आजको आवश्यकता क्रान्तिकारी बीचको एकता


गताङ्कबाट क्रमशः
यी सबै कुरा बुझ्नका लागि अब चौथो महाधिवेशनदेखिको नेपाल कम्युनिस्ट पार्टीको इतिहास सूक्ष्म तरिकाले अध्ययन गर्न आवश्यक छ । यो सानो लेखमा सम्पूर्ण इतिहासको विश्लेषण र संश्लेषण गर्न सम्भव छैन ।

नेपाल कम्युनिस्ट पार्टीको चौथो महाधिवेशन २०३१ सालमा भएको थियो । यसको सकारात्मक पक्ष भनेको ख्रुस्चोभी संशोधनवादको विरोध, भनेको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीको क्रान्तिकारी लाइनको समर्थन, बलपूर्वक सत्ता कब्जा गर्ने सिद्धान्तलाई स्वीकार आदि थिए । चौथो महाधिवेशनमा माओको विचारधारालाई अँगालेर वर्गसङ्घर्षलाई प्राथमिकतामा राखी चिनियाँ महान् सर्वहारा सांस्कतिक क्रान्तिको सिद्धान्तलाई अँगाले पनि सर्वहारावर्गले सामन्तवादी सत्ता खोस्न स्वतस्फूर्त रूपमा क्रान्ति गर्छ भन्ने भँडुवा विकासवादी सिद्धान्त अँगाल्यो । मुखले दीर्घकालीन जनयुद्धको लाइन अँगाले पनि व्यवहारमा त्यसको प्रयोग भएन । राजनीतिक हिसाबले दक्षिणपन्थी र कार्यनीतिक हिसाबले वामपन्थी देशभक्त तथा जनतान्त्रिक शक्तिको सरकारको नारामा धेरै वर्ष अल्मलियो । नयाँ जनवादलाई अधिकतम कार्यक्रम र त्यसभन्दा मुनि कार्यनीतिक रूपमा देशभक्त तथा जनतान्त्रिक शक्तिको सरकारको नारा थियो । देशभक्त तथा जनतान्त्रिक शक्तिको सरकारको स्थापना सशस्त्र सङ्घर्षबाट मात्र प्राप्त गर्न सकिन्छ भन्ने थियो । यति लामो कालसम्म झापालीले बाहेक सशस्त्र युद्ध शब्द अन्य पार्टीले प्रयोग गरेकै थिएनन् । यस महाधिवेशनले सशस्त्र शब्दसम्म प्रयोग ग¥यो । पार्टीभित्र दुई लाइन सङ्घर्ष मुख्य गरेर लामा र अन्यबीच थियो । लामा पनि सामन्तवाद र साम्राज्यवाद–विस्तारवादको भयङ्कर विरोधी नै थिए । लामा जनयुद्धका विरोधी थिए । अन्य पनि मुखले मात्र जनयुद्ध भन्थे । व्यवहारमा कोही पनि जनयुद्धका पक्षमा थिएनन् । लामाको लाइन सशस्त्र विद्रोहको थियो । उनको सिद्धान्त जनआन्दोलनको विकास गर्दै जाँदा जनता राजनीतिक चेतनाले परिपूर्ण भएपछि आफँै हतियार उठाउन उद्यत हुन्छन् र त्यस्ता जनताको नेतृत्व कम्युनिस्ट पार्टीले गरेर क्रान्ति सम्पन्न गर्नुपर्छ भन्ने थियो । उनी अल्पमतमा थिए । नेपालको विशिष्टताअनुसार ग्रामीण वर्गसङ्घर्ष, दीर्घकालीन जनयुद्ध, माओका तीन जादुगरी हतियार ः सशक्त क्रान्तिकारी चेतनायुक्त कम्युनिस्ट पार्टी, त्यस पार्टीको नेतृत्वमा संयुक्त मोर्चा, त्यसका मातहतमा जनसेना आदिको प्रश्न बिल्कुल उठाइएको थिएन । झिनो रूपमा सशस्त्र विद्रोहको नारालाई उठाइएको थियो । सारमा समग्र पार्टीको लाइन र लामाको लाइनमा खासै अन्तर थिएन ।

राष्ट्रियता र जनतन्त्रलाई समान प्रधान मान्नु, राजा, काङ्ग्रेस र भारतीय विस्तारवादलाई समान दुस्मन किटान गर्नु, यसका कार्यनीति थिए । पुराना पुस्ताबाहेक चौथो महाधिवेशनले मोहन वैद्य, भक्तबहादुर, ऋषि देवकोटा आजाद, चित्रबहादुर आदिलाई केन्द्रीय समितिमा चयन गरेको थियो । ऋषि देवकोटाबाहेक अन्य नेतृत्वको यी कार्यक्रममा कसैको विमति रहेन । नीति र कार्यक्रममा विमति राख्ने ऋषि देवकोटा पार्टीको कारबाहीमा परेका थिए । देशभक्त तथा जनतान्त्रिक शक्तिको सरकारको विरोध झापालीहरूले चर्काे रूपमा गरे । संस्थागत रूपमा दाङ जिल्ला समितिले पनि विरोध ग¥यो । देशभर तल्लो स्तरका कार्यकर्ताले चर्काे विरोध गरेपछि स्वयम् मोहनविक्रमले ०३८ सालमा यो प्रस्ताव फिर्ता लिएर न्यूनतम् कार्यक्रम जनवाद, अधिकतम कार्यक्रम समाजवाद–साम्यवाद बनाउनुपर्छ, भनेर सुधारको प्रस्ताव ल्याएका थिए । पछि पाँचौँ महाधिवेशनमा बल्ल यसलाई सुधार गरियो । पाँचौँ महाधिवेशन पनि महाधिवेशनमा पनि सेटबद्ध रूपमा माओवादको अवधारणाको नीति कार्यक्रम आएन । पाँचाँै महाधिवेशनले पनि सशस्त्र विद्रोहको लाइन नै पारित ग¥यो । पाँचौँ महाधिवेशनअघि नै लामा ‘अगला’ भैसकेकाले दुई लाइन सङ्घर्ष व्यक्तिगत टीकाटिप्पणीका रूपमा बढी मोहनविक्रमसँग केन्द्रित रह्यो । मोहनविक्रम सिंह महाधिवेशनबाटै कारबाहीमा परे । मोहनविक्रमको पक्ष अल्पमतमा प¥यो । बहुमतको नेतृत्व गर्दै महासचिव बन्न मोहन वैद्य सफल भए ।

यसभन्दा पहिला मालेले २०३५ साल पुस ११–१७ गतेसम्म राष्ट्रिय सम्मेलन गरेर युद्धको स्वरूप दीर्घकालीन हुने, शान्तिपूर्ण सङ्क्रमणको संसदीय बाटो होइन, इलाकाका आधारमा सत्ता कब्जा गर्ने, सशस्त्र सङ्घर्षको बाटो लिएर मात्र नेपाली क्रान्ति सम्पन्न गर्न सकिन्छ । यो बाटो किसानलाई जागृत सङ्गठित गर्दै गुरिल्ला युद्ध चलाउने, जनसेना निर्माण गर्ने, गाउँमा आधारइलाकाहरू बनाउने, गाउँले सहरलाई घेर्ने र तिनलाई कब्जा गर्दै राष्ट्रव्यापी विजय प्राप्त गर्ने सशस्त्र सङ्घर्षको बाटो लिएर मात्र नेपाली क्रान्ति सम्पन्न गर्न सकिन्छ । नेपाली क्रान्तिको पहिचान गर्दै नौलो जनवाद, समाजवाद र साम्यवाद गरी क्रान्तिको चरण पनि विभाजन गरेको थियो । त्यसले साम्राज्यवाद, विस्तारवाद, सामन्तवाद र नोकरशाही दलाल पुँजीजीवीसँग आमनेपाली जनताको आधारभूत अन्तरविरोध किटान गरेको थियो । त्यसपछि माले आफ्नो नीति–कार्यक्रमअनुसार अघि बढेन तापनि यी नीति–कार्यक्रम सही नै थिए । यिनै नीति–कार्यक्रमअनुसार पार्टीलाई अघि बढाएको भए मोहन वैद्य (किरण) लाई इतिहासले मौका दिएको थियो ।

पाँचौँ महाधिवेशन भएको एक वर्षमै मोहनविक्रमले पार्टी फुटाएर गए । पार्टी अब लगभग एकमनाजस्तो भएको थियो । पार्टी केन्द्रीय समितिमा प्रायः सबै युवाहरू थिए । युवाहरूमा क्रान्तिकारी रोमाञ्च हुनु स्वाभाविक नै थियो । देव गुरुङ, दिनेश शर्मालगायत युवाहरूले पार्टीको नीति–कार्यक्रमबिना नै क्रान्तिकारी रोमाञ्चका रूपमा ०४२ साल चैत १९ गते राजधानीका कालीमाटी, त्रिपुरेश्वर, असन, लगनखेल, क्षेत्रपाटीलगायत प्रहरीका सेक्टरहरू तोड्ने काम गरे जसलाई सेक्टरकाण्ड भनिन्छ । हाम्रोजस्तो अंर्धसामन्ती र अर्धऔपनिवेशिक देशमा सीधै प्रतिक्रियावादीको केन्द्रमा आक्रमण गरेर सफलता प्राप्त गर्ने सम्भावना हुँदैनथ्यो । व्यवहारबाट ज्ञान, कार्यबाट बोध र कार्यबाट ज्ञानको अभिन्न सम्बन्ध भन्ने धारणासँग यो विरोधी थिएन । माओका अनुसार ज्ञान भनेको सङ्घर्षको माध्यमले निरन्तर अभ्यासद्वारा प्राप्त हुन्छ र ज्ञानलाई भौतिक शक्तिमा पनि फेर्न सकिन्छ । ज्ञान र व्यवहार परस्पर निर्भर हुने प्रस्थानबिन्दु हुन् । यसरी हेर्दा यो गन्ती नै भए पनि महागल्ती थिएन । यसबाट प्राप्त भएको ज्ञानलाई परिष्कृत गर्दै पार्टीलाई नेतृत्व दिँदै क्रान्ति सफल गर्ने हो । भनेजस्तो सीधा रेखामा सबै चल्दैन । द्वन्द्ववादले उतारचढाव ध्वंस निर्माण हँुदै विकास हुने कुरा बताउँछ । नेतृत्वले हजारौँ हार–जित बेहोर्दै र कैयौँ गल्तीकमजोरी सच्याउँदै नेतृत्व दिने हो । यस घटनापछि भएको केन्द्रीय समितिको बैठकमा यस विषयलाई तिलको पहाड बनाउने काम भयो । यस घटनामा संलग्न सबैलाई कारबाही भयो । यही घटनाले आतङ्कित भएर महाधिवेशनजस्तो पार्टीको उच्च निकायबाट चुनिएका महासचिव किरणले महासचिव पद प्रचण्डलाई दिने काम गरे । यो जिम्मेवारी प्रचण्डले ०४२ सालदेखि ०६२ सालसम्म राम्रैसँग बहन गरे भन्नुपर्छ । पार्टी सम्पर्कमा आएको जम्मा ५र ६ वर्ष र केन्द्रीय समितिमा आएको दुई वर्षमा किरणका कृपाले जुन अवसर प्रचण्डले प्राप्त गरे सायद यस्तो अवसर संसारका कुनै नेताले प्राप्त गरेका छैनन् होला !

प्रचण्डले एक समयसम्म गोलचक्करमा घुमिरहेको कम्युनिस्ट आन्दोलनलाई पूर्वमालेले निर्माण गरेको कार्यदिशामा अघि बढाए । विखण्डित कम्युनिस्ट आन्दोलनलाई पार्टी एकताद्वारा जोड्ने काम गरे । संसद्को क्रान्तिकारी उपयोग सफलतापूर्वक गरे । जनयुद्धमा अवरोध पु¥याउनेहरूलाई पार्टीबाट निष्कासन गर्न पनि हिचकिचाएनन् ।

पार्टीमा प्राधिकार मोहन वैद्य किरण हुन्, प्रचण्ड प्राविधिक नेता हुन् भन्ने सबै कार्यकर्ता र आममानिसमा थियो । पार्टीभित्र कहिलेकहीँ देखा पर्ने गौरवको असन्तोषले आकार नै लिनसकेको थिएन । यस समयसम्म यही पार्टी मात्र भारतको चङ्गुलमा परेको थिएन । सुगौली सन्धिपछि नेपाल कहिल्यै प्रत्यक्ष पराधीन नदेखिए पनि कहिले स्वतन्त्र पनि रहन सकेन । नेपाल सरकार, पार्टी, सामाजिक क्षेत्र, धार्मिक, आर्थिक, राजनीतिक आन्दोलन हरेक क्षेत्रमा भारतीय विस्तारवादको प्रत्यक्ष वा अप्रत्यक्ष घुसपैठ हुने गरेको छ । तत्कालीन एकताकेन्द्र मात्र अछुुतो रहन सक्ने भएन । भनिन्छ पढाइमा कहिल्यै दोस्रो नभएका डा.बाबुराम भट्टरार्ईलाई भारतले प्रयोग ग¥यो । यिनमा कम्युनिस्ट सिद्धान्तप्रति विश्वास नभएको कुरा पार्टीमा छँदा देखाएको गतिविधि र हाल यिनले माक्र्सवादप्रति देखाएको घृणाले पुष्टि गरेकै छ । यिनमा कम्युनिस्ट सिद्धान्तप्रति विश्वास थिएन तर पढेको कुरा बुझ्ने र व्यक्त गर्नसक्ने क्षमता थियो । यिनले बाहिरी रूपमा कम्युनिस्ट दर्शन, विचार, सिद्धान्त बोलेर वा लेखेर सबैलाई प्रभाव पार्ने क्षमता राख्थे । पार्टीभित्र सधैँै लोकतान्त्रिक गणतन्त्रका रूपमा रहने र पार्टीको निर्णय मानेर जाने गर्थे । जनयुद्धकालभर बाबुरामको लोकतान्त्रिक गणतन्त्र र पदप्रतिष्ठाको लडाइँबाहेक दुई लाइन सङ्घर्ष थिएन । किरणले प्रचण्डलाई देवत्व प्रदान गरेका थिए । अन्यको व्यक्तित्व असन्तुष्टिले आकारै लिँदैनथ्यो । पार्टीमा प्रचण्डको एकछत्रजस्तै थियो ।

जनयुद्धले अद्भुत रूपमा विकास गरेको थियो । जनयुद्ध सुरु भएको पाँच वर्षपछि ने.क.पा. माओवादीको दोस्रो राष्ट्रिय सम्मेलन भयो । यसले गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधानसभाको कार्यनीतिक लाइन पारित ग¥यो । ‘प्रचण्डपथ’ पारित गरेर प्रचण्डलाई प्राधिकार बनायो । यहीँबाट पार्टीले दक्षिणपन्थी वाटो समात्यो । दक्षिणपन्थी कोणबाट यसको विरोध डा. बाबुराम भट्टराईले गरे भने तत्कालीन नेतृत्वमा नभए पनि भू.पू. महासचिव भक्तबहादुर श्रेष्ठले क्रान्तिकारी दृष्टिकोणबाट यसको विरोध गरे । पार्टी, सेना र जनसरकारको समग्र नेतृत्व प्रचण्डमा केन्द्रित भयो । पछि उनले एक्काईसौँ शताब्दीको जनवादको प्रस्ताव पनि पारित गराए । नेतृत्वका लागि असन्तोष व्यक्त गर्ने बाबुरामलाई पनि कारबाही गरे । सैनिक कमान्डरहरूको समेत भर नभई र खारा आक्रमणमा आफँै नेतृत्व पनि गरे । किरण र गौरवहरू भारतीय जेलमा, डा.बाबुरामलगायत आफ्नै जेलमा, सैनिक कमान्डरहरूबीच मनोमालिन्य । साँच्चै क्रान्ति सङ्कटमा पुगेको थियो । प्रचण्डले सबै शक्ति आफूमा केन्द्रित गर्दै जाँदा एक किसिमले तानाशाहजस्ता बन्दै गए । पार्टीका नेता–कार्यकर्ताबाट एक्लिँदै गएका थिए । उनमा छटपटाहट सुरु भएको थियो । कहिले राजासँग वार्ता गर्ने भन्थे । कहिले सात दलसँग वार्ता गर्ने भन्थे । भएका वार्ताहरू असफल भएका थिए । पार्टीको यस्तो स्थिति एकातर्फ साथ थियो भने अर्काेतर्फ दसौँ हजार सहिद भैसकेका थिए । देशको गाउँले इलाका माओवादीको पकडमा थियो । हजारौँहजार जनसेना थिए । लाखौँ कार्यकर्ता थिए । जनसरकार थियो । जनकम्युनहरू थिए । माओवादी पार्टीले एक किसिमले विश्व कम्युनिस्ट आन्दोलनको नेतृत्व गरेको थियो । प्रचण्ड मध्मवर्गीय बुर्जुवा वर्गबाट आएका थिए । उनले अब क्रान्तिलाई सफलतामा पु¥याउन सकिँदैन भन्ने एकल निर्णय गरे । प्रचण्डपथको सामूहिक नेतृत्व भन्ने कुरा हावादारी साबित भयो । उनी ३६० डिग्री फनक्क घुमेर डा. बाबुरामलाई अँगालो हाल्न पुगे । चुनबाङ बैठक भयो । यस बैठकको मुख्य काम आन्तरिक रूपमा आपसको मेलमिलाप र बाह्य काम भनेको जनयुद्धको अवतरणका लागि भारतको शरणमा जानु भयो । दोस्रोे राष्ट्रिय समेलनले गोलमेच सम्मेलन, अन्तरिम सरकार संविधानसभालाई कार्यनीति बनाएको थियो । यस बैठकले गणतन्त्रसमेत थपेकाले राष्ट्रिय सम्मेलनभन्दा यो क्रान्तिकारी देखिन्थ्यो ।

भारतीय सरकारसँग सम्पर्क गर्न सजिलो थियो । भारतकै एजेन्टका रूपमा पार्टीभित्र काम गरिरहेका भनिने डा. बाबुराम भट्टराईले जनवादी गणतन्त्रका लागि अघि बढेको जनयुद्धलाई लोकतान्त्रिक गणतन्त्रमा परिणत गरी काम फत्ते गरेका थिए । उनकै माध्यमबाट भारतले सात दल र माओवादीबीच १२ बुँदे सम्झौताको पहल ग¥यो र गरायो पनि ।

१२ बुँदे सम्झौताका आधारमा दोस्रो जनआन्दोलन भयो । माओवादी र सात दलबीच शान्तिसम्झौता पनि भयो । जनसत्ता विघटित भए । जनसेना शिविरमा गए । यस समयसम्म पार्टीमा कुनै असन्तोेषसम्म देखिएन । विजय वा सम्झौतापछि विश्व कम्युनिस्ट आन्दोलनले भने किन पराजय भोग्नुपरेको हो भन्ने संश्लेषण गरेर माओवादी पार्टीले मुख्य नेतृत्व संसद् वा सरकारमा नजाने, दोस्रो तहका समूहलाई पठाई सहयोग र नियन्त्रण गर्ने भन्ने थियो । जनआन्दोलनद्वारा लोकतान्त्रिक गणतन्त्र आइहालेमा संसद्वादीहरू सोही गणतन्त्रलाई विकास गर्न लाग्नेछन् । हामी जनगणतन्त्रतर्फ जाने भन्ने पनि थियो । जब २०६४ सालमा संविधानसभाको चुनाव हुने भयो । क.किरणसमेत सबै संसद्मा जान तयार भए । भलै बरियताक्रमको किचलोका कारण क. किरणले एकदुई बैठकपछि संसद् छाडे । यहीँबाट पार्टी पूरै संसद्वादमा फस्यो । यसपछि केही क्रान्तिकारीहरूलाई छाडी जुन दुई लाइन सङ्घर्ष भनियो यो खान पाउने र नपाउनेबीचको किचलो थियो । बालाजु, खरीपाटी, पालुङटार आदि स्थानमा भएका भेला–सम्मेलनहरूमा मुख्य गरेर बाबुरामको लोकतान्त्रिक गणतन्त्रको विकासका पक्षमा र किरणको जनवादी गणतन्त्रका पक्षमा दुई भिन्न–भिन्न दस्ताबेजहरू पेस हुने र प्रचण्डले बीचको मेलमिलापको वातावरण बनाउनेमा नै रह्यो । मुखले किरणले जनवादी गणतन्त्रको वकालत गरे पनि दस्ताबेजका रूपमा जनताको राष्ट्रिय सङ्घीय गणतन्त्र उल्लेख गर्नुले उनले सीधै जनगणतन्त्रसम्म नभनेर गणतन्त्रलाई विभिन्न अलङ्कारले सिँगारे पनि सारमा लोक भनेको पनि जनता हो । जनता भने पनि जनता हो । सङ्घीय लोकतान्त्रिक, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र जनताको सङ्घीय राष्ट्रिय गणतन्त्रमा सारमा त्यति अन्तर देखिँदैन । प्रचण्डको संविधानसभाबाट जनताको संविधान नबने सशस्त्र जनविद्रोह भन्ने मधपन्थी धार नै सधैँ पार्टीको धार बन्यो ।

जब प्रचण्डको जनविद्रोह गर्ने भन्दै एकताकेन्द्र, मसालसँग पार्टी एकता गरी ३५ जनाको केन्द्रीय समितिलाई सयौँ सङ्ख्यामा पु¥याए । अब बहुमत अल्पमतले प्रचण्डलाई साइजमा ल्याउने सम्भावना पनि बाँकी रहेन । अहिलेसम्म पार्टी केन्द्रको बहुमत देखाउन प्रचण्डलाई सिद्धान्तको आवरणमा धम्क्याउँदै आएको शक्ति पानीबिनाको माछाजस्तै भयो ।

पार्टीमा पहिलादेखि भारतको एजेन्टका रूपमा हेरिएका, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पँुजीवादी कार्यनीति लिएका बाबुराम भट्टराई, जनयुद्धको विरोध गर्दै जनयुद्ध सुरु गर्दै पार्टीबाट निकालिएका, जनयुद्धकालभर पछि मसालसँग पार्टी एकता गरी जनयुद्धकालभर जनयुद्धको विरोधमा लागेका नारयणकाजी श्रेष्ठ आदिसँग प्रचण्डलाई साइजमा ल्याउने नाममा कुन सिद्धान्त नीतिले बालाजु डिनर बैठकदेखि धोबीघाट बैठक गरी डा. बाबुरामलाई प्रधानमन्त्री बनाउने निर्णय ग¥यो । त्यसको जबाफ क्रान्तिकारी भनिनेहरूले त के सामान्य व्यक्तिको राजनीतिक नैतिक आधारले पनि यस्तो गर्नु गलत थियो । जसका विरुद्ध सिद्धान्तको त्यत्रो बबन्डर गरिएको थियो । यसबाट बचेको इज्जत पनि माटोमा मिल्यो । जब प्रचण्डले बाबुरामलाई नै समर्थन गर्न पुगे त्यसपछि भएको के.स.को बैठकमा सर्वसम्मतिले बाबुराम प्रधानमन्त्री बनेका थिए । डा.बाबुराम प्रधानमन्त्री भएपछि प्रचण्डको सल्लाहले धोबीघाट भेलाका आयोजकहरूलाई मन्त्रीमण्डलमा लिँदै लिइएन । प्रथम त पार्टी फुटको कारण यही हो ।

मोहन वैद्यको जीवनपद्धति उनको दर्शनप्रतिको विद्वता, आदिले गर्दा पार्टीभित्रका क्रान्तिकारीहरूमा मोहन वैद्य जनयुद्धका एकलव्य हुन् भन्ने थियो । मोहन वैद्यलगायत केही कमरेडहरूमा साँच्चै क्रान्तिप्रति चासो पनि थियो होला । मोहन वैद्य मात्र एक पात्रलाई सबैले आदर्श मान्थे । प्रचण्डलाई अब क्रान्तिकारी नीति–कार्यक्रमको केही आवश्यक थिएन । ठेकदार, तस्कर, नेपालको जनयुद्धलाई तहसनहस पार्न पश्चिमाहरूले चलाएका आईएनजीओमा काम गर्ने निला माखाका रूपका बुद्धिजीवीहरू, जनयुद्धकालभर जनयुद्धको विरोधमा विषबमन गर्दै बोलेर वा लेखेर प्रतिक्रियावादी सरकारलाई सहयोग गर्ने बुद्धिजीवीहरू विभिन्न रूपरङका सबका सब माओवादीले संविधानसभामा जितेपछि भन्कन आइपुगे । यीे सबैलाई प्रचण्डले पार्टीमा स्थान दिए । यस समयसम्म ने.क.पा. माओवादीबाट एमाओवादी बने पनि पार्टी सङ्गठन नीति जे भने पनि एकल प्रचण्ड नै थिए । दुईचार सयको केन्द्रीय समितिको कुनै अर्थ थिएन । अब पहिलाजस्तो भेला र सम्मेलन गरेर प्रचण्डलाई हायलकायल पार्ने बाटो पनि बन्द भयो ।

किरण, सीपी, रामबहादुरजस्ता नेताहरू थिए । जनयुद्धले उत्पादन गरेका विप्लवलगायतको दोस्रो तह पनि सफल थियो । प्राविधिक रूपमा पार्टी सङ्गठन उपरि संरचनामा ध्वस्त पारिएको भए पनि हजाराँै सहिद परिवार थिए । माओवादी जनयुद्धमा प्रत्यक्ष भाग लिएको ठूलो नेताकार्यकर्ताको सङ्ख्या थियो । माओवादी जनयुद्धका प्रभावका रुकुम, रोल्पाजस्ता जिल्लाहरू र हजारौँ गाउँहरू थिए । अझ माओवादी पार्टीभित्र संसारको कुनै माक्र्सवादीले प्रयोग नगरेको पार्टीभित्र पार्टी र सङ्गठनभित्र सङ्गठन भन्ने मान्यता घोषित–अघोषित रूपमा स्थापित भएको थियो । कम्युनिस्ट पार्टी उत्पीडित वर्ग, क्षेत्र, मजदुर, किसानको हुने हुँदा उनीहरू केन्द्रमा थिएनन् । प्रचण्डले पार्टीलाई पिरामिड आकारको होइन, छाता आकारको बनाएका थिए । जनतामा गएर दुई लाइन सङ्घर्ष गरी पार्टीलाई पिरामिड आकारमा ल्याउनुको सट्टा सिद्धान्तका नीति कार्यक्रममा भन्दा पनि प्रचण्डसँग इगो भएकाहरू जम्मा गरी पार्टी फोड्नु सबभन्दा ठूलो गल्ती थियो । वर्गीय स्वार्थ नभएर व्यक्तिगत स्वार्थले उत्प्रेरित, पदप्रतिष्ठा र सत्ताका लागि जे पनि गर्न तयार हुनेहरूको लहैलहैमा लागेर किरणजस्तो व्यक्तिले भेला, सम्मेलन, महाधिवेशनजस्ता निकायहरूको सामनासमेत नगरी पार्टी फोड्नु स्वयम् किरण साथै समग्र कम्युनिस्ट आन्दोलनलाई क्षति पु¥याउने निश्चित थियो र भयो पनि यस्तै ।
क्रमशः

याे पनि पढ्नुहाेस्

क्रान्तिकारीबीचको एकता आजको आवश्यकता

२०७५ माघ १ गते मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :