नयाँ अभियानमा नेपाल कम्युनिस्ट पार्टी, देशव्यापी सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ सुरु

  

काठमाडौँ  : अघिल्लोपटक तोकिएको तीनमहिने सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान अपेक्षाअनुरूप सफल भएको निष्कर्ष निकाल्दै नेपाल कम्युनिस्ट पार्टीले माघ १ गतेदेखि देशव्यापी दोस्रो नयाँ अभियान उद्घाटन गरेको छ । सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ नाम दिइएको उक्त अभियान माघ १ गते देशभरि एकैसाथ उद्घाटन गरिएको नेकपाले जनाएको छ ।

यसैबीच नेकपाको मध्यकेन्द्रीय कमान्डको अभियानको उद्घाटन तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । योभन्दा पहिले सञ्चालन गरिएको अभियानको समीक्षा गर्दै स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले आफ्नो पार्टीलाई पनि साम्राज्यवादी र विस्तारवादीहरूले फुटाउनका लागि अनेकौँ प्रयत्न गरिरहेको भन्दै आफ्नो पार्टीले सञ्चालन गरेको अभियानले गैरकम्युनिस्टहरूले जनतामा छरेको भ्रम चिर्ने काम पनि गर्ने बताए । अन्य विभिन्न राजनीतिक, देशभक्त शक्तिहरूले पनि आफ्नो पार्टीप्रति आशा गरेको उनले बताए ।

उनले आफ्नो पार्टीका महासचिवले लेखेको पुस्तक ‘महापतन’ ले जनता, कार्यकर्तालाई प्रशिक्षण गरेको र पार्टी कार्यदिशाको व्याख्या त्यहाँ भएकाले त्यसतर्फ मानिसहरूको आकर्षण बढेको बताए । आर्थिक रूपमा पनि आफ्नो पार्टी व्यवस्थित रूपमा देखापर्दै गएको बताउँदै उनले आफ्नो पार्टीले आर्थिक उत्पादनका लागि पनि विभिन्न प्रयास गरेको प्रस्ट पारे । यसलाई व्यापक रूपले बढाएर लैजाने नेता सुदर्शनले बताए । आर्थिक स्तर राम्रो भएकाहरू पनि पार्टीमा निर्भर रहन खोज्नु गैरकम्युनिस्ट चरित्र हो भन्ने सैद्धान्तिक मान्यताको व्याख्या गर्दै उनले साम्राज्यवादी र विस्तारवादीहरूले आफ्नो पार्टी फुटाउन अनेकौँ षड्यन्त्र गरिरहेको बताए ।

नेपालमा कम्युनिस्टको दोसल्ला ओढेका नामधारी कम्युनिस्टहरू नै क्रान्तिकारीहरूका विरुद्ध लागिरहेकाले उनीहरू गैरकम्युनिस्ट मात्र नभएर धार्मिक दलाल पनि भएको नेता सुदर्शनको भनाइ छ । सरकार काण्डैकाण्डमा फसेर जनताको आँखामा अलोकप्रिय भैसकेको अवस्थामा आफ्नो पार्टी सशक्त क्रान्तिकारी विकल्पका रूपमा उभिएको स्पष्ट पारे । पार्टीलाई अराजकतातिर जानबाट जोगाउन एकीकृत जनक्रान्तिका बारेमा एकरूपतामा बुझाउन सुदर्शनले अभियानमा सहभागी हुन आफ्ना पार्टीपङ्क्तिलाई निर्देशन गरेका छन् ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वी ताम्सालिङ ब्युरो इन्चार्ज विजयले आफ्नो पार्टीको अभियानले क्रान्तिकारी जनता–कार्यकर्ताको मनमस्तिष्कमा नयाँ ऊर्जा थप्नुका साथै क्रान्तिको काममा पनि नयाँ ऊर्जा थप्ने विश्वासका साथ क्रान्तिको कार्यलाई प्रमुख मानेर अघि बढ्ने विश्वास व्यक्त गरे ।

यस्तै नेकपाका अर्का केन्द्रीय सदस्य उत्तमले आफ्नो पार्टीले अघि बढाएको एकीकृत जनक्रान्तिको कार्यदिशालाई अघि बढाउन सञ्चालन गरिएको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान सफलतापूर्वक अघि बढ्ने विश्वास व्यक्त गरे ।

उक्त अभियानको उद्घाटन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्यकेन्द्रीय कमान्ड इन्चार्ज सुदर्शनले खादा र अबिर लगाएर स्वागत गरेका छन् । साथै उनले हालै हिरासतमुक्त भएर आउने नेकपा निकट अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासङ्घअन्तर्गत खानी तथा हाइड्रो महासङ्घका अध्यक्ष लोकेन्द्र थापा, उपाध्यक्ष विकास थापा र महासचिव केशर बुढाथोकीलाई पनि अभिनन्दन गरेका छन् ।

अभियान उद्घाटनका अवसरमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् गण्डक ब्युरो इन्चार्ज आस्था, अर्का केन्द्रीय सदस्य एवम् सेती ब्युरो इन्चार्ज राप्ती, केन्द्रीय सदस्यहरू रवि, उत्तम, सन्ध्या, मामा, ताम्सालिङ स्वायत्त जनपरिषद् प्रमुख माणिक लामालगायत उपस्थित थिए । नेकपाका केन्द्रीय सदस्य विजयले सञ्चालन गरेको कार्यक्रममा अर्का केन्द्रीय सदस्य उत्तमले स्वागत अभियानमा सहभागीहरूलाई स्वागत गरेका थिए । कार्यक्रमको अध्यक्षता मध्यकेन्द्रीय कमान्ड इन्चार्ज सुदर्शनले गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीले ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २’ सञ्चालन गर्नुको उद्देश्य आमजनतालाई नेपाल कम्युनिस्ट पार्टीवरिपरि गोलबन्द गर्ने, दलाल पुँजीवादी सत्ताविरुद्ध भण्डाफोर गर्दै व्यापक जनसङ्घर्षको आधार तयार गर्ने, जनसत्तालाई विस्तार गर्ने र अर्थतन्त्रलाई व्यवस्थित गर्नु रहेको बताएको छ ।

उक्त पार्टीको हालै सम्पन्न स्थायी समितिको बैठकअनुसार अभियानको अवधिमा पर्ने महान् जनयुद्ध दिवस विभिन्न खालका कार्यक्रमहरूसहित भव्य रूपमा सम्पन्न गर्ने, सहिद सप्ताहअन्तर्गत पर्ने विभिन्न खालका कार्यक्रमहरू भव्य रूपले मनाउनुका साथै विभिन्न खालका रचनात्मक कार्यहरू गरिनेछ । आफ्नो पार्टीप्रति श्रमिक वर्ग, देशभक्त, वामपन्थी शक्तिको आशा–भरोसा बढ्दै गएका कारण सत्तासीन नक्कली कम्युनिस्टहरूले घेराबन्दी र षड्यन्त्रहरू गरिरहेको निष्कर्षसहित आफ्नो राजनीतिक आयतन विस्तारका लागि उक्त राजनीतिक अभियान सञ्चालन गरिएको उक्त पार्टीका नेताहरूको भनाइ छ ।

२०७५ माघ १ गते मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :