बैमौसमको बाजा र कोकोहोलो

एउटै परिवारमा त परिवारका सदस्यहरूको भिन्नभिन्न स्वभाव हुन्छ भने कुनै पनि पार्टीमा विभिन्न प्रवृत्तिका मानिसहरू हुँदैनन् भन्न सकिँदैन । पार्टी पनि विपरीतहरूको एकत्व हो । पार्टीमा बहस चलाउनुपर्छ । यो सकारात्मक कुरा हो । यसले पार्टीलाई जीवन्त राख्छ तर पार्टीमा हरेक प्रकारका मानिसहरू हुन्छन् । सबै एकैखालका हुँदैनन् । कुनै पर्दापछाडिका मानिसहरू पनि हुन्छन् । उनीहरूले पार्टीको हित हुने कामभन्दा विपरीत काम गर्न रमाउँछन् । विभिन्न निगमहरूले उनीहरूलाई पालनपोषण गरेका हुन्छन् । स्मरण रहोस् जनयुद्ध कालमा पनि अमेरिकाले यसप्रकारका मानिसहरूलाई प्रशिक्षण दिएर राखेको थियो । जसको काम हरतरहले युद्ध रोक्नु थियो । यो कुनै आश्चर्यको कुरा भएन । कुनै तुकको कुरा पनि भएन । यहाँ पङ्क्तिकारको कुनै व्यक्तिविशेषभन्दा प्रवृत्तिसँगको सरोकार हो ।

चिन्ता हो क्रान्ति र परिवर्तनको । कम्युनिस्ट बन्नु नै क्रान्ति गर्नु हो । समाजलाई रूपान्तरण गर्नु हो । जनतामा गाँस, बास र कपासको ग्यारेन्टी गर्नु हो । अब मानिसले शिक्षा, स्वास्थ्य, रोजगार र सञ्चारको न्यूनतम् आवश्यकताको माग गरिरहेको अवस्था छ । यी कुराहरू वैज्ञानिक समाजवादमा मात्र पाइने कुरा हुन् । तर अलिकति क्रान्ति अगाडि बढ्यो कि हिलो छ्याप्ने काम हुन्छ । यो नयाँ होइन, पुरानो रोग हो । अहिले एउटा वैद्य समूहका एक केन्द्रीय सदस्यको गाईजात्रे लेख हेरेर अचम्म लागेको छ । लेख लेख्ने स्वतन्त्रता छ । लेख्न पाइन्छ । यो कुनै अनौठो कुरा भएन। तर गाईजात्रे के कुरामा छ भने एकातिर शीर्ष नेताहरूले वार्ता जारी राख्छन् । अर्कोतिर केन्द्रीय समितिका सदस्यले हदैसम्म ओर्लिएर विषबमन गर्न पुग्छन् । यसैलाई नै मौसमबिनाको बाजा वा गाईजात्रा भनेको हो । उनको लेखले अवश्य नै प्रतिक्रियावादी वा भनौँ दलाल पँुजीवादलाई फाइदा पुगेको छ । यसको अर्थ हो क्रान्ति हुन नदिनु । बाँदरले आफ्नो घर पनि बनाउँदैन, अरूको घरलाई पनि देख्न चाहँदैन भनेको यही हो ।

सन्दर्भ हो क्रान्तिकारी माओनादी नाम गरेको पार्टीभित्रका एक ब्यक्तिको स्वाभिमान नेपालमा आएको एउटा लेख । लेख लेख्नु अन्यथा होइन । स्वयम्मा मोहन वैद्य किरण इमानदार नेता हुन् । त्यहाँ भएका कतिपय नेताहरू भिन्न पृष्ठभूमिका रहेका छन् । कार्यगत एकता अथवा पार्टी एकीकरण गर्ने सन्दर्भमा स्वयम् किरणको उपस्थितिमा दर्जनौँ बैठकहरू भएका छन् । केही कुराहरूमा कार्यगत एकता पनि भएको छ । कार्यगत दिशाको सवालमा केही समय यता छलफल र बहस पातलिएको पनि बुझिन्छ तर छापामा देख्दा एकीकृत जनक्रान्तिको कार्यदिशाबाहेक अरू कुरामा बहस सकारात्मक भएको बुझिन्छ । मलाई लाग्छ एकआध कार्यकर्ताले क्रान्तिको बदनाम गर्दैमा पार्टी र शीर्ष नेतालाई हिलो छ्याप्न सकिँदैन। पङ्क्तिकारको नैतिकताले पनि दिँदैन । मलाई लाग्छ झिँगाको श्रापले डिँगा मर्दैन । हात्ती लम्कँदै जान्छ, झिँगा भाग्दै जान्छन् । एक छिन दूध उम्लन्छ । आगो हटाए झ्याप्प बस्छ । सरल रेखाबाट कहीँ क्रान्ति भएको छैन । अनेकौँ गौँडागल्छेडाहरू हुन्छन् । आईएनजीओ वा निगमले जनलहरलाई छेक्न सक्दैन । बाढीलाई टोपीले छेक्न सक्दैन । सबभन्दा ठूला भनेका जनता हुन् । नेताहरूले क्रान्तिमा धोका दिन्छन् भने जनताले हात बाँधेर बस्न सक्दैनन् । हिजो प्रचण्ड–बाबुरामले धोका दिए भोलि विप्लव र किरणले पनि धोका दिँदैनन् भन्ने के ग्यारेन्टी छ भनेर जनताले प्रश्न सोधिरहेको अवस्था छ । सांस्कृतिक क्रान्तिको अभावमा नेताहरूले आफूलाई सर्वहाराकरण गर्न नसकेरै जनताले धोका पाएका हुन् । नेताहरूले आँट र हिम्मत गर्ने हो भने वस्तुगत स्थिति तयार छ । रोग, भोक, शोक, बेरोजगारी, महँगी, भ्रष्टाचार विदेशी अतिक्रमण छ । बलात्कार, हत्या, हिंसाजस्ता जघन्य अपराध छन् । आत्मगत स्थिति प्रमुख समस्या हो । आत्मगत स्थिति पनि निरन्तर क्रान्तिको प्रक्रियाबाट बन्ने कुरा हो ।

उत्तरसाम्राज्यबाद भनेको साम्राज्यबादको विकसित रूप हो । अहिले साम्राज्यबाद निगमका रूपमा पसेको छ । दलालहरूले नै साम्राज्यबादलाई बाटो बनाइदिएका हुन्छन् । अहिले विभिन्न साम्राज्यबादी देशहरू मिलेर सांस्कृतिक, आर्थिक आक्रमण गरिरहेको अवस्था छ । अपरकर्णली, अरुण तेस्रो, बूढीगण्डकीलगायत प्राकृतिक सम्पदामा हमला भैरहेको अवस्था छ । भारतले सीमास्तम्भ सारिरहेको छ । यही पुस महिनामा नै मोरङमा सीमा सारिएको अवस्था छ । करिब ६५ हजार हेक्टर जमिन भारतले भित्र्याइसकेको तीतो यथार्थ छ । यसको विरोधमा देशभक्त नागरिक बोल्ने कि नबोल्ने ? यसको सशक्त विरोध गर्ने वा यो र त्योको नाममा विरोध गर्नेहरूको घाँटी च्याप्ने दुष्प्रयास गर्ने ? अहिले यही कुरा भैरहेको छ । कम्युनिस्टको नामबाट कम्युनिस्टको विरोध गरी कम्युनिस्ट सखाप पार्ने दिवासपना विदेशीले बोकेको छ । प्यासिफिक सम्मेलन गराएर पूरा देशलाई क्रिस्तानीकरण गरी नेपालबाट चीनलाई हान्ने रणनीति युरोपियनहरूको छ । अमेरिकाको छ । यसप्रति स्वतन्त्र न्यायप्रेमी नेपालीहरू सजग हुन आवश्यक छ । राष्ट्रिय स्वतन्त्रता, राष्ट्रियता, जनजीबिका र जनतन्त्रको सवालमा सबै एक ढिक्का भएर सङ्घर्ष गर्नुपर्ने अवस्था छ । महासङ्ग्राममा एकदुईवटा फाल्तु जोक्करको कोकोहोलोबाट केही हुन सक्दैन ।

२०७५ पुस २३ गते साेमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :