क्रान्तिवीर सहिद गङ्गालाल श्रेष्ठ

फासिवादविरुद्ध बलिदानीपूर्ण सङ्घर्षको सनसनीपूर्ण गाथा


जेता–नेतादि सबले मर्नु साझा सबैको ।
सब शव गई बस्तछन् एक दिन काखमा चिताको ।।
किन डरूँ मृत्युदेखि मर्न कम्मर कसेको ।
हुँ एक वीर पुत्र म पनि वीर माँ नेपालको ।।

सहिद गङ्गालाल श्रेष्ठ

विषय परिचय

नेपालीहरूले विभिन्नखाले अन्याय, अत्याचार, विभेद र शोषणविरुद्ध गौरवपूर्ण सङ्घर्ष गर्दै आएका छन् र आंशिक रूपमै भए पनि विजय पनि हासिल गर्दै आएका छन् । जनताले जहिले पनि विद्रोह, युद्ध र क्रान्तिहरूमा इमानदारीपूर्वक साथ पनि दिँदै आएको छ तर नेतृत्वको धोकाधडीले जहिल्यै पनि स्वेच्छाचारी सत्ता बदनाम सम्झौता हुने र सङ्घर्षमा बगेको रगतको अपमान हुने गरेको इतिहास बारम्बार दोहोरिँदै आएको छ । राणा शासक जङ्गबहादुरको हुकुमी शासनविरुद्ध लखन थापाले गरेको विद्रोह होस् वा चन्द्रशमशेरको हुकुमी शासनका विरुद्ध मकैपर्वका लेखक कृष्णलाल अधिकारीले गरेको विद्रोह होस्, बलिदानीको इतिहास गौरवमय छ । त्यस्तै गौरशाली इतिहास बोकेको सङ्घर्ष हो १९९७ सालको ऐतिहासिक सहिदपर्व । गङ्गालाल त्यही ऐतिहासिक पर्वका एक कुशल बौद्धिक योद्धा थिए र उनले निरङ्कुश राणाशाहीको अन्त्य र मुलुकमा जनतन्त्र प्राप्तिका लागि हाँसीहाँसी बलिदान गरेका थिए । तिनै वीर योद्धाको गाथावरिपरि घुमेको ऐतिहासिक पुस्तक हो क्रान्तिवीर सहिद गङ्गालाल श्रेष्ठ । यो ग्रन्थाकार ऐतिहासिक पुस्तक गङ्गालाल श्रेष्ठको जन्मशताब्दीको अवसर पारेर यही चैत ३ गते प्रकाशनमा आएको छ । यो एक महत्वपूर्ण काम हो ।

विषय विस्तार

फेरि पनि प्रकारान्तरले राणाशासन फर्किएको अवस्था छ । छद्म तथा आडम्बरी कम्युनिस्ट नामको अत्याचारी सत्ताविरुद्ध आन्दोलन, सङ्घर्ष र क्रान्ति आरम्भ भएको मौसम छ । अर्थात् भनौँ सत्ता समाजवादको पगरी गुथेर स्वेच्छाचारी बन्दै बौलाएको र विद्रोहीहरू सत्ता उलटपालटका लागि घनीभूत रूपमा क्रान्तिमा लागेको मौसम छ । यस्तो मौसम भनेको महाविपत्ति हुँदै सत्ता उलटपुलट र बलिदानसम्मको मौसम हो । थाहा नहुने रहेछ, विद्रोह, क्रान्तिमा बलिदान कसको भागमा पर्छ र सत्ता कसको भागमा ? एक सय चार वर्षसम्म नेपाल र नेपाली जनतामाथि राइँदाइँ गरी निरङ्कुश शासन लाद्ने राणाशासकहरूका विरुद्ध बलिदान गर्ने गङ्गालाल, दरशथ चन्द, शुक्रराज र धर्मभक्त माथेमाले राणाशासनको अन्त्यपछि जंगबहादुरकै सन्तान पदमशमशेर प्रधानमन्त्री हुनेछ भन्ने दुःस्वप्न अवश्य देखेका थिएनन् । त्यस्तो हुन्थ्यो भने उनीहरूले क्रान्तिको शैली नै बदल्ने थिए अर्थात् शान्तिपूर्ण नभएर हतियारबद्ध क्रान्तिको बाटो रोज्ने थिए किनकि दशरथचन्दहरूले त भारतीय क्रान्तिकारी नेताहरूसँग भेटघाट र छलफलसमेत गरिसकेका थिए तर उनीहरूलाई शान्तिपूर्ण आन्दोलनबाटै सत्ता परिवर्तन हुन्छ भन्ने भ्रम थियो । फलस्वरूप क्रान्तिकारीहरूलाई धोका भयो । देशलाई धोका भयो । सहिदहरूको सपनामाथि तुसारापात भयो । राणा, राजा र काङ्ग्रेसबीच दिल्लीमा भएको त्रिपक्षीय सम्झौताअनुसार राणाशासनविरुद्धको सङ्घर्षपछि पनि सत्तामा राजा र राणाहरू नै स्थापित भए र सत्ताको बिलो लगाएर क्रान्तिकारी सपनामाथि तुसारापात गरे । जिउँदा सहिद भनिएकाहरूले सायद पछि सोचे होलान्– सङ्घर्षको स्वरूप अवैध अर्थात् हतियारबद्ध भएको भए राणाशासकहरूसँग, राजाहरूसँग यतिविघ्न झुक्नुपर्ने थिएन । राणाशासनको अन्त्यका लागि खुलेको पार्टी प्रजापरिषद्मा तत्कालीन राजा त्रिभुवनको पनि नाउँ थियो तर विद्रोहीहरू, आफ्ना सहयोद्धालाई फाँसी दिन राणाहरूले तयार पारेको कागजमा त्रिभुवन आफैँले हस्ताक्षर गरिदिए । धोका र गद्दारीको योभन्दा पराकाष्ठा अरु के हुन्छ ?

आज ठीक त्यस्तै भएको छ । झापा विद्रोहका अगुवामध्येका एकजना केपी वलीले झापा विद्रोह भएको एक दशक पनि नपुग्दै उक्त विद्रोहप्रति पश्चाताप गरेको ४० वर्ष पुगेको छ र त्यसैको जगमा २०५२ सालमा आरम्भ भएको जनयुद्धका तत्कालीन नायक पुष्पकमल दाहालले पनि प्रकारान्तरले जनयुद्धप्रति पश्चाताप गरिरहेका छन् । जनसत्ता, जनसेना, जनसरकार, रगतसँग साटिएका हतियार, सहिद, बेपत्ता, घाइते अपाङ्ग र उत्पीडित जनताको सपनासँग बुर्जुवा सत्ता साटेका पुष्पकमल दाहाल अब जनयुद्धको इतिहाससँग आफ्नो नाउँ अलग पार्न र साम्राज्यवादी कलो ओस्कर पुरस्कारका लागि दौडधूपमा लागिसकेका छन् । यस्तै अवस्थामा सहिद गङ्गालाललगायतको सङ्घर्ष र राणाशासनको अन्त्यतिरका गतिविधि झल्काउने यो पुस्तक प्रकाशन भएको छ । मौसम त्यस्तै छ । महान् विचारक कार्ल माक्र्सले भन्नुभएझैँ इतिहासले फेरि एकपटक मजाक गरेको छ । दलाल संसदीय व्यवस्था र त्यसको मोहरा बनेको सामन्ती राजतन्त्रका विरुद्धको जनयुद्धमा दसौँ हजार गङ्गालालहरूको बलिदान भयो तर फेरि २००७ सालमा राणाहरू सत्तासीन भएझैँ गणतन्त्र दुत्कार्ने र युद्धलाई आतङ्क देख्ने केपी वलीहरूले केही पुष्पकमल दाहालहरूलाई किनेर सत्ता हत्याएका छन् । सत्तामा जनता रहनुपर्ने थियो तर दलाल पुँजीवाद हाबी भएको छ । गणतन्त्रका लागि योगदाननै नगरेका, इतिहासप्रति पश्चाताप गरिसकेका केपी वली र पुष्पकमल दाहालहरू सत्ताको घोडा चढेर क्रान्तिकारीहरूमाथि चाबुक मारिरहेका छन् । इतिहासले फेरि एकपटक नराम्रोसित मजाक गरेको छ । इतिहासले यस्तै मजाक गरिरहेको समयमा क्रान्तिवीर सहिद गङ्गालाल श्रेष्ठको जन्मशताब्दी दिवस आएको छ र उनको स्मृतिमा एउटा विशेष प्रकाशन आएको छ– क्रान्तिवीर सहिद गङ्गालाल श्रेष्ठ ।
यो महिना नेपालका प्रथम विद्यार्थी सहिद गङ्गालाल श्रेष्ठको जन्मशताब्दी वर्ष हो । गएको वर्ष हामीले अक्टोबरक्रान्तिको शतवार्षिकी महोत्सव मनायौँ भने यो वर्ष महान् विचारक कार्ल माक्र्सको जन्म द्विशतवार्षिकी वर्ष मनाइरहेका छौँ । महान् मानिसहरूको जन्मउत्सव मनाउनु उनीहरूलाई सम्झिनु मात्र होइन, उनीहरूले देखाएको बाटोमा हिँड्ने प्रतिबद्धता व्यक्त गर्नु पनि हो । त्यसमा आफूलाई हृदयैदेखि समर्पित गरी चुनौतहरू सामना गर्न तयार पार्नु पनि हो । यस अर्थमा कार्ल माक्र्सको जन्म द्विशतवार्षिकी वर्ष मनाउनु, अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकी मनाउनु र गङ्गालाल श्रेष्ठको जन्म शतवार्षिकी मनाउनुको अर्थ उनीहरूले रोजेको विचार, मार्ग र सपनाको बाटो हिँड्न तयार हुनु हो । यो सङ्क्षिप्त टिप्पणीमा यही साता प्रकाशनमा आएको क्रान्तिवीर सहिद गङ्गालाल श्रेष्ठ शीर्षकमा प्रकाशित पुस्तकको सङ्क्षिप्त परिचय दिनु हो ।

पुस्तक परिचय

क्रान्तिवीर सहिद गङ्गालाल श्रेष्ठ पुस्तक सहिद गङ्गालाल श्रेष्ठको जन्मशताब्दी विशेषाङ्क हो । सहिद गङ्गालाल श्रेष्ठ जन्मशताब्दी आयोजना समिति प्रकाशक रहेको यस ग्रन्थाकार पुस्तकका प्रधान सम्पादक पूर्ववामपन्थी नेता, पत्रकार एवम् साहित्यकार अरविन्द रिमाल रहेका छन् । जन्मशताब्दी आयोजना समितिमा संरक्षकका रूपमा पुष्पलता श्रेष्ठ, सल्लाहकारमा गङ्गालाल–पुष्पलालका कान्छा भाइ विजयलाल श्रेष्ठ, संयोजकमा हिरण्यलाल श्रेष्ठसमेत रहेका छन् भने सम्पादन समितिमा भाषा सम्पादक हरि गौतम, हिरण्यलाल श्रेष्ठलगायत रहेका छन् ।
४७० पृष्ठको ग्रन्थाकार यस पुस्तकमा अरविन्द रिमाल, अशोक सुवेदी, इरोज श्रेष्ठ, खड्गमान सिंह, गणेशमान सिंह, गोविन्द ज्ञवाली, गोविन्दप्रसाद उपाध्याय, चित्तरञ्जन नेपाली, डा. जयराज आचार्य, डा. तुलसी भट्टराई, दमननाथ ढुंगाना, देवशंकर पौडेल, डिल्लीराम मिश्र, बमसिंह रानाभाट, प्रा. डा. भवेश्वर पंगेनी, भुवन चन्द ठकुरी, भैरव रिसाल, प्रा. डा. राजेश गौतम, राजेन्द्रबहादुर श्रेष्ठ, लोककृष्ण भट्टराई, शान्ता श्रेष्ठ, शीतल गिरी, सत्यमोहन जोशी, सिद्धिचरण श्रेष्ठ, सीपी मैनाली, सुकुम शर्मा, प्रा. डा. सुरेन्द्र केसी, सूब सेन, सूर्यप्रसाद श्रेष्ठ, सूर्य थापा, हरि गौतम, हस्तबहादुर केसी, हिरण्यलाल श्रेष्ठ, हेमराज अधिकारी, दुर्गालाल श्रेष्ठ र मामिसका नेपाली भाषाका गहन, वैचारिक, जानकारीमूलक, इतिहाससम्बन्धी रचनाहरू रहेका छन् । त्यस्तै विजयलाल श्रेष्ठ, चिरञ्जीवीलाल श्रेष्ठ, प्रशान्त श्रेष्ठ र पूर्णप्रसाद बिष्टका गङ्गालालको जीवनी र इतिहससम्बन्धी अङ्ग्रेजी भाषाका लेखहरू छन् भने तस्बिर खण्डमा गङ्गालाल–पुष्पलाल र उनीहरूका परिवारका तस्बिर तथा परिशिष्ट खण्डमा राणाविरोधी सङ्घर्षका क्रममा स्थापित नेपाल प्रजापरिषद्ले छरेका पर्चालगायत ऐतिहासिक सामग्री समावेश गरिएको छ । यसरी यो ग्रन्थको चार खण्डमा संयोजन गरिएको छ ।

मध्यान्तर

हामी सबैलाई थाहा छ गङ्गालाल श्रेष्ठ नेपालको क्रान्तिकारी राजनीतिक आन्दोलनको इतिहासका एक क्रान्तिकारी योद्धा र सहिद हुन् । उनलाई नेपालका प्रथम विद्यार्थी सहिद पनि मानिएको छ । राणाविरोधी सङ्घर्षका क्रममा बलिदान गर्ने दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीमध्ये गङ्गालाल सबैभन्दा कान्छो उमेर, २२ वर्षका लक्का जवान थिए । यो पुस्तकमा सहिद गङ्गालाल श्रेष्ठलाई क्रान्तिवीर प्रमाणित गर्ने क्रममा लेखकहरूले तत्कालीन राणा शासनको क्रूरता, त्यसका विरुद्धको सङ्घर्षको अवस्था, प्रथम सांस्कृतिक सहिद कृष्णलाल अधिकारी, मकै पर्व हुँदै प्रजापरिषद् र त्यसका अगुवाहरू टङ्कप्रसाद आचार्य, दशरथ चन्द, शुक्रराज शास्त्री र धर्मभक्त माथेमा, गणेशमान सिंहलगायत दसौँजनाको जीवनीको पनि चर्चा गरेका छन् ।

पुस्तकका प्रधानसम्पादकसमेत रहेका पत्रकार अरविन्द रिमालले अतुल्य क्रान्तिवीर गङ्गालाल शीर्षकमा लेखेका छन्, ‘गङ्गालालले आफ्नो प्यारो ढोकाटोलकै बाटो आफ्नो जीवनयात्राको अन्तिम थलो शोभाभगवती मन्दिरनिर विष्णुमती नदीतट जाँदा आफ्नो प्रिय जीवनसँगिनीसँग ‘हसिना’ को सम्बोधनद्वारा अन्तिम बिदाइ लिँदै राणा शासनलाई धिक्कारेका थिए । दशरथ चन्दले पनि आफ्नो प्रेमिका जुलियाना राणाले आफैँले बनाएर पठाएकी चीडबुट्टे खास्टो ओढेर राणाशाहीको पतन अवश्यम्भावी भएको हुँकार गर्दै सोही थलोमा गोली थाप्दै सहादत वरण गरेका थिए । शुक्रराज शास्त्री, धर्मभक्त, दशरथ चन्द तथा गङ्गालाल विरुद्ध भौतिक आतङ्क चलाउन नपुगी ज्यानै समेत लिएर राणाशासनले देशमा मनोवैज्ञानिक आतङ्क मच्चायो । त्यस्तो मानव मर्यादालाई रछ्यानमा फाली उसको मनोबललाई पूरापूर गिराइदिन गरिएको थियो । तर यस कर्तुतबाट त राणाशासनमाथि त्यसले चिताएको भन्दा उल्टै असर प¥यो । चार सहिद र ज्यूँदा सहिद टङ्कप्रसादका र उनका सबै राजनीतिक सहयोगीको नाम, कीर्ति एवम् यश देशभरि फैलिँदै गयो । सिफल, पचली तथा शोभाभगवतीनेर आफ्ना विरोधीहरू सर्वथा निसस्त्र एवम् आत्मरक्षाको साधनै नभएको अवस्थामा हुँदाको लडाइँमा पनि राणाशासन लाजमर्दो गरी हारेको थियो ।’ क्रान्तिवीर सहिद गङ्गालाल श्रेष्ठ, पृ. ७

उत्कर्ष

अन्त्यमा यसै पुस्तकमा समेटिएको यस लेखकको एक अंशसहित यो सङक्षिप्त परिचय यहीँ टुङ्ग्याउने अनुमति माग्छु– इतिहास निर्माणमा विरलै मात्र यस्ता पात्र वा व्यक्तित्वहरूको योगदान रहेको हुन्छ जसको जीवन नै ऊर्जाशील र प्रेरणादायी हुन्छ । उनीहरूको जीवनी नै गौरवशाली पनि हुन्छ । नेपालको राजनीतिक इतिहास निर्माण गर्ने महान् यात्रामा गङ्गालाल श्रेष्ठको योगदान त्यस्तो त्यागमय, ऊर्जाशील र प्रेरणादायी रहेको छ ।

नेपालमा माघ १६ गतेलाई सहिद दिवसका रूपमा मनाउने गरिएको छ यद्यपि तत्कालीन नेकपा (माओवादी) को आह्वानमा जनयुद्ध आरम्भ भएपछि तत्कालीन नेकपा (माओवादी) ले फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउँदै आएको इतिहास छ । हाल यसलाई नेपाल कम्युनिस्ट पार्टीले अघि बढाइरहेको छ । माघ १६ राणा शासनका विरुद्ध सङ्घर्ष गर्ने योद्धाहरू गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, शुक्रराज शास्त्री र धर्मभक्त माथेमाले बलिदान गरेको साताको सन्दर्भ हो । त्यस्तै फागुन १४ जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलले बलिदान गरेको दिन हो भने फागुन २१ पञ्च शासकहरूले झापा विद्रोहका योद्धाहरूलाई जेल सार्ने बहानामा सुखानी जङ्गलमा लगेर हत्या गरेको दिन हो । यो २०७५ साल भने अमर सहिद गङ्गालाल श्रेष्ठको जन्मशताब्दी वर्ष पनि हो ।

१९९७ साल माघको दोस्रो साता गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्दलाई राणा शासकहरूले मृत्युदण्ड दिएका थिए । यद्यपि राणाशासनविरुद्ध मकैको खेती पुस्तक लेखेर विद्रोह बोलेका सुब्बा कृष्णलाल अधिकारीले जेलमै बलिदानको बाटो रोजेर निरङ्कुश शासनलाई चुनौती दिइसकेका थिए । त्यसअघि जङ्गबहादुर राणालाई चुनौती दिने लखन थापालाई हत्या गरिइसकेको थियो । लखनलाई नेपालका प्रथम सहिद मानिन्छ । यसअघि पृथ्वीनारायण शाहको राज्यविस्तार अभियानका क्रममा र राज्यविस्तारपछि पनि विद्रोहीहरूको हत्या गरिएका अभिलेखहरू पाइन्छन् । मल्लकालमा पनि कयौँ विद्रोहीहरूले निरङ्कुश सत्ताको विरोध गर्दैै बलिदानको बाटो रोजेका थिए । नेपालमा राणाशासनदेखि वर्तमान संसदीय व्यवस्थाविरुद्ध सङ्घर्षका क्रममा मात्र दस हजारभन्दा बढी जनताले बलिदान गरिसकेका छन् । यद्यपि राज्यले सबै विद्रोही र बलिदान गर्ने योद्धाहरूलाई सहिद घोषणा गरेको छैन । सत्ता नबदलिएको र सरकारहरू मात्र फेरिएको अवस्थामा यस्तो हुनु अन्यथा पनि होइन तर यो योद्धा र न्यायप्रेमीहरूमाथिको अन्याय भने हो । अध्येता भुवनलाल प्रधानले लेखेका छन्, ‘यी युवक सहिद गङ्गालालको जन्म तत्कालीन पूर्व २ नं. रामेछापमा वि. सं. १९७५ साल फागुन पूर्णिमाको दिन भएको थियो । यिनी भक्तलाल श्रेष्ठ र तुलसीदेवीका जेठा छोरा थिए । त्यसबेला भक्तलाल रामेछापको माल अड्डाका हाकिम खरदार थिए ।’
भुवनलाल प्रधान, सहिद परिचय, गङ्गालाल, काठमाडौँ नगर पञ्चायत २०४३, पृ. १८

पाँच वर्षको उमेरमा गङ्गालालले रामेछापको भाषा पाठशालामा कखहरा सुरु गरेका थिए तर विसं १९८१ सामै बाबु भक्तलाल ओखलढुङ्गा खटिएकाले गङ्गालाल पनि बाबुसँगै जान बाध्य भए । उनलाई केही वर्षपछि अङ्ग्रेजी पढाउन भनेर काठमाडौँ ल्याइएको थियो । भुवनलालका अनुसार कलकत्तामा डाक्टरी पढ्न जाने उनका काका शङ्करलालले गङ्गालाललाई पनि सँगै लिएर गए । त्यहाँ दुई–तीन वर्ष पढेपछि गङ्गालाल काठमाडौँ नै फर्किए । त्यसपछि गङ्गालालको पढाइ दरबार हाईस्कुलमा सुरु भयो । चौथो श्रेणीमा भर्ना भएर गङ्गालालले १९९५ सालमा पहिलो श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए ।

जहानियाँ एकतन्त्रीय राणा शासनको अन्त्य गरी प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने महान् उद्देश्यका लागि सङ्कल्पबद्ध गङ्गालाल श्रेष्ठले १९९५ सालमा दरबार हाईस्कुलबाट प्रथम श्रेणीमा एसएलसी परीक्षा उत्तीर्ण गरेका थिए । उनले बाल्यावस्थादेखि नै बुबासँग देशका विभिन्न भागमा पुग्ने क्रममा नेपाली जनताको दयनीय र चिन्ताजनक अवस्थाको जानकारी लिने अवसर पाएका थिए । गङ्गालालले काका शङ्करलालसँग केही वर्ष कलकत्तामा बस्दा अङ्ग्रेज साम्राज्यवादका विरुद्ध भारतीय जनआन्दोलनको उभार देख्ने मौकासमेत प्राप्त गरेका थिए । नेपाली जनतामाथि राणाहरूको उत्पीडन र भारतीय जनताले अङ्ग्रेज उत्पीडनका विरुद्ध गरेको प्रतिरोध युद्ध दुवैको प्रेरणाले गङ्गालाललाई क्रान्तिकारी बाटोतर्फ मार्गनिर्देशित गरेको इतिहास पाइन्छ । गङ्गालाल श्रेष्ठले निरङ्कुश राणा शासनको अन्त्य र जनतन्त्र स्थापनाका लागि बलिदान गरेको ७९ वर्ष लागेको छ । यो गङ्गालालको जन्मशताब्दी वर्ष पनि हो । राणा शासनको विरोधमा राजनीति गरेको अभियोग लगाएर १९९७ सालमा गङ्गालाललगायत शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्दलाई मृत्युदण्ड दिइएको थियो । गङ्गालाललाई नेपालका प्रथम विद्यार्थी सहिद मानिन्छ ।

१९९४ सालमा नेपाली जनताको मुक्ति र प्रजातन्त्र स्थापनाका लागि नेपाल नागरिक अधिकार समिति गठन भएको थियो । युवा गङ्गालाल यस समितिको गतिविधिमा सक्रिय थिए । जनजागरण अभियान समितिले १९९७ साल कात्तिकमा काठमाडौँस्थित इन्द्रचोकमा आमसभा आयोजना गरेको थियो । उक्त सभामा गङ्गालालले पनि सम्बोधन गरेका थिए । त्रिचन्द्र क्याम्पसमा आईएस्सीमा अध्ययनरत होनहार युवा विद्यार्थी गङ्गालालको जोसिलो भाषणबाट आत्तिएका राणाहरूले उनलाई क्रूर पञ्जामा लिए । राणाहरूले गङ्गालाललाई माफी मगाउन कोसिस गरेका थिए तर स्वाभिमानी गङ्गालालले माफी मागेनन् । माफी मगाउन नसकेपछि १९९७ साल माघ १२ गते राति दशरथ चन्दसँगै सेन्ट्रल जेलबाट निकाली विष्णुमतीको किनारमा लगेर राणाशासकहरूले २२ बर्से गङ्गालालको छातीमा गोली हानेर क्रूरतापूर्वक हत्या गरे । उनले नेपालको प्रथम विद्यार्थी सहिदमा नाम लेखाए । त्यतिबेला भारतमा अङ्ग्रेज शासनको बन्धनबाट मुक्त हुन सञ्चालित आन्दोलनको प्रभाव बालक गङ्गालालमा परेको हुनसक्ने अनुमान इतिहासकारहरूले गरेका छन् । नेपाल फर्किएपछि गङ्गालालका कविता, प्रवचन र कुराकानीमा परिवर्तनको पक्षधरता पाइन थालेको थियो । यसै सिलसिलामा गङ्गालालले नागरिक अधिकार समितिको आयोजनामा काठमाडौँको इन्द्रचोकमा भएको कार्यक्रममा जोडदार र क्रान्तिकारी भाषण गरे । २० बर्से लक्का जवान गङ्गालालको विद्रोही चेतनाको वास्तविक अभिव्यक्ति थियो त्यो भाषण । उनले इन्द्रचोकमा भाषण गर्नु केही दिनअघि काठमाडौँ असनमा पुराण अवसान गरेको अवसरमा पनि क्रान्तिकारी लिखित भाषण गरेका थिए । उनका यी दुवै भाषण वैचारिक थिए र निरङ्कुश राणाशासनविरुद्ध केन्द्रित थिए ।

साहसी विद्यार्थी गङ्गालाल राणाहरूका अगाडि झुक्नुभन्दा गोली खाएर जीवन बलिदान गर्न तयार भए । त्रिचन्द्रमा अध्ययनरत युवा विद्यार्थी गङ्गालालको यो साहसिक बलिदानले नेपालीलाई विद्रोहमा उत्रिन प्रेरणा दियो । फलस्वरूप निरङ्कुश राणाशासनका विरुद्ध विद्रोहको भुसको आगो दन्कियो र २००७ सालमा राणाशासन नै समाप्त भयो । यद्यपि राणाशासनको अन्त्यपछि आजसम्म पनि नेपाली जनताका सुखका दिन आएका छैनन् र जनताले विद्रोह र क्रान्तिमा लामबद्ध हुनुपर्ने अवस्था विद्यमान नै छ ।

१९९० को आरम्भमै शुक्रराज शास्त्री नागरिक अधिकार समितिमा आबद्ध भइसकेका थिए । उनीलगायत प्रजापरिषद्का दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई सर्वस्वहरणसहित फाँसीको सजाय दिइएको थियो । कलिलै उमेर भएकाले गङ्गालाललाई माफी मागे आजन्म काराबास हुने सजाय सुनाइएको थियो तर उनले कसैले बकस दिएको जीवन बाँच्नुभन्दा सङ्घर्षमा नझुकी मर्नु नै उचित ठान्दै फाँसीको सजाय रोजे । राणाशासकहरूले प्रजापरिषद्का अन्य सदस्यहरूमध्ये टङ्कप्रसाद आचार्यलाई मुडीदामल गरी सर्वस्वसहित जन्मकैद, चन्द्रमान सैँजू, गोविन्दप्रसाद उपाध्याय, बनबहादुर पाण्डे, गणेशमान सिंह र हरिकृष्ण श्रेष्ठलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएका थिए । प्रजापरिषद्का अरू सदस्यले पनि कठोर सजाय पाएका थिए ।

सजायस्वरूप १९९७ साल माघ ९ गते टङ्कप्रसाद आचार्य र रामहरि शर्मालाई चारपाटा मुडेर सुँगुरको पाठा बोकाई टुँडिखेलमा घुमाइएको थियो । शुक्रराज शास्त्रीलाई १९९७ साल माघ ११ गते पचली त्रिपुरेश्वरमा झुन्ड्याई मारिएको थियो भने धर्मभक्त माथेमालाई माघ १३ गते राति सिफलमा झुन्ड्याएर मारिएको थियो । गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १४ गते राति सामाखुसी र विष्णुमतीको दोभानमा गोली हानी मारिएको थियो ।

अन्त्यमा सहिद गङ्गालालको कीर्ति स्मृति गर्दै जन्मशताब्दी वर्ष मनाउनु र पुस्तक प्रकाशन गर्नु सराहनीय कार्य हो । सम्बन्धित सबै पक्ष धन्यवादका पात्र छन् । यो पुस्तक उनको जन्मथलो रामेछापको भँगेरीमा लगेर लोकार्पण गराउन सुझाव दिन्छु ।

२०७५ चैत १५ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :