ती हुकुमतका विरुद्ध

ती हुकुमतका विरुद्ध
यी खुराफातका विरुद्ध
म त चम्किरहने जूनको गीत गाउँछु
म त गम्किरहने धुनको गीत गाउँछु
माफ गर्नु महाशय
म त सुन्दर जीवनको रीत गउँछु ।

जाली फर्मानको झन्डा बोकेर
झेली उर्दीको डन्डा बोकेर
पूर्णेको जूनलाई चुलेसीमा रेट्ने कुरा
स्वीकार्नै सकेन यो मनले
माफ गर्नु महाशय
म त विद्रोही मनको गीत गाउँछु
म त नयाँ जीवनको रीत गाउँछु ।

कसैको मतिमा ठेस लागोस्
वा आत्मरतिमा चोट पुगोस्
कसैको तापको पारो चढोस्
वा वजनको गुरुत्व झरोस्
प्रायोजित अभिमानका निम्ति
म स्वाभिमानको बली चढाउन सक्तिनँ
माफ गर्नुस् महाशय
म त हुरीचराको गीत गाउँछु
म त रातो लालटिनको रीत गाउँछु ।

महाशय,
बरु, जलनको आगोमा जल्दै गर्नू
बरु औडाहाको खरानीमा खेल्दै गर्नू
त्योे अशान्त चित्तलाई
शान्तिको भजनले छोप्दै गर्नू
नैतिकताको नग्नतालाई
आदर्शको लँगौटीले ढाक्दै गर्नू
तर माफ गर्नू
म त मेरै समयको गीत गाउँछु
म त मेरै समयको रीत गाउँछु ।

२०७५ पुस २७ गते शुक्रबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :