सरकारको प्रतिरोधमा उत्रन प्रकाण्डको निर्देशन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले आफ्नो बलिदानी भए पनि जनताको मुक्तिका लागि आफ्नो पार्टी लडिरहने बताएका छन् । गृह जिल्ला कालीकोटको माल्कोटमा सोमबार आयोजित विशाल सभामा सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले अहिलेको सरकार दलाल र भ्रष्टहरूको गठजोडमा बनेको बताए । एक अर्को प्रसङ्गमा प्रकाण्डले दसबर्से जनयुद्धमा सिङ्गो कर्णाली र कालीकोटका जनताले गरेको योगदानको स्मरण गर्दै उनले जनयुद्धको नेतृत्व गर्नेहरूले धोका दिएर गलत सम्झौता गरेकाले जनयुद्धका सपना पूरा नभएको बताए ।
प्रकाण्डले अहिलेको नाउँ मात्रको कम्युनिस्ट सरकार काङ्ग्रेसभन्दा पनि भ्रष्ट बन्दै गएकाले यसबाट जनताले कुनै अपेक्षा नराखेको धारणा राखे । अहिलेको सरकार ५ वर्ष चल्ने स्थायी भनिए पनि एक वर्ष नहुँदै दिनगन्ती सुरु भएको भन्दै उनले सरकारको विकल्प वैज्ञानिक समाजवाद हुने बताए । यो सरकारले आफूहरूले उठाएका न्यायपूर्ण मागउपर हस्तक्षेप गरेको भन्दै उनले जनतालाई दलाल सरकारको प्रतिरोधमा उत्रन निर्देशन पनि दिए ।
प्रकाण्डले सहिदका सपना बेचेर खानेहरूका विरुद्ध एकपटक फेरि सङ्र्घषसहित तपाईंहरूको साथ चाहिएको भन्दै जनतालाई अन्तिम क्रान्तिका लागि साथ दिन र तयारी अवस्थामा बस्न अनुरोध गरेका थिए । जनसभामा माल्कोट, लालुलगायत विभिन्न गाउँबाट जनसहभागिता थियोे ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय समिति सदस्य एवम् कर्णाली ब्युरो इन्चार्ज एटम बीसीले गाउँगाउँमा सिंहदरबार होइन, भ्रष्ट र कामचोर स्यालहरू आएको बताए । एटमले सिंहदरबारको भ्रष्टाचार गाउँगाउँमा पुगेको र सरकारले संस्थागत गरेको बताए ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य आदर्शले गाउँगाउँमा आएका नयाँ दलाललाई गाउँबाट खेदेर नयाँ सत्ता चलाउनुपर्ने बताए । कार्यक्रमको अध्यक्षता कर्णाली ब्युरो सदस्य बलबहादुर बुढाले गरेका थिए भने सञ्चालन जिल्ला सेक्रेटरी रणदीपले गरेका थिए । कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय टोली सामना परिवारले नृत्य र जनवादी गीतसङ्गीत प्रस्तुत गरेको थियो ।

२०७५ मङ्सिर २४ गते सोमबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :