मित्र तिमीलाई छुट छैन

कविता

जब तिम्रै अगाडि
चेली बलात्कृत हुन्छिन्
जब तिम्रैअगाडि
कसैको अस्मिता लुटिन्छ अनि हत्या हुन्छ
तर तिमी मस्त फेसबुक चलाइरहेका छौ
तिमीलाई छूट छैन मित्र
तिमी मस्त च्याट गरिरहेका छौ
म देख्दैछु
तिम्रा पुर्खाले रगत बगाएर ल्याएको गणतन्त्र
तिम्रै अगाडि
गणितको खेलमा बिक्री हुँदा
तिम्रै भाइ कौडीको भाउमा बेचिँदा
तिम्रैअगाडि पैसाका लागि
तर पनि तिमी मस्त च्याट गरिरहेका छौ
फेसबुक चलाइरहेका छौ
तिमीलाई यसो गर्न छूट छैन ।

सहिदको रगतकै होली खेल्दा
पुराना भएका ती
चिहानमाथि काला बुटले कुल्चिँदा उनीहरूले
तिमी फेसबुक चलाइरहेका छौ
मस्त च्याट गरिरहेका छौ
यो तिमीलाई छूट छैन
रगतले कोरिएका सीमारेखा मेटिँदा
दसगजामा गाडिएका खाँबाहरू सारिँदा
तिम्रै जीवनका सीमाहरू पनि मेटिँदा
तिमी मस्त फेसबुक चलाएर च्याट गरिरहेका छौ
त्यो तिमीलाई छूट छैन
तिम्रैअगाडि
ती ब्वाँसाहरूले जसरी
भित्रभित्रै पसेर लुटिरहेका छन् श्रमिकहरू
लुटिरहेका छन् विद्यार्थीहरू
र विदेशमा बेचिरहेका छन् मान्छेहरू
व्यापार गरिरहेका छन् लासको
व्यापार गरिरहेका छन् कफिनको
तर पनि तिमी फेसबुक चलाएर मस्त च्याट गरिरहेका छौ
यो तिमीलाई छूट छैन
यो सबै रमिता तिम्रै अगाडि भइरहेको छ
तर पनि तिमी चुपचाप छौ
मानौँ तिमी कुनै मानिस नै होइनौ
वा तिमी त्यो कुनै भाषा बुझ्दैनौ
मानौँ तिमी केही देख्दैनौ
मानाँै तिमी केही सुन्दैनौ
त्यही गरिरहेका छौ
यो तिमीलाई छूट छैन
तिमीले सुन्नैपर्छ युगको आवाज
किनकि तिमीलाई नसुन्ने छूट छैन
तिमीले देख्नैपर्छ युगलाई नेदेख्ने छूट छैन
तिमीले बुझ्नैपर्छ यो समयको मागलाई
नबुझ्ने छूट छैन
तर पनि तिमी फेसबुक चलाइरहेका छौ
मस्त च्याट गरिरहेका छौ
यो तिमीलाई छूट छैन ।

(अखिल नेपाल लेखक सङ्घको दोस्रो राष्ट्रिय सम्मेलनमा वाचित)

२०७५ मङ्सिर २५ गते मङ्गलबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :