सहिद गङ्गालाल श्रेष्ठ र राणाशासनविरोधी सङ्घर्ष

                          नेपालमा माघ १६ गतेलाई सहिद दिवसका रूपमा मनाउने गरिएको छ यद्यपि जनयुद्ध आरम्भ भएपछि नेकपा (माओवादी) ले फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउँदै आएको इतिहास छ । हाल यसलाई नेपाल कम्युनिस्ट पार्टीले अघि बढाइरहेको छ । फागुन १४ जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलले बलिदान गरेको दिन हो भने फागुन २१ पञ्च शासकहरूले झापा विद्रोहका योद्धाहरूलाई जेल सार्ने बहानामा सुखानी जङ्गलमा लगेर हत्या गरेको दिन हो । १९९७ साल माघको दोस्रो साता गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्दलाई राणा शासकहरूले मृत्युदण्ड दिएका थिए । यद्यपि राणाशासनविरुद्ध मकैको खेती पुस्तक लेखेर विद्रोह बोलेका सुब्बा कृष्णलाल अधिकारीले जेलमै बलिदानको बाटो रोजेर निरङ्कुश शासनलाई चुनौती दिइसकेका थिए । राणाशासक यो सङ्क्षिप्त टिप्पणीमा राणाविरोधी सङ्घर्ष र बलिदानीको केन्द्रमा गङ्गालालको बलिदानलाई समेट्ने प्रयास गरिएको छ ।
गङ्गालाल श्रेष्ठले निरङ्कुश राणा शासनको अन्त्य र जनतन्त्र स्थापनाका लागि बलिदान गरेको ७९ वर्ष लागेको छ । यो गङ्गालालको जन्मशताब्दी वर्ष पनि हो । राणा शासनको विरोधमा राजनीति गरेको अभियोग लगाएर १९९७ सालमा गङ्गालाललगायत शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्दलाई मृत्युदण्ड दिइएको थियो । गङ्गालाललाई नेपालका प्रथम विद्यार्थी सहिद मानिन्छ ।
जहानिया एकतन्त्रीय राणा शासनको अन्त्य गरी प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने महान् उद्देश्यका लागि सङ्कल्पबद्ध नेपाल आमाका महान् सपूत गङ्गालाल श्रेष्ठको जन्म १९७५ साल फागुन पूर्णिमाका दिन रामेछाप जिल्लाको भँगेरीमा भक्तलाल श्रेष्ठकी पत्नी तुलसीदेवीको कोखबाट भएको थियो । गङ्गालालले १९९५ सालमा दरबार हाईस्कुलबाट प्रथम श्रेणीमा एसएलसी परीक्षा उत्तीर्ण गरेका थिए । उनले बाल्यावस्थादेखि नै बुबासँग देशका विभिन्न भागमा पुग्ने क्रममा नेपाली जनताको दयनीय र चिन्ताजनक अवस्थाको जानकारी लिने अवसर पाएका थिए । गङ्गालालले काकासँग केही वर्ष कलकत्तामा बस्दा अङ्ग्रेज साम्राज्यवादका विरुद्ध भारतीय जनआन्दोलनको उभार देख्ने मौकासमेत प्राप्त गरेका थिए । नेपाली जनतामाथि राणाहरूको उत्पीडन र भारतीय जनताले अङ्ग्रेज उत्पीडनका विरुद्ध गरेको प्रतिरोध युद्ध दुवैको प्ररणाले गङ्गालाललाई क्रान्तिकारी बाटोतर्फ मार्गनिर्देशित गरेको इतिहास पाइन्छ ।
१९९४ सालमा नेपाली जनताको मुक्ति र प्रजातन्त्र स्थापनाका लागि नेपाल नागरिक अधिकार समितिको गठन भएको थियो । युवा गङ्गालाल यस समितिको गतिविधिमा सक्रिय थिए । जनजागरण अभियान समितिले १९९७ साल कात्तिकमा काठमाडौँस्थित इन्द्रचोकमा आमसभा आयोजना गरेको थियो । उक्त सभामा गङ्गालालले पनि सम्बोधन गरेका थिए । त्रिचन्द्र क्याम्पसमा आईएस्सीमा अध्ययनरत होनहार युवा विद्यार्थीको जोसिलो भाषणबाट आत्तिएका राणाहरूले गङ्गालाललाई क्रूर पञ्जामा लिए । राणाहरूले गङ्गालाललाई मामाफी मगाउन कोसिस गरेका थिए तर स्वाभिमानी गङ्गालालले माफी मागेनन् । माफी मगाउन नसकेपछि १९९७ साल माघ १२ गते राति दशरथसँगै सेन्ट्रल जेलबाट निकाली विष्णुमतीको किनारमा लगेर २२ बर्से गङ्गालालको छातीमा गोली हानेर क्रूरतापूर्वक हत्या गरे । उनले नेपालको प्रथम विद्यार्थी सहिदमा नाम लेखाए ।
साहसी विद्यार्थी गंगालाल राणाहरूका अगाडि झुक्नुभन्दा गोली खाएर जीवन बलिदान गर्न तयार भए । त्रिचन्द्रमा अध्ययनरत युवा विद्यार्थी गङ्गालालको यो साहसिक बलिदानले नेपालीलाई विद्रोहमा उत्रिन प्रेरणा दियो ।
१९९० को आरम्भमै शुक्रराज शास्त्री नागरिक अधिकार समितिका अध्यक्ष बनिसकेका थिए । उनीलगायत प्रजापरिषद्का दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठलाई सर्वस्वहरणसहित फाँसीको सजाय दिइएको थियो । कलिलै उमेर भएकाले गङ्गालाललाई माफी मागे आजन्म काराबास हुने सजाय सुनाइएको थियो तर उनले कसैले बकस दिएको जीवन बाँच्नुभन्दा सङ्घर्षमा नझुकी मर्नु नै उचित ठान्दै फाँसीको सजाय रोजे । राणाशासकहरूले प्रजापरिषद्का अन्य सदस्यहरूमध्ये टङ्कप्रसाद आचार्यलाई मुडीदामल गरी सर्वस्वसहित जन्मकैद, चन्द्रमान सैँजू, गोविन्दप्रसाद उपाध्याय, बनबहादुर पाण्डे, गणेशमान सिंह र हरिकृष्ण श्रेष्ठलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएका थिए । प्रजापरिषद्का अरू सदस्यले पनि कठोर सजाय पाएका थिए ।
सजायस्वरूप १९९७ साल माघ ९ गते टङ्कप्रसाद आचार्य र रामहरि शर्मालाई चारपाटा मुडेर सुँगुरको पाठा बोकाई टुँडिखेलमा घुमाइएको थियो । शुक्रराज शास्त्रीलाई १९९७ साल माघ ११ गते पचली त्रिपुरेश्वरमा झुन्ड्याई मारिएको थियो भने धर्मभक्त माथेमालाई माघ १३ गते राति सिफलमा झुन्ड्याएर मारिएको थियो । गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १४ गते राति सामाखुसी र विष्णुमतीको दोभानमा गोली हानी मारिएको थियो ।
विसं १९९० मा शुक्रराज शास्त्रीको नेतृत्वमा केदारमान व्यथित, गङ्गालाल श्रेष्ठ, मुरलीधर शर्मा, आनन्दरामलगायत एक्काईसजना व्यक्ति मिली नेपाल नागरिक अधिकार समिति स्थापना गरेका थिए । शुक्रराज शास्त्रीले भारतीय स्वतन्त्रता सङ्ग्रामका नेता महात्मा गान्धी र सुवासचन्द्र बोससँग भेटघाट गरेका थिए । यसैकारण राणा सरकारले उनलाई नजरबन्दमा राखेको थियो । नागरिक अधिकार समितिले १९९५ साल मङ्सिर महिनामा इन्द्रचोकमा राखेको सभामा शुक्रराज शास्त्रीले नजरबन्द तोडेर भाषण गरे । त्यस सभामा गङ्गालाल श्रेष्ठले पनि जनताले अधिकारका निम्ति लड्नुपर्ने कुरा बोलेका थिए । सभामा देशको राजनीतिक, आर्थिक एवम् सामाजिक अवस्थाको विश्लेषण गर्दै राणाशासनको विरोध गरिएको थियो । यसै कारणले शुक्रराज शास्त्रीलाई तीनबर्से काराबासको सजाय भएको थियो । उक्त सभामा पुराण भनेबापत पण्डित मुरलीधर उपाध्यायलाईसमेत जेल चलान गरिएको थियो ।

हसिनादेवीको शालीन आक्रोश

       गङ्गालालको बलिदानको ६८ वर्षपछि गङ्गालालकी जीवनसँगिनी हसिनादेवीले भनेकी थिइन् ः इतिहास र इतिहास निर्माताहरूको आत्मिक सम्मान हुन नसक्दा देशले दुर्गति बेहोर्नु परिरहेको वास्तविकता हाम्रासामु छ । बलिदानपूर्ण विगतलाई बिर्सेर अगाडि बढ्न खोज्ने शासकीय प्रवृत्तिले गर्दा नै मुलुकले नयाँ निकास पाउन नसकेको हो । मैले मेरो जीवनलाई एक्लो अनुभूति गर्नु परे पनि देशले मुहार फेर्ने आशा गरेकी थिएँ । ६७ वर्ष बितिसक्दा पनि गङ्गालाल र उहाँहरूजस्ता हजारौँ योद्धाहरूले परिवर्तनका लागि बगाउनुभएको रगतले सम्मान पाएको अनुभूति गर्न नपाउँदा पीडा भएको छ । आशा छ, आगामी आन्दोलनहरूले अपूर्ण प्रक्रियालाई पूर्ण गराउनेछन् र गौरवपूर्ण विगतको सम्मान हुनेछ । सहिदका तस्बिरमा अबिरमाला गरेर मात्र सहिदको सम्मान हुँदैन । उनीहरूको महान् विचारको सम्मान गर्न सके मात्र उनीहरूको रातो रगतले बनाएको इतिहासको वास्तविक सम्मान हुनेछ । यसका लागि अपूर्णतामा लगेर टुंग्याइएका आन्दोलनहरूलाई पूर्णतामा पु¥याउन आवश्यक छ । गौरवपूर्ण परम्परालाई कायम गर्दै यस्तो आन्दोलनको उठान विद्यार्थीहरूले गर्नेछन् विश्वास छ ।
(हसिनादेवी, आन्दोलनको मार्गदर्शन, लेखक : शिवकुमार डाँगी, सङ्घर्षका साठी वर्ष : नेपाली विद्यार्थी आन्दोलनको गौरवशाली इतिहास, सम्पादन : अशोक सुवेदी र अरूहरू, प्रकाशक : सरस्वती पोखरेल, २०६४)
              राणाशासनको अन्याय, अत्याचार र दमनको सर्वत्र विरोध भइरहेको समयमा निरङ्कुश राणाशासनको अन्त्य गरी सम्पूर्ण अधिकार जनतामा हस्तान्तरण गर्न राजनीतिक पार्टीको आवश्यकता महसुस गरिएको थियो । समाज सुधारका प्रयत्नहरूभन्दा अगाडि बढेर क्रान्तिको शङ्खघोष गर्ने राजनीतिक पार्टीका निम्ति सचेत युवा तथा विद्यार्थी समुदायले त्यतिबेला जोडदार ढङ्गले पहल गरेका थिए । त्यतिखेरका युवाहरू राणाविरोधी भावनाले ओतप्रोत भएका थिए । राणाहरूको अमानवीयता र अत्याचारका कारण व्यापक असन्तुष्टि र विरोध हुन थालेको थियो । विद्यार्थी आन्दोलनले सङ्गठित आन्दोलनका रूपमा नेपाल प्रजापरिषद्को स्थापनादेखि प्रारम्भ भएको देखिन्छ । १९९३ साल जेठ २२ गते धर्मभक्त माथेमाकी फुपूको झोछेँ ओमबहालस्थित घरमा टङ्कप्रसाद आचार्य, दशरथ चन्द, धर्मभक्त माथेमा, रामहरि शर्मा, र जीवराज शर्मा भेला भएर नेपाल प्रजापरिषद् नामक राजनीतिक पार्टी स्थापना गरे । गङ्गालाल यही पार्टीको सदस्य भएका थिए । राणाशासनको अन्त्य गर्नु, प्रजातन्त्र र जनअधिकारको बहाल गर्नु उक्त पार्टीको प्रतिज्ञापत्रमा उल्लेख गरिएको छ ।
प्रजापरिषद्लाई तत्कालीन राजा त्रिभुवनबाट पनि सहयोग भएको कुरा उल्लेख भएको पाइन्छ तर प्रजापरिषद्का कार्यकर्ताहरूलाई फाँसी दिँदा राजा त्रिभुवनले कुनै प्रतिक्रिया देखाउनुको सट्टा उल्टै पञ्जापत्र नै गरेका थिए । त्यो एउटा प्रतिक्रियावादी अवसरवाद रहेको इतिहासकारहरूले उल्लेख गरेका छन् ।
प्रजापरिषद्को कार्यक्रम हस्तलिखित पर्चाबाटै सुरु भएको थियो । ९ असार १९९७ सालमा नेपाल प्रजापरिषद्का प्रेसिडेन्टका नामबाट जनताका बीचमा छरिएको उक्त पर्चामा लेखिएको थियो :
            राणा वर्ग हो ! तिमीहरूलाई थाहा होला कि नेपाल प्रजापरिषद् भन्ने संस्था नेपाली प्रजालाई तिमीहरूको क्रूर पञ्जाबाट आजाद या स्वतन्त्र गराई शुद्ध ज्ञानको शिक्षा दिई आफ्नो जातिको मान, सम्मान, धन र धर्मको उपार्जन र उन्नतिद्वारा संसारका सभ्य जातिहरूमध्ये एक गराई आफ्नो देशको गौरव हजारौँ वर्षसम्म दिशा–दिशामा गुञ्जने गराउने उद्देश्य लिई यो नेपाल प्रजापरिषद् खुलेको हो ।
राणा हो ! तिमीहरूलाई मौकाले ठूलो सत्कर्म गर्ने सौभाग्य दिएको थियो तर तिमीहरूलाई स्वार्थले गुलाम बनायो । प्रजाको उन्नति गराउने सट्टामा प्रजाको रगत चुसी आफ्ना छोरा, नाति धनी गराउने कोसिस ग¥यौ । यहाँभन्दा ठूलो कुकर्म अरु के होला ? आफैँ विचार गर । तिमीहरूलाई स्वार्थले कस्तो अन्धो बनाएको रहेछ ? यस्तो घोर कुकर्मले पनि तिम्रो कलेजोलाई जलाउन सकेन । जुन प्रजाहरूले आफ्नो मान, सम्मान, स्वतन्त्रताको रक्षाको भारत धर्म र जातीय उन्नति तिम्रो हातमा सुम्पेका छन्, तिनकै धन अपहरण गरी तिनैलाई गुलाम (कमारो) गराई तिनको अवनतिलाई आफ्नो उन्नति सम्झी तिनको मानसम्मानलाई लातले ठोकेर दिई तिमीहरूले कस्तो घोर कुकर्म गरिरहेका छौ । तिमीहरूको अरु केही ध्येय छैन । येनकेन प्रजालाई अन्धा बनाई तिनको पैसा लुट्नु, तिनका जहानबच्चा एक–एक अन्न अन्नका लागि प्राण दिऊन् । त्यसले उनको रगत र पसिनाले आफ्नो नीच भोग लिप्सा तृप्ति गर्नु ।
राणा हो ! यो आश्चर्यको कुरा हो कि तिमीहरू पशुपति गुह्येश्वरी गई देवतालाई मानिटोपल्दैछौ । होइन, होइन, कदापि होइन । यो तिमीहरूले प्रजाको आँखामा छारो हालेको हो । देवतालाई मान्नेले ईश्वरको डर लिन्छ । खोइ तिमीहरूलाई ईश्वरको डर ? तिमीहरूको क्रूर पञ्जामा परेका प्राणीहरू घोर दरिद्रताको मारले त्राहीत्राही भइरहेका छन् । तैपनि तिम्रो क्रूर पञ्जाले तिनको मुटुबाट रगत नीचोर्न छोडेको छैन । राणा हो ! हाल पनि तिमीहरूले स्वेच्छाचारिताको पूरा नक्सा देखायौ । अङ्ग्रेजको मदतलाई फौज पठायौ । लडाइँमा मद्दत दिनेजस्तो कुरामा तिमीहरूले कोसँग सोध्यौ ? युरोपको लडाइँमा हामीलाई फस्न के नाफा थियो ? १९१४ सालको लडाइँमा अङ्ग्रेजलाई मद्दत दिएर लड्न गएका सिपाहीमा प्रजालाई के नाफा भो ? नाफा तिमीहरूलाई भयो । वर्षको दस लाख बैंकमा जम्मा गर्न पायौ । हाल जर्मनीले पेरिस दखल गरिसक्यो । जर्मनीको जित भएमा आफू त गयौ गयौ । आफ्नो स्वार्थका लागि नेपाली जातिलाई पनि गुलाम और खोक्रो बनायौ र गयौ ।
होइन–होइन, त्यस बखतमा पनि अडौँला र प्रजाको रगत चुसौँला भन्ने तिमीहरूको आशा होला । दुष्ट हो ! तिमीहरूको दुष्टताको वर्णन ब्रह्माको चार मुखले गर्न सक्तैन ।
राणा हो ! यो नठान कि पापको पोल खुल्दैन र तिमीहरूले क्रूरताको फल पाउनेछैनौ । यो ईश्वरको कानुन हो । तिमीहरूले जुन भयंकरतामा क्रूर कर्म गरेका छौ, उही भयंकरतामा, त्यसको फल पाउनेछौ । प्रजाको आँखा मात्र खुलोस्, तिमीहरूका तरबारको बदजस्तो मुखले फुकेको बतासले आकाशको बादललाई हटाउने कोसिस गरी केही काम लाग्दैन, तिम्रो पनि त्यस्तै गरी विफल हुनेछ । झ पनि दश दान गर्ने समय छ, आशा छ मौका चुक्नेछैन ।
शिवकुमार डाँगी, सङ्घर्षका साठी वर्ष, पृ. १६७–१६८, ऐ ।

                इतिहासमा उल्लेख भएअनुसार प्रजापरिषद्ले अन्तर्राष्ट्रिय क्षेत्र र विशेषगरी भारतसँग पनि सम्पर्क गरेको थियो । बोल्सेभिक क्रान्ति तथा साम्यवादी विचारधाराबाट प्रभावित दशरथ चन्दले भारतसँग सम्पर्क गरेका थिए । उनका लेखहरू भरतबाट प्रकाशित हुने पत्रपत्रिकामा सेवक सिंहको नामबाट प्रकाशित भएका थिए । पछि हातहतियारका लागि सम्पर्क गर्न टङ्कप्रसाद आचार्य आफैँ भारत गए । १९९७ साल असार ९ गते प्रजापरिषद्ले उक्त पर्चा छर्ने काम ग¥यो । काठमाडौँ उपत्यकाको कुनाकुनामा चारैतिर राणाविरोधी सङ्घर्षको आह्वान गर्दै छरिएको पर्चाहरू देखेर राणाहरू अत्तालिन पुगे । त्यसपछि १९९७ साल असार ३० गते पनि सो पार्टीले राणाशाहीलाई चेतावनी दिँदै अर्को पर्चा छर्ने काम ग¥यो । यसका साथसाथै प्रजापरिषद्ले राणाविरोधी सङ्घर्षका निम्ति जनतालाई सङ्गठित गर्ने प्रयास पनि ग¥यो । यी सबै कुराहरू राणाहरूले हेरिरहेका थिए । राणाहरू प्रजापरिषद्का कार्यकर्ताहरूलाई एकएक गरेर व्यापक रूपमा खोजतलाससमेत गर्न थाले । विरोधीहरूलाई सखाप पार्न उनीहरू ज्यान छोडेर खोजीमा निस्किए । १९९७ साल साउन ११ गते इस्तिहार जारी गरेर प्रजापरिषद्का कुनै पनि सदस्यलाई सुराक दिने वा गिरफ्तार गराउने व्यक्तिलाई पाँच हजार इनाम दिने घोषणा ग¥यो । यसै समयमा गङ्गालाल श्रेष्ठ, गणेशमान सिंह हरिकृष्ण र रामहरि शर्मा पनि यस पार्टीका सदस्य बनिसकेका थिए ।
डाँगीको पुस्तकमा लेखिएको छ, ‘प्रजापरिषद् पनि राणाशाहीको अन्त्य गर्ने शपथ खाएर लडाइँको मैदानमा उत्रिएको राजनीतिक पार्टी थियो । यस कुराको घोषणा भएको ६ दिनपछि उक्त इस्तिहारलाई चुनौती दिँदै अर्को पर्चा छर्ने काम भयो । यसबाट जनतामा राणाशासनविरुद्ध बोल्ने र अभिव्यक्ति प्रकट गर्नेखालको वातावरण त बन्यो तर राणाहरू भने त्यसबाट अत्यन्त आक्रोशित बने । उनीहरूले जथाभाबी धरपकड गर्ने र जेलसजाय दिन थाले । दुर्भाग्यवश प्रजापरिषद्का तीनजना सदस्यहरूले राणाहरूलाई सुराक दिएकाले १९९७ साल कात्तिक २ गते दुईजना सदस्यबाहेक प्रजापरिषद्का सम्पूर्ण सदस्यहरू गिरफ्तार भए । उनीहरू सबैलाई जेल, सिक्री र हथकडी लगाएर सिंहदरबारमा दाखिल गराई अत्यन्त निर्ममतापूर्वक यातना दिइयो । शंकरशमशेरको अध्यक्षतामा राणाहरूले एक विशेष अदालत गठन गरी कठोर दण्डसजाय दिए ।

पिताका नाममा गङ्गालालको चिठी
बा !
तपाईंको आज्ञापालन गरेर शान्तिसित बसौँला भन्ने लागेको थियो । सक्तै सकिनँ । म सक्तिनँ । आज रातभर निद्रा परेन । बिर्से पनि हुने पाठ म घोकिरहेछु । सम्झिनुपर्ने पाठचाहिँ मैले बिर्सनै आँटेछु । आफ्नो पेटको अग्निलाई आफ्नै रगतले निभाइरहेका भोका अगणित भाइहरूको पहेला सुखसित डराएर आँखा चिम्लिन आँटेछु । तिनका पेटको गहिरो स्वरले मागेको सुन्न नसकी कान थुनेर भाग्न पो आँटेछु । आन्तस्करणबाट आगो रुमलिएर आयो । के के असह्य भयो । अब म सहन असमर्थ छु जताततै कोलाहलको ज्वाला देख्छु । आफैँ सल्कन लागेको छ ।मलाई त्यो निभाएर मर्न दिनोस् ।
तपाईं मेरो पिता हुनुहुन्छ तर हामी सबैजनाको जन्मभूमि माताप्रतिको हाम्रो कर्तव्यमा तपाईंको आज्ञाले म पछि हट्न सक्तिनँ । म तपाईंको आज्ञाले चूपचाप राष्ट्रको पाप बोक्न सक्तिनँ । अब मेरो माया मारिदिनोस् । मेरो अरु भाइहरू छँदैछन् । एउटा छोरालाई नेपाल आमाका निम्ति बलिदान दिनुहोला भन्ने देशभक्त पुत्र गङ्गालालको निवेदन छ । अत्याचार र अन्यायका विरुद्ध लड्दै म देशलाई छातीको ढाल थापेर बचाउँछु ।
बालक पुत्र गङ्गालालको दण्डवत् सेवा ।… अब मेरो माया मारिदिनोस् । मेरो अरु भाइहरू छँदैछन् । एउटा छोरालाई नेपाल आमाका निम्ति बलिदान दिनुहोला भन्ने देशभक्त पुत्र गङ्गालालको निवेदन छ । अत्याचार र अन्यायका विरुद्ध लड्दै म देशलाई छातीको ढाल थापेर बचाउँछु ।
बालक पुत्र गङ्गालालको दण्डवत् सेवा !
यो चठी १९९७ सालमा गङ्गालाल पक्राउ भएपछि उनको घरमा खानतलासी भएर सिंहदरबारमा थुपारेको कागजबाट बालकृष्ण समले पाउनुभएको हो । गङ्गालालले ‘अबदेखि राजनीतिमा काम गर्दिनँ, सिधा सोझो भएर पढेर कुनै रोजगार गर्छु’ भनेपछि केही साता अघि मात्र जागिरे भएर पहाडी क्षेत्रमा गइरहेका आफ्ना पितालाई अब मैले सहन सकिनँ भनेर उनले चिठी लेखेका थिए ।
‘सिद्धिचरणका जेल संस्मरण’ पुस्तकबाट
        वर्तमान केपी वली सरकार क्रूर र निरङ्कुश बन्दै गएको सन्दर्भमा नेपाली जनता विद्रोह र क्रान्तिको बाटोमा लामबद्ध छन् । महान् सहिदहरुको त्याग, शौर्य र बलिदान जनताका लागि उत्प्रेरणाको स्रोत बनिरहेको छ ।

२०७५ माघ ९ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :