नेपाली क्रान्तिको कार्यदिशा

              ‘साँच्चिकै भन्ने हो भने माक्र्सवाद भनेको कुनै जीवनहीन जडसूत्र होइन, नत परिपूर्ण, बनिबनाउ र अनुल्लङ्घनीय सिद्धान्त, बरु कार्यमा जीवन्त मार्गदर्शक हो जसले आश्चर्यजनक रूपमा सामाजिक जीवनको अवस्थामा आकस्मिक परिवर्तन प्रतिबिम्बन गर्दछ ।’
–लेनिन, माक्र्सवादको विकासका निश्चित बिशेषताहरू–१९१०, पूर्ण सङ्कलित रचनावली–ग्रन्थ १७, प्रगति प्रकाशन मास्कोको अङ्ग्रेजी संस्करण १९६८ ।
‘आजको विश्व र नेपाली परिस्थितिले कार्यदिशामा नयाँ संश्लेषणको माग गरेको छ । त्यस्तो कार्यदिशा जनविद्रोह र जनयुद्धको विकासका रूपमा एकीकृत जनक्रान्ति हुन पुगेको छ ।’
– विप्लव, सङ्कलित रचना–पृ १७६ ।
              यहाँ उल्लिखित प्रथम उद्धरण हाम्रो कार्यमा पथप्रदर्शक सिद्धान्त हो । लेनिनले रुसमा क्रान्ति कसरी सम्पन्न गर्ने भन्ने सवालको जबाफ दिँदा यो संश्लेषण गर्नुभएको थियो । उहाँ ‘ठोस वस्तुको ठोस विश्लेषण नै माक्र्सवादको आत्मा हो’ भन्ने सिद्धान्तमा पुग्नुभएको थियो । यही कारणले गर्दा उहाँले आफ्नो समयको पुँजीवाद साम्राज्यवादमा पुगेको र जहाँ त्यसको साङ्लो कमजोर छ, त्यहाँ एउटै देशमा पनि वैज्ञानिक समाजवादी क्रान्ति हुनसक्छ भनेर देखाउनुभयो । लेनिनको मार्गनिर्देशनअनुसार नै हामीले पनि आफ्नो सापेक्षतामा आश्चर्यजनक रूपले सामाजिक जीवनको अवस्थामा आएको परिवर्तनलाई प्रतिबिम्बन गर्ने भगीरथ प्रयत्न गरिरहेका छौँ । दोस्रो उद्धरणमा भएको हाम्रो पार्टीका महासचिवको संश्लेषण यही प्रक्रियाको अभिव्यक्ति हो । लेनिनले विकास गर्नुभएको दीर्घकालीन जनयुद्धको विकासका रूपमा एकीकृत जनक्रान्ति हाम्रो पार्टीको कार्यदिशा बनेको छ । यो कार्यदिशाबाट नै हामीलेवैज्ञानिक समाजवाद प्राप्त गर्नेछौँ ।
एकीकृत जनक्रान्तिको कार्यदिशा भनेको के हो र यसका आधारहरू केके हुन्? भन्ने प्रश्न व्यापक रूपमा उठेको छ । कम्युनिस्ट पार्टीभित्र घुसेका गद्दार नेताहरूबाट विद्रोह गरी पार्टी पुनर्गठन प्रक्रिया र आजसम्म आइपुग्दा हामीले यी प्रश्नहरूको जबाफ दिइरहेका छौँ । कार्यदिशा समृद्ध हुँदै जाने प्रक्रिया जारी रहेकाले यी प्रश्नहरूको जबाफ पनि जारी रहनेछ । यस आलेखमा पनि सङ्क्षिप्त रूपमा कार्यदिशा र कार्यक्रमकै चर्चा गरिनेछ ।
माक्र्स–एङ्गेल्सको समयमा पुँजीवादले आफ्नो चिहान खन्ने सर्वहारा एवम् मजदुरवर्ग जन्मायो । औद्योगिक पुँजीवादको युगमा उदीयमान सर्वहारावर्ग क्रान्तिको अग्रदस्ता बन्यो । उहाँहरूले क्रान्तिको कार्यदिशा कारखानामा हडताल र सडकमा प्रदर्शन गर्दै पुरानो राज्यसत्ता ढालेर नयाँ राज्यसत्ता स्थापना गर्न अन्ततः सशस्त्र विद्रोह गर्ने बताउनुभयो । पेरिस कम्युन एउटा उदाहरण उहाँहरूले देख्नुभयो । पेरिस कम्युनको असफलताबाट प्राप्त शिक्षा, पँुजीवाद साम्राज्यवादमा विकास भएको स्थिति र क्रान्तिको प्रमुख दस्ता मजदुरको साथमा सिपाही र किसान पनि थपिएको अवस्थामा लेनिनले सशस्त्र विद्रोहको कार्यदिशा व्यवस्थित रूपमा विकास गर्नुभयो । क्रान्तिको तयारी, रिहर्सल र अन्ततः विद्रोहबाट रुसी क्रान्ति सफल भयो । माओले अन्तर्राष्ट्रिय रूपमा पुँजीवाद साम्राज्यवादमा पुगेको भए पनि चीन र चीनजस्ता तत्कालीन अर्धऔपनिवेशिक तथा अर्धसामन्ती देशहरू जहाँ किसानहरूको बाहुल्यछ, त्यस्ता देशहरूमा दीर्घकालीन जनयुद्धको कार्यदिशा विकास गर्नुभयो । लेनिनको सशस्त्र विद्रोहबाट रुस सोभियत सङ्घमा विकास भयो र दोस्रो विश्वयुद्धपछि पूर्वीयुरोप मुक्त भयो भने माओको दीर्घकालीन जनयुद्धबाट चीन, भियतनाम, उत्तरकोरिया, लाओस आदि मुक्त भए । तर भियतनाम क्रान्तिपछि दर्जनौँ देशहरूमा विजयको निकट क्रान्तिहरू असफल भए । साम्राज्यवादीहरूले लेनिन र माओको कार्यदिशाको व्यापक अध्ययन र अनुसन्धानपछि प्रतिविद्रोह र प्रतिदीर्घकालीन युद्धको विकास गरे । अर्थतन्त्र र विकास निर्माणमा कैयौँ कुराहरू कम्युनिस्टहरूबाट चोरेर भ्रम दिने, कम्युनिस्ट पार्टीभित्र घुसपैठ गर्ने, नेतृत्वलाई किनिदिने र दमन गर्ने नीति बनाए । परिणामस्वरूप समाजवादी देशहरूमा प्रतिक्रान्ति भयो भने क्रान्ति विजयको सन्निकट पुगेका देशहरू असफल भए । फिलिपिन्स, टर्की, चिले, इन्डोनेसिया, निकारागुआ, पेरूलगायतदेशहरूमा क्रान्ति असफल भयो । अतः नेकपाले के निष्कर्ष निकालेको छ भने माओको मृत्युपछि क्रान्तिकारी कम्युनिस्टहरूले माक्र्सवादको आधारभूत सिद्धान्तलाई दह्रोसँग नपकड्नु र परिस्थितिको विकासअनुरूप माक्र्सवादको विकास नगर्नु प्रतिक्रान्ति र असफलताको मूल कारक हो । अर्को कुरा राजनीतिक क्रान्तिसँगसँगै सांस्कृतिक क्रान्तिलाई एकीकृत नगर्नु भनेको शत्रुका विरुद्ध त सङ्घर्ष गर्नु तर आफ्नैविरुद्ध सङ्घर्ष नगर्नु हो । जसरी लेनिनले वर्गसङ्घर्षलाई सर्वहारा अधिनायकत्वसम्म विस्तार नगरी आफ्नो जमानामा कोही पनि कम्युनिस्ट हुँदैन भनेर संश्लेषण गर्नुभएको थियो, त्यसरी नै आज हामीले भन्नैपर्छ र जीवनमा लागू गर्नैपर्छ– वर्गसङ्घर्षलाई सर्वहारा अधिनायकत्वसम्म विस्तार गरेर मात्र पुग्दैन, बरु सर्वहारा अधिनायकत्वअन्तर्गत सर्वहारा सांस्कृतिक क्रान्ति पनि चलाउनुपर्छ । तदनुरूप हाम्रो पार्टीको कार्यदिशा एकीकृत जनक्रान्ति बनेको छ भने कार्यक्रमचाहिँवैज्ञानिक समाजवाद । यो कार्यदिशा र कार्यक्रमका आधारहरू निम्नानुसार रहेका छन् ः
पहिलो आधार भनेको आजको राजनीतिक अर्थशास्त्र नै हो । हामीले संश्लेषण गरेका छौँ– पुँजीवाद माक्र्स र लेनिनले भनेकै दिशामा अति केन्द्रित भएर गएको छ । आजपुँजीवादलाई साम्राज्यवाद मात्र भनेर पुग्दैन । अतिकेन्द्रित र चरम अर्थमा हामीले यसलाई उत्तरसाम्राज्यवाद भनेका छौँ । अर्थशास्त्रकै भाषामा यसलाई निगम पुँजीवाद भनिएको छ । माक्र्स, लेनिन र माओका पालामा केन्द्रीकृत उत्पादन र विकेन्द्रित वितरण प्रणाली थियो भने हाम्रो पालामा विकेन्द्रित उत्पादन र केन्द्रीकृत वितरण प्रणाली बनेको छ । विकेन्द्रित उत्पादनको अर्थ हुन्छ–श्रमिक वर्गलाई एकीकृत हुन नदिनु र विकेन्द्रित वितरणको अर्थ मुठीभर निगमहरूले बजारमा एकाधिकार कायम गर्नु । निगम पुँजीवादको अर्थ हुन्छ मुठीभर पुँजीपतिहरूले आफ्ना मुठीभर सिन्डिकेट, कार्टेल र ट्रस्टमार्फत बजारमा अति एकाधिकार कायम गर्नु र राज्यसत्तासमेत आफ्नो नियन्त्रणमा लिनु । उत्पीडित र उत्पीडकबीचमा रहेको मध्यमवर्गलाई यसले उत्पीडित र श्रमजीवी वर्गको कित्तामा जबर्जस्त धकेलिदिएको छ । एकातिर मुठीभर पुँजीपतिहरू केन्द्रित भएर बजारमा एकाधिकार जमाइरहेका छन् भने अर्कोतिर मजदुर, किसान, सिपाही, सुकुमबासी र मध्ययमवर्ग पनि एकीकृत हुँदै गएकाछन् । अर्कोतिर आजको उत्पादक शक्तिमा विज्ञान र प्रविधि जोडिएको छ र यसले उत्पादनमा तीव्रता ल्याएको छ । यसले विकास निर्माणमा तीव्रता ल्याएको छ । यसलाई प्रकृृतिमा सन्तुलन कायम गर्दै मानवीय आवश्यकताअनुसार उत्पादन र समान वितरण प्रणाली लागू गर्ने हो भने साम्यवाद धेरै नजिक आएको छ । तर उपरिसंरचनामा पनि त्यसअनुरूप क्रान्ति अनिवार्य छ । क्रान्ति भनेकै उत्पादक शक्ति र उत्पादन सम्बन्धका बीचको लडाइँ हो । उत्पादक शक्तिअनुरूपको उत्पादन सम्बन्ध भएन भने त्यसले सामाजिक विकासको हातमा हतकडी लगाइदिन्छ र त्यो हतकडी जबर्जस्ती चुँडाल्नुपर्ने आवश्यकता बन्दछ । यसैलाई क्रान्ति भनिन्छ ।
एकीकृत जनक्रान्तिको दोस्रो आधार भनेको विज्ञान र प्रविधिको विकास एकीकृत रूपमा हुनु हो । हाम्रो जमानाका प्रसिद्ध भौतिकशास्त्री स्टेफन हकिङको भर्खरै मृत्यु भएको छ । उहाँले अहिलेसम्म ज्ञात फोटोनदेखि बह्माण्डसम्मको ज्ञान हासिल गर्ने एकीकृत भौतिकशास्त्रको विकास गर्नुभएको छ । अल्बर्ट आइन्स्टाइनले ब्रह्माण्डका अजङ्गअजङ्गका वस्तुहरूलाई हेर्ने सापेक्षताको सिद्धान्त आविष्कार गरेका थिए भने स्वयम् आइन्स्टाइन, म्याक्स प्लाङ्क र अहिलेसम्मका केही वैज्ञानिकहरूले सबभन्दा सूक्ष्म वस्तुहरूलाई हेर्ने क्वान्टम सिद्धान्त अथवा अनिश्चयताको सिद्धान्त खोजी गर्दै आएका थिए । पछिल्लोमा स्वयम् हकिङको पनि ठूलो योगदान छ । यसलाई अनिश्चयताको सिद्धान्त भन्नुको अर्थ अहिलेसम्म यति कुरा थाहा भयो अथवा आविष्कार भयो, अरू बाँकी रहेको छ भन्ने हो । हामी रहेको पृथ्वी, यस पृथ्वीमा हाम्रो आफ्नै अस्तित्व र ब्रह्माण्डबारे वैज्ञानिकहरू र दार्शनिकहरू मात्र होइन, सर्वसाधारण जनताले ज्ञान हासिल गर्न हकिङले सापेक्षताको सिद्धान्त र अनिश्चयताको सिद्धान्तलाई जोडेर नै एकीकृत भौतिकशास्त्रको दर्शनशास्त्रमा आउँदा सापेक्षता, अनिश्चयताजस्ता विपरीतहरूको एकता अर्थात् द्वन्द्वात्मक भौतिकवादको विकास भन्नुपर्छ भने सामाजिक र राजनीतिक क्रान्तिमा एकीकृत जनक्रान्ति भन्न सकिन्छ । यो विज्ञान प्रविधिमा अभिव्यक्त भएको छ । आजको कम्प्युटर एकीकृत भौतिकशास्त्रको राम्रो अभिव्यक्ति हो । आधुनिक मोबाइल फोनहरूएकीकृत भौतिकशास्त्रका राम्रा उदाहरण हुन् । आधुनिक मोबाइल फोनले एक दूरभाष यन्त्र मात्र होइन, बरु त्यो रेडियो, टेलिभिजन, अखबार, हुलाक, क्यामरा, टर्चलाइट, चलचित्रगृह, विद्यालय, पुस्तकालयलगायत कार्य एकीकृत रूपमा पूरा गर्छ । यी यन्त्रहरू बहुआयामिक भएका छन् । विकास निर्माणमा काम गर्ने संयन्त्रहरू डोजर, स्काइभेटर आदि पनि बहुआयामिक छन् । यी सबै कुरा एकीकृत जनक्रान्तिका आधार बनेका छन् । त्यसकारण हाम्रो कार्यदिशाको नामकरण एकीकृत जनक्रान्तिमा भएको छ ।
तेस्रो कुरा, आज सहर र गाउँको त्यति ठूलो दूरी छैन । यो दूरी सूचनाप्रविधिको विकासले आमूल रूपमा घटाइदिएको छ । आज पुँजीवादको विकास भएको देशमा लेनिनले विकास गर्नुभएको सहरिया विद्रोहको कार्यदिशा लागू हुने र अर्धऔपनिवेशिक देशहरूमा अथवा अल्पविकसित देशहरूमा दीर्घकालीन जनयुद्ध लागू हुने परिस्थितिको सीमा उल्लङ्घन भइसकेको छ । कृषि पनि उद्योग बनेको छ र उद्योग पनि कृषि । राष्ट्र र अन्तर्राष्ट्रियको पनि त्यति ठूलो दूरी छैन । राष्ट्रियता र वर्गीयताको दूरी पनि घटेको छ । राष्ट्रियताको लडाइँवर्गसङ्घर्षको लडाइँभन्दा बाहिर गएर विजयी हुँदैन र वर्गीयताको लडाइँ राष्ट्रियताहरूको लडाइँभन्दा बाहिर गएर विजयी हुँदैन । अन्ततः दुवै वर्गसङ्घर्ष बनेका छन् । यी सबै कारणले गर्दा हाम्रो क्रान्ति एकीकृत जनक्रान्ति हो ।
चौथो कुरा, आजको क्रान्ति सैनिक युद्ध मात्र होइन, बरु साइबर युद्ध पनि हो । बन्दुक जति धेरै भए पनि अथवा सैन्य हिसाबले जतिसुकै बलियो भएपनि त्यसमा सूचना जोडिएन भने बन्दुक अन्धकारमा फस्छ । आजका श्रमिक र उत्पीडितहरूले यो कुरा बुझ्न र सिक्न गहिरो गरी लाग्नुपर्छ । अन्ततः बन्दुकमा साइबर जोडेपछि मात्र क्रान्तिकारी सेना बन्दछ । प्रतिक्रियावादी रसाम्राज्यवादी सेना त यो सुविधाबाट लैस हुन गाह्रो छैन । क्रान्तिकारी सेनालाई यसबाट लैस हुन अब कसैले रोक्ने प्रयास गरे पनि सक्तैन । त्यसकारण क्रान्तिकारीहरू सूचना खेलमा पनि अब्बल हुन जरुरी छ । सैन्य विज्ञान पनि बन्दुक र सूचनाको एकीकृत संयन्त्र बनेको छ ।
उल्लिखित मूलाधारमा बनेको एकीकृत जनक्रान्ति नै हाम्रो पार्टीको कार्यदिशा हो । हामी यो क्रान्तिद्वारा नेपालमा वैज्ञानिक समाजवाद हासिल गर्न चाहन्छौँ । यहाँ पनि प्रश्न उठेको छ–नयाँ जनवादी क्रान्ति नगरेर कसरी वैज्ञानिक समाजवाद आउँछ ?
हामीले उत्तर दिएका छौँ– उत्पादक शक्तिमा विज्ञान र प्रविधिको समायोजन, उत्तरसाम्राज्यवादको वित्तीय भूमण्डलीकरण, सूचनाको भूमण्डलीकरणले उत्पादनमा तीव्रता ल्याएको छ । विज्ञान र प्रविधिमा जनताको पकड हुनेबित्तिकै समाजवाद मात्र होइन, बरु समाज विकासको उच्च चरण साम्यवाद पनि दृष्टिक्षितिजमा देखा पर्दैछ । नेपालमा दलाल पुँजीवाद, नोकरशाही पुँजीवाद र सामन्ती अर्थतन्त्रको नेतृत्व एकीकृत रूपमा दलाल पुँजीवादी संसदीय व्यवस्था स्थापना भएको छ । दलाल पुँजीवाद उत्तरसाम्राज्यवादकै अङ्ग हो । दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्प पुँजीवादी व्यवस्था हुन सक्तैन । माओले चीनमा दीर्घकालीन युद्धद्वारा नौलो जनवादी क्रान्ति गर्नुपर्छ भन्दा पनि नौलो जनवादी क्रान्ति समाजवादकै अङ्ग हो भन्नुभएको थियो । आजको नेपाल अर्धऔपनिवेशिक र अर्धसामन्ती अवस्थाबाट नवऔपनिवेशिक अवस्थामा पुगेको छ । ‘नौलो जनवादबारे’ शीर्षकमा १९४० मा लेखिएको आलेखमा माओ स्वयम्ले ‘…ऐतिहासिक परिस्थितिमा ठीक हुने कुरा अर्को ऐतिहासिक परिस्थितिमा बेठीक पनि हुनसक्छ…’ भन्नुभएको छ ।
हाम्रो नेपालमा चिनियाँ क्रान्तिप्रति के सरल धारणा बनेको छ भने माओले १९४९ को १ अक्टोबरमा नयाँ जनवादी क्रान्ति गर्नुभयो र १९५७ मा गएर समाजवादी क्रान्ति गर्नुभयो । यो धारणामा क्रमभङ्ग गर्न जरुरी छ । वास्तवमा चिनियाँ कम्युनिस्ट पार्टी र अध्यक्ष माओको नेतृत्वमा नयाँ जनवादी क्रान्तिको प्रक्रिया गाउँले सहरलाई घेर्ने रणनीति भएको दीर्घकालीन युद्धमा पूरा भएको थियो । १९४९ मा त उहाँले वैज्ञानिक समाजवादी गणतन्त्र चीनको घोषणा गर्नुभएको हो । १९५७–५८ मा त ल्यु साओ ची र तङसाओफङको अझै पुँजीवादकै विकास आवश्यक छ किनभने पिछडिएको उत्पादक शक्ति र उन्नत समाज व्यवस्थाबीच अन्तरविरोध हुन्छ भन्ने तर्कविरुद्ध माओवादको समाजवादी कार्यक्रम लागू गर्नुपर्छ भन्ने सिद्धान्त पूर्णरूपले लागू भएको हो । यहाँ नेपालमा पनि एकीकृत जनक्रान्तिको दौरानमा पुँजीवादी क्रान्तिको प्रक्रिया पूरा गरी समाजवादी गणतन्त्र नेपालको स्थापना गर्नुपर्दछ । एकीकृत जनक्रान्तिकै प्रक्रियामा सांस्कृतिक क्रान्ति पनि भइरहने भएकाले वैज्ञानिक समाजवाद अझ आवश्यक बन्दछ ।
समाजवाद के हो ? माक्र्सले प्रसिद्ध कृति ‘फ्रान्समा वर्गसङ्घर्ष १८४८–१८५०’ मा भन्नुभएको छ, ‘समाजवाद स्थायी क्रान्तिको उद्घोषण हो, सामान्यतः वर्गविभेदको उन्मूलन गर्न, त्यो वर्र्गविभेद आधारित रहने सम्पूर्ण उत्पादन सम्बन्ध उन्मूलन गर्न, त्यो उत्पादन सम्बन्धअनुरूप रहने सम्पूर्ण सामाजिक सम्बन्ध उन्मूलन गर्न, त्यो सामाजिक सम्बन्धको परिणामका रूपमा सम्पूर्ण विचारको क्रान्तिकारीकरण गर्न आवश्यक सङ्क्रमण बिन्दुका रूपमा सर्वहारावर्गको अधिनायकत्व रहन्छ ।’
माक्र्सको यो संश्लेषणले पुँजीवाद र साम्यवादबीचको सङ्क्रमणकाल नै समाजवाद हो भन्ने कुरा स्पष्ट गर्दछ । यसमा वर्गविभेदको उन्मूलन गर्न, त्यसमा आधारित उत्पादन सम्बन्ध उन्मूलन गर्न, त्यसअनुरूप रहने सामाजिक सम्बन्धबाट जन्मने विचारको क्रान्तिकारीकरण गर्न सङ्क्रमण बिन्दुका रूपमा सर्वहारा अधिनायकत्वले काम गर्दछ । यसैमा आधारित भएर नै माओले सर्वहारा अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्ति (महान् सर्वहारा सांस्कृतिक क्रान्ति) को सिद्धान्त प्रतिपादन गर्दै चीनमा लागू गर्नुभयो । यो सङ्क्रमणकालीन सामजवादमा पुँजीवादी आदतको सत्ता सँगसँगै रहने हुनाले नै यो काल लामो हुने देखिन्छ । यसलाई साम्यवादमा पु¥याउन नै निरन्तर क्रान्तिको आवश्यकता हुन्छ । अन्ततः यो साम्यवादको प्रथम चरण नै हो । यस चरणमा पुँजीवाद र साम्यवादबीच भीषण सङ्घर्ष चल्दछ ।
वर्गीय समाजको उत्पत्ति कसरी भएको हो ? भन्ने प्रश्नको जबाफ ड्युहरिङ मत खण्डनमा दिदै एङ्गेल्स भन्नुहुन्छ, ‘वर्गविभाजन उत्पादनको अपर्याप्ततामा आधारित थियो । आधुनिक उत्पादन शक्तिको पूर्ण विकासले त्यसलाई समाप्त गरिदिनेछ । समग्र समाजमा वर्गउन्मूलन हुनुभन्दा पहिले त्यस अवस्थासम्म ऐतिहासिक विकास हुन जरुरी छ जसमा कुनै शासक वर्गको मात्र होइन, कुनै पनि प्रकारको शासक वर्ग र वर्गविभेदको अस्तित्व एउटा व्यावहारिक….काल दोष बनेको होस् । यसैले समाजमा वर्गउन्मूलन हुनुपहिले उत्पादनको यति धेरै विकास हुनु आवश्यक छ– समाजको एउटा कुनै विशेष वर्गको उत्पादनको साधन तथा उत्पादित वस्तु हस्तगतकरण गर्नुकासाथै आफ्नो राजनीतिक प्रभुत्व जमाउनु तथा सांस्कृतिक एवम् बौद्धिक नेतृत्वमा आफ्नो एकाधिकार कायम गर्नु अनावश्यक मात्र होइन, बरु आर्थिक, राजनीतिक तथा बौद्धिक विकासको मार्गमा बाधा बन्न जान्छ।’
एङ्गेल्सद्वारा संश्लेषित यो कार्यभार हामीले समाजवादअन्तर्गत पूरा गर्नुपर्दछ । यही चरणमा नै हामीले उत्पादनको मात्रा पर्याप्त बनाइसकेपछि वर्गउन्मूलन हुन्छ । यहाँ सांस्कृतिक क्रान्ति नल्याईकन साम्यवादी संस्कृति पनि बन्न सक्तैन । आखिर साम्यवाद कस्तो हुन्छ त ? १८७६–७८ मा लेखिएको ‘ड्युहरिङमतखण्डन’ मा एङ्गेल्स भन्नुहुन्छ, ‘जब समाजले उत्पादनका साधनमाथि अधिकार प्राप्त गर्नेछ तब माल उत्पादन समाप्त हुनेछ र यसका साथै उत्पादन गर्नेमाथि उत्पादनको प्रभुत्व पनि समाप्त हुनेछ । सामाजिक उत्पादनमा अराजकताको स्थान योजनाबद्ध र सचेत सङ्गठनले ग्रहण गर्नेछ । यसपछि व्यक्तिहरूलाई आआफ्नो अस्तित्वकालागि सङ्घर्ष गर्नुपर्ने छैन । एउटा खास अर्थमा मानिसले पहिलोपटक बाँकी पशुजगत्बाट आफूलाई अन्तिम रूपमा अलग गर्नेछ र पाशविक अस्तित्वको परिस्थितिलाई छोडेर समग्र मानव अस्तित्वको परिस्थितिमा प्रवेश गर्नेछ । जीवनका ती समस्त परिस्थिति जसबाट मानिसको पर्यावरण तयार हुन्छ, जसले अहिलेसम्म मानिसमाथि शासन गर्दै आएका थिए, तिनीहरू अब मानिसको प्रभुत्व एवम् नियन्त्रणको मातहतमा आउनेछन् र मानिस आफ्नो सामाजिक सङ्गठनको स्वयम् मालिक बन्ने हुनाले पहिलोपटक प्रकृतिको वास्तविक तथा चेतन स्वामी बन्न जान्छ । अहिलेसम्म उसको आफ्नो सामाजिक कार्यको नियम बाह्य प्राकृतिक नियमका रूपमा उसमाथि शासन गर्ने गथ्र्यो । अब उसले स्वयम् तिनको पूर्ण समझदारीकासाथ उपयोग गर्नेछर त्यसलाई आफ्नो काबुमा ल्याउनेछ । अहिलेसम्म मानिसको आफ्नो सामाजिक सङ्गठन प्रकृति र इतिहासद्वारा थोपरिएको एउटा अनिवार्य आवश्यकताकारूपमा मानिसको मुकाबिला गर्दथ्यो । अब त्यो स्वयम् मानिसको स्वतन्त्र कार्यको परिणाम बन्न जानेछ । अहिलेसम्म जुन बाह्य वस्तुगत शक्तिले इतिहासमाथि शासन गर्दै आएको थियो अब त्यो स्वयम् मानिसको नियन्त्रणमा आउनेछ । यही त्यो बिन्दु हो जसको अगाडि मानिस पूर्ण चेतनाकासाथ आफ्नो इतिहासको आफैँ निर्माण गर्नेछ । यही त्यो बिन्दु हो जसको अगाडि मानिसले जब कहिले कुनै सामाजिक कारणलाई गतिवान् बनाउनेछ तब तिनको मुख्यतः अझ निरन्तर बढ्दै गरेको मात्रामा अभिप्रेरित परिणाम हुनेछ । यो मानिसको आवश्यकताको संसारबाट स्वतन्त्रताको संसारमा छलाङहुनेछ ।’
वैज्ञानिक समाजवाद ल्याउने भनेको एङ्गेल्सले माथि विश्लेषण गरेको कार्यभार सम्पन्न गर्ने हो । यही आवश्यकताको संसारबाट स्वतन्त्रताको संसारमा पुग्न वैज्ञानिक समाजवादको लामो कष्टसाध्य र महान् बाटो पूरा गर्नैपर्दछ । यो पार गरेपछि मात्र ‘प्रत्येकबाट उसको योग्यताअनुसार लिने र प्रत्येकलाई उसको आवश्यकताअनुसार दिने’ उत्कृष्ट सामाजिक व्यवस्था प्राप्त हुनेछ ।
हामीले वैज्ञानिक समाजवाद प्राप्त गर्न थुपै्र तयारी, रिहर्सल र विद्रोहका प्रक्रियाबाट अघि बढ्नु पर्नेछ । एकीकृत जनक्रान्ति हाम्रो पार्टीको क्रान्तिको कार्यदिशा र वैज्ञानिक समाजवाद यसको कार्यक्रम हो ।

२०७५ मंसिर २१ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!