई गुठीजस्तै बनाएर
मर्न मन छ ।

सरकार, हामी यतिखेर माइतीघरमण्डलामा छाैँ
अर्थात् तपाईंकै आँखाअगाडि
तपाईं कुन हिम्मतले
हामीलाई पार्न सक्नुहुन्छ तितरबितर ?

यो सन्दर्भ गुठीयारहरूले माइतीघरमण्डलामा गरेको प्रदर्शनको भए पनि सरकारी स्वेछाचारविरुद्ध, अन्याय, अत्याचार र व्यभिचारविरुद्ध, अझै भन्ने हो भन्ने सत्ताकै फासिवादी क्रूरताविरुद्धको अभिव्यक्ति हो र कविले सूक्ष्म रूपमा सरकारका पक्षमा कोही पनि नभएको र सबै विद्रोहमा लामबद्ध भइरहेको तर्फ सङ्केत गरेका छन् ।

सरकारी रक्तपिपासुपनका विरुद्ध काठमाडौँ मात्रै होइन, यसभन्दा बाहिरका बजार र गाउँहरूसम्म तरङ्गित छन् । अर्थात् देश नै तरङ्गित छ । काठमाडौँभन्दा बाहिरको अर्को काठमाडौँ अर्थात् पोखराका प्रतिभाशाली युवाकवि बीपी विद्रोहीले सामाजिक सञ्जालहरूलाई अन्यायका विरुद्ध, स्वतन्त्रता, समानता र व्रिदोहका पक्षमा रामै्रसँग उपयोग गरिरहेका छन् । उनी वर्तमानमा मान्छेहरू विद्रोहको दमन गर्ने हतियार उत्पादन गर्ने कारखाना मात्र होइन, विद्रोहका खजाना–सिर्जना उत्पादन गर्ने भट्टी पनि निर्माण गरिरहेका छन् भन्ने भावको ‘विद्रोहीको कविता कारखाना’ कविता लिएर सामेल भएका छन् :

त्यहाँ छैनन् दार्शनिकर विद्वान्हरूका
ठूलठूला पुस्तकका चाङहरू
न छन् इन्टरनेटजडित
एप्पल र माइक्रोसफ्टका सुसाङ्ख्य यन्त्रहरू
एउटा कुनामा राखिएको छ
नौलो बिहानी,रातोखबर, वैज्ञानिक समाजवाद
अनि महापतन र केही गजल–कविताका सङ्ग्र्रहहरू
बिस्तरासँगै जोडिएको बिजुलीको प्लगमा
जोडिएको छ एउटा ‘ह्याङ’ भइरहने
सामसुङको एउटा पुरानो सेट
यो विद्रोहीको कविता कारखाना हो ।

एउटा पुरानो टीभी
खिया लागेको दराज
दराजमाथि राखिएको बिहेको सुटकेस
तख्तामा राखिएका केही भाँडाकुँडा
नानीका थाङ्ना
बाबुकाविद्यालय पोसाक
कविको कलम र डायरी
यी विद्रोहीको कविता कारखानाका पूर्वाधार हुन् ।

दिनभरि पसिनाले भिजेको गन्जी
लखतरान परेको शरीर
रित्तिएको चामलको बोरा
खप्टिएर बसेको घरभाडा र
नानीबाबुको विद्यालयको शुल्कको बिल
ग्याँसको भुड्को
कार्यालयको तलब
फेसबुकमा पोस्ट गरिएका कविता
छिमेकीको कुराकटाइ
कविले सहनुपरेको शोषणको मार
अभावको लात
शासकहरूको रबैया
गद्दारहरूले दिएको धोका
मानसपटलमा गुन्जिरहने सहिदका सपनाहरू
कविको चेतनामा सल्बलाउने विद्रोहको झोक
राज्यआतङ्क र परिवारमा फिँजाइएको भय
यी सबै विद्रोहीका कविता कारखानाका कच्चापदार्थ हुन् ।

आईएसओ नौ शून्यशून्य दुई
‘सर्टिफाइड’ छैन विद्रोहीको कविता कारखाना
बजारको कविता स्टोर
कविता मिनीमार्केट
कविता सुपरमार्केट
कविता सप्लायर्स
र कविता टे«डर्सहरूमा भेटिँदैनन्
विद्रोहीका कविताहरू!

बजारलाई चाहिन्छ ‘खाइलाग्दो’ कविता
रसिलो कविता, ‘गुदी’ वाला कविता…
छेउटुप्पो नमिलेको
दुब्लो र पातलो
जिरे खुर्सानीजस्तो पिरो
विद्रोहीको कविता रुचाउँदैन बजारले ।

बजारमा चलिरहेको बेला
बहुराष्ट्रिय कम्पनीका कविताहरूको प्रतिस्पर्धा
विद्रोहीका कविताहरू
शासकहरूलाई ढाल्न बन्दुकको नाल सोझ्याइरहेछन् ।

वास्तवमै यतिबेला जनताका आवाज भनेका विद्रोहका र विद्रोहीका कविताहरू नै हुन् । पुस्तौँपुस्तादेखि स्वतन्त्रता र समानताका लागि लडेको जनता मुलुकमा लोकतन्त्र र गणतन्त्र भनिएको शासन आउँदा पनि ठाउँठाउँमै अर्थात् जहीँतहीँ लुटिएको छ, सोसिएको छ, दबिएको छ र भोकाएको–तिर्खाएको छ । देश जोगाऊ भन्दा, जनतालाई खाना र नाना देऊ भन्दा, तिमीहरूले हिजो भोट माग्दा वाचा गरेअनुसार गाँस, बास र कपासको व्यवस्था गर भन्दा तिनलाई आतङ्ककारी भन्दै, अपहरण गर्दै हिरासत र जेल हाल्दै गरेको अवस्थामा लेखिने कविता यस्तै हुन् र यसप्रकारका विद्रोही कविता सिर्जनाका लागि विद्रोहीहरूका कविता कारखाना उचित छन् । त्यस्तो कारखानामा उत्पादित कविता र औजारले नै गाँस, बास, कपास, स्वतन्त्रता र समानताको आवाज बोल्न सक्छन् । बजारिया कविताले राष्ट्रियताको मर्मबोध गराउन सक्तैनन् । सत्ताले थुनेको जनताको आवाज खुलाउन, भोकले चिच्याएको श्रमिकको पेट भर्न र भराउने आवाज बुलन्द पार्न सक्तैनन् । त्यसका लागि श्रमिकहरूकै भट्टी आवश्यक पर्छ । बीपी विद्रोहीको यो कविताले नयाँ युगबोध गराउनुका साथै आमूल परिवर्तन अर्थात् वैज्ञानिक समाजवाद स्थापनाका लागि जारी एकीकृत जनक्रान्तिको वैचारिक र सिर्जनात्मक कारखानाको सटिक चित्र उतारेको छ ।

वर्गसङ्घर्षको एउटा उत्कर्ष जनयुद्ध सञ्चालन भइरहेको समयमा युद्ध लडिरहेका घाइते याद्धाहरू वीरगति प्राप्त गर्नुभन्दा अघि अन्तिम इच्छाका रूपमा सुनाउँथे– जनमुक्ति सेनाका सुप्रिम कमान्डरलाई एकझलक भए पनि हेरेर बलिदान गर्न मन छ । तत्कालीन जनयुद्धको सुप्रिमो दलाल वर्गमा पतीत भइसकेकालेअब यो कुराकिंवदन्तीजस्तै भइसकेको छ। एकीकृत जनक्रान्तिका नयाँ सुप्रिमोको वर्ग हिजोको सुप्रिमोको जस्तो उच्च छैन, सामान्य छ । उनलाई योद्धाहरूलाई मात्र आफ्नो अनुहार देखाएर÷देखाउन लगाएर शान्तसँग मराउने भोक, इच्छा, रुचि र सोख छैन, बरु आफैँआफ्नै माटोमा रगत बगाउने र सहिदका शवसँगै सुत्ने इच्छा प्रबल छ :
मेरो शरीर ढल्यो भने
प्रिय सहिद—सपूतहरूसँगै सुतोस् !

गत जेठ २५ गते कास्की घान्द्रुकको उरीमा चलिरहेको विद्यार्थीकोबैठकबाट गिरफ्तार गरिएका पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत स्रष्टा दीपेन्द्र बुढालाई असार १ गतेउच्च अदालत पोखराले निर्दोष साबित गर्दै रिहा गर्न आदेश दियो तर लगत्तै प्रहरीले गिरफ्तार गरी झूट्टा मुद्दा थप्न पर्वत जिल्लातर्फ लग्यो । उनले गिरफ्तार हुनुअघि लेखेको ‘क्रान्ति तिमी आऊ’ शीर्षकको कविता यस्तो छ :

क्रान्तितिमी फेरि सचेत बनेर आऊ
लाखौँ बज्रधार पहाडहरूले
असङ्ख्य ढुङ्गामाटो बर्साएर
तिम्रो महानताको परीक्षा लिनेछन्
धर्तीमा मेरो अधिकार भन्दै धावा दिने
हुस्सु र कुहिरोहरूले
तिम्रो तापको डिग्री नाप्नेछन्
धर्तीमा सुन्दरताको धारा बर्साउने
पवित्र हिउँका ढिक्काहरूले
तिम्रो साहसलाई पगाल्ने कोसिस गर्नेछन्
त्यसैले तिमी कठोर बनेर आऊ
क्रान्ति,तिमी पत्थर भै निस्केर आऊ ।

रैतीलाई चुसेर नअघाएका छोटे राजाहरू
बलात्कार गरेर नअघाएका नरपशुहरू
तिम्रो खुट्टा काट्न खुकुरी उध्याइरहेका छन्
राज्यको कुर्सीमा बसेर
खुला मैदानमा जन्मभूमिप्रतिका
रगत उमाल्ने भाषण अनि
जनतालाई दिएकोवचन सेलाउन नपाउँदै
विदेशी मुद्राहरूमा आत्मसम्मानको मोल तोक्नेहरू
तिमीलाई आतङ्ककारीको बिल्ला लगाएर
राष्ट्रभक्तलाई देशद्रोहीको बिल्ला लगाएर
हिमाल, पहाड, तराई अनि मधेस
७७ वटै जिल्लामासभाहरू घन्काउनेछन्
अब तिमी सुरक्षाकवच लगाएर आऊ
अब तिमी चक्रव्यूहमा फस्नलाई होइन
चक्रव्यूह तोड्ने अभिमन्यु बनेर आऊ
सन्धान गरेर अस्त्रहरू भिरेर आऊ
स्वयम् यमराज ताण्डव गरून्
यमराजलाई चुनौती दिने दोस्रो काल बनेर आऊ
हे क्रान्ति,तिमीवीरहरूको साहस बनेर आऊ
योद्धाहरूको मार्गदर्शक बनेर आऊ
प्रतीक्षा गरेर बसेको छ प्रकृति
हे क्रान्ति ,तिमी
मेरो देशको मुक्तिदाता बनेर आऊ ।

तिम्रो गर्जनसँगै
धर्ती डगमगाउँदै
लक्ष्यले योद्धा चुन्नेछ
परिवर्तनले पाइला चाल्न सुरु गर्नेछ
प्रकृति मुस्कुराउनेछ
इन्द्रेणीमा सप्तरङ भरिनेछ
लाज छोप्न गाह्रो परेको उजेली दिदीको चोली
तिम्रो यात्रासँगै सबैतिर टालिनेछ
गरिबहरूको मनमा नयाँ ऊर्जा भरिनेछ
खान पनि मुस्किल परेकाहरूमा आशा पलाउनेछ
अझैसम्म मेरो देश त मसानघाटमा निदाएको छ
त्यसैले क्रान्ति,तिमी मेरो देश ब्युँझाउन आऊ
मेरो देशको रक्षक बनेर आऊ
गरिब–दुःखीको मुक्तिदाता बनेर आऊ
हे क्रान्ति, तिम्रो आह्वान गरेको छ देशले
तिमी सचेत बनेर आऊ ।

यसरी कवि बुढाले क्रान्तिको आराधन गर्दै विद्यमान सत्ताले थोपरेका सबै असमानता, अन्याय र व्यभिचारको अन्त्यको एक मात्र अचुक औषधिका रूपमा रहेको क्रान्तिको आह्वान गरेका छन् । क्रान्ति भोकको औषधि हो, क्रान्ति घाउको मलम हो, क्रान्ति सुखदुःखको साथी हो । जाडोको न्यानो र गर्मीको शीतलता हो क्रान्ति । यही क्रान्तिले नै क्रूरता र आततायीपनलाई जीवन बनाएको वर्तमान सत्ताको शमन गर्नेछ, प्रतिरोध गर्नेछ र पिल्सिएका, पाकेका, घाइते बनाएका र थुनिएका सबैलाई मुक्ति दिनेछ भन्ने विश्वास कविको छ । अभिधात्मक शैलीमा लेखिएको यो कविता विषय र बिम्बका हिसाबले शक्तिशाली छ । यही शक्तिशाली विचारको वाहक कविता लेखेकै आरोपमा कविलाई झूट्टा मुद्दा लगाएर हिरासतमा कोचिएको छ । यो निन्दनीय छ ।

सत्तामा रक्तपिपासुपन बढिरहेकैसन्दर्भमा कवि अशोक सुवेदीले दुईवटा काव्यात्मक शैलीका सामग्री सामाजिक सञ्जालमा पोस्ट गरेकाछन् । एउटा छ ‘खराब मौसम’ र अर्को छ ‘केही त बोल’ । ‘खराब मौसम’ मा उनी लेख्छन् :

मौसम खराब–खराब हुँदै गएको छ
लाग्छ अबको केही समय
चलिरहनेछ दूषित वायु र
बढिरहनेछ सहिदको संख्या 
र बढिरहेछन् दिनदिनै
श्रद्धाञ्जलीका सन्देशहरू पनि ।

चलिरहनेछन्
अपहरण गरेर
आकाश चुम्ने यात्रामा रहेका निःशस्त्र मानिसलाई
टाउकोमा गोली ठोक्दै
नक्कली मुठभेडको ऐलान गर्ने
कलाविहीन नाटकहरू ।

यो दुःख र कष्टको समय हो
जब हामी पूर्ण रूपमा पार गर्नेछौँ
यो प्रतिबन्ध र
‘सर्च एन्ड एरेस्ट’ नामकाहत्याराअभियान
बढ्नेछ सयौँ गुणा विद्रोहीहरूको लाम
र सहिदमा नाउँ लेखाउने
विद्रोही युवाहरूको पनि ।

एक दिन
जब एक हुनेछन् स्वतन्त्रताप्रेमी हृदय र मुठीहरू
केवल मुठी हुने छैनन् तिनीहरूसँग
हुनेछन् थप बम, बारुद र हतियारहरू पनि
त्यसपछि?
त्यसपछि उर्लिनेछ धरती, आकाश
र गुन्जिनेछन् गगनभेदी नाराहरू
मात्र हुनेछैनन् नाराहरू
हुनेछन् विस्फोटहरू इन्क्लाबी नाराका बीचबीचबाट
र भग्नावशेष बन्नेछ यो आततायी सत्ता
बन्द हुनेछन् दमनका स्वरहरू
बन्द हुनेछन् हत्याराहरूका मस्तिष्क
र बन्नेछ सबै नयाँ–नयाँ
केही समयपछि
मात्र केही समयपछि
आऊ
खाली मुट्ठीहरू भरौँ
त्यसैगरी उनको ‘केही त बोल’ शीर्षकको अर्को काव्यात्मक अभिव्यक्तिमा भनिएको छ :
ए सत्ताको मातले रतन्धो लागेकाहरू
केही त बोल
यो आततायी सत्ताका
अमानवीय हर्कतका विरुद्ध !
यहाँभिडन्तका नाममा
दिनदहाडै गोली खाएर मारिइरहेको छ
निहत्था मानिस,

कि बन्द भयो तिम्रो विवेकको बिर्को ?
कि बन्द भयो संवेदना र ढुकढुकी ?
किन छौ मौनमौन ?
केले समाप्त पारिदियो तिम्रो घ्राणशक्ति ?
कस्तो रहस्यमय जादु रहेछ नि
यो ऐँजेरु सत्ताको चास्नीमा ?

र तिम्रो विवेक?
त्यो त झनै कामै नलाग्ने भएको छ
रातलाई रात भन्न नसक्ने
सूर्योदयलाई सूर्योदय देख्न नसक्ने
केले पारिदियो समाप्त तिम्रो मस्तिष्कलाई ?
कि भ्रम थियो हामीलाई
तिम्रो टाउकाभित्र पनि
छ गिदी नामको केही लेदो…!!

किन बढिरहेको छ सत्ताको पागलपन ?
सत्ता यसरी नै बौलाइरहने हो र
तिमी यसरी नै
मौन बसिरहने वा
समर्थन गरिरहने हो भने सत्ताको झेल र कपटलाई
भन्नैपर्ने हुन्छ–
काम छैन तिम्रो भार यो धरतीलाई…
वर्तमानमा सत्ता र त्यसका सञ्चालक सरकारले विद्रोहीप्रति देखाएको अमानवीयता, क्रूरता र रक्तपिपासुपनका विरुद्ध लक्षित यी काव्यात्मक अभिव्यक्तिहरूले क्रान्तिकारी आशावादको सञ्चार गर्छन् र बीभत्स एवम् अन्यायपूर्ण वर्तमानको भण्डाफोर गर्छन् ।
अन्त्यमा कवि सुमनसिंह पौडेलको यो कवितांश प्रस्तुत गर्दै यो समयसमीक्षा यहीँ टुङ्ग्याने अनुमति माग्छु :

…कति लाचार छ गिद्द !
सिनोहरूमा लुछाचुँडी गर्दै
आफ्नो पेट गुजारा गरिरहेको छ
बालुवाटारको बार्दलीबाट
सर्लाही चिहाउने एउटा दुर्मुख गिद्द
सिंहदरबारबाट र्याल चुहाउँदै
सागरनाथ ताक्ने केही ब्वाँसाहरू
वीरेन्द्र सभागृहबाट
थपडी पड्काउँदै आफ्नो जोहो गर्ने
केही कुकुरहरू….
झर्दैछन् सर्लाही र लुछ्दैछन् मासु
पिउँदैछन् रगत, रमाउँदैछन् हाँसेर
त्यसैले
फेरि पनि मारिँदैछन् कुमारहरू….
कुमारहरू अर्थात् प्रहरीले यही असार ५ गते सर्लाहीको लखन्तीमा निहत्था अवस्थामा हिँडिरहेको समयमा भिडन्त भन्दै हत्या गरेका सहिद कुमार पौडेलप्रति हार्दिक श्रद्धाञ्जली !

२०७६ असार ८ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्