दिलमायाहरू !

गाढा नीला आँखा

लमतन्न बिच्छ्याएर

दुश्मनक्याम्पमा विस्फोटित

हाम्रो आस्थाकी सगरमाथा तिमी !

 

उर्लंदो यौवन र रूपलाई

फ्युजन गराएर मालेमामा

दुस्मन इलाकामा बारुदको फ्युज जोड्दै गरेकी

धर्तीको असमानता नामेट पार्न

भर्भराउँदो रक्तभेल बगाउँदै गरेकी

हाम्रो निष्ठाकी अविचल चन्द्रमा !

 

‘निष्पट्ट अन्धकार भगाउन

आफैँ मशाल बन्नुपर्छ

दुष्टता र निचता अन्त्य गर्न

आफैँ नमुना बन्नुपर्छ

सल्काउनुपर्छ आफ्नै टाउकोमा

आगोका लप्काहरू’

गर्दै कासन दुश्मन क्याम्पका भग्नावशेषहरूमाथि

बलेर आफैँ चम्किरहेकी

लालभूमिकी चमचमाउँदी सितारा !

 

उठ न उठ एकफेर

ए ! बेथानकी सन्तान !

ए ! लालभूमिकी जूनमाया !

तिम्रो चिरनिद्राको १७ शिशिरपछि

हातमा लिएर तिम्रो प्रतिमूर्ति

गरिरहेछु ऐलान–

जगाऊ न जगाऊ एकफेर

तिमीसँगै विस्फोटित लालहरूलाई पनि

लामो यात्राकी विश्वासिली पथप्रदर्शक !

 

तिम्रो महायात्रापछिको यो अवधि

तिमीसँग बिछोडपछिको यो पल

तिम्रो रक्ततर्पणपछिको यो तप्त समय

आशा–निराशा–आशा बन्दै

तय गरिरहेछ अर्को लामो यात्रा

आऊ न आऊ प्यारी कमान्डर

गरिदेऊ न नेतृत्व एकफेर नयाँ यात्राको

गोलमटोल मस्तिष्कहरूलाई

गतिहीन मुटुका धड्कनहरूलाई

लक्पकाउन लागेका तिघ्राहरूलाई

गरिदेऊ न जोडजोडले कासन एकफेर

यात्रा नटुङ्गिँदै बास बस्न हतारिएका

सा¥यौ र गौँथलीहरूलाई

औँल्याइदेऊ न एकफेर

कर्मी माहुरी र दुष्ट अरिङ्गालहरूलाई

त्याग, शौर्य र बलिदानकी प्रतिमूर्ति

मध्यरातकी जूनकीरी

श्मसानकी दुन्दुभी !

 

ए, लालधरतीकी लालपुत्री !

ए, नवीन आयुधकी वीराङ्गना !!

देखाइदेऊ न सही बाटो

यात्रामा रुमल्लिरहेका पथिकहरूलाई

पर्गेलिदेऊ न गन्तव्य

आगो ओकल्न तयार अग्निबीजहरूलाई

नौलो युगकी संवाहक तिमी

गर न फेरि ललकार दुष्टहरूलाई

रातो समयकी लालतार तिमी दिलमाया !

लालभूमिकी लालपुत्री तिमी जूनमाया !!!

२०७५ पुस २८ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!