सपना छोडेर अस्ताएको एउटा अजम्मरी योद्धाको स्मृतिमा

हरेक वर्ष जब मङ्सिर १४ आउँछ, यो दिन हामी भावुक, आक्रोशित र उद्वेलित हुन्छौँ, इतिहासको फ्ल्यासब्याक दोहोरिन थाल्छ र अनायासै नयन डब्डबाउँछन् । आकाश छुने सपना बोकेको महासमरका हजारौँ योद्धाहरूको बीचबाट एउटा योद्धा अस्ताएको त्यो दिनको सम्झना हृदयको गहिराइबाट नदीको प्रवाहझैँ नजानिँदो गरी उर्लिएर आउँछ । गितारको झनझनबाट छुटेको झन्कारको अन्तिम धुनजस्तै उनको सुमधुर बोली कानको पछाडिपट्टि गुन्जिरहेको जस्तो लाग्छ । उनको अभावमा लक्ष्यले बाटो बिराएको र सपना टुटेको महसुस हुन्छ । अझ यसो भनौँ, उनको अनुपस्थितिमा विजयको शिखर चुम्ने सपना घाइते भएर लडिरहेको जस्तो लाग्छ । तिमी अस्ताउँदा आफन्तजनहरूले गरेको विलाप र तिम्रा सहकर्मीहरू टुहुरो बनेको पल सम्झँदा म आजपर्यन्त भावविह्वल हुन पुग्दिरहिछु ।

आज पनि मैले तिम्रो सम्मानमा एक मिनेट आँखा बन्द गरेर मौनधारण गरेँ । तिमी अस्ताएको यो साँझ जलजला, सिस्ने, रमका, कुशे र अपि सैपालले पनि श्रद्धाले शिर निहु¥याए । कर्णाली, भेरी, राप्ती, बबई र माडीले शोकधुन बजाए । आकाशका जूनतारा स्तब्ध बन्दै बादलभित्र पसे । तिम्रो रगतले सिञ्चित भएका आधारइलाकाका सहिद परिवारहरू तिम्रो अभाव महसुस गरे । तिम्रा सन्ततिहरूले तिम्रो खोजी गरे । थबाङ, जेलबाङ, भाबाङ, गजुल र मिरुलहरूले तिम्रो सम्मानमा सलामी अर्पण गरे । रक्तिम बस्तीमा सपनाका सिला खोज्दै गरेका तिम्रा सहयात्रीले तिम्रा दस्ताबेज खोजे । तिमीले छोडेको झोला, कम्ब्याट र मेसिनगन खोजे । यो दिनमा तिम्रो सपना पछ्याउनेहरूले सलामी गरे । तिमीसँगै पश्चिमको क्षितिजमा अस्ताएका सहिदहरूले निलो गगनबाट क्रान्ति अघि बढाउन आदेश गरे । ऊ बेलाका तिम्रा नायकहरू मर्सिडिज चढी रातो कार्पेटमा टेक्दै बालुवाटार र सिंहदरबार पसे । तर तिम्रो अन्तिम सास रोकिँदा धड्कन छामेर भावविह्वल बनेका विप्लव र सुदर्शनहरूले तिमीले थमाइदिएको रक्तरञ्जित झन्डा सगरमाथाको उचाइतर्फ लैजाने वाचा गरे ।

आदरणीय बहादुर सहिद सुनील, रणमैदानमा पोखिएको तिम्रो रगत र दुस्मनको गोलीले क्षतविक्षत तिम्रो पार्थिव शरीर सम्झेर म हिजो राती निदाउनै सकिनँ । तिमी अस्ताएपछि वार्ता र संवादको बहानामा तिमीले रगतसँग साटेर ल्याएको बन्दुकमा अनमिनको स्टिकर लाग्यो । तिमीले उठाएको झन्डा खलनायकहरूले धुम्बाराही र पेसिसडाँडाका कुनामा फ्यालिदिए । अन्तर्राष्ट्रिय कोसर गाउँदै युद्धमैदानमा परेड खेल्ने तिम्रा योद्धाहरू क्यान्टोनमेन्टको ट्रान्जिट हुँदै खाडी पसेका छन् । तिम्रो सपनाको गन्तव्य दुनियाँ थर्कमान बनाउने महान् जनयुद्धको उद्देश्य टुकुचामा बगिरहेको देखेर आफैँलाई समालिन गाह्रो भएको छ । वास्तवमै आज तिमीजस्तो क्रान्तिकारी आस्था र विचारको भट्टीमा खारिएको कुशल जननेता, कमान्डर, जनता र कार्यकर्तामा सहजै प्रभाव छोड्न सक्ने क्षमताको खाँचो छ । सधैँ उच्च मनोबलका साथ लड्ने र लडाउने युद्ध कला, आफ्नो विचार र योजना बुझाउनसक्ने दक्षता त्यो सिद्धान्तनिष्ठ र कर्तव्यनिष्ठ मान्छेको सर्वत्र माग छ । रणमैदानमा तिमी ढलेको दिन मङ्सिर १४ आएपछि जनयुद्धको विरासत आफैँ स्मृतिपटलमा घुमेर आयो ।सल्यानकाे मनिमारेमा जनमुक्ति सेनाको फौजमाथि दुस्मनले आकाशबाट बम बर्साइरहँदा दस्तालाई कासन गर्दा गर्दै तिमी ढल्यौ भन्ने प्रत्यक्षदर्शी मेरो उनीको बयानले घरिघरि तड्पायो । तिमी ढलेपछि रोल्पाको ब्याङखोला जङ्गलभित्र तिम्रै स्मृतिमा श्रद्धाञ्जली सभा चलिरहँदा विप्लव, सुदर्शन र पासाङका गला अवरुद्ध हुँदा, हलका सहभागीहरू भक्कानिँदा सन्नाटा उत्पन्न भएको थियो । लाग्थ्यो मध्याह्न हुँदा पनि सूर्यका किरणहरू धर्तीमा पोखिन सर्माइरहेका थिए । रात डुबिरहँदा आकाशमा जूनतारा विलाप गरिरहेका थिए । रुकुम, रोल्पा, सल्यान रणमैदानमा परिणत भएको तर तिमी नरहेको खबर सुनेर रामेछाप, गोरखा, सिन्धुली, कञ्चनपुर, डोटी, कैलाली रोइरहेका थिए र तिम्रो सम्मानमा मौनधारण गरिरहेका थिए । तिम्रो श्रद्धाञ्जलीसभाका सभाध्यक्ष विप्लव र उद्घोषक सुदर्शन त्यति धेरै भावविह्वल बनेको मैले कहिल्यै देखिनँ । त्यो क्षण मलाई अहिले भर्खरजस्तो लाग्छ । तिमी आफ्नो जिम्मा पूरा गरेर अमर बनिसकेका थियौ, हामी भने रोइरह्यौँ । तिम्रो भौतिक शरीर अस्ताएपछि तिम्रा कोही सहयात्रीहरूले क्रान्तिलाई संसदीय आहालमा डुबाइदिए । अहिले इटालियन झुम्बर र सिङ्गापुरे सोफाले सजाइएको पफ्र्युम, अत्तर र अगरबत्तीको बास्नादार आलिसान बङ्गलामा राज भएर मार्सी र ब्रान्डेल ह्विस्की डिनर गरिरहेका छन् । हामी भने तिम्रा सपनाको रक्षाका लागि एउटा अर्को महाअभियानमा सरिक छौँ ।

मेरो आदरणीय सहिद, प्यारो नेता र अभिभावक, जब मङ्सिर १४ गते तिमी सहिद भएको दिन आउँछ, म २०५८ साल कात्तिक सम्झन्छु । जुम्ला सदरमुकाम खलङ्गा आक्रमणको तयारी अन्तिम चरणमा पुग्दै थियो । जनमुक्ति सेनाको हेडक्वार्टरसँगै मलाई पनि उक्त कारबाहीमा सहभागी हुने अवसर जुरेको थियो । मजस्ती मामुली बबुरीका लागि लडाइँको अनुभव गर्ने यो ठूलो स्वर्णिम अवसर थियो । तत्कालीन जनमुक्ति सेनाका कमान्डर नन्दकिशोर पुन ‘पासाङ’ ले मलाई यो अवसर जुटाइदिनुभएको थियो । १८–२० घन्टा लामो यात्रा गरेर जाजरकोट र जुम्लाको बीचमा पर्ने चाखुरेको लेकमा उकालो चढ्दै गर्दा धेरै साथीलाई लेक लागेर श्वासप्रश्वासमा बाधा पुगिरहेको थियो । त्यतिखेर पछाडि बाट ‘ए उषाकिरण गाह्रो भयो ?’ भनेर सानो प्लास्टिक झोलाबाट अञ्जुलीभरि चक्लेट निकालेर मलाई दिएको सम्झना हृदयमा निकै अमर बनेर बाँचेको छ । त्यतिखेर मैले एउटा प्रश्न गरेकी थिएँ, ‘यो मोर्चा हामी जित्छौँ ।’ तिमीले भनेका थियौ, ‘हार्छौं भन्ने सोचाइ राखेर ब्याटलमा जानै हुँदैन । सधैँ जित्ने विश्वास र साहस बोक्नुपर्छ ।’ तिमीले विश्वास दिलाएपछि म विश्वस्त त भएकी थिएँ तर मलाई चिन्ता लागिरहेको थियो । हामी जुन दिन जाँदै थियौँ त्यही दिन अत्यधिक हिमपात भैरहेको थियो । हाम्रो कम्मरभन्दा माथिसम्म हिउँ परेको थियो । एड्नानसहित नौजना कमरेड हिउँमै पुरिएर सहिद हुनुभएको थियो । अर्कोतिर घन्टौँको हिँडाइ र उचित खानपिनको अभावले जनमुक्ति सेनाका योद्धाहरू निकै थाक्ने अवस्था थियो । तर अनौठो विषय के थियो भने हिउँले कठ्याङ्ग्रिएर सास रोकिने अवस्था आउँदा पनि योद्धाहरू क्षितिजमा एउटा विजय देखिरहेका थिए । दुस्मनको क्याम्प खरानी बनाउने र युद्धलाई नयाँ उचाइ प्रदान गर्ने साहस भर्दै थिए । उनीहरू कठिन र जोखिमपूर्ण यात्रालाई पनि सहज र रङ्गीन बनाउँदै थिए । उनीहरू गाउँदै थिए ः
हिउँ प¥यो हिउँदैमा
चिसो हावा मुटुको धड्कनमा
जनसेनाको यो ताँती
जुम्लाको हिमालमा ।

बहादुरहरूको अदम्य साहस र पराक्रम देखेपछि मलाई पनि एउटा विश्वास जागेर आएको थियो । सोही दिन साँझ जुम्ला सदरमुकाममा हमला भयो र कब्जा भयो । तर पनि चाहेजस्तो सफलता प्राप्त भएन । शाहीसेनाको ब्यारेक कब्जा भएन तर जुम्ला लडाइँ जनयुद्धको इतिहासमा प्रतिक्रियावादी सत्ताको क्याम्पमा धावा बोलेको साहसिक हमलाका रूपमा इतिहासमा दर्ज भयो र त म आज सहिद सुनीललाई सम्झँदा जुम्ला सम्झन्छु । जुम्ला सम्झँदा सहिद सुनीललाई सम्झन्छु । अलपत्र परेको क्रान्तिको जहाज गन्तव्यमा अवतरण नहुँदा जनताको राज्यसत्ता स्थापना गर्ने महान् सपनासहित सञ्चालित जनयुद्धमा प्रतिक्रान्ति हुँदा सबभन्दा बढी सहिदलाई सम्झन्छु । न्यायको युद्धमा म मरे पनि जनताका निम्ति मेरो छोरा बाँचेको छ भन्ने सन्देश आमालाई पु¥याइदिनू भन्दै सहर्ष जीवन अर्पण गर्नेहरूलाई सम्झन्छु । मुक्तिको सपना बोकेर क्रान्तिमा लागेका तर क्रान्ति अलपत्रमा परेपछि पेट पाल्न अरब छिर्नेहरूको अवस्था देख्दा घाइतेका अङ्गभङ्ग शरीर देख्दा अर्को नयाँ आँधीबेहरीको खाँचो महसुस हुन्छ । आगोले जलेर घाइते भएपछि तङ्ग्रिँदै गरेका पाछाबाङ, पवननगर, खारा, थबाङ र कालीकोटले अर्को नयाँ क्रान्तिका लागि तयार भएर बस्ने बेला भयो भन्दै खबरदारी गरेझैँ लाग्छ । यौवनका रहरहरू थाती राखेर क्रान्तिको भट्टीमा हामफाल्ने योद्धाहरू आफ्नो छाक काटेर दिने र आश्रय दिने सहिद गाउँका जनताले नयाँ क्रान्ति चाहेको महसुस भएको छ । कोख रित्तिएका आमाहरू, सिउँदो पुछिएका चेलीहरू र सुहाग लुटिएका जोडीहरू देखेपछि अझै ठूलो क्रान्तिको आवश्यकता महसुस हुन्छ ।

सहिद सुनील, तिमी अपराजित योद्धा थियौ र तिमी अमर भयौ । आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह ग¥यौ । त्यो गर्विलो अजर–अमर इतिहास तिम्रो नाममा दर्ता छ । आज फूलको पसल थापेर कोकिन बेच्नेहरूको बिगबिगी बढेको यो समयमा यहाँ एउटा अर्को क्रान्तिको उद्घोष भएको छ । सहिद ! तिम्रोे चिहानमा बिहान फुलाउने सपनासहित एउटा जुलुस निस्किएको छ । अँध्यारोले थलिएका गाउँबेसीमा कालो रात बढारेर नयाँ बिहान झुल्काउन, पेरिसडाँडाले अपमान गरेको झन्डा उठाउन क्रान्तिकारीहरू साहस बटुलिरहेका छन् । सपनाहरू मरिरहेको पल सपनालाई विपनामा बदल्ने दृढतासहित मधुर स्वरमा गाउँबस्तीबाट समाजवादको नारा लागेको छ । रणभूमि र एउटै बिस्तराका सहयात्री विप्लवले त्यसको अगुवाइ गरिरहेका छन् । आशा छ, एक दिन उनकै अगुवाइमा तिमीले छोडेको क्रान्ति पूरा हुनेछ र तिम्रो सपनाको साम्यवाद उदाउनेछ ।

२०७५ मङ्सिर २४ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :