शान्ति र समृद्धिबारे

 

१. भूमिकाहामी यतिखेर नेपाली जनताको शान्ति र समृद्धिको मूल उद्देश्यमा केन्द्रित भएका छौँ । आफूलाई कम्युनिस्ट बताउने सत्ताधारी संसदीय कम्युनिस्ट पार्टीले पनि शान्ति र समृद्धिका लागि अगाडि बढिरहेको भ्रम दिइरहेको छ । हामीले ऐतिहासिक सत्यलाई स्पष्ट गरिरहेका छौँ, संसदीय व्यवस्थाबाट दुनियाँमा कतै पनि जनताको शान्ति र समृद्धि प्राप्त भएको छैन । त्यसका लागि वैज्ञानिक समाजवादी राज्यसत्ताको स्थापना गर्नु अपरिहार्य हुन्छ । आज नेपाली समाजको अन्तरविरोध यहीँनेर अन्तरनिहित हुन पुगेको छ । सत्ताधारी संसदीय कम्युनिस्टहरू राष्ट्रघात, जनघात, भ्रष्टाचारसहित दलाल पँुजीपति वर्गको रक्षाकवच बन्न पुगेका छन् र त्यसका विरुद्ध राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाको पक्षधर कम्युनिस्ट पार्टीमाथि देशव्यापी दमन अभियान सञ्चालन गरिरहेका छन् । हामी मालेमावादी विचार र एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत नेपालमा वैज्ञानिक समाजवादी राज्यसत्ता निर्माणको अभियानमा समर्पित हुन पुगेका छौँ ।

२. वर्तमान नेपाली समाजको अवस्थाबारे

नेपाली जनताले शान्ति र समृद्धिका लागि लामो समयदेखि सङ्घर्ष गर्दै आएका छन् । पञ्चायती कालरात्री शासन, बहुदलीय संसदीय व्यवस्थाविरुद्धको झन्डै सात दशक लामो सङ्घर्षमा हजारौँ नेपाली जनताले वीरतापूर्ण बलिदान दिएका छन् । सयौँ नागरिक बेपत्ता पारिएका छन् । अङ्गभङ्ग तथा घाइतेहरूको अवस्था निकै दयनीय बन्न पुगेको छ । हाल सत्ताधारी संसदीय कम्युनिस्टहरू पनि यही सङ्घर्षको लामो बाटो पार गरेर सत्तासीन हुन पुगेका छन् । आज उनीहरूले कम्युनिस्ट पार्टी तथा समाजवादको आवरणमा राष्ट्र र जनतामाथि घात गर्न पुगेका छन् । उनीहरू कम्युनिस्ट पार्टी तथा समाजवादी राज्यसत्ताको राजनीतिक विचार, दर्शन तथा अर्थनीतिबाट विचलित हुन पुगेका छन् र दलाल संसदीय व्यवस्थासामु आत्मसमर्पण गर्न पुगेका छन् । यति मात्र होइन, उनीहरूले राष्ट्र स्वाधीन भएको, राजनीतिक क्रान्ति सकिएको जनताको जनजीविका क्रमशः हल हुँदै गएको हास्यास्पद तर्क गर्न पुगेका छन् । के उनीहरूले भनेझैँ देश स्वाधीन भएको हो ? के जनतन्त्र र जनजीविकाका समस्याहरू समाधान भैसके ? यसबारेमा सङ्क्षिप्त विवेचना गर्नु र तथ्यपरक विषयहरूलाई अवलोकन गर्नु सान्दर्भिक हुनेछ ।

प्रथम : राष्ट्रिय स्वाधीनताका दृष्टिले आज हामी नवऔपनिवेशिक अवस्थामा छौँ । हामी सार्वभौम र स्वतन्त्र राष्ट्रका रूपमा विश्वसमुदायका बीचमा निर्भीकतापूर्वक बोल्न र आफ्नो निर्णय आफैँ गर्न सक्ने अवस्थामा छैनौँ । सन् १८१६ को सुगौली सन्धिपछि हामी अर्धऔपनिवेशिक अवस्थामा प्रवेश गरेका थियौँ । १९५० को असमान सन्धिद्वारा १८१६ को सुगौली सन्धिलाई नवीकरण गर्दै हामी थप उत्पीडन भोग्न बाध्य भयौँ । १९६५ को नेपाल–भारत सुरक्षा सम्झौता २०६८ को बिप्पा सम्झौता तथा सन् २०१२ सम्पन्न ऊर्जा सम्झौता आदि घटनाक्रमहरूले हाम्रो राष्ट्रिय स्वाधीनतालाई केवल पराधीनतातर्फ धकेल्न पुगेका छन् । त्यसैगरी जलस्रोतका धनी राष्ट्रका रूपमा परिचित हाम्रो देशका नदीनालाहरू भारतसँग गरिएका २५ देखि १०० वर्षसम्मका सम्झौताका कारण हाम्रो जलस्रोतको उपयोगका लागि असमर्थ हुन पुगेका छौँ । गण्डकी, कोसी, महाकाली, कर्णालीलगायत प्रायः सम्पूर्ण नदीनालाहरू भारतीय पक्षसँगको सम्झौतामा कैद गरिएका छन् । भूगोल हस्तक्षेप तथा अतिक्रमणका दृष्टिले कालोपानीमा ३६ हजार हेक्टर जमिन, सुस्ता–महेशपुरमा १५ हजार हेक्टर तथा देशका अन्य विभिन्न भागमा ९ हजार हेक्टरभन्दा बढी जमिन भारतीय शासकहरूद्वारा कब्जा गरिएको छ । केपी ओली प्रधानमन्त्री भएपछि झापा, कपिलवस्तु, कञ्चनपुरलगायत जिल्लाहरूमा हजारौँ हेक्टर जमिन अतिक्रमण गरिएको छ । भारत र चीन सरकारद्वारा बृहत्तर योजनाको कारण हाम्रो ‘लिपुलेक’ अतिक्रमण भयो त्यसका विरुद्ध नेकपाले नेपाल बन्दलगायत सङ्घर्षका कार्यक्रमहरूमार्फत खबरदारी ग¥यो । आमजनताको सहयोग र समर्थन रहेको उक्त सङ्घर्षपद्धि मु्ख्यतः चिनियाँ सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न बाध्य भयो । केही वर्ष अगाडिदेखि छलफलका प्रक्रियामा रहेको विस्तृत नदी जडान योजना (नेपालका ठूला नदीहरूलाई जोडेर सिँचाइ, जलविद्युत् र पिउने पानीको समस्याको समाधान गर्न भारतका विभिन्न स्थानमा लैजाने योजना) ले सरदर २० किलोमिटर चौडा हाम्रो तराईको भूमि वर्षायाममा १० किलोमिटर जलमग्न हुने निष्कर्ष विज्ञहरूले निकालेका छन् । २६ वटा जिल्लाको १८८० किलोमिटर लामो खुला सीमा भारतसँग जोडिएकोमा २१ जिल्लामा सीमा विवाद छ । दुई देशको बीचमा रहेका सयौँ दसगजा पिलरहरू भारतीय पक्षधरद्वारा गायब पारिएको छ । हिजोहाज प्रायः दिनहुँजसो भारतीय सुरक्षाकर्मी निर्वाध रूपमा हाम्रो देशमा प्रवेश गरी नेपाली सुरक्षाकर्मी र जनतालाई कुटपिट गरिएका घटनाक्रमहरू सञ्चारमाध्यममा आइरहेका छन् । यसतर्फ आफूलाई कम्युनिस्ट बताउने सरकारले कुनै चासो दिएको छैन । यसले के स्पष्ट गर्दछ भने देश आज स्वतन्त्र होइन, नवऔपनिवेशिक अवस्थामा छ । यो समस्या आगामी दिनमा अझ बढेर जाने देखिन्छ ।

द्वितीय– जनतन्त्रको प्रत्याभूतिका दृष्टिले : के कुरा स्पष्ट छ भने लामो समयदेखि नेपाली जनताले प्रजातन्त्रका लागि सङ्घर्ष गर्दै आएका छन् । आजभन्दा झन्डै ३० देखि ४० दशकअगाडि हामीसँग समान विकास भएका हाम्रा छिमेकी राष्ट्रहरू विकासका दृष्टिले निकै अगाडि बढिसकेका छन् । हामी अहिले पनि विकासको सूचकाङ्कका दृष्टिले पछिल्लो अवस्थाबाट अघिल्लो अवस्थामा छौँ । छिमेकी मित्र राष्ट्रहरूको विकासको प्रशंसा गर्ने तर हामी जहिले पनि उनीहरूबाट डोमिनेट हुने अवस्थामा रहिआएका छौँ । यसको पछाडि जनताको अधिकारलाई प्रत्याभूत गर्ने शासन प्रणाली जनउत्तरदायी हुन नसक्ने मुख्य कारण हो । २०४७ को संविधानलाई एसियाकै उत्कृष्ट संविधान भनेर प्रचार गरियो । त्यसले जनयुद्धलाई जन्म दियो भने पछिल्लोपटक जारी गरिएको संविधान ०७२ लाई पनि विश्वकै उत्कृष्ट संविधनका रूपमा व्याख्या गरिएको छ । यसले छोटै समयमा चौतर्फी जनअसन्तुष्टि बढाइरहेको छ । सामाजिक क्षेत्रका चौतर्फी क्षेत्रमा देखापरेको असन्तुष्टिलाई वर्तमान सरकारले दमनद्वारा हल गर्ने प्रयत्न गरिएको छ । यसले स्पष्ट गर्दछ, देशमा जनताको जनतन्त्र होइन, केवल दलालतन्त्र आएको छ जसले नेपाली जनताको स्वतन्त्रतालाई निषेध गर्दै क्रमशः सामाजिक फासिवादको अभ्यास गर्दैछ ।
तृतीय : जनजीविकाको दृष्टिले : आज नेपाली जनताको जनजीविका सर्वाधिक सङ्कटतर्फ बढिरहेको छ । शिक्षा, स्वास्थ्यको अवस्था जनताको आर्थिक उत्पादनको स्तरभन्दा निकै महँगो हुनुका कारण त्यसबाट वञ्चित हुनुपरेको छ । देशभर ११६ सरकारी अस्पताल, झन्डै ३०० को सङ्ख्यामा रहेका निजी अस्पताल र त्यहाँ कार्यरत चिकित्सकहरूको सङ्ख्या एवम् विद्यमान नेपालको जनसङ्ख्यालाई अध्ययन गर्दा हजारौँ जनताबराबर एक चिकित्सक हुन आउँछ । ती अस्पतालहरू पनि अधिकांश सहरहरूमा सीमित भएका कारण जनताको सहज पहुँच पुग्न सक्ने अवस्थामा छैनन् । शिक्षामा पनि राज्यको विभेदकारी नीति तथा अवैज्ञानिक योजनाका कारण १०५ बच्चाहरू स्कुलको आँगनसम्म पुग्न सकिरहेका छैनन् । एकातिर निजी विद्यालयहरूको महँगो शुल्क तथा पहाडी क्षेत्रका अधिकांश विद्यालयहरूमा निजी शिक्षकको व्यवस्थापनमार्फत स्कुलहरू सञ्चालन गरिएका छन् । विद्यार्थीको सङ्ख्याको अनुपातमा शैक्षिक दरबन्दी तथा विद्यालयहरूको मर्ज गर्ने सरकारी नीतिले विकट भौगोलिक अवस्थालाई थप समस्याहरू भोग्नुपरेको छ । रोजगारीको अवस्थालाई अध्ययन गर्दा हाल हाम्रो देशबाट वैदेशिक रोजगारीको सिलसिलामा बिदेसिने युवाहरूको सङ्ख्या ७० लाखवरिपरि छ । दैनिक १८०० देखि २२०० युवाहरू बिदेसिने हुँदा वार्षिक सरदर चारदेखि पाँच लाख नेपाली युवाहरू बिदेसिने र वार्षिक एकदेखि डेढ लाखसम्म देश फर्किने क्रम जारी रहेको छ । विभिन्न तथ्याङ्कले बताएअनुसार ५८.८ प्रतिशत मानिसहरूको घरको आम्दानी स्रोत वैदेशिक रोजगारी र २९.६ प्रतिशत रेमिट्यान्स राज्यलाई प्राप्त भैरहेको छ । यसका साथै देशमा झन्डै १० प्रतिशत युवाहरू बेरोजगार रहेको तथ्यहरूले स्पष्ट गर्दछन् । देशभरि झन्डै १९ प्रतिशत मानिसहरू सुकुमबासी रहेका छन् । यी हाम्रा केही अंशगत तथ्यहरू हुन् यसले स्पष्ट गर्दछ आज देशमा जनजीविकाको सवाल निकै सङ्कट ग्रस्त रहेको छ ।

चौथो : भ्रष्टाचार, महँगी तथा सामाजिक सुरक्षाका दृष्टिले : हाल देशमा सम्पूर्ण क्षेत्रहरूमा संस्थागत भ्रष्टाचारले शासन सत्ताको चरित्रलाई व्यक्त गरिरहेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नामको संस्थाका अनुसार हाल विश्वमा नेपाल १२२ औँ स्थानमा भ्रष्टाचारको सूचीमा रहेको छ जब कि एक वर्ष अगाडिसम्म १४४ औँ मुलुकको रूपमा रहेको थियो । त्यस्तै महँगी र कालोबाजारी पनि संस्थागत रूपले अगाडि बढिरहेको कारण जनजीवन कष्टप्रद हुन पुगेको छ । यसका साथै आज सामाजिक सुरक्षाका दृष्टिले पनि समाज अनियन्त्रित हुँदै गैरहेको छ । बलात्कार, चोरी, लुटपाट तथा अनियमितताका घटनाक्रमहरू दिनानुदिन बढिरहेका छन् । निश्चय नै यी राष्ट्र र जनताका लागि चुनौतीका विषयहरू हुन् ।

हामीले माथि नेपाली समाजका सङ्क्षिप्त तथा यथार्थपरक तथ्यहरूको विवेचना ग¥यौँ । यसले के सङ्केत गर्दछ भने देश झन्पछि झन् सङ्कटतर्फ बढिरहेको छ । सीमित नेताहरू, सत्ताको विभिन्न अङ्गमा रहेका केही व्यक्ति, दलाल तथा भ्रष्ट र कालोबाजारी गर्नेहरूका लागि समाजवादी व्यवस्था नै प्राप्त भएको होला । तर आम श्रमिक नेपाली जनता, देशभक्त तथा वामपन्थीहरूका लागि भने देशमा दलालतन्त्र आएको कुरामा दुईमत हुन सक्दैन । वास्वतमा यसप्रकारका समस्याहरू पैदा हुनुका पछाडि वर्तमान संसदीय कम्युनिस्टहरूको विश्वदृष्टिकोण र संसदीय दलाल व्यवस्थाको परिणाम हो ।

३. शान्ति र समृद्धिका लागि वैज्ञानिक समाजवाद

नेपाली जनताको शान्ति र समृद्धिका लागि वैज्ञानिक समाजवादी राज्यसत्ताको अपरिहार्यतालाई अब चौतर्फी रूपमा आवश्यकता महसुस गर्न थालिएको छ । आजको विश्वमा वैज्ञानिक समाजवादी राज्यसत्ता सञ्चालनमा छैनन् । चीन, जनगणतन्त्र कोरिया, क्युबा, भेनेजुयलालगायत मुलुकमा सञ्चालन भैरहेको व्यवस्थालाई पनि उनीहरूले आफ्नै विशेषताको समाजवादका रूपमा परिभाषित गरेका छन् । खासमा समाजवादी व्यवस्थाको पहिलो देश सोभियत सङ्घ रुसमा लागू गरियो । १९१७ मा सम्पन्न अक्टोबर क्रान्तिपछि स्थापना गरिएको समाजवादी अर्थप्रणाली जहाँ गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको दायित्वभित्र पथ्र्यो । उनीहरूको राष्ट्र स्वाधीन थियो, प्रजातन्त्रको सुनिश्चितता तथा जनजीविका राज्यको दायित्वका कारण उनीहरूले विश्व मानव जातिका लागि ठूलाठूला खोज र योगदान गरे । पुँजीवादको झन्डै अढाइ वर्षका खोज/अनुसन्धान र समाजवादको ४० वर्षको खोजअनुसन्धान प्रतिस्पर्धात्मक हुन पुग्यो । शिक्षा र स्वास्थ्यका दृष्टिले जनता सबल बन्न पुगे । सोही व्यवस्थाको मार्गनिर्देशनमा चीन, कोरिया, क्युबा, भियतनामलगायत पूर्वी युरोपका मुलुकहरूमा पनि जनवादी तथा समाजवादी व्यवस्था स्थापना गरियो र आमजनताको चाहनाअनुसार शासन व्यवस्था सञ्चालन गरियो । यसको विश्वव्यापी प्रभाव विस्तार हुन पुग्यो । फलतः विश्वका अधिकांश देशमा कम्युनिस्ट पार्टीको स्थापना र विभिन्न सङ्घर्षहरूको बीचबाट आज विश्वको कम्युनिस्ट आन्दोलन अगाडि बढिरहेको छ तर विडम्बना, विगतको कम्युनिस्ट पार्टी तथा समाजवादी सत्ताको लोकप्रियतालाई भँजाएर आज विश्वव्यापी रूपमा नक्कली अर्थात् संसदीय कम्युनिस्टहरूले जनतामाथि शासन गर्न पुगेका छन् । रूपमा कम्युनिस्ट भन्ने सारमा उदार पुँजीवादभन्दा पनि कुरूप रूपमा शासन सञ्चालन गर्ने उनीहरूका वर्गचरित्रका कारण आज विश्वव्यापी रूपमा कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी व्यवस्थाको खोजी गर्ने अभियान सञ्चालन हुन पुगेको छ । नेपालमा पनि २००६ मा स्थापित कम्युनिस्ट पार्टी विभिन समूहमा विभिाजन हुँदै झन्डै ७ दशकपछि अन्ततः संसदीय कम्युनिस्ट र वैज्ञानिक समाजवादी धारका कम्युनिस्टका रूपमा व्यक्त हुन आइपुगेको छ । संसदीय कम्युनिस्टहरूको षड्यन्त्र र जालझेललाई पराजित नगरी वैज्ञानिक समाजवादी राज्यसत्ताको कम्युनिस्ट धारा अगाडि बढ्न सक्दैन । तर सत्य के छ भने षड्यन्त्र र जालझेलको राजनीति अस्थायी रूपमा मात्र रहन सक्दछ । अन्ततः विजय वैज्ञानिक सिद्धान्त, विचार र सङ्गठनकै हुन्छ । साथै अर्को सत्य यो पनि हो– पुरानोका विरुद्ध नयाँलाई स्थापित गर्न थुप्रै सङ्घर्षका मोर्चाहरू पार गर्नुपर्ने हुन्छ । आवश्यक पर्दा बलिदान, जेल, निर्वासन वा भूमिगत जीवन बिताउन पनि तयार हुनुपर्दछ । नेपाली जनताका शान्ति र समृद्धिका लागि वैज्ञानिक समाजवाद अपरिहार्य भएको छ जहाँ राष्ट्र स्वाधीन हुनेछ जनताले जनतन्त्रको प्रत्याभूति गर्नेछन् । समाजवादी राज्य व्यवस्थाद्वारा जनजीविकाको ग्यारेन्टी हुनेछ ।

४. वैज्ञानिक समाजवाद स्थापनाका लागि हाम्रो बाटो र तरिका

हाम्रो निष्कर्ष छ– शान्ति र समृद्धिका लागि वैज्ञानिक समाजवाद आजको अनिवार्य अवाश्यकता हो । त्यसका लागि हामी निरन्तर अभियानमा छौँ । वैज्ञनिक समाजवाद स्थापनाका विगतका दुई बाटोहरू सशस्त्र विद्रोह र दीर्घकालीन जनयुद्ध यी दुवै बाटोबाट वैज्ञानिक समाजवाद स्थापना भएको छ । हाम्रो निष्कर्ष छ– अब पुरानै बाटो र तरिकाबाट हामी वैज्ञानिक समाजवाद स्थापना गर्न असमर्थ हुन्छौँ किनकि समाज विज्ञानको नियमले बताउँछ– कुनै पनि क्रान्तिहरू यथास्थिति र पुरानै विचार र तरिकाबाट सम्भव छैन, बरु ती विकसित रूपमा नै निरन्तर अगाडि बढिरहेको छ । नेपाली क्रान्ति पनि त्यसको अपवाद हुन सक्तैन । त्यसैले हामीले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने कार्यदिशा तय गरेका छौँ । विगतका समाजवादी क्रान्तिका अनुभवसँग तुलना गर्दा यो नितान्त नयाँ र विकासित रूपमा व्यक्त भएको छ । साम्राज्यवादको नयाँ रणनीति तथा कार्यनीति, विज्ञानप्रविधि तथा सूचना–सञ्चारको विकास र भूमण्डलीकरण, क्रान्ति र प्रतिक्रान्तिका शिक्षा तथा आजको नेपाली समाजका विशेषताका आधारमा एकीकृत जनक्रान्तिको कार्यदिशा निर्माण भएको हो । गाउँ र सहरलाई एकीकृत गर्ने, सर्वहारा वर्गलाई केन्द्रमा राख्दै मध्यम वर्गलाई सहयोगी बनाउने, देशभक्त तथा राष्ट्रवादी शक्तिहरूलाई पनि क्रान्तिमा जोड्ने, कम्युनिस्ट पार्टीसँग उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायलाई जोड्ने र विज्ञान प्रविधिको विकाससहित संसदीय दलाललाई विस्थापित गर्ने उक्त कार्यदिशाको मूल अन्तरवस्तु रहेको छ । उक्त कार्यदिशामार्फत हामीले राजनीतिक विज्ञानमा नयाँ खोज अनुसन्धान अगाडि बढाएका छौँ ।
समाज विज्ञानको नयाँ खोज–अनुसन्धानमा अगाडि बढिरहेको हजारौँ नेता–कार्यकर्ताहरूले आफ्नो खोजअनुसन्धानलाई विहङ्गम बनाउन तथा यथार्थमा बदल्न निम्नतरिका अवलम्बन गर्नुपर्दछ :

एक : विचार, कार्यदिशा, वर्ग र राष्ट्रप्रतिको अविचलित भावना : हामीले हाम्रो महान् विचार मालेमावादप्रति समर्पित हुनुपर्दछ जुन विचारले वैज्ञानिक समाज हुँदै मानव जातिलाई साम्यवादतर्फ लैजान दिशानिर्देश गर्दछ । उत्पीडित वर्गले वर्गसङ्घर्षद्वारा उत्पीडनकारी वर्गलाई पराजित गर्ने, सर्वहारा अधिनायकत्व तथा अन्तर्राष्ट्रियतावाद यसको मूल अन्तरवस्तु हो । यसका साथै पार्टी तथा समाजमा हुर्कने गलत विचार, संस्कार तथा प्रतिक्रान्तिका विरुद्ध महान् सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गर्ने तथा समाजवादी राजनीतिक, आर्थिक, साङ्गठनिक तथा सांस्कृतिक प्रणालीको दिशामा निरन्तर दिशानिर्देश गर्ने मालेमावादलाई हामीले गहिरो गरी आत्मसात गर्नुपर्दछ । उपरोक्त विचारको जगमा नेपाली सन्दर्भमा जन्म भएकोे नयाँ तथा मौलिक कार्यदिशालाई बुझ्ने, प्रयोग गर्ने र पार्टी तथा समाजलाई बदल्ने कुरा हाम्रो महत्वपूर्ण कार्यभार बनेको छ । यो कार्यदिशा नयाँ परिस्थितिमा जन्मिएको छ । यो कसैले शब्दकोषबाट टिपेको वा लेख्न र भन्नका लागि ल्याइएको नभई नयाँ खोज–अनुसन्धान, विषयको गाम्भीर्य र विश्वमा समाजवादी शिविर निर्माणको नयाँ मार्गदर्शक सिद्धान्त पनि हो । यो नेपाली क्रान्तिका नेता कमरेड विप्लवद्वारा आविष्कार गरिएको हो । विचार र कार्यदिशाको सापेक्षिक स्पष्टतासँगै जनता र राष्ट्रलाई जोड्ने अर्थात् जनता र राष्ट्रप्रतिको भावनाद्वारा हामीले आफँैलाई लैस गर्न जरुरी छ ।

दुई : नयाँ कुराको खोज र प्रयोग गर्दा इमानदार र रचनात्मक बन्नुपर्दछ : आज सामाजिक विज्ञानका क्षेत्रमा जेजति विकास भएका छन् ती विकासहरू हजारौँ वर्षको मानव जातिको खोजको शृङ्खलासँग अविभाज्य रूपमा जोडिएका छन् । नयाँ कुराको खोजी गर्दा प्रथम ः रचनात्मक र इमानदार बन्नुपर्दछ, द्वितीय ः व्यवहारबाट ज्ञानतर्फ जानुपर्दछ । रचनात्मक र इमानदार बन्नुको तात्पर्य इतिहासका अन्ुभवहरूको हुबहु लागू गर्ने नभई वर्तमान वस्तुगत र आत्मगत आवश्यकताका आधारमा विषयहरूको संश्लेषण तथा विश्लेषण गर्नु हो । व्यवहारबाट ज्ञानतर्फ जाने भन्नुको तात्पर्य निश्चित समय, सन्दर्भ खोज गरिएका विषयहरूको प्रयोग गर्नु । यसो गर्दा व्यवहारबाट ज्ञान र ज्ञानबाट व्यवहारको प्रक्रियामा चक्रीय प्रणालीमा अगाडि बढिरहेको हुन्छ । ज्ञान र व्यवहारको द्वन्द्ववाद भनेको यही हो । विज्ञानको खोजीमा इमानदारी र रचनात्मकताले मात्र सफलता हासिल हुन्छ । खराब बुझाइ र यान्त्रिक चिन्तनले हामीलाई खोजतर्फ होइन, विसर्जनको स्थानमा मात्र पु¥याउँछ ।

तीन : उच्च मनोबल र बलियो जनशक्ति निर्माण : सही विचार र कार्यदिशाको प्रयोगका लागि क्रान्तिकारी पार्टीसँग बलियो जनशक्ति आवश्यक पर्दछ । कार्ल माक्र्सले भनेझैँ ‘भौतिक शक्तिलाई शास्त्रीय तरिकाले मात्र पराजित गर्न सकिँदैन । त्यसका लागि भौतिक शक्तिकै आवश्यकता पर्दछ’ भन्ने सैद्धान्तिक प्रस्थापनालाई हामीले गहिरो गरी आत्मसात गर्नुपर्दछ । स्टेफन हकिङ्सले भनेका छन्, ‘कुनै पनि विज्ञान तर्कको अनुयायी मात्र होइन, बरु उत्साह र रोमान्स पनि हो ।’ हकिङ्सको भनाइ खोजका लागि सही छ र अन्य विज्ञानमा हुबहु लागू हुने गर्दछ तर समाज विज्ञानका लागि उच्च मनोबल र बलियो जनशक्ति निर्माणबिना सामाजिक विज्ञान सफल हुन सक्दैन । मनोबल र बलियो जनशक्ति कुन अर्थमा भने आफूभन्दा कैयौँ गुणा शक्तिशाली राज्यसत्ताका विरुद्ध विद्रोह गर्नु आफैँमा एउटा साहसिक र कष्टसाध्य कार्य हो । अझ यो विज्ञानको सफलताका लागि हजारौँ र लाखौँको जनशक्तिको सक्रिय सहभागितामा मात्र सम्भव हुने गर्दछ ।

चार : क्रान्तिलाई अनिवार्य नियमका रूपमा बुझ्नु पर्दछ : इतिहासदेखि वर्तमानसम्मको मानव समाजका घटनाक्रमहरूलाई अध्ययन गर्दा कुन तथ्य स्पष्ट हुन्छ भने क्रान्ति एउटा अनिवार्य प्रक्रिया हो । पुराना राज्यसत्ता र प्रतिक्रान्तिकारीहरूका हजार जोरजुलुमलाई चिर्दै क्रान्तिको प्रक्रिया कहीँ रोकिएको छैन । यसका साथै अर्को तथ्य हो– इतिहासदेखि वर्तमानसम्म कुनै पनि शासक वर्ग आफूखुसी राज्यसत्ता छोड्न मञ्जुर हुँदैनन् । उनीहरूलाई जनताको भौतिक शक्तिद्वारा गलहत्याउनु पर्दछ । माक्र्सवादले अकाट्य रूपमा साबित गरेको युगको चरणका सन्दर्भमा पुँजीवादपछि समाजवाद आउने कुरालाई कसैले रोक्न सक्दैन । सवाल कति मात्र हो भने क्रान्ति भनेको सचेतन प्रयत्नद्वारा सामाजिक रूपान्तरणलाई गति दिने कुरा हो । अण्डा प्राकृतिक नियमअनुसार २२ दिनपछि चल्लामा परिणत हुन्छ तर विद्युतीय प्रणालीद्वारा केही घन्टामा अन्डा चल्लामा परिणत हुन्छ । सचेतन प्रयत्न भनेको यही हो । यो प्रक्रियामा सहभगी नेता–कार्यकर्ताहरूले सहादत प्राप्त गर्ने, जेल तथा हिरासत, व्यक्तिगत सम्पत्तिको ध्वंस हुने कुरालाई सामान्य रूपमा बुझ्नुपर्दछ र त्यसका लागि तयार हुनुपर्दछ । क्रान्तिकारीहरूले पुरानो सत्ताका सम्पूर्ण हर्कतहरूलाई पचाउने हिम्मत गरेर मात्र उक्त परीक्षामा उत्तीर्ण हुन सकिनेछ । यी सम्पूर्ण सरकारी हथकण्डा प्रयोग भइरहँदा क्रान्तिलाई अनिवार्य प्रक्रियाका रूपमा बुझ्ने प्रक्रियाले विजयलाई सुनिश्चित गर्न मद्दत गर्दछ ।

निष्कर्ष : हामी नेपाली जनताको शान्ति र समृद्धिको ग्यारेन्टी गर्ने वैज्ञानिक समाजवादी राज्यसत्ता प्राप्तको अभियानमा छौँ जुन राज्यसत्तामा राष्ट्रिय स्वाधीनता हासिल हुनेछ, जनताले वास्तविक जनतन्त्रको प्रत्याभूति गर्नेछन् । जहाँ जनताको जनजीविकाको ग्यारेन्टी हुनेछ । ‘क्षमताअनुसारको काम र कामअनुसारको दाम’ को प्रणाली लागू हुनेछ । हाम्रो राष्ट्रका सचेत विद्यार्थी, नवजवान युवाहरू, वैज्ञानिक तथा आमजनसमुदायले नयाँनयाँ खोज–अनुसन्धानसहित विश्वमा प्रतिस्पर्धा गर्नेछन् । यो कुनै हावादारी कुरा होइन । यो सम्भव छ र हामीले यथार्थमा बदल्नुको विकल्प छैन । हाम्रा स्रोतसाधनहरूको सदुपयोग, जनशक्तिको परिचालन र नयाँ खोज अनुसन्धान गर्ने मनोबल, इच्छाशक्ति र तत्परता हाम्रो पार्टीसँग रहेकाले हामी उक्त अभियानमा आमजनतालाई जागृत गर्दै अगाडि बढिरहेका छौँ ।

हाम्रो यो अभियानबाट दलाल तथा प्रतिक्रान्तिकारीहरू, राष्ट्रघाती तथा भ्रष्टाचारीहरू आतङ्कित बनेका छन् । उनीहरूको लुटको स्वर्गमा गइरहेको ससानो भूकम्प तथा निकट भविष्यमा आउने सुनामीबाट आतङ्कित भएर हाम्राविरुद्ध जोरजुलुमसहित दमन अभियानमा सक्रियता बढाएका छन् । हामीमाथि हुने जस्तोसुकै दमनको पनि हामीलाई परबाह छैन किनकि हामी क्रान्तिको प्रक्रियामा सहभागी छौँ । उनीहरूका उत्तेजनापूर्ण गतिविधिबाट हामी आत्तिने र मात्तिने होइन, बरु सतिसालझैँ आफ्ना राजनीतिक एजेन्डा र उद्देश्यमा निर्भीकतापूर्वक अगाडि बढौँ । शान्ति र समृद्धिका लागि वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् बाटोमा अगाडि बढौँ ।

२०७५ असोज २५ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :