परम्परागत संस्कृति र सांस्कृतिक रूपान्तरण 

परम्परागत पर्व दसैँंको पूर्वसन्ध्यामा मङ्गलबार दुईजना फेसबुक मित्रहरूले राखेको सन्देश (स्टाटस) ले बाल्यकालमा असचेत हुँदै मनाएको दसैँँको स्मरण गराइदियो । वास्तवमै नेपाली समाज सामन्तवादबाट ग्रस्त हुँदा, हाम्रो उत्पादनसम्बन्ध र चेतना परम्परावादी हुँदा हाम्रा चाडपर्व र संस्कार–संस्कृतिहरू पनि त्यसैअनुसारका थिए । आज पनि ग्रामीण भेग जहाँ पुरानै उत्पादन सम्बन्ध, पुरानै जनजीवन र चेतनास्तर छ त्यहाँको संस्कृति परम्परावादी नै छ । एउटै दसैँ सहरबजार र गाउँमा, पूर्व र पश्चिममा, झुप्राछाप्रा र महलहरूमा बेग्लाबेग्लै किसिमले मनाइन्छ । त्यस्तै हिन्दु महिलाहरूले मनाउने तीज गाउँमा एक किसिमले मनाइन्छ तर सहरबजारमा अर्कै तरिकाले । जन्मदेखि मृत्युसम्मका चाडपर्व र संस्कार–संस्कृतिहरू मानिसको वर्गसम्बन्ध, वर्गचेतना र आर्थिक सम्बन्धअनुसार फरकपरक छन् । सामन्तवादले ग्रस्त समाजमा भन्दा पुँजीवादी समाजका संस्कार–संस्कृति अलि उन्नत र विकसित हुने अपेक्षा गरिन्छ तर नेपालमा सामन्तवादी समाज अर्धसामन्ती हुँदै पुँजीवादी–जनवादी बन्नै नपाउँदै दलाल पुँजीवादमा स्खलित हुन पुग्यो । संस्कार, संस्कृति र चाडपर्वहरू पनि मौलिक र सिर्जनशीन नहुँदै दलाल, खिचडी र तडकभडकपूर्ण बन्दै गएका छन् । यसले समाजलाई भाँडिरहेको छ ।

सामाजिक सञ्जालमा मित्र हर्क रावलले बाल्यकाल र पुरानो दसैँ सम्झाउँदै लेख्नुभएको छ : खरले छाएको– रातोमाटोले लिपेको घरमा माकुरोले लगाएको जालो पन्छाउँदै घर पोत्ने चटारो हुन्थो र पो दसैँँ आएझैँ लाग्थ्यो । दसैँँलाई भन्दै घोर्ले बोको घरको पालीमा बाँधिन्थो र पो दसैँँ आएझैँ लाग्थ्यो । दसैँँलाई भन्दै साँचेर राखेको काँक्रो थाङ्ग्र्रामै पाकेर पट्पटी फुट्थ्यो र पो दसैँ आएझँै लाग्थ्यो । रोटे पिङका लागि माद्ल खाँबो काट्न गइन्थ्यो । लिङ्गे पिङको डोरी बाट्न पाट–बाबियो उठाउँदै हिँडिन्थ्यो र पो दसैँ आएझैँ लाग्थ्यो । दसैँलाई भन्दै टेको लगाएर राखेको केरा बोटमै पहेँलपुर हुन्थ्यो र पो दसैँ आएझैँ लाग्थ्यो । दसैँलाई भन्दै चिउरा कुट्न रातभरि गाउँका ढिकी भक्राइट्याइँ–भक्राइट्याइँ गर्थे र पो दसैँ आएझैँ लाग्थ्यो । दसैँलाई भन्दै गामघरका कुवापँधेरो, बाटोघाटो सरसफाइमा जुटिन्थ्यो र पो दसैँ आएझैँ लाग्थ्यो । दसैँलाई भन्दै मिठोमसिनो कुट्नु–पिन्नु गर्न ढिकीजाँतोमा भ्याइनभ्याइ हुन्थ्यो र पो दसैँ आएझैँ लाग्थ्यो । दसैँमा फलानो आयो, ढिस्कानो आउँदैन रे, नासो पठाएछ भनेर कुरा गर्न पाइन्थ्यो र पो दसैँ आएझैँ लाग्थ्यो । पोहोरको दसैँमा यति दक्षिणा भा’थ्यो, अहिले कति हुने हो भनेर मनमनै हिसाबकिताब गरिन्थ्यो र पो दसैँ आएझैँ लाग्थ्यो । वर्ष कुरेर बल्लबल्ल नयाँ लुगा आङमा पथ्र्यो र पो दसैँ आएझैँ लाग्थ्यो ।

यसैगरी उहाँले अगाडि लेख्नुभएको छ, अघिपछि एक फिर्को मासुसँग कचौरोभरि झोल खाने बानी परेको मान्छेलाई आफ्नै घरमा सिङ्गै खसी ढालिन्थ्यो र पो दसैँ आएझैँ लाग्थ्यो । मुग्लानीहरू हररर अत्तर बास आउँदै भरियालाई भारी बोकाएर खाङ्ग्रे डोकोमा खत्र्याकखुत्रुक सामान हालेर टेप रेकर्डर घन्काउँदै गाउँ छिर्थे र पो दसैँ आएझैँ लाग्थ्यो । घरमै आफ्नो मात्रै मनमौजी गर्ने गरी प्राइभेट पिङ हालिदिनुपर्छ भनेर आमाबासँग माग राखेर लडीबुडी खेल्दै अनशन बसिन्थ्यो र पो दसैँ आएझैँ लाग्थ्यो । सधैँ निख्लो ढिँडो मकैको भात पाक्ने अँगेनामा एक्कासि धानको भात पाक्दा अचम्म लाग्थ्यो र पो दसैँ आएझैँ लाग्थ्यो । निधारले नपुगेर गालासम्म रातो अक्षता लगाएर दक्षिणामा पाएको सिक्का पैसा झिल्झिलेमा हालेर छन्द्राङछन्द्राङ पार्दै हिँड्न पाइन्थ्यो र पो दसैँ आएझँै लाग्थ्यो । टीका लगाउदै हिड्दा कोहिकोही मान्यजनले यो बज्जिया त छोरोमान्छे पो हो त । छोरो मान्छेलाई त दक्षिणा दिनु पर्दैन भन्दै पैसा नदिएर जमरा मात्रै हातमा राखिदिँदा छोरी भएर नजन्मेकोमा पछुतो मानिन्थ्यो र पो दसैँ आएझँै लाग्थ्यो ।

तर खै त अहिले त्यो दसैँ ??????? उफ् ! सम्झिँदा पनि बैराग लाग्छ । त्यसैले मागेर पाउने भए म मेरो त्यो बेलाको दसैँ माग्थेँ । नागरिकतामा उमेर घटाएर फेरि त्यो ‘बालापन’ फर्कने भए म जुनसुकै मूल्य चुकाएर पनि त्यो ‘बालापन’ साट्थेँ तर अपसोच ! न त्यो बालापन आउँछ, न त्यस्तो दिन । समयअगाडि म निरीह छु ।
उहाँले स्टाटसको अन्तिममा ‘सबैलाई दसैँको अग्रीम शुभकामना !!!’ दिनुभएको छ । वास्तवमै यो नेपालको ग्रामीण जनजीवनको एउटा सजीव चित्र हो । यसमा अझ उहाँले टीका लगाइदिनेहरूले मन्त्र भट्ट्ययाउँदै दिने ‘आशीर्वाद’ हरू समावेश छैनन् । ‘आयु द्रोणसुते…’ का पट्ट्यारलाग्दा श्लोकहरू छैनन् जसले मानिसलाई अनिश्चित र अन्धकारपूर्ण जीवनमा धकेल्थ्यो र अझैसम्म पनि धकेलिरहेछ ।

यसैगरी फेसबुके मित्र भौतिक मल्लले स्टाटसमा लेख्नुभएको छ, जताततै दसैँको चर्चा चलिरहेछ । ‘बच्पन’ सम्झिरहेछु …। यतिबेला धान पाक्ने सिजन हुनुपर्छ । खोलासाँघु धान पाकिरहेका होलान् । जिउला सुन्तला लटरम्म भएका होलान् । चैँक मकै सोहोरेर सकिए होलान् । रातोमाटो र कमेरो माटोको समिश्रणले घरहरू रङ्गिएका होलान् । बाटाउता पिङ बनिसकेको होला । माझ आँगनमा मादल बज्न छोड्यो कि छोडेन होला ? सम्झन्छु…ती दिनहरूमा दुःख थियो, पीडा थियो, अभाव थियो, दर्द थियो साथै हर्ष पनि उत्तिकै थियो । आखिर बाल्यकालको दसैँ न थियो त्यो डियर जिन्दगी ।

यी दुवै स्टाटसले नेपालका निम्नवर्गीय जनसमुदायले ग्रामीण भेगमा मनाउने दसैँ र हाम्रो अवस्थाको चित्र देखाउँछन् । वास्तवमै अब ती दसैँहरू वा त्यसप्रकारका परम्परावादी आधारमा टिकेका चाडपर्वहरू विस्मृतिको गर्तमा पुरिइरहेका छन् र त्यसलाई दलाल पुँजीवादी खिडी संस्कृतिले गन्जागोल बनाइदिएको छ ।
नेपाली समाज विभिन्न किसिमका जाति, संस्कृति, राष्ट्रियता र समुदायले बनेको छ । त्यसैले यहाँ जाति, संस्कृति र राष्ट्रियताअनुसारकै संस्कृति र परम्परागत पर्वहरू विद्यमान छन् । अधिकांश पर्वहरू परम्परा र अन्धविश्वासमा, धर्म र अध्यात्ममा जेलिएका छन् र तिनैबाट सञ्चालित छन् । अझ भनौँ अधिकांश संस्कृतिलाई धार्मिक अन्धविश्वासले घिसारिरहेका छन् । त्यसैले संस्कृतिमा मौलिकता भन्दा पनि धर्मको घेराबन्दी र निर्देशन छ । अब संस्कृति र सांस्कृतिक कर्महरू खुसी र उत्साहभन्दा पनि क्रमशः बोझ बनेर आइरहेका छन् ।

नेपाली समाजमा जन्मदेखि मृत्युसम्मका अनेक सांस्कृतिक कर्महरू छन् । यी सबै धार्मिक पाखण्ड र अन्धविश्वासमा जकडिएका छन् । इतिहासका विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलन, विद्रोह र युद्धहरूले सापेक्ष रूपमा परम्परा, अन्धविश्वास, रुढि, पाखण्ड र त्यसले मानिसमाथि लादेको हिंसा–अन्याय–शोषणका विरुद्ध प्रहार नगरेका होइनन् । विशेषतः २०५२ सालदेखि आरम्भ भएको जनयुद्धले सामन्ती चिन्तन, राजनीति र संस्कृतिमाथि शक्तिशाली प्रहार गरेको पनि हो । जनयुद्धको तापले नेपाली समाजमा विद्यमान सामन्ती अर्थात् रूढि र अन्धविश्वासमा जकडिएका कयौँ खराब संस्कृति अन्त्य हुँदै गएर नयाँ संस्कृति निर्माणको गति तीव्र रूपले आरम्भ भएको पनि हो । नयाँ जनवादी क्रान्ति हुँदै वैज्ञानिक समाजवाद र साम्यवाद स्थापना गर्ने उद्देश्यसाथ आरम्भ भएको जनयुद्ध असफल पारिएपछि नेपालको राज्यसत्ता जनताको त्याग, शौर्य र बलिदानको उद्देश्यअनुसार रूपान्तरण हुन सकेन । सामन्ती राजतन्त्र र दलाल संसद्वादको ठाउँ फेरि दलाल पुँजीवादले लियो । आन्दोलन र युद्धको नेतृत्व गरेका हिजोका नायकहरू नै राजनीतिक र सांस्कृतिक प्रतिक्रान्तिका मतियार मात्र होइन, वाहक नै बनेको अवस्थामा सांस्कृतिक प्रतिक्रान्तिले जरा गाड्यो । यतिबेलाको सत्ता संस्कृति दलाल पुँजीवादी संस्कृति हो । दलाल पुँजीवादको मौलिक संस्कृति केही हुँदैन । यो ऐँजेरु संस्कृति हो । सामन्ती र पुँजीवादी संस्कृतिमा पुच्छर र सिङ जोड्ने, त्यसैलाई सिँगारपाटार र तोडमोड पारेर रिमिक्स गीतजस्तो बनाउँदै विकृत पार्ने यसको चरित्र हो । त्यसैले यो दलाल संस्कृतिको तत्काल अन्त्य हुनु आवश्यक छ ।

राजनीतिक–सांस्कृतिक प्रतिक्रान्तिलाई उल्ट्याएर क्रान्तिको बाटोमा अघि बढाउन नेपालका सक्कली मालेमावादी राजनीति र संस्कृतिकर्मीहरू लागिरहेकै छन् । राजनीतिमा कमरेड विप्लवले नेतृत्व गर्नुभएको नेकपा र संस्कृतिमा त्यसको सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासङ्घले सचेततापूर्वक सांस्कृतिक क्रान्तिलाई अघि बढाइरहेका छन् । महासंघले सञ्चालन गरेका कार्यक्रम, प्रकाशन गरेका पुस्तक, महासंघको केन्द्रीय टोली सामना परिवारले प्रतिक्रान्ति बेहोरिरहेको राजनीति र संस्कृतिलाई सुल्टो दिशामा उल्ट्याउन अर्थात् एकीकृत जनक्रान्तिलाई तीव्र बनाउन प्रदर्शन गरिरहेको सामना साङ्गीतिक अभियान यसैका केही उदाहरण हुन् । यो सकारात्मक र सराहनीय कदम हो । महासचिव कमरेड विप्लवको ‘महापतन’ शीर्षक पुस्तक यही सोमबारबाट सार्वजनिक गरिएको छ । नेपालको राजनीति र संस्कृतिमा भएको महापतनलाई यस पुस्तकले ऐनाभन्दा बढी छर्लङ्ग पारेको छ । महासचिवका एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवाद पुस्तकले नेपाली भूमिबाट मालेमाका आजसम्मका कार्यदिशमा विकास भएको एकीकृत जनक्रान्तिको कार्यदिशा र नेपाली क्रान्तिलाई वैज्ञानिक समाजवादसम्म पु¥याउने दार्शनिक, वैचारिक, राजनीतिक चिन्तन प्रस्तुत गरेका छन् । महापतनले राजनीतिक प्रतिक्रान्तिको चित्रलाई सजीव रूपमा उतार्र्दै प्रचण्ड–बाबुराम–बादलहरूले लिएको महापतनको बाटो दलाली र गद्दारीको बाटो भएको प्रस्ट पार्दै एकीकृत जनक्रान्ति नै क्रान्ति सम्पन्न गर्ने एक मात्र अचुक अस्त्र भएको प्रस्ट पारेका छन् । यसैगरी नेकपामा आबद्ध विभिन्न नेता, कार्यकर्ता र संस्कृतिकर्मीले पुस्तक, लेखरचना, गीत, कविता, संस्मरण, समीक्षा, गीति एल्बम र कार्यक्रमहरू नै आयोजना गरेर क्रान्तिकर्मलाई अघि बढाइरहेको अवस्था छ । यसले वर्तमान दलाल पुँजीवादी सत्ताको दलाल संस्कृतिको अन्त्यका लागि ठूलो वैचारिक ऊर्जाको काम गरेका छन् । वर्तमान दलाल सत्तासंस्कृतिले जाति, राष्ट्रियता र समुदायका संस्कृतिमाथि अतिक्रमण गरेको छ । यसको अन्त्य र वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्तिलाई तीव्र बनाउनु आवश्यक छ ।

केही समयअघि आयोजित एउटा बृहत् अन्तरक्रियात्मक गोष्ठीमा परम्परागत संस्कृतिमा रूपान्तरणको विकल्प प्रस्तुत गर्दै प्रगतिवादी संस्कृतिकर्मी नारायण शर्माले प्रस्तुत गरेको विकल्पका केही बुँदा यहाँ प्रस्तुत गरिएको छ :
केकस्ता विकल्प : किनको विपरीत अर्थात् नयाँ, आधुनिक, समतामूलक, न्यायसङ्गत, सत्यसम्मत, मानवीय र सामाजिक, राष्ट्रवादी, जनवादी, सरल, वैैज्ञानिक संस्कार–संस्कृति । पुरानाले पैदा गरेका समस्याहरूलाई हल गर्ने खाले नयाँ वैकल्पिक संस्कार–संस्कृति आवश्यक भएका छन् ।
कसरी विकल्प :

क) सबैका संस्कार–संस्कृतिलाई वर्गीकरण गरेर । सबैका राम्रालाई चिन्ने, बिन्ने र मान्ने । सबैका नराम्रालाई चिन्ने, छान्ने र हान्ने अनि ध्वस्त र समाप्त पार्ने । सबैका अर्धराम्रालाई पहिचान गर्ने, परिमार्जित र परिष्कृत–परिवद्र्धित गरेर अर्थात् खार्ने, फार्ने र मान्ने गरेर नयाँ वैकल्पिक संस्कार–संस्कृति निर्माण गर्ने विधि नै वैज्ञानिक र जनवादी हो ।

ख) तुलना गरेर छान्ने, मान्ने र हान्ने गर्ने गरेर अर्थात् नेपाली संस्कार/संस्कृतिमध्ये मध्ये जुन राम्रा छन्, ती अँगाल्ने र जुन नराम्रा छन्, ती फाल्ने गरेर मात्रै नेपाली समाजकै नेपाली वैकल्पिक, राष्ट्रिय र जनवादी संस्कृति र संस्कार निर्माण गर्नु पर्दछ ।

ग) मुख्य–मुख्य छनोट गरेर अर्थात् सबैका सबै संस्कारभन्दा पनि जन्म, मृत्यु र विवाह मुख्यलाई वैज्ञानिक बनाएर मान्नेतिर जानुपर्छ ।

घ) प्राथमिकीकरण गरेर अर्थात् सांस्कृतिक चाडपर्वमा विज्ञानसम्मत, राष्ट्रवादी, जनवादी र सरललाई प्राथमिकता दिनुपर्छ र अवलम्बन गर्ने–गराउने सचेत प्रयत्न गर्नु पर्दछ ।

ङ) राज्यले सबैलाई समान अवसर र महत्व दिनुका साथै निश्चित राष्ट्रिय चाडपर्वमा बिदा दिने र सबैले आआफ्ना संस्कृति र संस्कारअनुसार बिदा लिने गर्नुपर्छ । सबैको सम्मानस्वरूप शुभकामना दिनुपर्छ । राज्य र सरकारका तर्फबाट कुनै एकलाई प्राथमिकता र महत्व दिनु हुन्न ।

च) पुरानालाई हेर्ने दृष्टिकोण पनि पूर्वाग्रही हुनु हुन्न । पुराना पनि वैज्ञानिक र सामाजिक छन् भने नयाँ पनि अवैज्ञानिक, भद्दा, अश्लील र अराष्ट्रवादी छन् । तिनको परख गरेर मात्र अवलम्बन गर्ने विकल्प दिनुपर्छ ।

छ) पुराना छोड्न र नयाँ विकल्प दिन आँट गर्ने, जिम्मेवारीबोध गर्ने, चेतना फैलाउने र आवश्यक परे थोरै बल प्रयोग गर्ने गर्नु पर्दछ ।

ज) दसैँतिहारजस्ता चाडमा जुवातास खेल्नेजस्ता तथा अन्य कतिपय चाड–संस्कारमा रक्सीजाँड लाने–खानेजस्ता, विवाहमा अंश नदिएर र दाइजो–तिलक दिने–लिनेजस्ता र बढी नै तडकभडक, धुमधडाका गर्नेजस्ता अथवा न अंश, न त दाइजो–नगद नै दिएर छोरी–बहिनीलाई ठग्नेजस्ता, कतिपय जनजातिमा त मरेका बेलामा मासु काटेर भोज खानेजस्ता र हाँडाचिन्ना, लत्ताकपडा फ्याँक्नेजस्ता असामाजिक, असंवेदनशील, अमानवीय र अप्रिय एवम् विकृतिमूलक चालचलन र परम्परा जसका जे भए पनि चेतना र केही बलसमेत प्रयोग गरी, कानुन निर्माण र कार्यान्वयन गरी हटाउनैपर्छ ।

झ) कतिपय राम्रो उद्देश्यले र वैज्ञानिक रूपले तत्कालीन अवस्थामा आवश्यकताका कारण अवलम्बन गरिएका परम्परागत चालचलन र संस्कार–संस्कृतिहरू पनि पछि विकृत पार्ने, तोडमरोड गर्ने, गलत उद्देश्य र कार्यमा प्रयोग गर्नेजस्ता कुराहरूलाई हटाउने । विवाहमा लोकन्ती–पठलौरी पठाउने–जानेजस्ता कुराबाट विकृति फैलने खतरा हुन्छ । तसर्थ तिनलाई हटाउने ।

ञ) पहिले वैज्ञानिक भए पनि हाल असामयिक भएकालाई अपडेट गर्ने । जस्तै : किरियाकर्म गर्दा १३ दिनलाई कम गर्ने अर्थात् सके ३ दिन, नभए ७ दिन गर्ने ।

ट) दान दिएमा जसका नाममा दिएको हो, उसले पाउने गलत कुराको खण्डन गर्दै दान दिएर धर्म हुन्छ, अर्थात् कल्याण हुन्छ भन्ने मान्यतालाई पनि दीनहीनलाई दिए राम्रो–कल्याण हुन्छ भन्नेमा सहमत–रूपान्तरण गर्ने ।

ठ) कम्युनिस्टहरूले पुरानो नमान्ने, नयाँ विकल्पको विकास र थालनी पनि नगर्ने भनी जनता र समाजबाट कट्ने वा बाहिरबाहिर नमान्ने भन्ने, भित्रभित्र मान्ने गर्ने अथवा तनले मान्न नसक्ने मनले छाड्न नसक्ने द्वैधवादको स्थिति अन्त्य गर्ने ।

ड) सबै जाति र धर्मका जनता–नेता–कार्यकर्तालाई आआफ्ना वा अरू कसैका संस्कृति, चाडपर्व निर्धक्कसँग वैज्ञानिक, व्यावहारिक, सरल र सामाजिक रूपले मान्ने वातावरण तयार गर्ने ।

ढ) दसैँ, तिहार, छठ आदि मान्नु हुन्न भन्ने तर त्यति नै बेला शुभकामना दिने, जलपान गर्ने, छुट्टी मनाउने, भोज दिने, नयाँ कपडा किन्ने, जेलमा समेत खसी, चिउरा र पैसा पठाउनेजस्ता कुरा कम्युनिस्टहरूले गर्नु भएन । यसो गर्ने हो भने अन्य जनवादी पर्वहरूमा गर्नु प¥यो । जनयुद्ध दिवस, जनआन्दोलन दिवस, गणतन्त्र दिवस आदिमा । अन्यथा शुभकामना दिनलिन हुन्छ भने टीकाजमरा लगाउन र आशीर्वाद लिनदिन किन नहुने ?
सङ्क्षिप्त र समग्रमा भन्दा सचेत, सङ्गठित, सुनियोजित र सङ्घर्षमय तरिकाले समाज, समय र संवेदनासापेक्ष रूपमा परिवर्तन, परिवद्र्धन, परिष्कार गर्दै नयाँको स्वीकार, निर्माण, स्थापना, विकास र विस्तार गर्न जरुरी छ ।
यसैगरी महासचिवको नयाँ पुस्तक महापतनका बारेमा युवा स्रष्टा रसुवाली कविको सटिक प्रतिक्रिया छ, महापतन जनयुद्धपछि माओवादी आन्दोलनमा देखिएको खुस्चेबवादी दक्षिणपन्थी पतनको सपाट रूप हो । मूलतः प्रचण्ड–बाबुराम–बादलहरूको वैचारिक–राजनीतिक–आर्थिक–सांस्कृतिक–सङ्गठनात्मक पतनको विश्लेषण ऐतिहासिक भौतिकवादी कोणबाट गरिएको छ । प्रचण्डको सांस्कृतिक पतनबारे विप्लव लेख्नुहुन्छ : कहिले क्रिस्चियनको कार्यक्रममा, कहिले बौद्धधर्मको गुम्बामा, कहिले मुस्लिमको धार्मिक कार्यक्रममा पुगेर उनीहरूको पहिरन लगाएर भाषण गरिरहे प्रचण्ड ।
महासचिव विप्लवले भनेजस्तै प्रचण्ड कहिले भैँसीपूजा गर्छन्, कहिले चर्चमा पुगेर सेल्फी हान्छन् । एकजना दरबारिया भाटले प्रचण्डलाई रुद्राक्ष माला नै लगाइदिए । तर प्रचण्डले यसबारे लाचार अभिव्यक्ति दिइरहेका छन् । सारमा परम्परावादी, अवैज्ञानिक, अस्वस्थ, महँगा, तडकभडकपूर्ण चाडपर्वहरुलाई परिवर्तन गर्दै नेपालको वर्गसंघर्षको प्रतिनिधित्व गर्ने जनवादी पवं र संस्कृतिहरु निर्माण गर्दै प्रयोगमा ल्याउनुपर्छ ।

२०७५ असोज २५ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :