कालीकोटमा जनपक्षीय पत्रकारिता तालिम सम्पन्न, नेताहरुलाई अभिनन्दन

कालीकोट : क्रान्तिकारी पत्रकार सङ्गठन नेपालले कालिकोटमा ५ दिने जनपक्षीय पत्रकारिता तालिम सम्पन्न गरेको छ । तालिमको समापन गर्दै केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले कर्णालीका उत्पीडित जनताका पक्षमा कलम चलाउन तालिममा सहभागी प्रशिक्षार्थीलाई अनुरोध गरेका छन् ।

क्रान्तिकारी पत्रकार संगठन नेपाल भेरी कर्णाली क्षेत्रीय समन्वय समितिले कालीकोटको रास्कोटमा आयोजना गरेको ५ दिने जनपक्षीय पत्रकारिता तालिमको समापन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष डुम्रेले कतिपय मिडियाकर्मी र मिडियाले राज्य र ठुलाबडाको मात्रै गुणगान गाएर श्रमजीवी जनताका पक्षमा कलम चलाउन छाडेको बताउदै जनपक्षीय पत्रकारले आम शोषित पीडित जनताको पक्षमा कलम चलाउन आग्रह गरेका छन् ।

तालिम समापन कार्यक्रमको प्रमुख अतिथि समेत रहेका डुम्रेले मिडियाले राष्ट्रियता,जनताको जनजीविका बारेमा समेत शसक्त आवाज उठाउनुपर्ने कुरामा जोड दिएका थिए ।

समापन कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज समरले कर्णालीको कालिकोट जिल्लाको त्यो पनि दुर्गम गाउँमा महत्वपूर्ण तालिम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिदै जनपक्षीय पत्रकारितामा कृष्णसेन इच्छुकको भुमिका पुरा गर्न पत्रकारहरुलाई आग्रह गरेका थिए । कार्यक्रममा संगठनका महासचिव हिम बिष्टले कर्णालीका समस्याबारे मिडियामार्फत उठान गर्नुपर्ने बताए ।

पत्रकारका केन्द्रीय पदाधिकारीहरुलाई अभिनन्दन

३ महिने जनसञ्चार अभियान अन्तर्गत प्रशिक्षणका लागी त्यहाँ पुगेका केन्द्रीय पदाधिकारीलाई कर्णालीका जनताले भव्य अभिनन्दन गरेको छ ।

सङ्गठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे, महासचिव हिम बिष्ट, कोषाध्यक्ष जानकी चौधरी, भेरी कर्णाली क्षेत्रीय समन्वय समिति संयोजक टिका केसी, गण्डकी धौलागिरी क्षेत्रीय समन्वय समिति संयोजक ओम हमाल, केन्द्रीय सदस्य राजकुमार योगी लगायतको टोली कालिकोटको रास्कोटमा जनपक्षीय पत्रकारिता तालिम दिन पुगेको थियो ।

तालिम समापन कार्यक्रमको अध्यक्षता क्षेत्रीय समन्वय समिति सयोजक टिका केसी, सञ्चालन केन्द्रीय सदस्य राजकुमार योगीले गरेका थिए भने स्वागत संगठनका सदस्य कर्ण कार्कीले गरेका थिए ।

“आस्था, बिचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता श्रमजीवीको हक, हित र जनपक्षीय पत्रकारिताको विकासमा हाम्रो प्रतिबद्धता” भन्ने मूल नारा लिएर दुर्गम क्षेत्र कर्णालीमा पुगेको संगठनले रास्कोटमा ५ दिने तालिममा ३५ जनाको सहभागीता रहेको थियोे ।

२०७५ पुस ३० गते साेमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :