अखिल (क्रान्तिकारी)को चेतावनी

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले बालिका (छात्रा)माथि ‘यौन दूराचार’ गर्ने प्रिन्सिपललाई सरकारले उन्मुक्ति दिए विद्यार्थी अभिभावकको साथ लिएर कारबाही गर्ने चेतावनी दिएको छ ।
अखिल (क्रान्तिकारी)को नवलपुर जिल्ला समितिले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै जिल्लाको गैंडाकोट नगरपालिका–११, भेडावारीस्थित मुकुन्द सेन ईङ्ग्लिश बोर्डिङ स्कुलका प्रिन्सिपल राजेन्द्र पौडेलले कक्षा १० मा सोही विद्यालयमा अध्यायनरत छात्रामाथि यही पुस २८ गते शनिबारका दिन ‘बलात्कार प्रयास’ गरेको जनाउँदै घटनाप्रति संगठनको गम्भीर ले ध्यानाकर्षण जनाएको छ ।
जिल्ला कमिटी संयोजक अविनाशद्वारा जारी विज्ञप्तिमा ‘व्यभिचारी’ प्रिन्सिपल पौडेललाई तत्काल कारबाही गरी पीडित छात्रालाई न्याय दिलाउन हाम्रो संगठन जोडदार माग गरेका छन् ।
पहुँचको आधारमा वा अन्य कुनै बहानामा कारण बनाई ‘दोषी’ पौडेललाई उन्मुक्ति दिने गल्ती नगर्न पनि संयोजक अविनाशले सम्बन्धित पक्षलाई सजग गराएका छन् । कारवाहीबाट जोगाउने काम भएको खण्डमा संगठनले नै कारवाही गर्ने चेतावनी समेत विज्ञप्तिमार्फत उनले दिएका छन् ।

एसइई परीक्षाको तयारीका लागि कोचिङ कक्षा लिइरहेकी छात्रालाई प्रिन्सिपल पौडेलले संवेदनशील अंगमा हात पुर्याउने र ‘बलात्कारको प्रयास’ गरेको करा छात्राले अभिभावकलाई जानकारी गराएसँगै घटना बाहिर आएपछि अभियुक्त पौडेललाई अनुसन्धानका लागि पक्राउ गरी इलाका प्रहरी कार्यालय गैँडाकोटमा राखिएको जनाइएको छ ।

२०७५ पुस ३० गते साेमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :