नेकपा प्युठानद्वारा सरकारी दमनको भत्र्सना

प्युठान : नेकपा प्युठानले सरकारविरुद्ध आन्दोलन घोषणा गरेको छ । सरकारले जिल्लाको स्वर्गद्वारी नगरपालिकाका नेकपा समर्थक नेत्र घर्ती र माडी खबर साप्ताहिकका सम्पादक केन्द्रप्रकाश पीबीलाई गिरफ्तार गरेको विरोधमा आन्दोलन घोषणा गरिएको हो । पार्टी सेक्रेटरी अजयले शनिबार विज्ञप्ति जारी गरी सरकारले जनता र नेकपाका नेता–कार्यकर्तामाथि ज्यादती बढाएको भन्दै आन्दोलन घोषणा गरिएको बताएका हुन् ।

जिल्लाको स्वर्गद्वारी नगरपालिकाका मेयर नेत्रबहादुर रोकायालाई नेकपा प्युठानले कालोमोसो दलेपछि प्रशासनले दमन र धरपकड बढाएको छ । जिल्लास्तरीय नेता–कार्यकर्ताको घरमा खानतलासी गर्ने, घरमा बसेका सर्वसाधारणसमेतलाई अनावश्यक तनाव दिएको जानकारी नेकपाका प्युठान जिल्ला इन्चार्ज चिन्तामणि घिमिरेले दिएका छन् । उनले गलत क्रियाकलाप, आर्थिक अराजकता, ठेक्कापट्टामा कमिसनको चलखेल गर्ने मेयर रोकायालाई जनताको उजुरीका आधारमा जनकारबाही गरिएको भन्दै जनतामाथि धरपकड गर्ने प्रशासन र सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता–कार्यकर्तालाई त्यस्तो हर्कत बन्द गर्न चेतावनी दिएका छन् ।

उनले भनेका छन्, ‘गलत क्रियाकलाप, आर्थिक अराजकता, ठेक्कापट्टामा कमिसनको चलखेल गर्ने मेयर रोकायालाई जनताको उजुरीका आधारमा नेकपा प्युठानले कालोमोसो दलेर जनकारबाही गरेको थियो । प्रशासन र सरकारी नेकपाका कार्यकर्ताले प्युठानमा दमन तीव्र पार्दै लगेका छन् । नेकपाका विरुद्ध सशस्त्र प्रहरीसमेत परिचालन गरिएको कुराले जनतालाई आक्रोशित बनाएको छ ।’

नेकपा प्युठानले सत्ताधारी पार्टीका नेता–कार्यकर्ताबाट सत्ताको दुरुपयोग गरेर कार्यकर्तालाई दमनमा उतार्ने खेल भइरहेकाले संयम भएर रहन अनुरोध गरेको छ ।

इन्चार्ज घिमिरेले दमनको सहाराले नेकपालाई दबाउन खोजे त्यसको प्रतिफल नराम्रो हुने चेतावनी पनि दिएका छन् । ‘दमनले आन्दोलनलाई दबाउनुको साटो आन्दोलन अगाडि उठ्छ’, उनले भनेका छन् ।

उनले प्युठानका प्रशासन प्रमुख र सुरक्षा अङ्गका प्रमुखहरूलाई जनतामाथि दमन गर्नुको साटो भ्रष्टाचारीलाई दमन गर्न सुझाव पनि दिएका छन् । दमनलाई नरोकेमा त्यसको कडा प्रतिवाद गरिने उनले बताएका छन् ।

२०७५ पुस २८  गते शनिबार प्रकाशित 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :