मजदुर नेताहरू रिहा

 

काठमाडाैँ :  तीन मजदुर नेतालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले सोमबार सरकारलाई आदेश दिएको छ ।
नेकपा निकट अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासंघको केन्द्रीय सदस्य समेत रहेका अखिल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर संघका केन्दीय अध्यक्ष लोकेन्द्रराज थापा, संघकै उपाध्यक्ष विकास थापा र महासचिव केशबबहादुर बुढाको रिहाइको मागसहित सर्वोच्चमा दायर रिटमाथि सोमबारको बहसपछि न्यायाधीश मिरा खड्का र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले थुनाबाट मुक्त गर्न आदेश दिएको हो ।

पक्राउ गरी थुनामा राख्नुपर्ने आधार र कारण नदेखिएको भन्दै रिहा गर्न आदेश भएको हो । दस दिनदेखि तीनैलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टेकु हिरासत हुँदै हाल सिंहदरबार प्रहरी वृत्त हिरासत राख्दै आएको थियो ।

रिट निवेदनमाथिको बहसमा निवेदकको पक्षबाट अधिवक्ताहरु कपिलचन्द्र पोखरेल, कान्तिराम ढुंगाना र राजु अधिकारीले गरेका थिए । रिटमा गृह मन्त्रालय, ललितपुर प्रहरी परिसर, प्रहरी प्रधान कार्यालय, सिंहदरबार प्रहरी वृत्त, काठमाडौं जिल्ला प्रशासन कार्यालयलगायतलाई विपक्षी बनाइएको थियो ।

उनीहरुलाई बिनाकारण गिरफ्तार गरी गैरन्यायिक रुपमा प्रहरीले हिरासतमा राखेको भन्दै तत्काल रिहाईको मागसहित कमला स्याङतान र नवराज विकास थापाले रिहाइको माग गर्दै पुस २४ गते रिट निवेदन दार्ता गरेका थिए ।

उनीहरुलाई यही पुस १९ गते साँझ ६ बजेतिर करिब आधा घण्टाको अन्तरमा ललितपुरको भैंसेपाटी र नख्खु चोकबाट प्राइभेट गाडीमा आएका सादा पोशाकका प्रहरी टोलीले गिरफ्तार गरेको थियो ।

२०७५ पुस ३० गते साेमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :